Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

परिणाम दिन सक्नुपर्‍यो

शाश्वत शर्मा

०८ शुक्रबार , फाल्गुण २०८२२१ घण्टा अगाडि

परिणाम दिन सक्नुपर्‍यो

फागुन १ गते पूर्वराजा झापाबाट काठमाडौं फर्कनु भयो । प्रशासनले बिमानबाट नजान दिएको सुझाव मान्दै पूर्वराजा हेलिकोप्टरमा राजधानी फर्कनु भएको हो । राप्रपा, अभियन्ता दुर्गा प्रसाई, विभिन्न राजावादी र हिन्दुवादी संगठन, व्यक्तिहरूले राजालाई भव्य स्वागत गरे । स्थानीय प्रशासनले एयरपोर्ट वरपर निषेधाज्ञा जारी गरे पनि गौशाला, चावहिल, महाराजगञ्जमा राजावादीहरूले सडकमा लामवद्ध भएर जयजयकार गरेको देखियो । स्वागतका लागि बाजागाजा, नृत्य प्रदर्शन पनि गरिेको देखियो । स्वागतमा उलिएएको जनताको भीड देखेपछि सबैले स्वीकार गर्नैपर्ने विषय हो– राजतन्त्र पनि राजनीतिक शक्ति हो ।
चुनावी लहर चलिसकेको छ । चुनाव हुन्छ र हुन्न भन्नेहरू विवाद गरिरहेकै छन् । तथापि युवादेखि बृद्धसम्मको उपस्थितिले जुन प्रकारको स्वागत देखियो, यसबाट नेपालमा राजतन्त्र कुनै दलले निषेध गर्दैमा निषेध हुने शक्ति होइन भन्ने देखियो । गतवर्षभन्दा भव्य भइदिएको भए यो स्वागतले परिणामको स्वरूप लिनसक्थ्यो भन्नेहरू पनि धेरै नै छन् । कतिपय राजसंस्था चाहिन्छ भन्नेहरूलाई जाडो लागेका कारणले राजधानीभरि प्रशंसक देखिन नसकेको हो । हुन पनि आज, भोलि, अहिले, भरे राजसंस्था पुनस्र्थापना हुन्छ भनने सुन्दा सुन्दा निरशा छाइसकेको छ । गतवर्ष पनि राजा पोखराबाट फर्कनु भयो, निर्मल निवास पस्नुभयो, सकियो । यसपल्ट पनि राजा झापाबाट फर्कनु भयो, निर्मल निवास पस्नु भयो, तातोपन चिस्सियो । यसपल्ट त विमानस्थलबाट सिधै राजदरवारमा सवारी चलाउने हल्ला केही हप्तादेखि चलेकै थियो । भयो के ? हल्ला, नारा, आश्वासन, दिवास्वप्नले केही हुनसकेन । राजतन्त्र पुनस्र्थापना हुन्छ भन्ने दह्रो नेतृत्व अगाडि सर्ने हो भने राजधानीमात्र होइन, सिङ्गो मुलुकवासी ओइरिन सक्छन् । किन हिजो भएन, आज पनि भएन । जनता लोकतान्त्रिक गणतन्त्रबाट वाकविधि भइसकेको छन् । देश लथालिङ्ग भइसकेको छ । अझ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि त स्थिति भयावह नै छ । कसैले सम्हाल्न नसक्ने अवस्था भइसक्यो भनेर विश्लेषकहरू भनिरहेका छन् ।
हो, राजा फर्किए, भव्य र सभ्य स्वागत भयो । केही प्रचार चाहनेलाई सन्तोष भयो होला, देश र जनताले खोजेको राहत, भयो के ? परिणाममुखी स्वागत, आन्दोलन हुन सकेन । राप्रपा त अवसरवादी नै ठहरियो । हिन्दु र राजतन्त्रवादी संघ संगठन र व्यक्तिहरू समेत अवसरवाद भन्दा पृथक लाग्न छाडेको छ । राजतन्त्र सबैभन्दा लोकप्रिय अवस्थामा छ । यो अवस्थामा पनि राजतन्त्र पुनस्र्थापना गर्न दह्रो पाइला चाल्न नसक्ने हो भने आमनागरिकलाई सपना नदेखाए हुन्न र ?
२० वर्षदेखि भ्रष्टाचारले गन्हाएका नेताहरू, पार्टीहरू राजतन्त्रलाई गिज्याइरहेका छन् । अझै पनि तिनलाई गिज्याउन दिइरहने ? फागुन ७ गते पुनः राजाबाट परम्परागत कार्य गर्दै देशवासीका नाममा सन्देश आउने छ । सन्देशमा उही पुरानै कुरा संवाद, सहमति र सहकार्यको प्रस्ताव आउने छ । सबैले सन्देश सुन्नेछन्, पढ्नेछन् र बिर्सनेछन् । मुलुक अस्तित्वको संकटमा फसिसकेको छ, अभिभावकीय दायित्व निर्वाह गर्दै आएको सन्देशलार्य कमजोरी ठानिने छ ।
जनताको नासो फिर्ता लिएको सन्देश सुन्न आतुर छन् । सन्देश त्यसप्रकारको आयो भने देशैभरि उत्साह र हौसलाको तरङ्ग उठ्नेछ । चुनाव पार्टी, नेतालाई लागेको छ, देश र देशवासीका लागि राजतन्त्रको अभिभावकीय भूमिका चाहिएको छ । त्यही प्रकारको सन्देश सुन्न जनता प्रतिक्षारत छन् । पक्कै पनि फागुन ७ को सन्देशबाट अहिले र पहिलेका भ्रष्ट, राष्ट्रघातीहरूको मुटुमा ढ्याङ्ग्रो बज्नेछ, राजाले कडा सन्देशमार्फत नेपालविरोधी स्वदेशी एवं विदेशीहरूलाई चेतावनी दिनुहुनेछ । फागुन ७ पछि राजा वास्तवमै राजाको रूपमा स्थापित हुनेछन् । यस्तो कुरा देशव्यापी रूपमा फैलिरहेका छन् । के त्यस्तो होला त ? आशा गरौ । जनतामा लोकप्रिय राजतन्त्र हात्ती आयो, हात्ती आयो फुस्सा हुनसक्दैन । हुनुहुन्न ।
चुनाव नगिचिएको छ । सन्देशको महत्व यसले पनि बढाएको छ । यसपटक नयाँलार्य भन्ने हल्लाखल्ला छ । रास्वपाको जयजयकार सुरू भइसकेको छ ।जेनजी आन्दोलनको समेत स्वामित्व लिएको रास्वपामा आमनेपालीहरूको दिलचस्पी बढिरहेको देखिन्छ । विध्वंश, आगजनी, तोडफोडबाट ज्यादै नोक्सानी भइसकेको छ । नोक्सानी निर्माण गर्न सकिन्छ, ७८ जनाको ज्यान फिर्ता हुनसक्दैन भन्ने कुरा रास्वपाका नेताहरू भनिरहेका छन् । नेपाली जनता परिणाममुखी काम चाहन्छन्, सुशासन खोजिरहेका छन् । सुशासनकै लागि यसपाली नयाँ भनिरहेछन् । संगठन पुराना भ्रष्टहरूको पार्टीको छ भने नयाँहरूको पक्षमा जनलहर आइसकेको छ । नयाँले चुनाव जित्नेछन् भन्ने लक्ष्यण देखिन्छ । यद्यपि पुरानाको षडयन्त्त के कुन हदसम्म हुनेछ, यसै भन्न सकिन्न । तर एकजुगमा एक दिन आउन सक्ने सम्भाबना छ ।
नेपालको चुनावमा जहिले पनि देशघातक, जनघातककै पक्षमा मत किन थुप्रिने गर्छ ? यो जटिल प्रश्न हो र यसबारेको चेतना फैलाउनु सबैको कर्तव्य हो । के यसपल्ट पनि त्यस्तै घटना दोहोरियला ? प्रश्न उठेको छ । राजतन्त्रको पुनस्र्थापना होस् कि चुनावमा नयाँले जितुन्, परिणाम आउनुपर्छ । परिणाम देखिनुपर्छ ।