
जेनजी पुस्तालाई धन्यवाद दिनैपर्छ, यही पुस्ताले देशको जर्जर भएको अवस्थामा सिङ्गो मुलुकको विवेकलाई झक्झक्याइदिएका छन् । हरेक नागरिक, हरेक पार्टी र हरेक नेता निन्द्राबाट ब्यूँझेजसरी झस्याङ्ग भएका छन् । युवा जागे भने के मात्र नहुने रहेछ ? के मात्र असम्भव रहेछ र ? जो घटनाक्रम देखियो, यसबाट विश्वजगत नै चकित छ । जेनजी पुस्ताले स्थापित सिस्टम नै ढाल्न सक्ने घटना नेपालमा देखियो । भयो ।
२०४६ मा बहुदल पुनस्र्थापित भएपछि धरैपल्ट चुनाव भएका छन् । हरेक चुनावमा जनताले आश्वासन पाए, चुनावका बेलामा खर्चपानी, भोज खाए, चुनावपछि त्यसको महगो मूल्य देश र जनताले नै चुकाउनु परेको थियो ।
२०४६ देखि २०८२ सम्ममा जनताले अँध्यारो उज्यालो देखेका छन् । चुनावमा भोट दिएका छन्, चुनावमा नेतालाई जिताएका छन् । छटपटी र पीडा पनि जनताले नै भोगेका छन् । नेताहरूले सपना देखाएरै चुनाव जिते, सत्तामा पुगेपछि पनि सपना देखाएरै देशलाई लुटे । यो अवधिमा देश बलियो भएन, देशबासी झन कमजोर भए । नेताहरूले यतिसम्म चरित्रहीन काम गरे कि आज विश्वले नेपाललाई भ्रष्टहरूको देश भनेर चिन्छन् । दण्डहीन मुलुक भन्छन्, मानव तस्करीको अड्डा सम्झन्छन् । विश्वका असफल मुलुकहरू हाइटी, सियरालियोनभन्दा तल्लो तहमा नेपाल खस्किसकेको छ ।
हुन त कतिपय नेताहरूको स्वीस बैंकमा पैसा छ । नेपालमै खरवौं सम्पत्ति हुनेहरू पनि छन् । तर रोजगारी छैन, उद्योगधन्दा छैन, बन्दव्यापार छैन । खाद्यान्नदेखि लत्ताकपडा, गाडीको आयात हुन्छ । नेपाल छिमेकीको सामान बेच्ने हाटबजारजस्तोमात्र छ । देश हुनका लागि चाहिने कुनै विशेषता नेपालमा घट्दै गएका छन् । राजा फाल्नुलाई अग्रगामी फड्को, छलाङ् भन्नेहरू हुन् कि बहुदललाई सफलता मान्नेहरू हुन्, सबै भ्रष्टाचारमा गनाएका छन् ।
विश्वले आश्चर्य मानेको विषय भनेको नेपालका नेता कस्ता हुन्– जो जनताको नाना, खाना, छाना, स्वास्थ्य र शिक्षामा व्यापार गर्छन् । जनताले पाउनैपर्ने प्राथमिक आधारभूत आवश्यकतामा व्यापार गर्छन् । यस्तो देशलाई लोककल्याणकारी राज्य भनेर हाम्रा नेताहरू थाक्दैनन्, विश्व हाँस्छ ।
२०४६ सालदेखि समुन्नत समाज, विकास, समानता हेर्ने आशले बसेका नेपाली २०८२ सालमा आइपुग्दा पनि आशै गरिरहेका छन् । आश गर्दा गर्दा निराश बनिसकेका जनताका सामु फेरि चुनाव आइपुगेको छ । चुनाव जित्नका लागि उमेदवारहरूले नानाभाँती आश्वासन दिएर जनतालाई आकर्षित गरिरहेका देखिन्छन् । हरेक चुनावमा जे हुँदै आएको छ, त्यही प्रवृत्ति दोहारिरहेको छ । जनताको आशा र भरोसा, आस्था र विश्वास २०४६ सालदेखि ३७ वर्षसम्म पनि वीरबलको खिचडी पाक्ला र खाउँला भन्ने स्थिति मै छ । कथा कथा हो, जुन कथाले जनतालाई पीडामात्र दिएको छ ।
जुनसुकै पार्टी वा नेताको आश्वासनलाई जनताले हात्तीको देखाउने र चपाउने दाँत फरक भएको रूपमा बुझिसकेका छन् । यसकारण त हरेक चुनावमा विश्वास गर्छन्, चुनाव सकिएपछि कहिल्यै विश्वास पूरा हुँदैन । हात्ती आयो हात्ती आयो फुस्साका रूपमा चुनाव आउँछ, परिणाम आउँदैन । पार्टी सिस्टममा सेटिङ शासन गर्छन् ।
प्रजातन्त्रमा जनता निर्णायक हुन् । जनताको अभिमतले संसद बन्छ, संसदले सरकार बनाउँछ, कानुन बनाउँछ । जनमतभन्दा पर प्रजातन्त्रमा केही पनि हुँदैन । यसकारण जनतालाई जनार्दन पनि भन्ने गरिन्छ । तर नेपालको सन्दर्भमा जनता कहिले जनार्दन हुनसकेनन् । चुनावका बेलामा लोभलालच, बाहुबली देखायो, खर्चपानी दियो, चुनाव जित्यो अनि जनताको प्रतिनिधि बनेर देश र तिनै जनतालाई लुट्यो । ०४६ सालदेखि भइरहेको यही नै हो । यो प्रकृया थाहा पाएका विदेशीले समेत भन्न थालिसकेका छन्– हिराको मूल्य किराले जानेनन् ।
फेरि एकपल्ट फागुन २१ मा चुनाव आएको छ । पहिले पहिलेजस्तै जनताले चुनावमा जीवन रोज्ने कि मृत्यु ? यो निर्णायक घडी आउन अब महिना दिनमात्र बाँकी छ । जनता कति सचेत होलान् ?
पटक पटक स्थापित नेताहरूले यतिसम्म भने कि घरघरमा ग्यासको पाइप, नदीमा पानी जहाज, मेट्रो सिटी, मेट्रो रेल, सिंगापुरको सपना पनि देखाएकै हो । नयाँ नेपाल बनाउँछु भन्नेहरूले भएकै नेपाललाई संकटमा पारिदिए, बिस वर्षमा माखो मारेनन् । हो, भ्यू टावर बन्यो । भएका उद्योग बन्द भए वा बेचिए । रोजगारी खोसियो, प्रत्येक वर्ष तैयार हुने ५ लाख युवाले रोजगारीका लागि विदेश दौडनु प¥यो । यतिबेला पहाडमा बुढाबुढी, बालबालिकामात्र छन्, सहरमा कमिशन, ठगी, लूट, भ्रष्टाचार, अपराधमात्र छ । शान्ति क्षेत्र नेपाल अशान्त छ ।
यी सबै असन्तुष्टिहरू जनताले सडकमा व्यक्त गरे, सुनेनन् । मार्कोसजस्ता भ्रष्टहरूको बिगबिगी देखियो । नेपोटिजम र नेपोबेबीइजमको स्वर्ग बन्यो नेपाल । नेपालको हालत सुडान, सोमालियाको जस्तो हुनपुग्यो ।
देशलाई बजेट आकारको ब्यापार घाटा र ३२ खर्ब राष्ट्रिय ऋणको खाल्डोमा हाल्ने यिनै हुन् । यतिका ऋण कहाँ खर्च भयो, यिनले बताउन सक्दैनन् । कुशासनका कारणले राष्ट्रको स्तर ग्रेलिस्टमा पुगिसक्यो, ब्ल्याकलिस्टमा पर्ने खतरा बढिसक्यो । यो भनेको विश्व समुदायमा नेपालको इज्जत माटोमा मिल्नु हो । कुनै समय नेपालले के भन्छ भने विश्व कान ठाढो पारेर सुन्थ्यो, आजकल विश्वले नेपाललाई सुन्दैन, हेप्ने प्रवृत्ति समेत बढेर गएको छ । एमसीसी योजना दिने अमेरिकाले समेत नेपाललाई भिसा दिन कडाइ गरेको छ । बण्ड राख्नुपर्ने सर्त लादेको छ । नेपालले भुटानी शरणार्थीको नाममा आतंककारीलाई समेत निर्यात गर्नुको परिणाम हो यो । तैपनि अन्धा शासकहरू सचेत भएनन् । लोकतन्त्रको नामधारी भ्रष्ट शासकहरूले सामाजिक सञ्जाल बन्द गरिदिए । रोजगारीका गाडी संसारभरि दुःख झेलिरहेकाहरूले घरका बुढा आमाबा, परिवारजनसँग दुःखसुख साट्न पाएनन्, सन्चोबिसन्चो सोध्न पाएनन् । दुईचार पैसा कमाउन, पठाउन पाएनन् । अनि बाध्य भएर भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्न बाध्य भएका हुन् ।
यही आन्दोलनले दलहरूका भ्रष्टाचारी, दुराचारी सत्ता ध्वस्त पारिदिए । हुनुपर्ने त्यतिबेलै धेरै परिवर्तन थिए । हुनसकेनन् । त्यसपछि अन्तरिम सरकार गठन भयो र फागुन २१ मा नयाँ चुनाव घोषणा भएको हो । यो चुनावमा पनि गल्ती भयो भने नेपालीले फेरि अपराधिक राजनीतिको कहर बेहोर्नुपर्ने छ । चुनावको त्यही प्रस्थान विन्दुबाट देश नयाँ नेतृत्व चयन गर्न अग्रसर भएको छ । यो चुनावमा धेरै नयाँ पुस्ताका उमेदवार खडा भएका छन् । यो चुनाव निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा हुनसक्यो भने शासन सत्तामा विवेकशीलहरू पुग्न सक्छन् । काई, लेउ, ऐंजेरूहरू छाँटिन्छन् । ७६ जना जेनजी पुस्ताको रगतबाट रक्तबिज जन्मिन सक्ने र देशमा नयाँ युग सुरू गर्ने अवसर हो यो । शासन सत्ता शुद्धीकरणको साइत फागुन २१ हो । साइत छोप्न जरूरी छ ।
हुन त सरकार गठनदेखि चुनाव हुन महिनादिन जति बाँकी हुन्जेलमा जेनजी सपनामा धेरै प्रकारका चिसोपानी खन्याउने षडयन्त्र भइसकेको छ । कसैले जिम्मेवारी बिर्से, कतिले कर्तव्य भुले । कतिले जेनजीको सहादतलाई अपमान गरे । जेनजी आन्दोलनका समयमा भूमिगत भएकाहरू फेरि चुनावी मैदानमा हुँकार मार्न थालेका छन् । जसले ०४६ सालको बहुदलदेखि लोकतान्त्रिक गणतन्त्रसम्म शासन गरे र आफूमात्र सफल भए, देश र जनतालाई छटपटीमा पारे, तिनै तत्वहरूले चुनाव जित्नु भनेको राजनीतिले समाज परिवर्तन गर्न नसक्नु र फेरि पनि राजनीतिक बिचण्डताको निरन्तरता हुनु हो । जेनजी पुस्ताले ल्याएको परिवर्तन हावाको एक झोक्का हो, आयो गयो भन्ने अर्थ लाग्नसक्ने विषयमा जेनजी पुस्ताले गम्भीरताका साथ बुझ्नै, सोच्नैपर्ने देखिन्छ । शासन सत्ताका नेता, प्रशासकहरूले ठूलो घात गरेका छन् । झुट बोल्ने र झुक्याउने निरन्तरताको क्रमभङ्गता हुने समय यही हो । नीति, सिद्धान्त, निष्ठा र लोकलज्जाको लक्ष्मणरेखा कोर्ने बेला पनि यही हो । सिण्डिकेट, आलोपालो, नेपोटिजम, पपुलिजम, सर्वत्र राजनीतिकरण र अपराधको श्रृङ्खला बिच्छेद गर्ने, स्वाभिमान जगाउने अहिले नै हो । जर्जर भइसक्यो सामाजिक, आर्थिक, राजनीतिक, सांष्कृतिक, परम्परागत संष्कार । शासक र जनतावीचको मर्दै गएको विश्वास जगाउने र चरम वितृष्णमा आशा जगाउने अहिले नै हो । किनकि जनता अन्तिम निर्णायक हुन् । जनताले सहँदा सहँदा जनतालाई जनार्दनबाट दासको दृष्टिले हेर्नेहरूलाई सवक सिकाउने अवसर यही हो ।
भ्रष्ट र अपराधीहरूको सातो गएको छ । उनीहरू सावधानी अपनाइरहेका छन् । यस्ता अपराधीलाई ठाउँका ठाउँ परास्त गर्न सक्नु नै जेनजी पुस्ताको आन्दोलनको परिणाम हुनेछ । फलाम तातेको छ, यहीबेला जनताले हम्मर हाने भने चाहेजस्तो हतियार बनाउन सक्छन् । त्यही हतियारले हातमुख जोर्ने वातावरण बनाउन सक्छन् । जनताको गाँस, बास, कपास, स्वाभिमान बिर्सनेहरूलाई सवक सिकाउने समय यही हो र यहीँबाट विवेकपूर्ण युग सुरूआत हुनसक्छ ।
जनबल, जनमत र जनविश्वासमाथि खेलबाड गर्नेहरूले देशलाई अन्धकार सुरूङ बनाइसके । डरलाग्दा तथ्य र तथ्याङ्कहरू सुइरो बनेर नेपाल र नेपालीमाथि घोचिरहेका छन् । समयभन्दा बलवान केही हुँदैन । यो समय जनता विवेकशील हुने समय हो । जनताको विवेकले शासन प्रशासन, समाजमा मृत्युतुल्य चेत, उर्जा, जगाउन सकिन्छ । जनताको विवेकपूर्ण निर्णयले राष्ट्रिय नीतिनिर्माण, शासन सत्तामा विवेकको पुनस्र्थापना हुनसक्छ । स्टन्ट, चर्का भाषण, चर्को आरोप प्रत्यारोप, भ्रमपूर्ण भाषण, पूरा नहुने सपना, लोभलालचमा फस्नु भनेको मृत्यु रोज्नु हो ।
हामीले खोजेको वर्तमान र भविष्य कस्तो हो ? यसमा नेताको लोभलालच–आश्वासन, बाहुबली र अपराधीको त्रासदी, बाह्य दबाब धेरै अल्झोहरू हुनेछन् । यी सिस्नोका झाडी फाँडेर जनताले विवेकलाई रोज्न सके जीवन पाउनेछन् । शासक, प्रशासक, नागरिक समाजलाई पनि विवेकी हुन बाध्य पार्नसक्नेछन् ।
जीवन रोजौं, विवेकी बनौं, विवेक रोजौं । विवेकी शासन पद्धति अपनाऔं । विवेकले सभ्य समाज सिर्जना हुनेछ ।



