Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

साधुका भेषमा लुटेराहरू

२१ मंगलबार , माघ २०८२५ घण्टा अगाडि

साधुका भेषमा लुटेराहरू

पूर्वराजा ज्ञानेन्द्र झापाबाट जनकपुर पुग्नुभयो, माता जानकी र हनुमान मन्दिरमा पूजाआजा, दर्शन गर्नुभयो । स्थानीय जनतासँग भलाकुसारी गर्नुभयो र झापा फर्कनुभयो । यसअघि रास्वपाबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन साहले पनि जनकपुरबाटै प्रचार अभियान थाल्नुभयो । बालेनको चुनाव प्रचार र पूर्वराजाको पूजाआजा समारोहमा भीड थामिनस्कनु उर्लिएको थियो । भीड त राजेश हमाल, करिश्मा मानन्धर अथवा हिन्दी फिल्मका हिरो सञ्जय दत्तलाई हेर्न पनि लाग्ने गरेको देखिन्छ । कांग्रेसका सभापति प्रधानमन्त्रीमा प्रस्तावित गगन थापा सर्लाही ४ पुग्दा पनि निकै भीड देखिएको छ । उता सञ्चारकर्म छाडेर चुनावी मैदानमा उत्रिएका ऋषि धमलाले पनि आफ्नो पछाडि भीड देखाएका छन् । भीड निर्णय होइन, नतिजा पनि होइन । भीड नतिजा हुँदो हो त नेपालैभरि लोकप्रिय रहेका राजाको पछाडि देखिएका भीडले १७ वर्ष अघि नै नेपालमा हिन्दुअधिराज्य र राजतन्त्रको पुनस्र्थापना गरिसकेको हुनेथियो । भीड त अभियन्ता दुर्गा प्रसाईले पनि पटक पटक सडकमै देखाएका हुन्, फागुन १ देखि आन्दोलन गर्ने भनेका छन्, उनले भीड जुटाउनेमा कुनै शंका छैन । प्रश्न यत्ति छ कि निरन्तरको आन्दोलन र आन्दोलनले ल्याउने परिवर्तनको हो ।
२०६३ सालपछि भ्रष्टाचार र राष्ट्रघातका श्रृङ्खला रोकिएन । राजनीतिक सेटिङ् र राजनीतिक अपराधिकरण झन झन बढेर गयो । प्रचण्डदेखि माधव नेपालसम्म, केपी ओलीदेखि रवि लामिछानेसम्म पनि अनेक प्रकरणहरू जोडिएका छन्, प्रश्न उठेपछि निराकरण हुनुपर्ने हो । ज्यानमारा, सर्वस्वहरण भएकाहरू समेत कानुन निर्माण गर्ने संसदमा पुगे, सांसद पद दाइजोमा दिएको पनि देखियो, रातोपासपोर्टको घोटाला, नेपाली मात्र होइन, अनेक देशका अपराधीलाई भुटानी शरणार्थी बनाएर पनि अमेरिका र अन्य देशमा निकासी गरियो । प्रधानमन्त्री निवासका जग्गामात्र होइन, शेरा दरवार, नेपाल ट्रष्टका सम्पत्तिमा पनि यिनै नेताहरूले बाघले साँप्रो चपाएजसरी चपाए । कुनै कारवाही भएन । लोकतान्त्रिक गणतन्त्र नेपालका नेताहरू जो छन्, तिनको भ्रष्टाचारको बयान गर्न हजार जिब्रा भएका शेषनागले पनि सक्ने अवस्था छैन । जनयुद्धमा १७ हजार मारिए, हजारौं बेपत्ता पारिए, तिनका परिवार न्याय चाहियो भनिरहेका छन्, ६ महिनामा न्याय दिन्छु भन्नेहरू यिनै हुन्, जसले २० वर्षमा पनि संक्रमणकालीन न्याय सम्पादन गर्न सकेनन् । यी सबै अन्याचारको प्रत्युत्तर हो– गत भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलन ।  यसपछि अव परिवर्तन हुन्छ, भ्रष्टाचारीबाट मुक्ति मिल्छ, सुशासन कायम हुन्छ, बिकास हुन्छ, रोजगारी मिल्छ, समानता आउँछ, देश नयाँ पुस्ताले चलाउने छन् भन्ने आशा पलाएको थियो । जेनजीको आन्दोलन सफलतादेखि जुन प्रकारको षडयन्त्र भयो, फागुन २१ आउन महिनादिन बाँकी हुँदा षडयन्त्र झन गहिरिएको छ । हिजोका शासक मुलुक र मुलुकवासी मारा थिए, अन्तरिम सरकारमा सामेलहरू अवसरवादी देखिए, जो चुनावमा होमिएका छन्, तिनीहरूबाट पनि जनआकांक्षा संवोधन हुन्छ भन्ने आश्वस्त वातावरण देखिदैन । यथार्थमा शान्ति र समुन्नति भनेको राजतन्त्रको पुनस्र्थापना र नेपालीले चाहेजस्तो संविधान नै हो । भर्खर वालेन साहले शहिद दिवसमा सन्देश जारी गरे– अव कोही पनि शहिद हुन नपरोस् । ७६ जेनजी मारिए, हजारौं घाइते भए, त्यसको जिम्मेवार छाती फुलाएर हिंडिरहेको छ, जुन सत्ताले मा¥यो, ऊ फेरि चुनाव जितेर प्रधानमन्त्री हुन्छु भनेर हुँकार गरिरहेको छ । कहाँ छ नेपालीपन, नेपालीत्व ? यो चुनाव कुन नेपालीले जित्छ ?
आमजनताले खोजेको शान्ति, सुशासन र समृद्धि हो । चुनाव हुनु वा संसद पुनस्र्थापना हुनुले राजनीतिक मुद्दाको किनारा लाग्दैन । द्वन्द्व बढाउने कार्य भनेकै चुनाव हो । चुनाव अघि नै संवाद, सहमति र सहकार्यको प्रत्याभूति गरेको भए अर्कै माहोल बन्ने थियो । जबसम्म राजासहितको प्रजातन्त्र र तत्अनुकूलको संविधान जारी हुँदैन, देशमा अस्थिरताको अन्त्य हुनै सक्दैन । यथार्थमा हामी पनि उस्तै, जो चोर, भ्रष्ट, ज्यानमारा भन्ने थाहा छ, तिनैको पछि लागेका छौं । संघीयता किन चाहियो, धर्मनिरपेक्षताले के दियो ? थाहा छ, चुनाव त्यसैलाई संस्थागत गर्नेछ । ज्यानमारा, भ्रष्ट, जनविरोधीको पछि लागेर देशले केही पाउनेवाला छैन ।
जो राजनीतिमा छन्, तिनीहरू चरित्रहीन बढी छन् । जो लोकतन्त्र भनिरहेका छन्, तिनीहरू लुटतन्त्रका पक्षपाती हुन् । २०६३ देखि देखियो, यी सबै जुका हुन्, जसले देश र जनताको रगत चुस्नेकाम मात्र गरे । जो चोर उसैको ठूलो स्वर भनेझैं नेताहरू अहिले पनि भ्रम छरिरहेका छन्– १० वर्षमा नेपाललाई समुन्नत बनाइदिन्छौं । २० वर्षमा आफै समुन्नत बने, यिनले फेरि उही नारा फलाक्दैछन् । भोटका लागि गाईको मासु खाने कुरा गर्न पनि पछि परेनन् । हिजो होलीवाइन खाएर एकलाख डलर लिनेहरू आज राजनीतिका बादशाह पल्टेका छन् ।
पूर्वराजाले पटक पटक संवाद, सहमति र सहकार्य गरेर देशका समस्या समाधान गर्न आह्वान गरेकै हो । साधुको भेषमा डाँकु भएकाहरूले त्यो आह्वानलाई कमजोरी सम्झनले गल्ती गरिरहेकै छन् । यस्ताको हातमा भाग्य र भविष्य सुम्पिनु भनेको जनताले फेरि पुर्पुरोमा हात राखेर पछुताउनु पर्नेछ । जो चुनावमा गएका छन्, आफै जित्ने र सत्तामा जाने तैयारीमा जुटेका छन्, यिनीहरू पुरानो बोतलका नयाँ रक्सीमात्र हुन् । राजसंस्थालाई जसरी पनि रोक्ने चलखेल भइरहेकै छ । विदेशीको रिमोटमा चलेपछि इसारा उतैबाट आउँछ, भोलिका दिनमा यी नेताहरूको उत्तरदायित्व पनि उतैतिरको हुनेछ । बेलैमा साधुका भेषका लुटराहरूलाई चिनौं ।