Advertisement Banner
Advertisement Banner

१० मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मेलमिलाप नै राजमार्ग

१० मंगलबार , चैत्र २०८२५ घण्टा अगाडि

मेलमिलाप नै राजमार्ग

लामो अन्तरालपछि बल्ल स्थिर सरकार बन्नेभयो । देशमा राजनीतिक अराजकताको अन्त्य हुनेभयो । राजनीतिक स्थिरताका लागि मेलमिलापको नीति अख्तियार गरेर अघि बढ्नैपर्ने साँचोमा ढालिनसके १३ गते बन्ने बालेन साहको नेतृत्वको रास्वपा सरकार चमत्कारिक युगान्तकारी बन्नसक्ने अनुमान गर्न थालिएको छ । खासगरी छिमेकी भारत र चीन, विश्वशक्ति अमेरिकालेबालेन साहको नेतृत्वको सरकारसँग मिलेर काम गर्ने जनाउ दिइसकेका छन् । यो अवसरलाई बालेन साहको इन्जिनियरिङ डिजाइन र भिजनले व्यवस्थापन गर्नसक्यो भने नयाँ पुस्ता इतिहासमा लेखिने नाम हुनेछ भने जनताले गरेको निर्णय सत्य साबित ठहरिनेछ । जनविश्वास हारेको इतिहास छैन, नेपालीले पनि जित्नेछन् ।
वातावरण र कानुन लगानीमैत्री बनाउनुछ । विदेशीएका युवाहरूलाई फर्कने वातावरण सिर्जना गर्नुछ । तालालागेका उद्योग खोल्नुछ, नयाँ उद्योग खोलेर रोजगारी बढाउनुछ । कतै पनि पूर्वाग्रही नदेखिनेगरी देशको विकास र सार्वभौमिकताको रक्षा गर्नुछ । यति नै बेला भारतले चीनसँग लिपुलेकबाट व्यापार गर्ने घोषणा गरेको छ । जुन बालेनका लागि तगारो ठड्याइएको हो । यी यस्ता अनगिन्ति तगाराहरू आउनेछन्, जसलाई राजनीतिक सुझबुझ र कूटनीतिक चलाखीका साथ अघि बढ्नुछ । जसले रास्वपालाई प्रचण्ड बहुमतले जिताएका छन्, तिनले सही सुझाव दिनुपर्छ, युवापुस्तालाई विज्ञ विशेषज्ञहरूले टेको लगाएर सफलता उन्मुख बनाउनुपर्छ ।
बालेन नेतृत्वको रास्वपाको सरकारका लागि मेलमिलापको बिकल्प छैन । मेलमिलाप भनेको राजा र जनताको मेलमिलाप हो । मेलमिलापकै अभावमा असफल भएका पुराना दलहरूले बहुदलपछि ३७ वर्ष शासन गरे, ३० सरकार बनाए । लोकतन्त्रका नाममा १७ वर्ष शासन गरे १५ सरकार बनाए । नतिजा जिल्ला जिल्ला, क्षेत्र क्षेत्रमा राजाको अभिनन्दन हो, गाउँसहरमा राजा आउ देश बचाउको नारा घन्किनु हो । र, भदौ २३ र २४ को जेनजी आन्दोलन र बिद्रोह हो । फागुन २१ को निर्वाचन हो । निर्वाचन परिणामले देखायो– जनताको शक्ति । जनता परिवर्तनको पक्षमा छन्, भ्रष्टाचारको विपक्षमा छन्, जनता सुशासन चाहन्छन्, जनता मेलमिलाप चाहन्छन् । जनता देश लुट्नेहरूमाथिको दण्ड हेर्न चाहन्छन् ।
रास्वपालाई जनताले काँधैभरि मतको भारी बोकाइदिएका छन् । यो भारी रास्वपाले बोक्न सक्ला कि नसक्ला ? अहिले प्रश्न उठेको छ । प्रश्न उठाउने पुराना पार्टीहरू नयाँसँग अनुभव छैन भनेर खिसिट्यूरी गरिरहेका छन् । नयाँसँग जनादेश छ, नयाँसँग इमानदारिता छ, नयाँसँग जनताप्रति जवाफदेहीता छ, नयाँसँग जोश, जाँगर छ भन्ने कुरा पुरानाले बिर्सेका छन् । नयाँले सिंहदरवार छिरेपछिका क्रान्तिकारी निर्णयहरूले यथार्थमा अग्रगमन छलाङ् कस्तो हुन्छ भनेर देखाउने आशा धेरैको छ ।
हो, नयाँमा समस्या छ, रास्वपाका नयाँ सांसदहरू एकले अर्कोलाई चिनेकै छैनन् । कुन सांसद कताबाट प्रभावित छन्, कुन सांसदको भित्री अभिष्ट के हो भन्ने पनि प्रष्ट छैन । कतिपय सांसद अन्य पार्टी त्यागेर आएकाले पनि तिनको इमान तलबितल हुने त होइन भन्ने जोखिम पनि छ भनिदैछ । यति हुँदाहुँदै पनि रास्वपाका सभापति रवि लामिछानेले राइट टु रिकलको व्यवस्था सबै सांसदलाई बुझाएका छन्, पढाएका छन् । यसका लागि पार्टीबिधानमा व्यवस्था गरिदैछ । समष्टिमा भन्नुपर्दा जनताले रास्वपाको इतिहास लेखिदिएका छन् अब रास्वपाले जनताको विश्वासमा खरो उत्रनै पर्ने बाध्यता छ । अन्यथा रास्वपा पनि उही कानै चिरिएका जोगी हुनेछन् । तर रास्वपाको बाचापत्र, नागरिक करारपत्रमार्फत नयाँ सांसादहरू परिचित छन् । तिनको चिनारी बाचापत्र र करार हुनुपर्छ । प्रत्येक सांसदले यतिबेला पार्टीको बाचापत्र र करारनामा हात हातमा बोकेर हिंडेको अवस्था देखिदैछ ।
यो चुनाव कुन संविधानअनुसार भयो, अन्तरिम सरकार बैध थियो कि थिएन, अब संविधानमा संशोधन वा नयाँ लेखन कसरी थालिने हो ? जसरी पनि लोकतन्त्र संस्थागत गर्नुछ । पुराना सरकारले गरेका निर्णय बदर गर्नुछ, नयाँ सक्षम र योग्यहरूलाई नियुक्त गरेर जिम्मेवारी दिनुछ । नयाँ सरकारले काम गर्न अनुकूल वातावरण बनाउन पहिले धेरै प्रकारका कानुन बनाउनु छ । दण्डहीनताको अन्त्य, ०४६ सालपछिका भ्रष्टाचारीहरूको छानबिन र कानुनी कारवाही गर्नुछ ।
र, मन्त्री बन्ने इच्छा सबै सांसदमा हुने मानसिकता हो । सानो आकारको मन्त्रिमण्डल बनाउँदा सबैले मन्त्री बन्न पाउने छैनन् । त्यो स्थितिमा मन खुम्च्याउनेहरू पनि होलान् । म किन मन्त्री भइन भनेर आक्रोसित हुने पनि होलान् । यसपल्टको निर्वाचनमा जनताले जो सांसद वा मन्त्री बनुन्, स्थिर सरकार र सुशासन दिउन् भन्ने अभिलाषा राखेका छन् । जनताको अपेक्षा बिर्सनु भनेको जेनजीको त्यागलाई नजरअन्दाज गर्नुहुनेछ ।