
नारायणप्रसाद मिश्र-----------
हामी सबैलाई थाहा छ– संसारमा धेरै थरीका धर्म, सम्प्रदायहरू छन् । हिन्दू, बौद्ध, इसाई, मुसलमान आदि कुनै पनि धर्म र सम्प्रदायको कसैलाई हानी पुर्याउने, दुःख पीड़ा दिने अभिप्राय वा उद्देश्य हुँदैन । त्यस्तै संसारमा आजभोलि थरी थरीका राजनैतिक वादहरु छन् । प्रजातन्त्रवाद, लोकतन्त्रवाद, समाजवाद, साम्यबाद वा राजतन्त्रवाद आदि । कुनै पनि राजनैतिक प्रणालीले अरुलाई अन्याय, अत्याचार गर्ने अभिप्राय र उद्देश्य राखेको हुँदैन । आ–आफ्नो आस्था र विश्वास अनुरूप जसरी कुनैपनि धार्मिक सम्प्रयदायले भगवान्को नाममा मानवसेवा गर्ने पवित्र उद्देश्य राख्छ, झण्डै झण्डै त्यस्तै कुनै पनि आधुनिक राजनैतिकबादले आ आफ्नो विश्वासको आधारमा निर्माण गरेको शासकीय स्वरूप, नीति, योजना बमोजिम देशको बिकास र जनताको कल्याण गर्ने उद्देश्य नै राखेको हुन्छ । २०६२/६३ को जन आन्दोलन पछि जारी भएको नेपालको संविधान, २०७२ ले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अगालेको छ । यो व्यवस्था आफैमा खराव भन्नुपर्ने कुनैपनि कारण जरूर छैन । व्यवस्था आफै खराव जरूर हुदैन र छैन पनि । यस्तै व्यवस्थाबाट अरु मुलुकहरूले घेरै उन्नति, प्रगति गरेका दुष्टान्तहरू पनि जरूर संसारमा धेरै छन् । तर व्यवस्था जस्तो सुकै राम्रो भएपनि सवै मुलुकको लागि यो सुहाउँदो र फलिफाप हुन्छ भन्न भने सकिन्दैन । कुनै बोट विरुवा हुर्किन र बढन पनि हावापानी सुहाउँदो हुनपर्ने भने जस्तै कुनै पनि राजनैतिक व्यवस्था मुलुकको जनताको शिक्षा, ज्ञान, आर्थिक स्तर आदि सुहाउँदो हुनुपर्छ नै । अन्यथा यसले राम्रो फल दिन सक्तैन ।
कुरा जस्तो भएपनि हाम्रो मुलुकमा सञ्चालित शासन, प्रशासनबाट जनता पीडित छन् । प्रताडित छन् । खुशी छैनन् । असन्तोष छन्, मुलुकमा भइरहेको असिमित ब्याप्त भ्रष्टाचार, अड्डा अफिसमा घूसखोरी र अव्यवस्था, शोषण दमन, न्याय निसाफमा असमानता अन्याय अत्याचार, ब्याप्त दलतन्त्र र नेतातन्न्र, रोजगारीको अभाब आदि आदि कुराले जनता दुःख पीडामा छन् । यिनै कुराहरूको आक्रोशले लाखौलाख जनता हाल विद्रोहमा उत्रेका छन । यी कुराहरुको निराकरण गरी जनताको माग वमोजिम मुलुकलाई सही बाटोमा हिडाउनु सवैको कर्तब्य हुन आएको देखिन्छ ।
मुलुकमा भइरहेका अनियमितता र अव्यवस्थाका मूल कारण नखोजी, पत्ता नलगाई यसको निराकरण गर्न सम्भव छैन । यस दृष्टिकोणले बिचार गरिदा केही केही शासन प्रणालीमा दोष र धेरै सरकार चलाउने नेतृत्व, दल र दलका नेता कार्यकर्ताहरूको दोष र गल्ती नै देखिन्छन् । यसको साथै केही दोष समस्त जनताको पनि देखिन्छ ।
संसारको प्रचलन र राजनैतिक शास्त्रले माने पनि, नमाने पनि राष्ट्रप्रति र प्रधानमन्त्री हुने व्यवस्थामा यी दुवै पदाधिकारी एकै दलको हुँदा दुबैको घनिष्ठता, मित्रताको कारण मिलोमतो र एकाधिकारले हुने नहुने जे पनि काम गर्न सक्ने हुन्छ । विगत सरकारले यस्तै हुने नहुने अध्यादेश जारी गरी मुलुक हित र जनहित विपरितका काम गरेको भन्ने कुरा वेलावखत संसदका प्रतिपक्ष दलहरूले गर्ने गरेको हामी सबैलाई थाहा छ । यस्तो हुन नदिन शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्था गर्नु पर्ने देखिन्छ । यसको लागि दुई पदाधिकारी मध्य एक स्वतन्त्र, दलविहिन गर्न जरूरी छ । यसको लागि संविधानमा नै सुधार गर्नुपर्छ ।
मुलुकमा हाल स्थापित निर्वाचन प्रणाली अनुसार मुलुकको प्रतिनिधि सभामा कुनैपनि दलले बहुमत पाउने सम्भावना धेरै कम छ । हाम्रो अनुभवले यही देखाउँछ । यसले गर्दा सदा मुलुकमा गठवन्धन सरकार छ । भागवण्डा सरकार छ । यो हाम्रो संविधान र व्यवस्थाको त्रूटीले भएको हो । यो ब्यवस्थाको त्रूटी साथै हाम्रा दल र नेताहरूको आचारहिन्, अनैतिक स्वभाव व्यवहारले गर्दा गठवन्धन सरकार पनि मुलुक र जनताको चाहना भन्दा नेताहरुको ब्यक्तिगत् र दलीय स्वार्थको लागि हुने गरेको देखिन्छ । यो नै मुलुकमा सदा अस्थिर सरकार हुनु, ठूल्ठूला, भ्रष्टाचार विना डरभर मिलो मतोमा गरिनु, मुलुकमा व्याप्त भ्रष्टाचार हुनु र भ्रष्टाचार काण्डको पनि निस्पक्ष छानविन र कारवाई नहुनुका मुल कारण हुन् भन्नुमा अत्युक्त हुदैन । यो कुरामा सुधार ल्याई मुलुकमा ५ वर्षको जिम्मेवार स्थायी सरकारको व्यवस्था गर्नको निमित संविधानमा सुधार गरी मुलुक भरीको जनताबाट प्रत्यक्ष निर्वाचित प्रधान मन्त्रीको व्यवस्था जतिसक्यो चाडो गर्नपर्ने देखिन्छ । शक्ति सन्तुलन र नियन्त्रणको वलियो संवैधानिक ब्यवस्था र ब्यवसायिक स्वतन्त्र न्यायालय हुन सके अरु कुनै कुराले पनि यो ब्यवस्थाको प्रधानमन्त्री तानाशाही हुन सक्तैन । सांसदहरूले बिवेक छाडी स्वार्थको लागि नेताहरूको सेवक र कठपुतली हुने स्थिति र मनोवृति हुन्छ भने त्यस्तो मुलुकमा जुनसुकै प्रधानमन्त्री पनि तानाशाह हुन सक्ने कुरा हाम्रै अनुभवले स्पष्ट गर्छ ।
हालको संसदीय ब्यवस्थामा जनताको मतभन्दा सीमित संख्याको सांसदहरुको मतको संख्याले प्रधानमन्त्री नियुक्ति र नियन्त्रित हुन्छन् । प्रधानमन्त्रीको सदा सांसदहरुलाई खुशी पार्नु पर्ने वाध्यताले नै हाम्रो मुलुकमा खाने र खुवाउने, आफना मान्छेको हुने वा नहुने काम पनि गरि दिने, आफू नजिक नभएका साधारण नागरिकको हक अधिकारमा ध्यान नदिने आदि भ्रष्टाचार प्रणालीको बिकास हुने गरेको पनि देखिन्छ । माथिको व्यवस्था गर्न सके यो कुरा पनि स्वतः रोकिन्छ ।
लोकतन्त्रको नाममा दलतन्त्र वा नेतातन्त्र हुनुमा भने संविधान र व्यवस्थाको त्रूटी नभई मुख्यतः नेतृत्वको अर्थात नेताको स्वार्थ, आचारहिनता, नैतिकहिनता, वेइमानी, नातावाद, कृपावादनै देखिन्छ । यिनै कारण इमान र बिवेक छाडी सम्बैधानिक आयोगमा समेत बिभिन्न जालसाझीले आफू अनुकुलको योग्य अयोग्य, इमानी वा वेइमान जो मन लाग्यो त्यसलाई अध्यक्ष र सदस्य बनाउने र सोही अनुसार अन्य सम्बैधानिक निकायहरूमा पनि कठपुतलीहरु अध्यक्ष र सदस्य वनाउने गरेको देखिन्छ । सोही औजार प्रयोग गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोग, न्यायालय, शैक्षिक प्राज्ञिक संस्था, विश्वविद्यालय, प्रहरी आदि इत्यादि सबै ठाउमा नियन्त्रण कायम गरी लोकतन्त्रको सट्टा दलतन्त्र मुलुकमा चलाएको प्रष्ट छ । यी कुराहरू रोक्नको लागि संविधान, ऐन कानूनमा आवश्यक सुधारको साथै यस्ता दल र दलका नेताहरुलाई भने निर्वाचनमा मतद्वारा फाल्न हटाउन जनता आफै जागरूक हुनजरूरी छ ।
नेपालमा हाल विद्यमान संघीय शासन प्रणाली दल र नेताहरूको मान प्रतिष्ठा, सानमान, रवाफको लागि मात्र संघीय संसद, सरकार, मन्त्रालय र थरी थरीका कार्यालयहरू रहन गएको, यसवाट मुलुकलाई अनावश्यक आर्थिक भार परेको तर गाउँ, जिल्ला, प्रदेशको बिकासमा कुनै उल्लेखनीय टेवा नमिलेको र राजधानीमा पाउने सेवा प्रदेशमा पाउने कुरा नाममा मात्र भएको र जनताले कुनै प्रभावकारी छिटोछरितो सेवा पाउने काम नभएको भन्ने चर्चा मुलुकभरी छ । आफनो दलको उपलब्धीमा अनावश्यक कसैले धावा वोलेको यो विषय सम्झी कुनै पार्टी विशेषले यो प्रतिष्ठाको विषय बनाउनु जरूर ठीक छैन । यसैले यो कुरा सत्य वा असत्य केहो भन्ने कुरामा राम्रो अध्ययन, अनुसन्धान गरी सही निर्णय गर्न जरूरी छ । कुरा हो भने साविक ब्यवस्थाको सट्टा नाम जुनसुकै गरिएपनि मुलुकमा हाल विद्यमान सम्पूर्ण जिल्लाहरूमा राजधानीमा पाउने सवै कार्यालयहरुको सेवा सुविधा पाउने गरी स्थानिय सरकारको ब्यवस्था गर्नु मुलुक र जनताको लागि जरूर कल्याणकारी हुन्छ ।
हालको विद्रोह र जनताको आवाजमा ध्यान दिई यी कुराहरूमा सम्बन्धित सवैले समयमै चिन्तन मनन गरी विना विलम्ब कार्यान्वयन गर्नु पर्ने देखिन्छ ।
लेखक वारे––
जेष्ठ नागरिक, नेपाली र अंग्रेजी भाषाका केही पुस्तकका लेखक र त्रिभुवन विश्वविद्यालयको निवृत् पदाधिकारी । narayanshanti70@gmail .com


