Advertisement Banner
Advertisement Banner

०९ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

नीति, नियत र नैतिकता कता ?

०८ मंगलबार , पौष २०८२एक दिन अगाडि

नीति, नियत र नैतिकता कता ?

गत भदौ २३ र २४ को जेनजी आन्दोलन, बिस्फोटन, बिद्रोहले धेरैथोक बदल्यो तर नेताहरूको बद्नियत सुधार्न र नेतालाई नैतिक बनाउन सकेन । फेरि पनि देशमा अन्यौल, अराजकता छ, चार महिने सुशीला कार्की जेनजी सरकारले पनि भ्रष्टाचारको न्यूनिकरण र सुशासनको झल्कासमेत देखाउन सकेन । उही अराजकता, उस्तै अनिश्चितता, हिंसा भड्किने माहोला, उस्तै छ परिदृश्य ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार चुनाव गराउन दृढ छ भन्दैछ तर निर्वाचन हुनुपर्छ, जान तैयार छौं भन्ने र यस्तो अवैधानिक सरकारले पनि चुनाव गराउँछ, यो सरकार ढल्छ, ढाल्नुपर्छ भन्ने एमालेसम्मले चुनावप्रति शंकैशंका गरिरहेका छन् ।
जेनजी बिद्रोहपछि कांग्रेस सच्चिन्छ कि भन्ने आशा गर्न सकिन्छ । एमालेले अधिवेशन ग¥यो, अध्यक्ष केपी ओलीको गर्जन झन ठूलो भएको छ । विधिको शासन र प्रजातान्त्रिक शैली फेरि पनि स्थापित भएर शान्ति आउँछ भन्न सकिन्न । हो, एमालेमा उर्जा भरिएको छ । तर कार्यकर्ताको भीडमा देखिएको उर्जा जनताको वीचमा पुग्न सकेको छैन । कांग्रेस बेहोसीबाट होसमा फर्कदैछ । सवा सय दलहरू निर्वाचनमा जाने भन्दैछन्, युवा पुस्ताको भदौ २३, २४ को उत्साह थामिएजस्तो छ ।
एमालेमा ओली, कांग्रेसमा शेरबहादुर, नेकपामा प्रचण्ड, रास्वपामा रवि, राप्रपामा राजेन्द्रजस्तै अन्य दलहरूमा पुरानै नेता हावी छन्, हात्तीजस्ता छन् । जनताको वीचमा लोकप्रिय हुनु पो हुनु, यसको मापदण्ड निर्वाचन नै हो ।
आन्दोलनमा जेनजीले जितेकै हुन् । त्यो जित सवा तीन महिनामा पानीको फोका बनिसकेको छ । अन्तरिम सरकार बनेपछि चाउरिएका जेनजीहरू निर्वाचन घोषणापछि झन झ्याउरिएका छन् । एकथरि जेनजीहरू चुनाव हुनुपर्छ भन्छन्, अर्काथरि संविधान संशोधन भनिरहेका छन् । जेनजीको नेता मै हँु भन्ने सुदन गुरूङ त संविधान संशोधन गरेर चुनावमा जान सुझाइरहेका छन् ।
जेनजीका थरि थरिका समूह बनेका छन् । धेरै जेनजी समूह सुशीला सरकारले एजेण्डा नै ध्वस्त पारिदियो भन्छन् । केही समूह सडकमा निस्किसके, केही भने म्याण्डेटअनुसार चुनावमा जानुपर्ने विचार राख्छन् । जेनजी मिराज ढुंगानाको समूह सुशीला कार्की सरकारले जेनजीलाई धोका दियो भन्दै सर्वपक्षीय सहमतिको सरकार बन्नुपर्ने भनिरहेका छन् । सय दिने सरकारको अनुहार असफलता र अकर्मण्य देखिएको उनको तर्क छ । मिराज ढुंगानालगायता समूहको माग छ– ‘भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन, त्यसैले अब सर्वपक्षीय सरकार गठन होस् । आजको आवश्यकता त्यस्तो नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिनेछ र देशलाई निकास दिन सक्नेछ ।’
समष्टिमा मूल्याङ्कन गर्नेहरू भन्छन्– युद्धमा हान्ने गोली हानेर राज्यले ७८ जना जेनजीहरूलाई मा¥यो । यो आन्दोलन २०८४ को चुनाव २०८२ मा सार्न भएजस्तो भयो । जेनजीले दल पनि खोलेका छन् । चुनावमा नजाने भए किन दल खोलेको ? यसको अर्थ जेनजीहरू के गर्ने नगर्ने ? द्विविधामा छन्, उनीहरूलाई मिसगाइड गरिएको छ । धेरै जेनजीहरू संविधान संशोधन गरेर राजनीतिक मुद्दाहरू हल गर्नुपर्ने भन्छन् ।
केही जेनजीहरू गठबन्धन गरेर अर्को आन्दोलनको तैयारीमा जुटेको बताउँछन् । हरिस भट्ट पनि जेनजी हुन्, उनका अनुसार २६ समूह बनिसकेको छ जेनजीहरूको । विश्लेषकहरूका अनुसार न भूतो, न भविष्यति, भदौ २३, २४ को जस्तो आन्दोलनको सम्भाबना अब सकियो । जेनजी रक्षा बम नेतृत्वको फ्रन्ट पनि छ । यो फ्रन्ट चिसो भएको छ, चुनावको बिकल्प छैन भन्ने निष्कर्षमा पुगेको छ । फ्रन्टका अगुवा रक्षा, युजन राजभण्डारीहरू  यो सरकार ढाल्ने, अर्को सर्वपक्षीय सरकार बनाउनेतिर लाग्नु हुन्न भन्दै चुनाव विथोल्नु हुन्न, चुनावमा उठेका देशभक्त स्वतन्त्र उमेदवारलाई सघाउन विचार गरिरहेको बताउँछन् । चुनाव विथोल्ने आन्दोलनमा सहभागी नहुने यो फ्रन्टको निर्णय छ ।
जेनजी मुभमेन्ट अलायन्सकी अगुवा हुन् मोनिका निरौला, उनले पनि चुनावलाई निर्विकल्प निकास मानेको छ । मिराज वा अन्यले गर्ने आन्दोलनमा हाम्रो सहभागिता हुँदैन भनिरहेको छ अलायन्सले । द काउन्सिल अफ जेनजी पनि चुनाव नै राजनीतिक निकास मानिरहेको छ ।
जेनजी बिभाजित हुँदा हाइसन्चो
ज्यान जोगाएर भागेका, लुकेका ओली, प्रचण्ड, देउवाहरू जेनजी विभाजित भएर शक्तिहीन देखिदा हर्षित छन् । उनीहरू जेनजीमाथि शब्दवाणले हमला गर्न थालेका छन् । यिनीहरू यति ठूलो बिद्रोहले सत्ताबाट सडकमा पछारिंदा पनि यिनको दागी नीति, नियत र नैतिकता सफा पार्नेतिर बुद्धिबङ्गारो पलाएको देखिन्न । लाग्छ, देश अर्को द्वन्द्वमा फसिसकेको छ ।