
नेपाली कांग्रेसभित्र चुलिएको समस्या समधानका लागि त्रिपक्षीय वार्ता हुँदैछ । कांग्रेसभित्र चुलिएको आन्तरिक गतिरोध अन्त्यका लागि संस्थापन पक्ष , शेखर कोइराला पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता हुन लागेकाे हाे ।
पार्टीभित्र आन्तरिक गतिरोध अन्त्य गर्न आज बिहानैदेखि तीन पक्षबीच निर्णायक संवाद सुरु भएको छ । काठमाडाैँकाे लाजिम्पाटस्थित एक नेताको निवासमा तीनै पक्षका प्रभावशाली नेताहरूको सहभागितामा जारी त्रिपक्षीय वार्ताले पार्टीको सम्भावित विभाजन रोक्ने र एकता कायम गर्ने अन्तिम प्रयास हुने बताइएकाे छ ।
विशेष महाधिवेशन पक्षको तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज लिसे र मधु आचार्यले प्रतिनिधित्व गरेका छन् भने नेता शेखर कोइरालाको समूहबाट जीवन परियार र डा. मिनेन्द्र रिजाल वार्तामा सहभागी छन् । त्यसैगरि संस्थापन (देउवा) पक्षका तर्फबाट रमेश लेखक र बालकृष्ण खाँणले सहजीकरण गरिरहेका छन् ।
यसअघि हिजाे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर आफ्नो बटमलाइन बुझाएकाे र सोही अडान र विशेष महाधिवेशनको अपनत्व लिने विषयमै अहिलेको छलफल केन्द्रित रहेको बताइएको छ ।
यता पार्टीले केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै महत्त्वपूर्ण विषयहरूमा छलफल गर्नका लागि बैठक बाेलाइएकाे हाे ।


