Advertisement Banner
Advertisement Banner

०४ बुधबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

नयाँपुस्तालाई मतपत्रको भारी

०३ मंगलबार , चैत्र २०८२१७ घण्टा अगाडि

नयाँपुस्तालाई मतपत्रको भारी

जनताले रास्वपाको काँधमा मतपत्रको भारी थमाइदिएका छन् । अन्तिम परिणाम आइसक्दा पनि रास्वपालाई सरकार गठन गर्न किन सकस भइरहेको होला ? यो प्रश्न र थप प्रश्न उठेको छ– रास्वपाले बोक्न सक्ला यो मतपत्रको भारी ?
कांग्रेस, एमाले, नेकपा (माओवादी) मधेशका पार्टीहरूले नराम्ररी चुनाव हारेका छन् । उनीहरूको दशौं लाख सदस्य रहेको पार्टी र भातृत्वको संगठन प्रभावित हुनसकेन । जनताको मौन बिद्रोह र विवेकपूर्ण निर्णयले जनादेश दिएको छ– जो निर्वाचन हारेका छन्, तिमीहरू सच्चिउ, सम्हालिउ र सुध्रिउ । फागुन २१ को निर्वाचनपछि एउटा मान्यता स्थापित भएको छ– सधैं मासुभात ख्वाएर, पैसा दिएर भोट किन्न र चुनाव जित्न सकिदैन । निर्वाचन जनप्रतिनिधि चयन गर्ने प्राविधिक प्रकृयामात्र होइन, यो त आमनागरिकको सामुहिक आवाज, अपेक्षा, आकांक्षा र भविष्य निर्धारण गर्न दिने पञ्जाछापजस्तै राजनीतिक जननिर्णय हो ।
निर्वाचनले नागरिक चेतको मापन पनि गर्छ । जनविश्वास नजिति चुनाव जित्न सकिदैन भन्ने मान्यता पनि प्रवाह गर्छ । यसपल्टको निर्वाचनले यी दुबै मान्यता देखाएको छ । निर्वाचनमा देखिएको अपार जनउत्साह, सहभागिता र परिवर्तनप्रतिको उत्कट जनउभारले नयाँ नेपालको निर्माणको सन्देश दिएको छ । यसकारण विश्लेषकहरूले समेत भनेका छन्– यसपल्टको निर्वाचन अर्थपूर्ण छ ।
पुराना पार्टी जो राजनीति र सत्तामा ठालु बनेर बसेका थिए, नेपाली कांग्रेस माडियो, कम्युनिष्टहरू फाँडिए । नयाँ पार्टी रास्वपाको उदय भयो । रास्वपाले ५ वर्ष उत्साहका साथ सत्ता हाँक्नेछ, परिवर्तनको आभाष दिलाउने छ ।
रास्वपाका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साहको हातेमालोले देशलाई घण्टीमय बनायो । यो हातेमालोले भ्रष्टाचार र भ्रष्टाचारीविरूद्ध कुन हदसम्म घण्टी बजाउन सक्ला ? रवि र बालेनको यात्रा ५ वर्ष होला कि नहोला ? रविको राजनीति र बालेनको राजनीतिमा उदय, यतिबेला विश्वभरि नै चर्चित छ । खासगरी दुई ठूला छिमेकी भारत र चीनमा त नीति कस्तो होला भन्ने उत्कट जिज्ञासासमेत बढेको छ । यिनको सहकार्य टिकाउमा नै नेपालको सत्ता राजनीति र प्रशासनिक परिवर्तन निर्भर रहेको टिकाटिप्पणी सुरू भएका छन् ।
बालेनले चुनावमा काम देउ भनिरहँदा जनता खुशी देखिए । रविले अब हामी परिवर्तन ल्याएर देखाउँछौं भन्दा पार्टीहरू हच्किएका थिए । यस्तो जनउत्साह यी दुबैको सहकार्यमा सफल हुनसक्नेछ । अन्यथा धक्का लाग्नेछ ।
स्थापित पार्टीहरू जनआँखामा साह्रै नै गनाएका र घृणायोग्य बनिसकेको अवस्थामा नयाँ दलहरू उदाएका हुन् । विशेष रूपमा चर्चित व्यक्ति हुन् रवि र बालेन्द्र साह । चुनाव प्रचारमा यिनको सभ्य शैली पनि सबैले मन पराएका हुन् । चुनाव जितेपछि पनि यिनले सभ्यता भुलेका छैनन्, प्रतिषोध साध्दैनौं, सुशासन दिन्छौं भनेका छन् । यी परिवर्तनका बाहकले जेनजी पुस्ताले चाहेकोे परिवर्तन दिन्छन् दिन्नन्, परीक्षा सुरूभयो ।
नेपालको सत्ता यिनै दुईको हातमा आएको छ । यसकारण सहकार्य टिकाउ हुनुपर्छ भन्ने आवाज उठ्नथालेको हो । रविले रास्वपा स्थापित गरे, चर्चित छन् । बालेनले सहकार्य गर्नासाथ राजनीतिमा आँधीजस्तो लहर चल्यो । निर्वाचन जित्यो, सहज पनि भयो । तर राजनीति भनेजस्तो सहज हुँदैन, ढुंगा पनि चपाउनुपर्ने हुन्छ ।
जनताले मतपत्रको भारी बोकाइदिएपछि यी दुई नेतावीच फाटो ल्याउन अनेक प्रयत्न सुरू भएका छन् । रविले आफ्नो डाइनामिजम र पीआर राजनीतिलाई बालेनको कामगर्ने र मौन बस्ने चरित्रमा जोड्न सके भने जनताले भिराइदिएको मतको भारी बोक्न रास्वपालाई त्यति मुस्किल पर्नेछैन । बालेनले गर्न चाहेको व्यवस्थापन, संविधान संशोधन, नियम कार्यान्वयन र सुशासन सहजै गर्न सक्ने देखिन्छ । बालेन कुरामा भन्दा काममा विश्वास गर्ने भएकाले पार्टी र भाषण रविले र शासन बालेन्द्रले सम्हाल्ने हो भने रास्वपाले राजनीतिमा ल्याएको नयाँ प्रयोग सफल हुनेछ ।
रास्वपाले राजनीतिलाई समाज बदल्ने औजारका रूपमा स्थापित गर्ने मौका छ, मतको भारीले पनि काम मागेको छ । बालेन प्रधानमन्त्री बनेपछि देखिने कठोर निर्णय र निर्णय कायान्वयनमा ठूलै तरङ्ग आउन सक्छ, त्यो तरङ्गलाई बोक्न रास्वपा तैयार हुनुपर्छ, रविले बालेन्द्रलाई सघाउन सक्छन्, राजनेता बन्नसक्छन् ।