
फागुन २१ को चुनावमा घण्टी बज्यो । घण्टीमा जनविश्वास, जनमत, जनाधार ओइरिंदा नेपालको राजनीतिक परिदृश्य नै उथलपुथल भयो । जनादेशले राजनीतिक धार परिवर्तन हुने हो, भयो । अब रास्वपाले कसरी जनअपेक्षा पूरा गर्छ, हेर्ने दिन आयो । परिवर्तन भनेको के हो, जनताले देख्ने भोग्ने दिन आयो ।
देश विदेशमा घण्टी, रास्वपा, सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन साह महत्वपूर्ण समाचार बनेका छन् । सबैको चासो छ– रास्वपाको पक्षमा किन यसरी ओइरियो जनमत ?
पटक पटक मत दिए, जनतामाथि अन्यायमात्र भयो । देशभित्र लुट र अपराध बढ्यो । राजनीतिले नेता र तिनका परिवार, आफन्तलाई मात्र परिवर्तन ग¥यो । देश र जनतामाथि अत्याचार गर्ने यिनको शासन कि चाहियो भन्ने आक्रोशमाथि भदौ २३ र २४ गते सत्तामा रहेका यिनै नेताको दमनले बालबालिमासमेत मारिए । यिनलाई किन भोट दिने, परिवर्तन गर्ने गर्ने भन्ने अठोट देशव्यापी फैलियो, यही आँधीले लोकतन्त्रलाई लुटतन्त्र बनाउनेहरू पछारिए ।
अन्य कारणहरूमा १. जनतामा परिवर्तनको उत्कट चाहना बढेको थियो । कांग्रेस, एमाले, माओवादी, मधेशवादी सबैले आफैलाई हेरे, देश र जनता हेरेनन् भन्ने जनतामा परेको थियो ।
२. परिवर्तन रवि लामिछाने र बालेन साहले मात्र ल्याउन सक्छन् । यिनमा इमान छ, जिम्मेवार छन् भन्ने जनतामा गहिरो छाप परेको थियो । रवि र मेयरको रूपमा गरेको कामले बालेनलाई जनताले परिवर्तनको अगुवा माने । देश विदेशमा बालेनको कामको प्रशंसा र जनसंख्याको ६० प्रतिशत युवा भएको र ती युवामा बालेन साहको क्रेज बढ्दै गएकोले पनि परिवर्तन सम्भव भयो ।
फागुन २१ को चुनावमा गाउँसहर सबैतिर मतदान परिवर्तनका लागि भन्ने आँधी नै चलेको थियो । बालबालिका, बुढा, प्रौढ सबैमा नयाँलाई भोट दिनुपर्छ ‘घण्टी, घण्टी’ भन्ने लहरले रास्वपालाई ऐतिहासिक जित दिलायो । मूलधार नै बनायो ।
३. चुनाव अघि बालेन प्रधानमन्त्री बन्नुपर्छ भन्ने आकर्षण बढ्दै गएको थियो । रविले समेत अब रास्वपा अघि बढ्यो, किनकि रास्वपासँग बालेन छ भनेका थिए ।
४. गाँस, बास, कपासका लागि रोजगारी खोज्दै सक्नेले अन्य मुलुक र नसक्नेले खाडीमा जानैपर्ने घरघरको पीडा नै रास्वपाको शक्ति बन्यो । प्रत्येक परिवारले बालबालिका, बुद्ध, श्रीमती आँसुका धारा बगाउनुपर्ने बाध्यता । सहारा विदेशमा जानुपर्ने, सकुशल फर्कन्छ कि बाकसमा भन्ने चिसोले सधैं सताइरहने । यो पीडा कांग्रेस, एमाले, माओवादी, मधेशवादी, अन्य दलका समर्थकको परिवारको पनि हो । सबैले परिवर्तन चाहिन्छ भन्ने ठाने र घण्टीमा भोट दिए ।
५. साना साना बालबालिका, बुढामात्र होइन, वैदेशिक रोजगारीमा गएका छोराछोरीले समेत परिवर्तन है परिवर्तन, घण्टी है घण्टी भन्दै भोट हाल्न दबाब दिएका थिए । यही दबाबले ठूला भ्रष्ट पार्टीहरूको भोट गुम्यो, रास्वपाको पक्षमा मतदान भयो । विदेश गएका लाखौं मतदाता घण्टीमा भोट हाल्नमात्र पनि नेपाल आएका थिए । हरेक युवाको मुखैमा परिवर्तन थियो, घण्टी थियो । घण्टीले जित्यो ।
६. १८ वर्षमा १५ सरकार । गठबन्धन गर्ने राज्य ढुकुटी लुट्ने । जनताको कुरा कोही नसुन्ने, पार्टीको सिफारिस वा घूस बिना कसैको काम नबन्ने । यो देशैभरिको रोग थियो, यही रोग निको पार्न घण्टीमा मत ओइरियो ।
७. मुख्य त भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको राज्यदमन, बालबालिकामाथिको गोलीको वर्षा र ७६ जनाले ज्यान गुमाउनु परेको घटनाले देशैभरि स्तव्धता छाएको थियो । यति ठूलो नरसंहारमा कुनै नेताले जवाफदेहीता लिएनन् । पुराना नेताहरू गैह्रजिम्मेवार ठहर भए ।
तर्क गर्नेहरू गर्न सक्छन्, आक्षेप लगाउनेहरू लगाउन सक्छन् । सत्य के हो भने नेपालको इतिहासमा पहिलोपल्ट जनता जागे, जनता जागेपछि परिवर्तन आउने रहेछ ।


