
चरम भ्रष्टाचार, कुशासन र राजनीतिको अपराधिकरणका कारणले बहुदल र लोकतान्त्रिक गणतन्त्र असफल भयो । पद्धति पञ्चायत पनि खराव थिएन, बहुदल र लोकतन्त्र पनि खराव होइनन् । खरावी शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधवकुमार नेपालजस्ता नेताहरूको सोचमा थियो । देशमा परिवर्तनका बाहक बने, परिवर्तनलाई जनताको जीवनपद्धतिमा उतार्नै सकेनन् । परिवर्तन आफू र आफन्तवादमा, लाभ र लोभमा ल्याए । भ्रष्टाचार संस्थागत हुनगयो र देश नै डिप्रेसनमा पुग्यो । विश्व डिजिटलाइजेसनमा पुगेको पुराना नेताहरूलाई पत्तै भएन । यसैको प्रतिफल हो, सामाजिक सञ्जालमाथिको प्रतिवन्ध, कुशासन र नेपोटिजमको बिगबिगी । समयको आहट सुन्न सकिएन भने पछि परिन्छ भन्ने नबुझ्दा परिवर्तन व्यक्तिगत स्वार्थ र परिवारवादमा सिमित हुनपुग्यो । नागरिकले पाउनैपर्ने हक, अधिकार र स्वतन्त्रताबारे चेतनापूर्ण हुनसकेनन् । नयाँ पुस्ताको आवाज के हो ? उनीहरू के चाहन्छन् ? भन्ने बुझ्न सकेनन् । उल्टै उनीहरूलाई सकसमा पार्ने कार्य भयो । यही कार्यले लोकतन्त्रमाथि आक्रमण भयो र नयाँपुस्ताले आन्दोलन, बिद्रोह गर्न बाध्य हुनुप¥यो । बिद्रोहको ज्वाला दन्किएपछि बुढा पुराना नेताहरूल्े थाहा पाए कि उनीहरूको संवैधानिक सिर्जना, आफ्ना साम्राज्य खरानी भइसकेको रहेछ । जसरी सम्राट निरो सबै खरानी भएपछि झस्किएका थिए, नेपाली नेताहरू पनि भदौ २३ र २४ गतेपछि झल्यास्स ब्यूँझिन पुगेका थिए । यसरी धृतराष्ट्रकै नयाँ संस्करण हुनपुगे बुढापुराना नेताहरू ।
वर्तमान पुस्ता जे पनि सहन गर्न तैयार छैन । नयाँ पुस्ता के, किन, कसरी, कहाँ भनेर प्रश्न गर्न सक्छ । विश्लेषण गर्न सक्षम छ र आलोचनात्मक सोच विकास गरिसकेको छ । नयाँ पुस्तालाई लाटोगाँडो सम्झनु र आफू राजनीतिक हिरो हुँ, आफूले गरेको जे पनि सही छ भन्ने अहंकार पाल्दा राजनीतिक द्वन्द्व बढेको हो । भदौ २३ र २४ को बिध्वंश प्रायोजित थियो भन्ने बुढा पुराना राजनीतिक दल र नेताहरू अझै हावामा छर्रा हानिरहेका छन् । हावामा गोली दागेर सिकार हुँदैन भन्ने यिनले कहिले बुझ्ने ? तर्साएर तर्सने समय घर्किसक्यो भन्ने स्थापित नेताहरूले बुझ्न सकेनन् । अझै पनि विदेशी योजनामा जेनजी आन्दोलन, बिद्रोह भएको भन्ने तिनको सोच गलत छ । यथार्थमा २३ गतेको जेनजी आन्दोलन युवा आवाज थियो, त्यो आवाज दबाउन राज्यदमन गर्दा बालबालिका मारिए । भोलिपल्टको बिद्रोहले संविधान, संसद, सरकार सबै आँधीले केराबारी सोत्राम पारेझैं पारिदियो । २०६३ को परिवर्तनपछिका १५ सरकारले गरेका सामुहिक मूर्खताका कारणले निम्त्याएको परिणाम थियो । अझै एमालेका ओली र माओवादी परित्याग गरेका प्रचण्ड राजनीतिमै देखिनु समय नबुझ्नु हो । नयाँ पुस्ताको भाषा, माग, आवश्यकता र राजनीति यिनले बुझ्न सकेनन् । बुढापुरानाले गर्न इच्छाशक्ति राखेको भए धेरै गर्नसक्थे, तिनीहरूबाट कुनै चमत्कार हुनेवाला छैन । तिनीहरूप्रति जनताले आशक्ति राख्नु दिवासपना मात्र हुनेछ । समय परिवर्तनको छ, नयाँको छ । नयाँ विचार, नयाँ उर्जा, नयाँ सोच र उत्साहले मात्र देशवाद उचाल्न सक्छ । देश बोक्न बुढो काँध होइन, जवान काँध चाहिन्छ । जति युवा देखिएका छन्, उनीहरू आशालाग्दा र सक्षम छन् । यिनै युवाले फागुन २१ पछि इमान, जवाफदेही र नैतिकताले राष्ट्रिय संकट टार्नेछन् ।


