Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

Image

धेरै रगत र आँसुले बनायो सतिसाल सरकार

राजन कार्की

२६ बिहिबार , चैत्र २०८२१९ घण्टा अगाडि

धेरै रगत र आँसुले बनायो सतिसाल सरकार

लामो समयदेखि देश र जनता छटपटाहटमा थिए । विधिमा चल्ने सतिसालजस्तो सरकार खोजेका थिए । फागुन २१ पछि त्यो चाहना पूरा हुने संकेतहरू देखिन थालेका छन् ।
धेरै मान्छे मारिएपछि, धेरै रगत बगेपछि, धेरै आँसु बगेपछि, गजबका दृश्यहरूपछि, सतिसालजस्तो राजनीति सुरू भएको अनुभूति भइरहेको छ । 
झापा ५ मा पूर्वप्रधानमन्त्रीलाई बालेन साहले जसरी चुनाव हराए, त्यो गजबको दृश्य थियो । कसैले कल्पनै नगरेको चुनाव परिणाम आयो, रास्वपाले सबै पार्टीलाई कसिङ्गर बढारेझैं बढारिदियो, यो पनि गजबको दृश्य थियो । सरकार गठन भएको १५ घण्टाभित्रै पूर्वप्रधानमन्त्री, पूर्व गृहमन्त्री ओली र लेखकलाई जनतामारा अभियोगमा पक्राउ गरियो, यो ऐतिहासिक दृश्य थियो ।
रास्वपाले बालेन साहलाई संसदीय दलको नेता छान्यो, मेयरबाट एक्कैपल्ट प्रधानमन्त्री नियुक्त भए, यो आश्चर्यजनक दृश्य हो । प्रधानमन्त्री भएपछि भाषणा गरेनन्, बोल्दैनन्, हरेक क्षेत्र र अनेक पार्टीका सांसदहरूसँग समस्या र समाधान बुझिरहेका छन्, गजबको दृश्य । सिंहदरवार–मन्त्रीहरूका कार्यालयमा भीड छैन, गजबको दृश्य । प्रधानमन्त्रीले मुख्य सचिव र सबै सचिवहरूलाई एक्कैथलोमा राखेर, सरकारको स्पिडमा काम गर्नोस्, नभए मार्ग प्रशस्त गर्नोस्, सक्नेले गर्छन् भनिदिए, गजबको दृश्य । 
रास्वपा र प्रधानमन्त्री बालेन साहले जनताको विश्वास जितेका छन्, जनमत र जनादेश पाएका छन् । त्यही जनविश्वास र जनादेशका आधारमा बालेन साहले परिवर्तन गर्ने भीष्म अठोट लिएका छन् । त्यही अठोटको परिणाम हो– भ्रष्टाचारीविरूद्धको घण्टी बज्नु । बालेन साह सरकारले आफू सतिसाल भएर खडा भएको सूचना दिएको छ ।
राजनीतिक अपराधको लामो श्रृङ्खलापछि लाग्छ धर्मयुद्धको सुरूआत भएको छ । राजनीति गर्नेहरूले गर्नु नगर्नु, असह्य हुनेगरी राजनीतिक अपराध गरेका थिए । नैतिक राजनीति, नैतिक समाज हुन्न भने कानुनव्यवस्था नाङ्गिएको हुन्छ । भ्रष्टाचारी, अपराधी, नैतिकहरू छाडा भएका हुनछन् । स्थापित राजनीति, शासनव्यवस्था देश र जनताप्रति बेइमान बनेकाले तिनीहरूलाई दण्डित गर्नैपर्छ, तवमात्र सभ्य राजनीति र संस्कृतिको सुरूआत हुनसक्छ ।
यसकारण धर्मयुद्धको खाँचो छ ।
यतिबेला समाजका अगुवा, विचारक, नागरिक समाज, राजनीति, शासक र प्रशासक सबैतिर जिम्मेवारी लिने र जवाफदेही हुने मान्यता खलबलिएको छ । बालहत्या, बलात्कार, भूमाफिया, कमिशनतन्त्र, भ्रष्टाचारका अनेक घटनाक्रमका दोषीमाथि कारवाही नै हुँदैन । कानुन खोक्रो लाग्छ, प्रशासन कर्मकाण्डी देखिन्छ, स्थिति बिस्फोटक र अराजक छ, यो स्थितिलाई विधिले बाँध्न जरूरी छ । शान्ति र समृद्धि जनआशा हो । जनआशा पूरा गर्नुपर्छ ।
यसकारण धर्मयुद्धको खाँचो छ ।
आन्तरिक एकता बलियो थियो, बाह्य असंलग्न र पञ्चशीलको नीति मजबुत थियो । नेपाल शान्तिक्षेत्रका रूपमा परिचित थियो । बुद्धको महत्व बढेको थियो । विश्व र प्रत्येक मानिसमा असन्तुष्टि र तनाव बढ्दो छ, यो तनावलाई साम्य पार्न पनि बुद्धको जन्मभूमिको महिमा बढाउन सकिन्थ्यो । सगरमाथाको सुन्दरता, प्रकृतिको बास भएको मुलुकमा प्रकृति देखाएर, बुद्धत्व जगाएर देश र जनतामा खुशहाली ल्याउने आर्थिक उन्नति गर्न सकिन्थ्यो । बहुदल बहुलाजस्तो बनेर सकियो, लोकतन्त्र जोकतन्त्र बन्यो । बौद्धिक समाजसमेत अवसरवाद र स्वार्थको दास मनोबृत्तिमा रमाउन थालेपछि देश लथालिङ्ग भताभुङ्ग हालतमा पुगेको हो । वीरको देश, पुर्षाको वीरताले निर्माण गरेको देशमा विधिको लक्ष्मणरेखा खिच्नैपर्छ ।
यसकारण धर्मयुद्धको खाँचो छ ।
पञ्चायतले बिगा¥यो, राजतन्त्रले सिध्यायो, पञ्चायत र राजतन्त्र फालेपछि नेपाल उज्यालो हुन्छ, समानता र न्यायपूर्ण समाज आउँछ, सर्वहाराले सुखैसुख पाउँछन्, गरीवसँग गाँस बास कपास हुनेछ । सबै समस्या समाधान हुनेछन्, देशमा उज्यालै उज्यालो हुनेछ भनेर सपना बाँडियो । बहुदलको कालखण्ड कालरात्रि बनेर सकियो, त्यसपछि लोकतन्त्र आयो, गणतन्त्र आयो, पञ्चायतपछि राजतन्त्र र हिन्दुराष्ट्र समाप्त पारियो, लोकतन्त्रको १७ वर्ष औंशीको रातजस्तो अँध्यारोमात्र भयो । उज्यालो कतै देखिएन । जति पनि लोकतान्त्तिक, गणतान्त्रिक नेता हुँ भन्थे, ती सबै कुनै नै कुनै नातावाद, भ्रष्टाचार, अपराध, नीति–सिद्धान्तहीन, नैतिकहीन सावित भए । देश र जनता हुनै नहुने नेतातन्त्रको बाहुबलीतन्त्र भोगिरहेको छन् । बाहुबलीतन्त्रको ठाउँमा बिधितन्त्र, न्यायपूर्ण समाज स्थापना गर्नुछ ।
यसकारण धर्मयुद्धको खाँचो छ ।
शहिदले छातीमा तातो गोली थापेर परिवर्तन ल्याएका थिए । राज्यले शहिद बनाउने क्रम रोकेन । गत भदौ २३ र २४ गते त निरंकूश लोकतन्त्तवादीहरूले बालबालिकाहरूलाई समेत शहीद बनाए । नरसंहारकारी नेताहरूको जुन बेहाल भदौ २४ को बिद्रोह र फागुन २१ को निर्वाचनमा देखियो, यसबाट जनताको विवेक र वीरता एकपल्ट फेरि शिद्ध हुनपुगेको छ । जनताको फागुन २१ को चुनावमा जुन मौन आक्रोश परिणाममा देखियो, यसबाट लोकतन्त्र, गणतन्त्रको १७ वर्षे कालखण्ड र बहुदलपछिको ३७ वर्षको अवधिमा जो जो सत्तामा पुगेका थिए, तिनले बाँचुन्जेल जुका बनेर देश र जनताको रगत त चुसे, ढाडिए, मर्दा तिनले मलामी पनि पाउने सम्भाबना देखिदैन । यस्ता राजनीतिक अपराधीलाई राजनीतिमा फर्कनै नसक्नेगरी राजनीतिबाट डाँडा कटाउनुछ ।
यसकारण धर्मयुद्धको खाँचो छ ।
कुनै नेता मर्दा जनताले आँसु बगाउन्, श्रद्धाले फूल चढाएर श्रद्धाञ्जली दिउन्, त्यस्ता नेता ०४६ सालपछि एक्का दुक्कामात्र देखिए । जसलाई जनताले श्रद्धा गर्छन्, ती हुन्छन्– राजनेता । नेपालमा भ्रष्ट नेता धेरै भए, राजनेता बन्न कोही तैयार भएनन् । यसकारण त विदेशीले नेपाली नेताहरूलाई ‘फ्रड’ भनेर घृणा गरेका हुन् । लोकतन्त्रको पाखण्डले अति ग¥यो, रत्नाकर पार्टी पार्टीमा कति छन् कति, कुनै पनि रत्नाकर नेता बाल्मिकी बन्न प्रेरित भएनन् । रत्नाकरहरूलाई जनताले पटक पटक दूध पिलाए, रत्नाकरहरूले दूध होइन, जनताको रगत नै चुसे । जुकालाई मिल्काउनु थियो, मिल्काए । अवस्था सुधार्नु छ ।
यसकारण धर्मयुद्धको खाँचो छ ।
देश ब्रम्हनालमा पुगिसकेको थियो । देशको अस्तित्व संकटमा पार्ने यिनै लोकतन्त्र र गणतन्त्रवादी थिए । यिनलाई जनताले सहनु सहे, दिनसम्म अवसर दिएकै हुन् । ०४६ सालदेखिको बहुदल र लोकतन्त्रकालमा पटक पटक चुनाव जिताएर अव त केही गर्छन् कि, अव त सुध्रिएलान् कि भनेर मौकापछि मौका दिएकै हुन् । मौकालाई यी नेताहरूले स्वार्थशिद्ध गर्न चौका हाने । देशघातक, जनविश्वास घातक बनेर पनि जनताबाट अझै समर्थन र सहयोग खोज्नेहरूलाई फागुन २१ मा जनताले मतादेशबाट दण्डित गरिदिएका छन् । तैपनि यी नेताहरू आफूलाई मरेको अनुभव गर्दैनन् । राजनीतिमा मरिसकेपछि पनि जिउँदै छु भन्ठान्नेहरू आफै सपनामा छन् । यिनको होस ठेगानमा ल्याउन तिमीहरू कलंकित भइसक्यौ भन्ने बुझाउन र मान्छे जिउँदै पनि मर्नसक्छ, मरेको जुनी हुन्छ भन्ने हेक्का दिलाउनुपर्छ । 
यसकारण धर्मयुद्धको खाँचो छ ।
इतिहासमा तक्षशीला समेत जितेका चक्रवर्ती राजा थिए अशोक । अन्तमा उनी लुम्बिनीमा आएर भिक्षु बने, अशोक स्तम्भ ठड्याए र बुद्धम् शरणम् गच्छामी भन्ने भजन गाउन थाले । बहुदल र लोकतन्त्र गणतन्त्रका शासक प्रशासकहरूले सम्पत्ति जिते, स्वार्थ जिते । अन्तमा जनताको घृणा भोग्नुप¥यो । नेपालीको मनले सराप्यो, नेपालीको आत्माले सराप्यो । यी नेताहरू नेता होइनन्, देश र जनताप्रति गद्धार हुन् । राजनीतिका अपराधी हुन्, जनताबाट श्रापित छन् । यी श्रापित हुन् भनेर यिनैलाई देखाउन जरूरी छ ।
यसकारण धर्मयुद्धको खाँचो छ ।
राजनीति गर्ने वा जुनसुकै सचेत नागरिकले बुझ्नैपर्ने सत्य हो– स्वाभिमानले बाँच्छ देश । स्वाभिमानले उठ्छ नागरिक । देशलाई महाभारतको द्रौपदीको चीर हरण गर्ने दुर्योधनहरू जनताको नजरमा दयनीय छन् । सम्भ्रान्त बन्नका लागि आफैलाई गिराउनेहरूले बुझ्नैपर्छ, स्वराजको मूल्य पद, पैसा र प्रतिष्ठा होइन । पुर्षा र पुस्ताले सराप्ने यिनको कर्म कौरव कर्म हो । दुशासन चरित्र हो । नेपाली देशभक्त रहेछन्, फागुन २१ गते जनताले स्वराज बचाउने सुरूआत गरेका छन् । यो स्वराजलाई उज्यालो राज बनाउनु छ ।
यसकारण धर्मयुद्धको खाँचो छ ।
बहुदल त कालरात्रि बनिहाल्यो, त्यसपछि अग्रगमनको छलाङ् भन्दै ल्याइएको लोकतन्त्र–गणतन्त्रका शासक प्रशासकहरू राजनीतिक पातक बनेर देश र जनतामाथि घातक प्रहार गरिरहे । ७ वर्ष अघि नै भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालाई भारतको नक्सामा हाल्यो, भारतीय भूमि भन्यो । पातक राजनीति र घातक प्रशासन जिब्रो तालुमा टाँसेर बसिरहे । उत्तर र दक्षिणको प्रभाव बढ्दो छ, पश्चिमाको चक्रव्यूह पनि चलेकै छ । नेपाल चक्रव्यूहको अभिमन्यू बनेर मर्न सक्दैन । चक्रव्यूह चिर्न नेतागणले नसके जनताको राष्ट्रवादले चिर्छ । नेपाली जनता साह्रै राष्ट्रवादी छन् । जबसम्म नागरिकमा राष्ट्रवादको चेत रहन्छ, राष्ट्र जिवन्त भइरहन्छ । हो, नेताहरूले बाटो बिराउँदा केही समय राष्ट्र छायाँमा पर्नसक्छ, मूल्य चुकाउनुपर्छ ।
यसकारण धर्मयुद्धको खाँचो छ ।
एउटा बिस्फोट भदौ २३ र २४ मा भयो । अर्को बिस्फोट फागुन २१ को निर्वाचनमा भयो । तेश्रो विस्फोट जनादेश र मतादेशले बनेको सरकारले गर्नुपर्छ । नेपालीको इतिहास गोर्खाली इतिहास हो । धारिलो खुकुरीको इतिहास हो । जनताले निकै भर गरेर बनेको यो सरकारले जनआशा पूरा गरेगर्छ, नगरे जनताको वीरताको खुकुरी फेरि चम्किनेछ । जनता जागेका छन्, नयाँ पुस्ता जागेको छ । यो जागरण नेपाल राष्ट्र जिवन्त छ भन्ने ज्यूँदो प्रमाण हो । यही प्रमाणले नेपाल बनाउनु छ । अस्तित्व बचाउनुछ । अहिलेलाई यत्ति भनौं– जनयुद्ध पूरा भयो, धर्मयुद्धको खाँचो छ ।