
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने देवेन्द्र बहादुर खत्री (मधु)ले घोषणा गरेका छन्।
उनले पछाडि पारिएका तह र तप्काका समुदाय तथा वर्गका व्यक्तिहरूलाई प्रतिनिधित्व गर्ने गरी चुनावमा होमिने निर्णय गरेको बताए।
“पिछडिएका समुदाय र वर्गका व्यक्तिहरूलाई सधैँ अवसरबाट वञ्चित गरियो,” उनले भने,“उहाँहरूको पीडा र मुद्दालाई जहिले पनि कुण्ठित गरेर राखिएको छ।” यस्ता व्यक्तिहरू र समाजको प्रतिनिधित्व गर्दै चुनावमा होमिने विचार गरेको उनले बताए।
उनले देशभर चुनौतीका रूपमा देखिएको ग्लोबल वार्मिङ अर्थात् जलवायु परिवर्तनको मुद्दा पनि अगाडि सारेका छन्। मानवीय गतिविधि, उद्योगबाट निस्कने ग्यास तथा केमिकलका कारण वायु प्रदूषण बढेको उनले बताए। यसका कारण विभिन्न प्राकृतिक स्रोतसाधनमा प्रत्यक्ष र अप्रत्यक्ष असर परिरहेको उनको भनाइ छ।
मानवसहित पृथ्वीमा रहेका सम्पूर्ण प्राणीहरूमा प्रतिकूल असर परेको भन्दै उनले प्रविधिको सही प्रयोग आवश्यक रहेको बताए।
प्रकृतिमा रहेका स्रोत र साधनको उच्चतम, तर अनुकूल प्रयोग गर्ने नीति अपनाउनुपर्ने उनको धारणा छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, अन्य अल्पसङ्ख्यक, पिछडिएको वर्ग, मधेशी, अपाङ्गता भएका व्यक्ति, महिला, जनजाति, क्षेत्रगत र धर्मगत हिसाबले सबैको प्रतिनिधित्व हुने गरी आवाज बुलन्द गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
आफ्नो गाउँ, टोल र समाजमा सशक्त माध्यमका रूपमा आवाज उठाइने उनले बताए। यसबाट लक्षित समुदायको जीवनमा सकारात्मक कायापलट ल्याउने उद्देश्य रहेको उनले प्रस्ट पारे।
खत्री तेस्रोलिंगी नुमा लिम्बुको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको समावेशी समाजवादी पार्टीबाट टिकट लिएर चुनावी मैदानमा होमिन लागेका हुन्।
नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा तेस्रोलिंगी नेतृत्वमै छुट्टै दल खोलेर चुनावमा सहभागी हुन लागेको पार्टीका रूपमा समावेशी समाजवादी पार्टी देखिएको छ। यो दल गठनदेखि निर्वाचनसम्मको यात्रालाई समुदायले सङ्घर्षशील र ऐतिहासिक कदमका रूपमा हेरेका छन्।
यसअघि पार्टीकी अध्यक्ष नुमा लिम्बु र महासचिव मनिन्द्र सिंह दनुवारले प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। मधु पार्टीका केन्द्रीय सदस्य समेत हुन्।
निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन तालिका सार्वजनिक गरिसकेको छ। मनोनयनको मिति नजिकिँदै जाँदा विभिन्न दल र नेताहरूबाट उम्मेदवारी घोषणा भइरहेका छन्।
नेपालमा दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गराएको ‘मायाको पहिचान नेपाल’का उपाध्यक्षसमेत रहेका मधु स्वयं लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति हुन्।
पार्टीले साइबरनेटिक लोकतान्त्रिक सङ्घीयताको सिद्धान्त अनुसार काम गर्ने उनले बताए। प्रकृतिको सही सदुपयोग गर्दै अघि बढ्ने योजना रहेको उनको भनाइ छ।
एआईको प्रयोग गरेर विकासका कामलाई प्रभावकारी बनाउन सकिने योजना पनि उनले सुनाए। विभिन्न राजनीतिक दलहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मुद्दालाई वर्षौँसम्म भोट बैङ्कका रूपमा मात्रै प्रयोग गरेको आरोप उनले लगाए।
“हाम्रो मुद्दा सधैँ ओझेलमा पारियो,” उनले भने,“जहिले पनि पिँधमा राखियो, आवाज उठाइदिएनन्।” उनका अनुसार स्वार्थका लागि राजनीतिकरण गरियो र आफ्नो फाइदा निकालियो।
सहभागितामूलक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको उनले बताए। यसले समाजमा लैङ्गिक हिंसा कम हुने उनको दाबी छ।
वर्गीय असमानतालाई सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
शिक्षा, स्वास्थ्य, रोजगारी, मानिसका नैसर्गिक तथा मौलिक अधिकारलाई केन्द्रमा राखेर काम गर्ने उनले बताए। कला, संस्कृति र मौलिकतालाई माटो सुहाउँदो परिवेश अनुसार विकास गर्ने लक्ष्य लिएको पनि उनले उल्लेख गरे। यस यात्रामा जनताले भोट दिएर साथ दिने आशा उनले व्यक्त गरेका छन्।
विभिन्न राजनीतिक दलहरूसँग प्रतिनिधित्वका लागि हारगुहार गरिरहँदा मुखले ठिक्क तर कामले दिक्क पार्ने अवस्था आएपछि बाध्य भएर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा दल गठन गरेर निर्वाचन आयोगमा दर्ता गरिएको पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले बताएका छन्।
पन्त समावेशी समाजवादी पार्टीका संरक्षक तथा सल्लाहकार हुन्। उनकै पहलमा नेपालमा छलफलमै सीमित रहेको समलिङ्गी विवाहलाई कानुनी रूपमा दर्ता गर्न पाउने बाटो खुलेको हो।
यस अभियानलाई अघि बढाउने क्रममा उनले निरन्तर अवरोध, दबाब र उपेक्षाको सामना गर्नुपरेको समुदायका सदस्यहरूले बताएका छन्। समलिङ्गी विवाहको कानुन बनाउने नाममा लिङ्गरिङ गर्दै आएका केही गैरसरकारी संस्थाहरू तथा समलिङ्गी विवाहको विरोधमा रहेका समूहहरूले पन्तको अभियान रोक्न अनेक षड्यन्त्र अपनाइरहेको उनीहरूको भनाइ छ।
कहिलेकाहीँ भ्रम फैलाउने, चरित्रहत्या गर्ने, दबाब सिर्जना गर्ने र अभियानलाई कमजोर पार्ने प्रयाससमेत भएको समुदायका सदस्यहरूको दाबी छ। अभियानकर्तालाई विरोधीहरूसँग मिलेर रोक्ने काम नगर्न उनीहरूले आग्रह गरेका छन्।
चुनावी अभियानमा होमिएर ऐतिहासिक सफलता रच्ने काममा लाग्नसमेत समुदायका सदस्यहरूले आह्वान गरेका छन्। समावेशी समाजवादी पार्टीले प्रत्यक्षतर्फ पार्टीबाट उम्मेदवार बन्न इच्छुकहरूलाई खुला आह्वान पनि गरेको छ।


