
शाश्वत शर्मा---------------
एमालेको ११औं महाधिवेशन सकियो, एमाले नेतृत्व परिवर्तन भएन, एमालेले परिवर्तन चाहेन । पुस्तान्तरण, परिवर्तन एमालेका लागि ग्राह्य भएन । अध्यक्ष केपब ओलीका सामु पूर्वराष्ट्रपति विद्या भण्डारी र उनको समर्थन पाएका ईश्वर पोखरेलको टिम (२जना बाहेक) अरू कोही विजयी भएनन् । यो नतिजाले एमाले पार्टीभित्र केपी ओली कित्ताको कति हालीमुहाली रहेछ भन्ने स्पष्ट हुन्छ । एमालेका नेतृत्व मतदाताहरू आफ्ना स्वार्थका लागि जतिसुकै जनताको घृणा भएको नेता भए पनि आत्मसात गर्न सक्छन् भन्ने यो पछिल्लो उदाहरण हो । एमालेभित्र नेतृत्व क्षमता भएका र एमालेलाई जिवन्त राख्नसक्ने खुवी र इच्छाशक्ति भएका थोरैमात्र रहेछन् भन्ने पनि देखिएको छ । यो अधिवेशनमा आश्चर्यको दृश्य पनि देखियो, ओलीको उमेदवार बन्न नपाएपटि नेताहरू कसरी क्वाँ क्वाँ रूँदा रहेछन् भन्ने पनि देखियो । एमाले पार्टीभित्र नयाँ र युवा नेताहरूको कुनै गन्जाइस देखिएन । एमाले पार्टी पंक्तिबाट ओली र महेश बस्नेतहरूको जयजयकार गुञ्जियो, एमालेको भविष्यमाथि आफैले बन्चरो हाने ।
ओली र उनको गुटको कब्जामा एमाले यथावत रह्यो । अनाचारी, दुराचारी, भ्रष्टाचारी, अपराधीहरू गुलजार भएका छन् । वर्तमान नेपालको दुर्गतिको मूल कारणमध्ये ओली पनि हुन् । मुलुक खोक्रिनुको कारण ओली हुन् तर पार्टी सुधार्नु पर्छ भन्ने एमाले नेतृत्वपंक्तिलाई लागेको देखिएन । ओलीका स्वकीय सचिव राजेश् बज्राचार्यले घरै घूस खाएको, कम्बोडियामा लगानी गरेको गाँठो फुकेको छैन । भदौ २३ र २४ को ७८ जनाको राज्यले नरसंहार मच्चाएको विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले जिम्मेवारी लिन मानेनन् । छानबिन आयोगले बयान लिने भनेको छ, छोएमात्रै पनि देशै ठप्प पार्ने फर्मान जारी गरेका छन् ओलीले । यी ओलीहरूलाई सामान्य नैतिकता र जनताप्रतिको जवाफदेहीताको ख्याल पनि छैन । जबसम्म भ्रष्टाचारी नेताहरूले भ्रष्टाचारको रकम कार्यकर्तालाई बाँडिरहन्छन्, यसैगरी नक्कली जयजयकार चलिरहनेछ । भ्रष्टाचारीलाई शीघ्रातिशीघ्र दण्डविधान लागू हुननसक्नाले नेपालको शासन प्रशासनमा भ्रष्टाचारीको जयजयकार भइरहनेटछ ।
कांग्रेस, नेकपा (माओवादी र नेकपा एससहित) तिर पनि यस्तै बिडम्बना छ । नेतृत्व त्याग्न कुनै नेता तैयार छैनन् । सबैलाई नेतृत्व चाहिएको छ । देउवा कांग्रेस सभापति बन्लान् नबन्लान् तर आठौं पटक चुनाव लड्छु भन्ने सिफारिस गराउनु पनि बिडम्बना नै हो । प्रचण्ड, माधव नेपाल, देउवाहरू पार्टीमा हावी छन्, पुस्तान्तरण, नेतृत्व हस्तान्तरण गर्न यिनलाई पाच्य बिषय बनेकै छैन । युवालाई अवसर देउ भन्नेहरू, बिद्रोही आवाज निकाल्नेहरू हरेक पार्टीमा देखिन्छन्, तर आफ्नो आवाजको इज्जत गर्न जान्दैनन्, तिनलाई नेताको धापमात्र चाहिएको देखिन्छ । जेनजी आन्दोलनमा अरवौं, करोडौं नोट खरानी भए, छानबिनबाट नोट नै जलेको रिपोर्ट पनि आयो तैपनि देउवा, प्रचण्ड, ओली वा अन्य नेता नैतिकता देखाउँदैनन् । २०६३ वैशाख ११ गतेको सम्झौता मान्नुपर्ला भनेर नेताहरू राजाको बिरोध गर्छन्, तिनका अनुयायीहरू राजाको उछित्तो काढ्छन् । जुन गल्ती गर्दा भदौ २३ जन्म्यो, त्यसबाट सवक सिक्न कोही पनि तैयार छैनन् । पूर्वराजा झापातिरबाट धार्मिक यात्रातिर लागेका छन् तर यी नेताहरू भारतको भाजपा र राष्ट्रिय स्वयम् सेवक संघ, मोहन भागवतसँग जोडेर राजाकै आलोचनामा जुटेका देखिन्छन् । नेताले जे भन्न सिकायो, त्यही भन्ने राजनीतिक कार्यकर्ताहरू छन् । विवेकहीनताको कहालीलाग्दो दृश्य हो यो । देश र जनताको चिन्ता र चासो, सुशासनको आवश्यकता यिनमा देखिदैन । कुनै पनि पार्टीका आजका कार्यकर्ता बँधुवा होइनन् भन्न सक्ने आधार र स्वतन्त्र छन् भन्ने उदाहरण देखाउन सकेको स्थिति छैन जसका कारणले लोकतान्त्रिक गणतन्त्र नेपाल भ्रष्टाचारी, मानव वेचबिखन गर्ने, विदेशपरस्त हुनपुगेका हुन् । लोकतन्त्रमा खबरदार गर्ने कुनै न कुनै शक्ति चाहिन्छ, २०६३ सालपछि सत्तामा आलोपालो जाने यिनै हुन्, सत्ताको दुरूपयोग गर्ने यिनै हुन्, नैतिकपतन भएर विधिको शासन कुल्चने र न्यायालयमा समेत अपराधिकरण गर्ने पनि यिनै हुन् । यसकारण त जेनजी आन्दोलन, बिस्फोट र बिद्रोह जन्मिन पुग्यो । यति भयानक घटनापछि पनि राजनीतिक चेतना नखुल्नु भनेको नेपाल र नेपालीको लागि दुर्भाग्य हो ।
कहाँ छन् राप्रपा, कहाँ छन् राजावादी र हिन्दुवादीहरू ? जेनजी आन्दोलनपछि संविधान मरेको छ, लोकतन्त्र र गणतन्त्र पनि मरेको छ । यो संक्रमणकाललाई कसरी टुङ्याउने र समाधान निकाल्ने भन्ने सोच कथित भइसकेका राष्ट्रपतिमा छैन, ठूला राजनीतिक दलहरूले पनि सोचेको देखिदैन । प्रत्येक राजनीतिक शक्ति, विचारक व्यक्तिहरू एकै ठाउँमा बसेर नेपालको हक, हित र राजनीतिक मुद्दाहरूको छिनोफानो कसरी गर्ने भनेर निकास खोल्नुपर्ने समय आएको छ । तर कोही पनि अग्रसर भएका छैनन् । अहिले पनि दिमागमा प्रतिषोध, निषेध बोकेर कहीँ पुगिन्न भन्ने आत्मवोध भएको छैन । हुन त आत्मग्लानी नहुने संवेदनहीनहरूले नरसंहारप्रति क्षमायाचनासमेत गरेका छैनन् । जो जनताप्रति कृतघ्न छन्, तिनीहरूबाट जिम्मेवारीको आशा गर्नु बेकार छ । यद्यपि शासन दलले नै गर्ने हो र दलहरूभित्र विवेक हुनैपर्छ । जिम्मेवारीवोध र जवाफदेही लिने हैसियत विकास हुनैपर्छ । जुन कुरा एमाले महाधिवेशनबाट देखिएन, कांग्रेस र नेकपा तथा अन्य पार्टीहरूमा पनि देखिएन भने प्रजातान्त्रिक आवरणमा जंगलराजको जोखिम बढ्दैजानेछ ।


