
२००७ सालको क्रान्तिबाट राणा शासनको अन्त्य र २०१५ सालको संबिधानवाट मुलुकमा आम चुनाव भएपछि नेपालमा सहिरूपमा बहुदलीय प्रजातन्त्रको शुभारम्भ र कार्यान्वयन् भयो । आम चुनाबपछि प्रतिनिधि सभामा सरकार गठनको लागि चाहिने भन्दा धेरै वढी सिट हासिल गर्ने नेपाली कांग्रेस पार्टीका नेता विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्व अर्थात प्रधानमन्त्रीत्वमा मुलुकमा सरकारको गठन भयो । तर प्रजातन्त्रको नाममा दलको लागि दलतन्त्र मात्र चल्न गएको, भ्रष्टाचार अति भएको र जनताले दुःख पाएकोले यो व्यवस्था देशको लागि अफाप सिद्ध भएको भन्ने आक्षेपकासाथ छोटो अवधि भित्रै २०१७ सालमा यो व्यवस्था विघटन गरी राजा महेन्द्रले निर्दलीय पञ्चायती व्यवस्थाको स्थापना र संचालन गरे । तर बहुदलीय ब्यवस्थालाई मात्र प्रजातन्त्र मान्ने नेता र तिनका कार्यकर्ताहरूले यो ब्यवस्था बिरूद्ध निरन्तर संघर्ष गर्दै २०४७ सालमा पुनः बहुदलीय प्रजातन्त्र स्थापना गरे । २०४७ साल देखि हालसम्म नेपाली जनता बहुदलीय प्रजातन्त्रकै छाता मुनी रहिआएको र अनुभव गरिआएको हुँदा राजा महेन्द्रले छोटो अवधि मै औल्याएको कुरा सत्य बा असत्य के हुन सक्छ भन्ने कुरा अब नेपाली जनताले जरूर पनि सजिलै कल्पना र मूल्याङ्कन गर्न सक्छन् भन्ने मलाई लाग्दछ ।
यसै अबधिमा यो बहुदलीय व्यवस्थाले दल, दलका नेता र तिनका नजिकका कार्यकर्ता, नातेदार, इष्टमित्र, साथीभाइलाई यथेष्ट सुख शान्ति, सुख सुविधा, पद प्रतिष्ठा, धन सम्पति दिएपनि यो व्यवस्थाले पनि अपेक्षाकृतरूपमा देशको बिकास गर्न नसकेको र जनताको आर्थिक अवस्था सुधार्न नसकेको भन्ने धारणाको बिकास पनि मुलुकमा हुँदै गयो । तर यसको मूल कारण राजा अर्थात राजतन्त्रनै देखिएकोले मुलुकबाट राजतन्त्र हटाई गणतन्त्र अर्थात राजतन्त्र बिनाको बहुदलीय प्रजातन्त्र भएपछि मुलुकको बिकास र जनताको कल्याण द्रूतगतिले हुने धारणा पनि मुलुकमा देखियो । यसैको फलस्वरूप मुख्यतः माओबादीको यो माग र नाराको बल र आन्दोलनले २०६५ जेष्ठ १५ गते देखि देश गणतन्त्र भयो । यसरी मुलुक गणतन्त्र भएपछि पनि जनताको समस्या माथि समस्या थपिदै गएको, मुलुकमा अब्यवस्था, भ्रष्टाचार, अनियमिता, नातावाद, कृपाबाद बढ्दै गएको, देशको बिकास भन्दा देशको विनाश हुँदै गएको, गरीबले झन्झन् गरिबिता ब्यहोर्न परेको अर्थात देशमा कुशासन मात्र भएकोले भ्रष्टाचार निवारण र सुशासन स्थापना गर्न पर्ने माग राखी जेन जी नामका युवाहरूको बिशाल जमातले अकस्मात २०८२ भाद्र २३ र २४ गते अकल्पनीय आन्दोलन गरेको हामी सबैलाई थाहा छ । यो आन्दोलन दल बाहिर रहेका दुःखी जनताले दलमा रही सरकारमा रही शक्ति, पद, सुख, सुविधा, धन सम्पति पाएका, रमेका दल, दलका नेता र दलतन्त्र बिरूद्ध गरेको, भएको भन्ने कुरा दलका कतिपय नेताहरूका घर घर समेतमा आगो लगाएको कुराले स्पष्ट गर्छ ।
आज भोलि धेरैलाई थाहा छ– मुलुकमा रहेका सबै जनताको सुख, शान्ति र कल्याणको लागि सवै जनताको हक, अधिकार, सहुलियत, सुबिधा समान किसिमले संरक्षण र सुरक्षित हुने गरी सुशासन चलाउने ब्यवस्थालाई प्रजातन्त्र भनिन्छ । त्यस्तै हामी सबैलाई थाहा छ– सरकारमा रहेका दल, दलका नेता, कार्यकर्ता र तिनका नजिकका महानुभावहरूको सुख, सुविधा, हक अधिकार मात्र सुरक्षित हुने अरू जनता दोश्रो दर्जाका नागरिक हुने र तिनीहरू सबैतिर हक अधिकार विहिन हुने शासन व्यवस्थालाई दल तन्त्र, नेतातन्त्र भनिन्छ । यस अर्थमा २०४७ साल देखि हाल सम्म मुलुकमा प्रजातन्त्र होइन नेतातन्त्र, दलतन्त्र चलिआएको भन्ने कुरा ऐना जस्तै छर्लङ्ग छ । यो कुरा भन्दा, होइन भनी झूठ्ठा दावा गर्ने दलहरूको मुखै बन्द हुने गरी तिमीहरू सवै झुठ्ठा, फटाहा हुन् भनी जेन जी आन्दोलनले स्पष्ट जवाफ दिइसकेको कुरामा शङ्का छैन ।
अब जेनजी आन्दोलनको बलमा बनेको सरकारले गराएको आम चुनाववाट मुलुकमा नयाँ प्रतिनिधि सभा स्थापना हुँदैछ । कुनैबेला दलले दलको लागि र दलका आसेपासेहरूको लागि मात्र काम गर्ने र गर्ने गरेको भन्ने विचारले त्यस्तो हुनुहुँदैन र देशकोलागि, सबैको हितको लागि काम गर्नुपर्छ भन्ने पवित्र भावनाले कुनै दलमा नलागी, स्वतन्त्र उमेदवार भई चुनाव जिती मेयर हुने ब्यक्ति बालेन शाहको नेतृत्वमा अबको सरकार बन्दैछ । सायद बालेन शाहकै सफलता र प्रेरणाबाट स्वतन्त्र भन्ने शब्दमा आकर्षण भई र यो शब्दलाई प्रेम गरी राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने रबि लामिछाने सो दलको सभापति अर्थात मुख्य हर्ताकर्ता रहेकाछन् । आफ्नै भूलचूक, दोष, अनियमितताको कारण भन्दा मुलुकमा चलिआएको नेता र दलतन्त्रको इख, इष्र्याको कारणले पनि थरी थरीका मुद्दा खेपी अदालत अदालतको परिक्रमा गरी दुःख पीडा भोग्न परेको उनको अति कटू र तितो अनुभव छ । यस प्रशङ्गमा अब आउने देशको सरकारले मुलुकमा दलतन्त्र र नेतातन्त्रको पेलाईमा प्रजातन्त्र मर्न नदिने मात्र होइन, पछि पनि यस्तो जनविरोधी हानिकारक तन्त्र कहिल्यै चल्न नदिने र सच्चा प्रजातन्त्रको विकास गर्ने कामको लागि जो चाहिने संबैधानिक र कानूनी सुधार गर्ने तर्फ जरूर कदम चाल्ने आशा जागेको छ । यसै प्रसङ्गमा राष्ट्रिय स्वतन्त्र पार्टीले हाल जनताले सत्ताबाट फालिएका पुराना दलहरू जस्तै भई आफू शक्ति र पदमा रहेको घमण्ड र मदमत्तले दलीय तानासाही लादी आफना मात्र आसेपासेहरूको लागि पद र सहुलियत सुविधा पोस्न गिरिजा सरकार र तीनका अरू अनुयायीहरूले गरेजस्तै हामी जस्तो स्वतन्त्र नागरिकहरूलाई राष्ट्र सेवाबाट बञ्चित गर्ने कुकर्ममा लाग्ने छैन भन्ने आशा पनि पलाएको छ ।
देशमा प्रजातन्त्र राम्रो फुल्न र फल्न दिन शक्ति सन्तुलन र नियन्त्रणको ब्यवस्था अति जरूरी छ । यसको लागि हाम्रो जस्तो मुलुकमा राष्ट्र प्रमुख र सरकार प्रमुख दुबै एकै दलको मात्र होइन अर्थात दलीय नभई राष्ट्र प्रमुख अर्थात राष्ट्रप्रति निस्पक्ष, निर्दलीय, स्वतन्त्र भए दुवै मिलिभगत भई दलीयतन्त्र चल्नजाने खतरा कम हुन्छ । देशमा सुशासन कायम गर्न र भ्रष्टाचारमा नियन्त्रण र निगरानी राख्न पनि यो हुन जरूरी छ । यसको लागि राष्ट्र प्रमुखको रूपमा राजा बा राजा नस्वीकार्ने खण्डमा निर्दलीय मात्र राष्ट्रप्रतिको उमेदवार हुन पाउने प्रावधान र व्यवस्था गर्ने तर्फ नयाँ आउने सरकारको ध्यान जानुपर्छ । साथै जेन जी आन्दोलनको माग र जनताको इच्छा, आशा र अपेक्षा बमोजिम मुलुकमा ब्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नको निमित संवैधानिक आयोग, राष्ट्रिय योजना आयोग, अधिकार दुरूपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निजामती, प्रहरी, सेना, शैक्षिक प्राज्ञिक संस्था, विश्वविद्यालय, न्याय सेवा आयोग, अदालत आदि कुनै पनि ब्यावसायिक सेवामा राजनीतिको छायाँसम्म पनि पर्न नदिने संबैधानिक, कानूनी र कार्यान्वयन व्यवस्था अविलम्ब गर्न जरूरी छ । भोलि नभनी यी सबै काम पवित्र मनसाय र साहसले गर्न सकिएन बा गरिएन र सुशासन स्थापना गर्न सकिएन भने पुनः देशमा प्रजातन्त्रको देहाबसान र पुरानै दलीय दैत्यतन्त्रको उदय हुने कुरामा शङ्का छैन ।
narayanshanti70@gmail.com


