Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

Image

राजसंस्थालाई स्थान दिइयोस्

शाश्वत शर्मा

२६ मंगलबार , फाल्गुण २०८२९ घण्टा अगाडि

राजसंस्थालाई स्थान दिइयोस्

शाश्वत शर्मा--------  प्रत्यक्ष र समानुपातिक गरेर रास्वपाले दुई तिहाइ मत ल्याउने भएको छ । यो भनेको जनताले परिवर्तनलाई सहर्ष स्वीकार गर्दै जनमतबाट अनुमोदन गरेको हो । अब बुढा पुराना र भ्रष्टाचार र कुशासनमा रमाउनेहरूलाई जनताले मौन बिद्रोह गरेर दण्डित गरिदिएका छन् । राजनीतिमा लाग्नेहरूका लागि जनताले दिएको यो राजनीतिक मृत्युदण्ड ऐतिहासिक मानिएको छ । लोकतन्त्रमा जनता निर्णायक हुन् त्यसै भनिएको होइन । जनताको इच्छा, अपेक्षा, आवाज नसुन्दा कुन प्रकारको घातक प्रहार सहनुपर्ने रहेछ भन्ने उदाहरण फागुन २१ को चुनावमा जनादेश बन्न पुगेको छ । यो संविधान अपूर्ण छ, अमान्य छ, कसैले बहुमत ल्याउँदैन भन्ने संविधान निर्माता दलहरूको भाष्यलाई जनताले गलत सावित गरिदिएका छन् । हुन त संविधान ध्वस्त पारेर, सरकार र संसद ध्वस्त पारेर जेनजीले आन्दोलन गरेका थिए । जेनजी पुस्तामाथि सरकारले गोली चलाएको र वर्षौंदेखि भ्रष्टाचार नेपोटिजममा रमाउनेहरूका लागि फागुन २१ को चुनावको परिणाम राजनीतिक आत्महत्या गरे सरह भएको छ ।
फागुन २१ को चुनावमा चितवनबाट गोरखा, गोरखाबाट रूकुम पुगेर पहिलेका माओवादी र अहिले १८ पार्टीको गठजोड गरेका प्रचण्डबाहेक पुराना दल, नेता, क्षेत्रीय, जातीय पार्टी र नेताहरू सबैलाई जनताले खोरिया फाँडेझैं फाँडिदिएका छन् । अबको ५ वर्ष स्थिर शासनका  लागि जनताले रास्वपालाई दुई तिहाई दिएका छन् । जतिसकै अमेरिका, भारत वा अन्य मुलुकपरस्त भने पनि नयाँ पुस्तामाथि सिङ्गो मुलुकको विश्वास जाहेर भएको छ । देश सञ्चालन गर्ने जनादेश मिलेको छ । यो सबैको कारण बिगतमा कांग्रेस, एमाले, माओवादी र अन्य मधेसवादीलगायतका दलहरूले गरेका कुकर्मका बिरोधमा घण्टी घण्टी भनेर जनलहर उर्लेको हो । २०१५, ०४६, ०६४ लगायतका अनेक चुनावहरूमा जनताले पार्टीहरूलाई समर्थन दिएकै हुन्, तर ती सबैले देश र जनतालाई धोका दिए, मपाइँत्व चलाए । यसपल्ट गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन, बिद्रोहको स्वामित्व लिन्छु भन्ने रास्वपाले आश्चर्यजनक जनादेश पाएको छ । रास्वपाका लागि यो लहरको सम्मान राख्नका लागि सुशासन दिनपर्नेछ, अपराधी र भ्रष्टाचारीमाथि कारवाही गर्नुपर्नेछ । आन्तरिक एकता कायम राख्दै जनअपेक्षा, जेनजीका सपना साकार पार्नुपर्नेछ ।
रास्वपाका सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन साहको हातमा छ देशको शासनसत्ता र राजनीतिक सन्तुलन कायम राख्ने जिम्मेवारी । यो जिम्मेवारी चानचुने जिम्मेवारी होइन । मुख्य कुरा भनेको यिनले भ्रष्टाचार गर्दैनन् भन्ने भरोसा जनतामा छ, त्यो कायम राख्नुछ । यिनले देश बनाउने छन् भन्ने आशा पूरा गर्नुछ, सुशासन दिनेछन् भन्ने अपेक्षा र भ्रष्टाचारी, ज्यानमारामाथि कडा कारवाही गर्न अग्रसर हुनेछन् भन्ने जनताको विश्वासमा खरो उत्रनुछ । कम बोल्ने बालेन साह प्रधानमन्त्री बन्दैछन् । कडा बोल्ने रवि लामिछाने पार्टी हाँक्दैछन् । चुनाव जितेर आएका एक से एक घण्टीबाजहरूले रास्वपालाई जनताको पार्टी, जेनजीको माग पूरा गर्ने पार्टी, चुनाव अघि सार्वजनिक गरेका बाचापत्रमा अडिग रहेर काम गर्नुपर्नेछ । कुनै पनि रास्वपाका नेताले अहंकार नदेखाउन् भन्ने आवाज सडकमा उठ्न थालिसकेको छ । त्यो सडकको आवाजलाई मूलमन्त्र बनाउने छन् । चुनाव जितेपछि जनतालाई धन्यवाद दिने बालेन साह, जनताको आँखामा आँसु आउने छैन, जेनजीका रगतको मूल्य चुकाइने छ भन्ने रवि लामिछानेको अभिव्यक्तिलाई जनताले सह्राहना गरेका छन् । लाग्छ, नयाँ पुस्ताले नयाँ नेपालको सपना पूरा गर्नेछन् ।
तथापि २०६३ सालदेखिको राजनीतिक मुद्दा कायमै छ । राजतन्त्र र हिन्दुराष्ट्र किन फालियो, संघीयता किन चाहियो ? सबै राजनीतिक शक्तिहरूवीच संवाद, सहमति र सहकार्यका साथ टुटफुट भएको एकतालाई कायम राख्दै राष्ट्रिय मुद्दाहरूलाई संवोधन गर्नु जरूरी छ । अन्यथा राजनीतिक बिबाद कायमै रहनेछ र यही बिबादले फेरि पनि असन्तुष्टिलाई बढावा दिनेछ । जनताले संविधान नै फेर्नसक्ने, कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न सक्ने, कुनै पनि निर्णय लिन परे लिनु भनेर जनादेश दिएकाले रास्वपाले राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक सबै क्षेत्रका विज्ञहरूसँग तत्काल छलफल गरेर टुङ्गोमा पुग्नुपर्ने र देशको कुशासनलाई सुशासनमा फर्काउन अग्रसर हुनुपर्ने कार्य गर्नु उचित हुनेछ । यति भयो भने सबै दल, शक्तिहरूको उर्जा समेत नयाँ पुस्तालाई प्राप्त हुनेछ । बालबालिकादेखि बृद्ध, प्राढ सबै तह र तप्काकाले घण्टी घण्टी भनेको मन्त्र अर्थपूर्ण सावित हुनेछ ।
यो संविधानलाई भारतले मान्यता दिएको थिएन, नाकाबन्दी नै लगाएको थियो । चीनले पनि कतिपय नेपालको सार्वभौमिकताका विषयमा चुप्पी साधेको थियो । यी दुबै मुलुक नेपालका लागि महत्वपूर्ण छन्, समदूरीको नीति कायम गर्नैपर्छ । विश्वशक्तिलाई विश्वासमा लिने र नेपालको हितमा सम्बन्ध बिस्तार गर्नैैपर्छ । जेनजीका माग र बाचापत्र पूरा गर्न र सफल हुनका लागि यत्तिकुरा जरूरी छ ।
राजसंस्था र हिन्दुधर्मलाई यथास्थान दिन जरूरी छ । यो माग होइन, देशको बास्तविकता र राजनीतिक सफलताको साँचो पनि हो । रास्वपाले पाएको एक एक मतमा राजसंस्था र हिन्दुराष्ट्रवादीहरूको पनि सहयोग र समर्थन छ । रास्वपालाई राजनीतिक सबै मुद्दा संवोधन गरेर अघि बढ्न यो जनादेश हो । कुनै पनि प्रकारको खेलाची, कमजोरी गर्ने र असफल हुने अलिकति पनि छुट रास्वपालाई छैन ।