
वीपीको सिद्धान्त छाड्दा ८ दशक पुरानो नेपाली कांग्रेस भुइँमा पानी पोखिएजसरी पोखियो ।
भ्रष्टाचार र आफन्तवाद नै सबैथोक हो भनेर अहंकारी बन्दा ७ दशक पुरानो एमालेको राजनीति मूर्दातुल्य बन्यो ।
२०४६ सालको परिवर्तनपछिका ३८ वर्षमा यिनै नेता र यिनै पार्टीले यतिसम्मको लूटतन्त्र मच्चाएका थिए कि पटक पटक झक्झक्याउँदा पनि उनीहरूमा चेत खुलेन । अन्ततः जनताले नै जनमतबाट गोर्खेलौरी हान्नुपर्ने दिन आयो, फागुन २१ गते यसरी जनताले दण्ड दिए कि यी बुढा पुराना पार्टी र नेताहरूले ऐया पनि भन्न पाएनन् ।
अति गर्नु अतिसार नगर्नु भनिन्छ । अतिसार भएपछि जनताले मतपत्रमार्फत मौन बिद्रोह गरेर देखाइदिए । सुनामी आउन जरूरी थियो, आयो, उथलपुथल गर्ने तरिकाले आयो । जनता कुन हदसम्म असन्तुष्ट रहेछन्, फागुन २१ को चुनावले देखायो । जनतामा यो हदको असन्तुष्टि रहेछ भने देशको स्थिति कति दयनीय भइसकेको होला, कति खोक्रो पारेका होलान्,सहजै अनुमान गर्न सकिन्छ ।
लुसिफर र मिर्जाफर हारून्, जिम्मेवार जितुन् भन्ने जननिर्णय देखियो, परिणाम आयो । नेपाल अर्को ऐतिहासिक मोडमा आइपुेको छ । अब गालीगलौजको समय सकियो । जनताले देश र जनताप्रति गैह्रजिम्मेवारमाथि यसरी हम्मर चलाए कि ‘स्थापित दल र ठूला भनिएका नेताहरूले पानी’ सम्म भन्न पाएनन् । सात आठ दशक पुराना दलहरूलाई चुनावी नतिजाले सन्निपात बनाइदियो । फेरि उनीहरूलाई राजनीतिको मैदानमा उभिन लामो समय लाग्नेछ । त्यतिबेलासम्म बुढा पुराना नेताहरूले उभिने समय ढल्किसकेको हुनेछ । फागुन २१ को चुनावले देखाएको मार्ग भनेको नयाँ पुस्ताको हो । नयाँ सोचको हो, नयाँ जमानाको हो ।
परिवर्तन आयो । यो त नेतृत्व परिवर्तनमात्र हो । अब यो परिवर्तनले जनताको गाँस बास कपासमा परिवर्तन देखाउनु पर्छ । उद्योग खोल्नुपर्छ । युवाले देशमै रोजगारी पाउनुपर्छ । मूल कुरो सुशासन स्थापित गर्न भ्रष्टाचारीमाथि अफजल खानले घातीमाथि हानेजसरी काँडे कोर्रा चलाउनै पर्छ । भ्रष्टाचार, नैतिकहीनताको दल दल बनिसकेको देशको शासन प्रशासन, त्यसलाई सुधार्न नयाँ पुस्ताका लागि चुनौती नै छ ।
तर जनताले विश्वास देखाएका छन्, जनताले जनबल, जनमत दिएका छन्, त्यसैको शक्तिले सुशासन, न्याय र समानता, अवसरको सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्रतिर लाग्नैपर्छ ।
राष्ट्रले बेनिभोलेन्ट शासक खोजेको थियो । चुनावमा लुसिफर र मिर्जाफरको खुबै चर्चा भयो । जेनजी आन्दोलन र बिद्रोहपछि चेतनाको लहर त चलेको थियो, त्यो चेतनाको स्तर यति उच्चस्तरीय हुन्छ भन्ने कल्पना पनि थिएन । जनताले चमत्कारी निर्णय गरिदिएका छन् । गाँस बास र कपासको छटपटीमा परेका जनताले स्वविवेक, स्वच्छ र स्वतन्त्र भएर मतदान गर्न पाए, विवेकपूर्ण निर्णय गरिदिए । यो जनादेश भनेको भोको पेट, नाङ्गो आङ् र छानोबिनाको जीवन बिताउने जनताको मत नै हिमाल, पहाड, तराईमा निर्णायक मत हो । यही मतका लागि पुराना पार्टीले अनेक रङ्गलीला देखाए । अनेक तमासा हेरियो । जनताले राष्ट्र र जनप्रतिनिधि नै छान्छन् कि लुसिफर वा मिर्जाफर ? भन्ने प्रश्न थियो, त्यो प्रश्नलाई जनमतले जवाफ दिएको छ, जो जिते देशभक्त जिते । अब काम जित्नेका व्यवहारले देखाउने छ । २०४६ सालदेखि पुर्पुरोमा हात राखेर पछुताउँदै आएका जनताले फागुन २१ मा सम्पन्न निर्वाचनपछि बिहानी आएको छ ।
नयाँ नेतृत्वले देखेका छन्– देश जोखिममा छ । संकटमा छ । बहुदलको भ्रष्टाचारी कालरात्रि घना छ । कालरात्रिले जनयुद्ध चर्कायो, २०६३ सालको जनआन्दोलन निम्त्यायो र परिवर्तन भयो । यो परिवर्तनलाई लोकतन्त्र भनियो, मानियो तर यो लोकतन्त्रमा यति धेरै लूट चर्कियो कि बाध्यकारी भदौरे जेनजी आन्दोलनको रूपमा असिना बर्सियो । आगजनी भयो । न संसद रह्यो, न लोकतन्त्र । न सरकार रह्यो, न संविधान । यसैको परिणाम हो फागुन २१ को चुनाव । चुनावको नतिजा । यो चुनावले देशभक्त, जनताप्रति जवाफदेही, उत्तरदायी प्रतिनिधि छानेको छ । बुढा पुराना भ्रष्टहरूलाई किनारा लगाइदिएको छ । २०४६ देखि जुन पार्टी थिए, तिनै छन्, जो जो नेता थिए, उनै छन् । तिनका राजनीतिलाई जनताले नकारी दिएका छ्न । अर्को परिवर्तन चाहिएको थियो, आयो । यो परिवर्तनले राष्ट्रवादीको जयजयकार हुनसक्यो भने देशले राहत पाउनेछ । अब भ्रष्टाचारीले छुट पाउने छैनन् । हत्यारा जेलमा पुग्नेछन् । नैतिकहीन दण्डित हुनेछन् । जनताको आशा संवोधन गर्न नयाँ नेतृत्वको कर्तव्य हुनेछ ।
नेपालमा निर्वाचन र नयाँ नेतृत्वको हौसला भइरहेका समयमा विश्व तनावमा छ । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि तेस्रो विश्वयुद्धको खतरा बढेको छ । तेस्रो विश्वयुद्ध हुनसक्ने खतराले विश्व राजनीति ध्रुविकरणतिर उन्मुख छ । चीन र रूस एकातिर अमेरिका र इजरायल अर्कोतिर हुँदा विश्वयुद्धको आहट सुन्न थालिएको छ ।
अमेरिका, इजरायल र इरानवीचको मुद्दा राष्ट्रसंघ प्रवेश गरिसकेको छ । राष्ट्रसंघको आचारसंहिता र निर्णयको अवहेलना भएको छ, राष्ट्रसंघको गरिमा घट्न थालेको छ । कतै विश्व मत्स्य न्यायतिर उन्मुख भएको त होइन ? त्यसको कालो छायाँले विश्व नै प्रभावित भइसकेको छ । नेपालजस्ता साना मुलुकको सार्वभौमिकता खतरामा परिसकेको छ । यस्तो स्थितिमा भएको चुनावले राष्ट्रवाद बोल्नुपर्छ, ठूला क्षिमेकीसँग समदूरी राखेर विश्वशक्तिसँग सकारात्मक हुनुपर्ने छ । अवसरवाद र अहंकारले मौका पाउनुहुन्न । राष्ट्र संकटमा फसेको, भूराजनीतिको चक्रव्यूहमा परेको स्थितिबाट सकुसल अवतरण गराउन नयाँ पुस्ता लाग्नुछ ।
अमेरिका फस्ट, मेक अमेरिका ग्रेट अगेन भन्ने नारासहित अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेर राष्ट्रपति बनेका थिए । त्यसपछि अनेक मुलुकमा परिवर्तनका पक्षमा चुनावी नतिजा आएको देखिन्छ । हालैको बंगलादेशको चुनाव होस् कि यसअघिको श्रीलंकाको चुनाव परिवर्तनकै पक्षमा नतिजा आएको हो । तर अमेरिकाबाटै परिवर्तनकारीले मानवीयतालाई समेत माथ गर्दै बाहुबलीतन्त्रतिर उन्मुख हुँदा विश्वभरि सनसनी फैलिएको छ । आणविक अस्त्रतिर आक्रोश प्रवेश गरेको वर्तमान कालखण्डले दोस्रो विश्वयुद्धको जस्तो बिनासलीला भोग्नुपर्ने हो कि भन्ने संशय बढेर गएको छ । बुद्धको देश नेपालका लागि यो समय गम्भीर छ ।
फागुन २१ मा चुनाव भयो । अब परिणाम जनताले चाहेजस्तै आयो । यो निर्वाचनमा स्थापित दलहरूभन्दा परिवर्तनका पक्षमा जनताको लहर छ, पुराना दलहरू अस्वीकृत भएका छन् । बिश्लेषण गरिदैछ कि विश्वभरि फैलिएको परिवर्तनको लहर नेपालमा पनि देखिएको छ र अनुमान गरिन्छ, राष्ट्रवादी धारले देशको सार्वभौमिकता बचाउने छ ।
पुराना दल र नेताले नयाँलाई आगो लगाउने, लुसिफर भनेर अपमानित गरिरहे । निर्वाचनका माध्यमबाट जनताले पुरानाको आक्षेपलाई खारेज गरिदिए । नेपालले खोजेको राष्ट्रवादी नयाँ पुस्ता हो, जनताले नयाँलाई रोजेका छन् ।
दूध र पानी रजहाँसले छुट्याउन सके झैंं नेपाली मतदाताहरूले सही र गलत छुट्याइदिएका छन् । देशवादी र देशद्रोही छुट्याउने आधार जनमत हो, जनमतबाट पुरानाहरू पाहा पछारिएझैं पछारिन पुगे ।
समाज परिवर्तनको औजार भनेकै राजनीति हो । राजनीतिको यो नयाँ अध्यायले भ्रष्टाचारबाट सुशासन आउने आशा जनतामा छ, त्यो पूरा हुनेछ ।
माहुरी पालकले माहुरीको बित्तपाते अबस्था जान्न सकेन भने माहुरीको घार नै नष्ट भएर जान्छ । यसै गरी कुनै मुलुकमा पनि नेतागणहरूमा यो बित्तपाते अबस्था आउँछ, यस अबस्थामा मुलुक नै नष्ट हुने खतरा हुनसक्छ । यो राम्रो कुरा हो कि बितपाते नेतागण नष्ट भए, राजनीतिमा नयाँ आँकुरा पलायो ।
२०६५ मा राजतन्त्र किनारा लगाएपछि नेपाली राजनीतिमा रानो छैन । रानु नभएकै कारण जनता र देशप्रति जवाफदेहीपूर्ण राजनीतिको खडेरी परेको हो । बालेन साह अब प्रधानमन्त्री बन्ने पक्का छ । उनले राजतन्त्रप्रति सकारात्मक धारणा राखेका छन् । नेपाल निर्मातालाई राष्ट्राध्यक्षमा स्थापित गरेर सरकार सञ्चालन गर्न रास्वपालाई डो¥याउने सके भने त्यो जनभावना अनुकूल हुनेछ । त्यसतिर रास्वपाका जनप्रतिनिधिहरूले सोचुन् । वर्तमान समयको आग्रह र अपेक्षा यही छ ।
निषेध, विभेद र प्रतिषोधपूर्ण राजनीतिक अहंकार अब समाप्त भइसक्यो । नयाँ नेतृत्वमा त्यस्तो उन्मादको छनक छैन । नआओस् । राजनीतिमा नयाँ नयाँ अनगिन्ति राजा जन्मिएका छन्, तिनको खारेजी र एउटै अभिभावक खोज्न सके भने नयाँ परिवर्तन प्रभावकारी हुनेछ ।
लोकतान्त्रिक गणतन्त्रले २० वर्ष खेर फालेपछि फागुन २१ मा परिवर्तनको साइत जुरेको हो । यो साइतलाई जनताले सचेततापूर्वक छोपेका छन् । नयाँ नेतृत्वले राजनीतिक शक्तिहरूवीच संवाद, सहमति र सहकार्यका साथ अघि बढे भने विश्वयुद्धको कालो छायाँबाट देशलाई मुक्त राख्दै शान्ति, स्थिरता र समृद्धितिर अघि बढाउन सकिने छ । भ्रष्टाचारको अन्त्य, घातकलाई दण्ड र शासन व्यवस्थामा सुशासन ल्याउन सकिनेछ । प्रजातन्त्र चाहिन्छ भन्नेहरूले प्रजातान्त्रिक बन्न सकेनन्, धर्मलाई अफिम भन्नेहरू धर्म संस्कृतिका पालनहार बन्ने ढोङ गरिरहे । जो समाज र नेपाली एकताका भँडुवा हुन्, तिनीहरू एकताको नाटक गरिरहे । जो बाल्मिकीको नाटक गरिरहेका थिए, बाल्मिकी बनेर परिवर्तनका संवाहक बन्न सकेनन् । राजनीतिका रत्नाकरहरूको कित्ताकाट गरिदिएका छन् जनताले । रत्नाकरहरूको आतंक, अराजकता देश र जनताका लागि अब सह्य हुनसक्दैन । सभ्य युग, यही परिवर्तनको ढोका खुलेको हो फागुन २१ मा ।
यथार्थमा फागुन २१ को चुनाव चुनावभन्दा बढी जनमत संग्रह थियो । जनता के चाहन्छन्, जनअपेक्षा के हो ? त्यसको परिदृश्य छर्लङ्ग भएको छ ।
यही चुनावले निर्देश गरेको छ– सुशासन देउ । जनअपेक्षा संवोधन गर । जनताले खोजेको परिवर्तन र चाहेको नेताले जनतालाई सुन्नैपर्छ । १६५ क्षेत्रको चुनावमा ६८ पार्टीका ३ हजार ४ सय ६ जना उमेदवार थिए, जनताले घण्टीमय बनाइदिएका छन् देशलाई । सबै फेल भए, घण्टी पास भयो । को रत्नाकर र को बाल्मिकी जनताले प्रष्ट पारिदिएका छन् । पटक पटक जनताबाट चुक भयो, यसपाली चुक हुनपाएन । जसरी २० वर्ष खेर गयो, अब निर्माणको समय आयो ।
जनताले प्रताडनाबाट मुक्ती खोजेका छन् । कुनै प्रकारको सकस जनतालाई स्वीकार्य छैन । जेनजी पुस्ताको रगतमा आएको परिवर्तन हो यो । यो परिवर्तनले जेनजीका सपना साकार पार्नुपर्छ । जेनजी विद्रोह र फागुन २१ नेपालको इतिहासमा सुनौलो अक्षरले लेख्नका लागि सुशासन र अपराधीमाथि दण्ड हुनैपर्छ ।



