
लोकप्रियता भनेको यस्तो हुन्छ । पुराना र ठूला भनिएका नेताहरू जनताका सामु जान नसकेर चुनाव जित्न अनेक दाउपेच लगाइरहेको समयमा पूर्वराजा झापाबाट काठमाडौं आउँदा माहुरीले सानु छोपेझैं भुइँमान्छेले छोपेको देखेर विश्व चकित छ । पूर्वराजाको आकर्षण झन झन बढेर गएको छ । राजाले हरेक पटक संवाद, सहमति र सहकार्यका लागि आह्वान गर्दा कमजोरी ठान्नेहरू कि त किनारा लागे, कि चुनावमा हारको कगारमा छन् । पार्टीको बाहुबली दस्ताको सुरक्षामा हिड्नुपर्ने बाध्यता छ नेताहरूलाई । तर पूर्वराजालाई आमनागरिकले यसरी घेर्छन् र स्वागत गर्छन् । प्रजातन्त्रमा यो हो लोकप्रियता ।
फागुन १ गतेको यो दृश्यले फेरि पनि प्रमाणित भएको छ कि राजतन्त्र नेपालका लागि अपरिहार्य शक्ति हो । राजतन्त्रलाई जालझेलपूर्ण र अवैधानिक प्रकृयाबाट किनारा लगाए पनि राजा जनताकै वीचमा रहेका छन् ।
अब राजाले बुझाएको जनताको नासो मागे भने के गर्छन् यी राजनीतिक व्यापारी र राजनीतिलाई नेपोटिजम, स्वार्थका लागि अपराधिकरण गर्नेहरूले ? बरू संवाद, सहमति र सहकार्य गरेर अघि बढ्नसके राष्ट्रमा स्थिरता, शान्ति, समृद्धि र सुशासन आउनसक्ने थियो ।
लामो समय भयो– राजा आउ देश बचाउ भनेर नारा लागेको छ । यो नारा मेची, महाकाली, सुर्खेत, बाँके, जनकपुर, भक्तपुर काठमाडौंमात्र होइन, देशैभरि लागेको धेरै भयो । प्रजातन्त्रमा प्रजाको आवाजको सम्मान हुनुपर्ने हो, प्रजालाई बेवास्ता गर्दा गत भदौ २३ र २४ गते अहंकारीहरूले जेनजी पुस्ताका ७६ जनाको ज्यान लिए । अझै पनि यिनीहरू सत्यबाट भागिरहेका छन् । भ्रम छरेर सत्ता र शक्तिमा जान सकिन्छ भन्ने ठानिरहेका छन् । बहुदलपछिको ३७ वर्ष र लोकतन्त्रपछिको २० वर्षमा देशलाई भ्रष्टाचार, परिवारवाद, स्वार्थसिद्धिको राजनीतिक अपराधिकरण गर्दा गर्दा यिनीहरूको बुद्धिमा नालीको किरा सलबलाउन थालेको छ । जसका कारण देश अराजकता, अस्थिरता र विदेशी चलखेलको महामारीमा फसिसकेको छ । तैपनि कोही जिम्मेवारी लिन सक्दैनन् ।
अन्धो, बहिरो र लाटोको अभिनय गर्नेहरू आफूलाई प्रजातान्त्रिक ठान्छन्, यिनको प्रजातन्त्रको मुखुण्डो भदौ २३ र २४ गते उदाङ्गिएको हो, अब फागुन २१ गते आमनागरिक जो सिंगौरी खेल्न चुनावमा गएका छन्, तिनको सिङ् भाँचिदिने निश्चित छ ।
जनताले खोजेका बेलामा म यहीँ छु भन्ने पूर्वराजा ज्ञानेन्द्र शाह जनताकै माझमा छन् । जनलहरकै वीचमा छन् । सरकारले निषेधाज्ञा जारी गरे पनि नागरिकले राजाको स्वागतमा कुनै कसर बाँकी राखेनन् । कुनै पनि राजनीतिक दलका नेतामा यस्तो साहस, जनतावीच यसरी स्वागत पाउने ल्याकत छ ?
फागुन १ गते एयरपोर्टदेखि महाराजगञ्जसम्म हजारौंहजारको नागरिक भीडले राजनीतिक दल र सरकारलाई प्रष्ट पारिदिएको छ कि पूर्वराजा लोकप्रियताको शिखरमा छन् । राजतन्त्रको समर्थकहरूको उत्साहपूर्ण उपस्थिति देखेर विश्वचकित परेको थियो । पूर्वराजा आफ्नै देशभित्र आवतजावत गर्दा यो दृश्य देखिन्छ भने राजतन्त्रलाई नकार्नसक्ने कुनै शक्तिको ताकत देखिदैन । जब नागरिकले नै राजतन्त्र चाहिन्छ भन्छन् भने कसैले नकार्दैमा उपेक्षित हुनुपर्ने कारण देखिदैन । पूर्वराजाको राजधानी आगमनले राजनीतिक बृत्तमा तरङ्ग उठेको छ, कूटनीतिक बृत्तमा चासोका साथ हेरिएको छ । सरकारले नागरिकका अभिभावकलाई सुरक्षा दिन नसकेर निषेधाज्ञा लगाएको विषयमा आलोचना पनि भइरहेको छ ।
मुलुक अभिभावक विहीन हुँदा विश्वसमुदायबाट एक्लिदै गएको छ । हैसियत खस्किएको छ । मुलुकलाई सही दिशामा लैजानका लागि राजसंस्था अपरिहार्य छ भन्ने विषय बुद्धिजीवी, पार्टीभित्र र कूटनीतिक समुदायमा पनि चर्चा बढेको छ । नेताहरूले स्वार्थका लागि राष्ट्रियतालाई दाउमा राखेको विषयमा आलोचना बढेको छ । अन्तरिम सरकारले राष्ट्रियता र जनाधिकारमाथि धावा बोल्नेमाथि कारवाही नगर्नु आश्चर्यको विषय बनेको छ । चुनाव भाँडिएला भनेर होला, अन्तरिम सरकारले आँखा चिम्लेर अपराधलाई छुट दिइरहेको देखिन्छ । भएको राजसंस्था किनारा लगाउन, विश्वकै एकमात्र हिन्दुराष्ट्र मास्न र विदेशी एजेण्डामा रमाउने नेताहरूलाई दण्डित गर्ने बेला आएको छ । २० वर्षे शासकहरूको बहीखाता जनताले खोलेर बसेका छन्, फागुन २१ को चुनावमा जनताले खरी घस्ने निश्चित छ । जसले जिते पनि राजसंस्थाको पुनस्र्थापना, हिन्दुराष्ट्रसहितको संवैधानिक सुधारसहित अघि बढेमा त्यो दलले इतिहास रच्नेछ । भूराजनीतिका गोलचक्करमा राख्नेहरूलाई किनारा लगाएर राजसंस्थाको अभिभावकत्वमा प्रजातान्त्रिक मूल्यका साथ जुन पार्टी अघि बढ्नेछ, त्यही जनताको अपनत्वको सम्पत्ति बन्न सक्नेछ । जेनजी पुस्ताले ज्यान दिएर ल्याएको परिवर्तनले देशको मुहार फेर्ने प्रस्थानविन्दु हुनुपर्छ ।


