Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

जनसेवक कि मालिकको नोकर

१७ मंगलबार , चैत्र २०८२१३ घण्टा अगाडि

जनसेवक कि मालिकको नोकर

गत चैत १३ गते १२.३४ बजेको साइत जुराएर शपथग्रहण गरेको बालेन साह सरकार त्यही दिनदेखि हर्कतमा आएको छ । भोलिपल्ट एकाविहानै पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरफतार गरिएको छ । तत्कालीन गृहमन्त्री कांग्रेसका नेता रमेश लेखकलाई पनि पक्राउ गरिएको छ । प्रहरीले छानबिन अघि बढाएको छ । अदालतले के गर्छ, कस्तो आदेश दिनेछ भन्ने मूल प्रश्न हुँदै होइन । प्रश्न त कुन सवालमा गत फागुन २१ को चुनाव लडेका थिए बालेन्द्र साह, सुदन गुरूङ र रवि लामिछानेहरूले भन्ने हो । पक्कै पनि गत चुनाव जेनजी आन्दोलनकारीहरूको दोषी उपर कारवाही गर्छौं भनेर चुनाव लडेका थिए रास्वपा उमेदवारहरूले । त्यतिमात्रै होइन, ०४६ साल यताका हत्यारा, भ्रष्टाचारीहरूलाई कारवाही उपर कारवाही गर्छौं समेत भनेका थिए । त्यही बाचालाई नेपाली जनताले मोहर लगाइदिएका थिए । लगभग दुईतिहाईमा पु¥याइदिए । त्यसैको फलस्वरूप, जनता सामू गरिएका आफ्ना बाचा र नागरिक करारलाई पूरा गर्न ओली, रमेश लेखहरूलाई सुरूआती गिरफ्तार गरिएको हो । अब यहाँ कहाँ छ प्रतिषोधको कुरा ? जव जनताले नै रास्वपाको बाचा र करारलाई अनुमोदन गरिदिएपछि जनताको भावना नै त्यही रहेछ भनेर किन नबुझ्ने ? अब एमाले, कांग्रेस र यिनका जनबर्गीय संगठनहरूले आन्दोलन गर्दा त्यति फलदायी नहुने अनुमान गरिदैछ । राष्ट्रघात, भ्रष्टाचार, नातावाद, कृपावादमा आ–आफ्ना नीति, सिद्धान्त देख्ने एमाले, कांग्रेस र पुरानो माओवादीहरूको दिनगन्ती सुरू भइसक्यो भनेर भन्नेहरू अहिले धेरै छन् । होला, आआफ्ना नेताहरूको कृपाबाट भातभान्सा चलाउने झोले कार्यकर्ताहरूको मुटुमा ढ्याङग्रो बजेको होला । अब आम्दानी सुक्यो भनेर रिस पनि उठेको होला । तर आम जनतालाई कारवाहीको थालनीले सन्तोष दिएको छ । सत्तामा रजगज गरेर देश र जनतामाथि घात गर्ने पुराना दलका नेता कार्यकर्ताहरूले जे जस्ता आततायी संघर्ष गरे पनि सात खुन माफ हुने परिपाटी अब सकिन्छ भन्ने विश्वास जनजनमा बढेको छ ।
अब शासन, प्रशासन र विधिमा राजनीतिक अपराधीकरण निमिट्यान्न पार्ने प्रकृया सूरू हुन्छ हुन्छ । विधिको शासन सुरू हुनेछ भन्ने आशा छ । त्यसो त ओली र लेखकमात्रै किन ? भन्ने प्रश्न पनि उठेको छ । कथित १० वर्षे जनयुद्ध सकिएर माओवादी शान्ति प्रकृयामा अहायसकेपछि डा.बाबुराम भट्टराईको प्रत्यक्ष निर्देशनमा मारिएका गोरखाका कृष्णप्रसाद अधिकारीले पनि न्याय पाउने आशगर्दा हुन्छ । यी  र यस्ता अन्य अन्यायमा पारिएकाहरूले पनि न्याय पाउनुपर्नेछ । न्याय गर्छु भन्ने नागरिक करार गरेर चुनाव जितेको र सत्तामा पुगेको बालेन साह नेतृत्वको सरकारमा कत्तिको निष्पक्षता देखिने हो, त्यो हेर्न बाँकी छ । यतिबेला एमाले सडकमा उत्रिसकेको छ, कांग्रेस पर्ख र हेरको अवस्थामा छ । ओली र लेखकले कानुनी लडाइ लड्ने बताइसक्दा पनि तिनका कार्यकर्ताले सडकमा टायर बाल्न थालेका छन् । कानुनी लडाइ लड्ने भनिसकेपछि सडमा टायर बाल्नु भनेको अतिवाद नै हो । अदालते यी दुबैलाई बाहिरै बसेर मुद्दा लड्ने सुविधा दियो भने पनि यी दुबै नेता बालबालिकाको हत्याराका रूपमा दागी भइसकेका छन्, फैसला कहिले र कुन तरिकाले आउला, त्यो हेर्नु पहिले नै । यसैवीच जेनजी पुस्ताले बालेन सरकारले हत्यारा विरूद्ध थालेको पक्राउ र छानबिन प्रकृयाको स्वागत गरिसकेको छ ।
एमाले, कांग्रेसीको सडकमा देखिएको फूर्तिफार्ती केही दिनको न्यानोमात्र हो । केही खातापिताले साथ दिए पनि जो पार्टीभित्रै पीडित छन्, तिनले साथ दिनेछैनन् । ओली फेरि सत्तामा पुग्ने कहिले र उनको आशीर्वाद पाउने ? कांग्रेस त घरझगडामा नै व्यस्त छ । १८ भाइ मिलेका नेकपामा देखाउने प्रचण्डमात्र हुन्, तिनले रास्वपालाई साथ दिने बताएका छन् । तर बालेन सरकारले ०४६ सालपछिका भ्रष्टाचारका सबै फाइल खोल्न होमवर्क सुरू गरिसकेको छ । यी फाइलहरू खुल्दा र बालेन सरकारले अख्तियारदेखि प्रधानन्यायाधीशसम्मका ११७० जनाको नियुक्त गर्दा पुराना दल र तिनका नेताहरूले कुन कुन जेलनेलमा पर्नुपर्ने हो भन्न सकिदैन । चुनाव प्रचारका क्रममा बालेन साहले जनतासँग भोट मागेनन्, काम दिनोस्, हामी काम गर्छौं, रास्वपाले काम गरेर देखाउँछ भनेर जनतालाई अहाश्वस्त पारेका थिए । काम गर भनेर जनताले मतको भारी भिराइदिएका छन् । बालेन साह सशक्त युवा हुन्, उनको टिममा सबै युवा छन् । रवि लामिछानेले छ । गर्ने काम नै हो, दिने नतिजा हो । सुशासन दिंदै भ्रष्टाचारीमाथि दण्डविधानले पाता फर्काउने नै हो ।
जे हुन्छ, पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहको जोश र होसमा हुनेछ । जनताले कांग्रेस, एमाले र नेकपालाई पुछारमा छाडेर रास्वपालाई मूलधारको राजनीतिक राजमार्ग बनाइदिएका छन् । एउटा पनि भूलले, नागरिकसँग गरेको करार र बाचा बिर्सनु भनेको रास्वपाको ओह्रालो यात्रा सुरू हुनु हो । यो यथार्थसँग रवि लामिछाने र बालेन साह जानकारी छन् । महेस बस्नेत अथवा ओलीको नेशनल भोलेन्टियर फोर्सले सडक तताउनु र देशैभरि धुवाँ उडाउनु भनेको राजनीतिक प्रदूषण फैलाउनु मात्र हो । यसबाट केही निष्कर्ष निस्कनेवाला छैन । बहुदलको ३७ वर्षपछि र लोकतन्त्रको १७ वर्षमा देश र जनतालाई कसकसले कति लुटे, त्यो लूटको पर्दाफास गर्नु र सुशासन तथा रोजगारी बढाउने कार्यले बालेन सरकारको सफलताको मापन हुनेवाला छ । जनविश्वासमाथि घात नहोस् ।