
फागुन २१ को निर्वाचनमा झापा ५ विश्व समाचार बनेको छ । बेलायतदेखि अमेरिकासम्म, भारतदेखि चीनसम्मको चासो यही क्षेत्र बनेको छ । कतिपय सञ्चारमाध्यमहरूले बालेन साह र केपी ओलीको समाचार छापेका छन् ।
७५ वर्षको आसपासका केपी ओली, जो ६ पटक चुनाव जिते, ४ पल्ट प्रधानमन्त्री बने । उनका विरूद्ध काठमाडौं महानगरका मेयरबाट ओलीविरूद्धको चुनावी प्रतिस्पर्धामा झापा ५ पुगेका छन् । हुन त राप्रपा, नेकपा र कांग्रेसका उमेदवार पनि छन्, चर्चा बालेन र ओलीमा कसले जित्ला भन्ने बढी छ ।
झापा ५ को निर्वाचन सबैभन्दा रोचक छ । रूकुम उक्लेका नेकपाका संयोजक प्रचण्ड र सर्लाही झरेका कांग्रेसका सभापति गगन थापाको विषय सामान्य मानिएको छ । बालेन जता जान्छन्, उतै युवा र आमासमूहको भीड लाग्ने गरेको छ अर्थात् रास्वपाको लहर देशैभरि देखिन्छ । यो लहरलाई रोक्ने औजार वा अक्किल कांग्रेस, एमाले वा नेकपामा अहिलेसम्म देखिएको छैन ।
निर्वाचनको इपिसेन्टर झापा ५ बनेको छ । झापा ५ मा ओली जीवनमै सबैभन्दा बढी प्रश्न र आलोचनामा घेरिएका छन् । झापा ५ बालेनमय भएको छ । केपी ओलीलाई कसैले हायलकायल पारिदिएको छ भने बालेनले ।
ओलीले १४ वर्ष गोलघरमा बसेको भन्दा डाहा र छटपटीको अग्निपरीक्षा दिइरहेको भान हुन्छ । बालेनले जित्दा जनताले जित्छन्, ओलीले हार्दा ज्यानमाराले हार्छ भन्ने भाष्य प्रचारमा छ । तर ओलीले जलाउने र बनाउने वीचको चुनावी प्रतिस्पर्धा हो भनेका छन् । यद्यपि ओलीको छटपटी झन झन बढेको देखिन्छ ।
ओली, बालेन, गगनले भोट हाल्ने छैनन्
फागुन २१ को चुनावमा केही नेता यस्ता छन्, जो आफ्नो भोट आफैलाई नहाली चुनाव जित्न हिडेका छन् । कुनै निर्वाचन क्षेत्रमा एकभोटले यस्ता उमेदवारले चुनाव हारे भने तिनलाई कति बज्रपात पर्नसक्छ होला ? एकभोटले अथवा धाँधली भयो भनेर मुद्दा दिन त पाइन्छ, अर्को चुनाव आउन्जेल पनि मुद्दाको फैसला हुने गरेको छैन । कानुन व्यवस्था यतिसम्मको रहेको छ ।
जनयुद्ध गर्ने माओवादी अध्यक्ष प्रचण्डले माओवाद थन्क्याएर १८ पार्टी मिलाएर नेकपा बनाएर चुनावमा होमिएका छन् । ०७४मा चितवन, ०७९ मा गोरखा हुँदै ०८२ मा पूर्वीरूकुम पुगेका प्रचण्डले मतदान गर्न पाउने चितवनमा हो । चुनाव क्षेत्र छाडेर चितवनमा मतदान गर्न आउने कुरा त भएन ।
बालेन्द्र साह, उनले मतदान गर्ने क्षेत्र काठमाडौ हो तर उनी पूर्वप्रम केपी ओलीसँग चुनाव लड्न झापा ५ पुगेका छन् । उनले पनि आफूले आफैलाई मतदान गर्न आउने छैनन् । यसैगरी रास्वपाका अध्यक्ष रवि लामिछाने चितवन २ मा जित्ने निश्चित मानिएको छ । केही व्यक्तिहरूले रवि लामिछाने चलाख भएर बालेनलाई झापा पठाएर हराउन खोजेको भनिदैछ । तर विश्लेषकहरू भन्छन्– यसपल्ट बालेन साहले ओलीलाई चुनावमा पछार्ने सम्भाबना छ । एमाले अध्यक्ष केपी ओलीले मतदान गर्ने क्षेत्र भक्तपुर १ हो, ओली ६ पटक झापा ५ बाट जितेर ४ पल्ट प्रधानमन्त्री बनिसकेका छन् ।
मतदान नगरी चुनाव जितेर प्रधानमन्त्री बन्ने घोषित पात्र बनेका कांग्रेस सभापति गगन थापाले मतदान गर्न पाउने काठमाडौं ४ हो । उनी चुनावका लागि सर्लाही ४ झरेका छन् । यी सबै उमेदावारको चर्चा शिखरमा छ ।


