Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

०६ बुधबार , फाल्गुण २०८२१९ घण्टा अगाडि

नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

आज नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा ‘प्रतिज्ञा सभा’ आयोजना गरेकाे कांग्रेसले सोही सभामार्फत आसन्न निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हाे ।

नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ को नाम दिएको छ । यसअघि फागुन ३ गते नै निर्वाचन आयोगलाई  बुझाइसकेको उक्त प्रतिज्ञा पत्रलाई आज जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक भूमिबाट औपचारिक रूपमा जनतामाझ ल्याउन लागिएको बताइएकाे छ ।

आजकाे उक्त सभालाई सम्बोधन गर्न कांग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय तहका प्रमुख नेताहरू जनकपुर जाँदैछन् । मधेसको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएकाले घोषणापत्र सार्वजनिक गर्न जनकपुरलाई रोजिएको कांग्रेस नेताहरूले बताएका छन् ।

कांग्रेसले जनकपुरमा हुने सभालाई केवल राजनीतिक कार्यक्रम मात्र नभई मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिएको छ । त्यस्तै नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा कांग्रेसले मधेसका जनताको पहिचान, अधिकार र सशक्तीकरणका मुद्दालाई मूल एजेण्डा बनाएको बताएका छन् ।

जनकपुरबाट घोषणापत्र सार्वजनिक भएपछि काठमाडौँमा पनि यसबारे थप जानकारी दिन आजै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजे प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्रका विशेषताहरूबारे विस्तृत जानकारी दिने कार्यक्रम रहेकाे छ ।