
नेपालको संविधान, २०७२ बमोजिम हाम्रो मुलुकमा लोकतान्त्रिक गणतान्त्रिक संघीय शासन प्रणाली छ । यो ब्यवस्था लागु भएदेखि हाम्रो मुलुकको शासनको बागडोर मुख्यतः नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्ग प्रसाद ओली र माओबादी नेता हाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको हातमा परेको कुरा सर्व बिदित छ । मुख्यतः यी तीन नेताहरूले आलोपालो गरी देशमा शासन चलाए । यसैले यस अवधिमा यो मुलुकमा भएको उन्नति, प्रगति, बिकास, निर्माण, उपलब्धी आदि सबै कुराको जस यिनीहरूलाई नै जान पर्दछ । साथै यस मुलुकमा यस अवधिमा हुन गएको विनाश, अवनति, दुर्गति, अव्यवस्था, बेथिति, भ्रष्टाचार, अनियमितता, आपस आपसमा कलह, झगडा, कुशासन, नातावाद, कृपावाद, आफन्तवाद, पक्षपात, अन्याय, अत्याचार आदि जेजे हुन गयो ती सबै कुराको अपजस पनि यिनीहरूमा नै जाने भन्नुमा कुनै दुइबाद हुन पर्दैन । प्रगतिको भागिदार जो जो हुन्छन्, दुर्गतिको अपजसको भागिदार पनि तिनै हुन्छन् भन्नुमा कसैको भिन्न मत हुन पर्दैन ।
यी तिनै नेताहरूले आफू सरकार बाहिर रहेका बेला देशमा भ्रस्टाचार, अनियमितता, कुशासन ब्याप्त रहेको र निसहाय जनताले दुःख पाएको भन्दै एकले अर्कोलाई दोषारोपण गर्ने गरेको कुरा सबैको स्मरणमा छदैछ । यति हुदाहुदै पुनः संगै शासन चलाउने सुअवसर पाउने वितिकै घनिष्ठ मित्र बन्ने गरेको, एकले अर्कोलाई पवित्र, इमान्दार, शुद्ध देख्ने गरेको, सवै जनता सुखी खुशी र देशमा सुब्यबस्था र सुशासन कायम भएको भन्ने गरेको कुरा पनि सबैको मष्तिष्कमा ताजै रहेको हुनुपर्दछ ।
देशमा गर्मी आउदा सबैलाई गर्मी जाडोमा आउँदा सबैलाई जाड़ो महसूस हुने जस्तै देशमा भएको शासन व्यवस्था सवैले भोगेकोले यसको सुखदुःख कसैले कसैलाई बोध गराउन जरूर पर्दैन । सवै जनता भूक्तभोगी छन् । राम्रो वा नराम्रो जेजे भएका छन्, सवैलाई थाहा छ । कुरा जस्तो भएपनि हाम्रो धर्म संस्कार अनुसार भगवान साक्षी राखी इमान्दारिपूर्वक सत्य वोल्ने हो भने हामीले भन्नु पर्छ हाम्रो मुलुकमा दुईथरीका जनता भए– एक सुखभोगी र अर्को दुःख भोगी । देशमा रहन गएका दलीय सरकार समस्त मुलुक र जनताको लागि भन्दा आफनो दल र आफना दलका कार्यकर्ताका लागि मात्र हुन गएकोले सरकारमा रहेका गएका दलसित नजिकवाट गाँसिएका जोडिएका सीमित जनता सुख भोगी र अरू बाँकी सबै दुःख भोगी हुन गए । सुखभोगीले सदा देशमा सदा सुब्यवस्था र सुशासन देखे । कारण यिनीहरूले सुशासन र सुब्यवस्थावाट पाउने फल खान पाए । दुःखभोगीको मुखमा केही पनि परेन । यसैले उनीहरूले देशमा वेथिति र कुशासन देखे । देशको वर्तमान स्थिति र सत्य चित्र यही हो । मैले देखेको भोगेको पनि यही हो ।
गत भाद्र २३ र २४ गते जेन जी नाम धारण गरेका कच्चा उमेरका, भर्खर भर्खरका युवायुबतीहरूको नेतृत्व, परिचालन र सहभागितामा हाम्रो मुलुकमा भ्रष्टाचार, बेथिति, कुशासन बिरूद्ध र सुब्यवस्था र सुशासन कायम गर्नको निमित्त अचानक, अकल्पित, भयङ्कर ठूलो आन्दोलन भयो । यसले देशमा रहेको अहिले सम्मकै सबभन्दा बलियो शक्तिशाली झण्डै झण्डै २÷३ को संयुक्त सरकारलाई लगभग २७ घण्टा भित्र भयङ्कर ठूलो हावाहुरीले चक्रवातले जस्तै उडाइदियो । नाम जेन जी वा जुनसुकै भएपनि सुखभोगी बिरूद्ध दुःखभोगीले गरेको यो आन्दोलन जस्तो मलाई लाग्छ । जेन जी नाम धारण गरी एकढिक्का भई यिनीहरू सड़कमा उन्रे । त्यसमा जरूर पनि अरू बॉकी दुःख भोगी सबैले साथ दिए । आफू आफू मिल्दा घनिष्ठ मित्र र नमिल्दा एक अर्काका महाशत्रु बन्ने पटक पटक सरकार चलाउने र चलाइसकेका तिनै दलका छद्मभेषिहरू पनि जरूर पनि त्यो बेला एकले अर्कोको विनाश गर्न अघि सरी यो विध्वंशमा लागे । संसारमा कही नभए जस्तो केही घण्टामै मुलुकमा ठूलो धन जन र राष्ट्रिय सम्पदा सम्पतिको क्षति हुन गयो । साधारणतः सरकारमा रही शानमान र मोजमज्जामा रहिसकेका र रहेका नेताहरू मात्रको घरबारी तोडफोड आगजनी बिनाश गरेको देख्दा पाउदा मुख्यतः यो सुखभोगी विरूद्ध दुःखभेगीले नै गरेको विद्रोह भन्नु अत्युक्ति नहोला ।
परिणामस्वरूप बिद्रोहीको सिफारिस र आडमा हाल मुलुकमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको तटस्थ सरकार छ । तटस्थ यसमानेमा कि देखिने गरी यहाँ कुनै राजनैतिक दलको प्रतिनिधित्व छैन । यत्रो ठूलो बिद्रोहबाट स्थापना भएको सरकार भएपनि सरकारको अवधि ६ महिना मात्र भएको र सरकारको मुख्य उद्देश्य र अभिप्राय पुरानो प्रतिनिधि सभा विघटन र आगामी फागुन २१ गते नयाँ प्रतिनिधि सभाको चुनाव मात्र गरी विदा लिने देखिएकोले यसबाट मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरी दुःख भोगीहरूलाई सुब्यवस्था र सुख दिने तर्फ कुनै किसिमको ठोस काम गर्न नसक्ने र नभ्याउने निश्चित छ ।यस सन्दर्भमा बिचार गरिदा मुलुक र जनताको लागि कुनै किसिमको उल्लेखनीय अपलब्धी विना अचानक आएको हावाहुरी जस्तो यो आन्दोलन र बिद्रोह नेपाली आकाशमा विलाउने देखिन्छ ।
अर्कोतिर सुखभोगीवाट फरक समस्त मुलुकका वहुमतमा रहेका वहुसंख्यक शोषित पीडित दल बाहिरका दुःखभोगीहरूको सामुहिक स्वार्थको मुलुकबादीको संयुक्त दल जस्तो देखापरेका जेन जी नाम धारण गरेका जेन जी हरू आफै माओबादी, खाओबादी, राजाबादी, प्रजातन्त्रबादी, साम्यवादी आदिआदि हुँदै आफनो जन्म धारणा र उद्देश्यबाट विमुख भई बिभिन्न दलको फायदा पाउन हिडेपछि यसको अस्तित्व रहनेमा ठूलो शङ्का उत्पन्न भएको छ । यसो हुन गयो भने यो हावाहुरी, धुँवा, रापताप, चिसो, ठण्डी जस्तै आयो गयो भई बिलाउने र यो जेन जी नामबाट मुलुकको विकास र जनताको कल्याणको लागि भविष्यमा पनि कुनै काम नहुने निश्चित छ । यै कल्पना र सोचाइमा मेरो हृदयमा उब्जेको भाइ दाइ सम्वाद शीर्षकको जेन जी बारेको एक कविता गोरखा एक्सप्रेस साप्ताहिक अखवारमा २०८२ मंसिर १३ गते प्रकाशित छ । सो सम्बाद यो लेखको अभिन्न अङ्ग जस्तै भएकोले केही परिमार्जन गरी पुनः यहाँ उद्धृत गरेको छु ।
जेन जी भनेको के हो ?
(भाइको प्रश्न, दाइको जवाफ)
प्रश्न - दाइ, जेन जी भनेको के हो ?
जवाफ - भाइ, जेन जी भनेको एक समूह हो ।
एक किसिमको यो मसलाजस्तै हो ।
नूनजस्तै हो ।
तेलजस्तै हो ।
बेसार जस्तै हो ।
यो प्रयो हुन्छ, जुनसुकै तरकारीमा ।
प्रश्न - दाइ, यो दल हो कि ? निर्दल हो ?
जवाफ - भाइ, यो दल पनि हो, दल पनि होइन ।
कहिल्यै हुन्छ थरी गरीका दल ।
प्रश्न - दाइ, यो कसरी ?
जवाफ - भाइ, अलग्गै बस्दा दल अर्थात् जेन जी दल ।
सत्यवादी दल, मुलुकवादी दल, जनतावादी दल ।
टुक्रिदा यो हु निर्दल ।
अरूसित गाँसिदा यो हुन्छ– थरी थरीका दल
माओवादी दल, खाओवादी दल
कांग्रेसवादी दल एमालेवादी दल
राजावादी दल, राजा विरोधी दल
स्वार्थवादी दल
आफूलाई जहाँ फायदा त्यै दल ।
प्रश्न - दाइ, यसको रूप कस्तो हुन्छ ?
जवाफ - भाइ, यो देखिन्छ– हावाजस्तो, जाडोजस्तो, गर्मीजस्तो,
कहिले कस्तो, कहिले कस्तो
भन्नै नसकिने कस्तो कस्तो
बिना रूपको– निराकार ।
प्रश्न - दाइ, मलाई त बुझ्नै गाह्रो, मैले त कुरै बुझिन ।
narayanshanti70@gmail .com


