
संघीय संसद् अन्तर्गत दुवै सदनको अधिवेशन आजबाट सुरु हुदैछ । दिउँसाे २ बजे नयाँ संसद् भवन सिंहदरबारमा बस्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
गत भदाै २३ र २४ गते भएकाे जेन–जी आन्दोलनपछि निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने छन् । आजकाे पहिलाे बैठकले सभामुख निर्वाचनको दिन तोक्ने कार्यसूचीमा उल्लेख गरिएकाे छ ।
हिजाे बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति तय गर्दै चैत २० गते सभामुख पदका लागि उम्मेदवार मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने तय भएको थियाे । संसद् सचिवालयले पहिलो बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ ।
नयाँ नियमावली नबनेसम्म पुरानै नियमावलीअनुसार बैठक सञ्चालन गर्ने, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नाम तोक्ने र तीनवटा अध्यादेश पेस हुने कार्यसूचीमा रहेकाे छ ।
त्यसैगरि पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले धारणा राख्ने तथा संविधानसभाका पूर्वसदस्य र विभिन्न सांसदहरूको निधनमा शोक प्रस्ताव पेस गरिने कार्यसूची रहेकाे संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।


