Advertisement Banner
Advertisement Banner

१० आइतबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

पुराना पार्टीका अधिकांश नेता पराजित

२४ आइतबार , फाल्गुण २०८२३ महिना अगाडि

पुराना पार्टीका अधिकांश नेता पराजित

यहि फागुन २१ गते भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पुराना पार्टीका अधिकांश नेता पराजित भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत मधेशवादी पार्टीका अधिकांश नेता पराजित भएका हुन् ।

अहिलेकाे निर्वाचनमा पूर्वप्रधानमन्त्रीदेखि पटक पटक मन्त्री र सांसद भएर समाजमा स्थापित भएका नेतासमेत पराजित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु पराजित भएका छन् ।

कांग्रेसबाट पटक पटक मन्त्री र सांसद भएका ‘हाइप्रोफाइल’ नेताहरु पूर्वगृहमन्त्री विमलेन्द्र निधि,पूर्वमन्त्री जुलीकुमारी महतो, प्रदीप पौडेल,गुरुराज घिमिरे, कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला,कांग्रेसका महमहामन्त्री एवं पूर्वमन्त्री उदयशमशेर राणा, फरमुल्लाह मन्सुर, प्रकाश स्नेही रसाइलीलगायतका नेताहरु पराजित भएका हुन् ।

त्यसैगरि नेकपा एमालेका अध्यक्ष ओलीसहित अधिकांश पदाधिकारीहरु प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । पराजित हुनेहरुमा एमालेकाे अध्यक्षको प्रतिस्पर्धी ईश्वर पोखरेलदेखि पूर्वमन्त्री र संसदहरु रहेकाछन् । जसमा विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, शङ्कर पोखरेल, महेश बस्नेत, राजन भट्टराईलगायत रहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट पराजित हुनेहरूमा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमन्त्री भीमबहादुर रावल, पूर्वमन्त्री गिरिराजमणि पोखरेल, राजेन्द्रप्रसाद पाण्डे, प्रेमबहादुर आले,महेन्द्र राय यादवलगायत रहेका छन् ।

त्यसैगरि मधेशवादी दलहरुका राष्ट्रिय मुक्ति पार्टीका नेता एवं पूर्वमन्त्री राजेन्द्र महतो, जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रलगायतका ‘हाइप्रोफाइल’ नेताहरु पराजित भएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने कसैले कल्पना नगरेकाे परिणाम आफ्नो पक्षमा पार्न सफल भएकाे छ ।