
बहुदल र लोकतान्त्रिक शासनकालमा राष्ट्रको स्वाभिमान गुमेकै हो । विदेशीबाट स्वाभिमान लुटिदा लुटाउने राजनीतिक शक्तिहरू दङ्ग परे, तिनीहरूको चरित्र भनेको लेण्डुप, मिरजाफरकै हो । देशमा थरि–थरिका, खेमा–खेमाका, पार्टी–पार्टीका अनेक मुखुण्डो लगाएका लेण्डुप, मिरजाफरहरूको बिगबिगी चल्यो, यस्ता मिरजाफर प्रवृत्ति बोकेकाहरूले शान्ति, संविधान र सार्वभौमिकताको परीक्षामा फितलो चरित्र देखाए, स्वार्थलाई महत्व दिए । राजनीतिक अपराधलाई सफलता सम्झिए । फलतः भदौ २३ र १४ को जेनजी आन्दोलन, विद्रोह हुनपुग्यो ।
लोकतान्त्रिक गणतन्त्रवादीलाई रत्नाकरबाट बाल्मीकी बन्ने पर्याप्त अवसर थियो । उनीहरू रत्नाकरकै भूमिकामा रमाउन थाले । अति भएपछि जेनजी बिद्रोह भएको हो । यिनको जनविरोधी, मानवता विरोधी व्यवहारका विरूद्ध भएको बिद्रोहले यिनलाई किनारामा पु¥याइदियो । कुनै बेला रत्नाकर सुसुप्त ज्ञान पाएर बाल्मीकी बनेको कथा छ । राजनीतिका रत्नाकरहरूले कुनै ज्ञान लिन चाहेनन्, रत्नाकरकै रूपमा बदनाम छन् । नेतृत्वतह यतिसम्म स्वार्थको पोखरीमा चुर्लुम्मै डुबिसकेको थियो कि यो अचेतन छ र यसको बाल्मिकी बन्ने कुनै सम्भावना देखिन्न । यिनकै कारण राष्ट्र चुकजस्तो अन्धकार सुरूङ बनिसकेको छ । यो अन्धकारबाट उज्यालो ल्याउँछु भनेर रास्वपा आएको छ, बालेन्द्र प्रधानमन्त्री बनेका छन् । यो परिवर्तनलाई परिपक्व हुनै नदिइ घाँटी निमोठ्न पुराना भ्रष्ट नेताहरू सकृय देखिन्छन् ।
८ दशकसम्म पुराना दलका नेताहरूमा देशभक्ति र भक्ति थापाको चमक देख्न पाइएन । भारतका प्रणव मुखर्जीले अलजजिरा टीभीबाट नेपालको राजनीतिमा भारतले मुख्य भूमिका खेलेको दावी गरिरहे, प्रचण्ड, ओली, झलनाथ, माधव नेपाल, देउवाहरू सुनिरहे । भारतले नेपालको जनयुद्ध, जनआन्दोलन, गणतान्त्रिक परिवर्तनलाई भारतले गरिदिएको दावी गरिरहे । अलिकति पनि स्वाभिमान नेताहरूले देखाउन सकेनन् ।
तिनै तत्वहरू फागुन २१ को चुनावबाट जनादेश लिएर ५ वर्ष सत्ता चलाउने अवसर पाएको रास्वपालाई बदनाम गर्न लागिपरेका छन् । जतिसुकै नाखुश भए पनि, बिरोध गरे पनि नियमानुसार चल्ने र सुशासन कायम गरेरै छाड्ने प्रतिवद्धतामा प्रम बालेन साह स्थिर छन् । कसैले आलोचना गरे गरिरहन्छन्, उनी शान्त छन् । सामाजिक सञ्जालबाट आफू आफ्ना प्रतिवद्धता पूरा गरेरै छाड्ने बताइरहेका छन् ।
बिरोधीको काम बिरोध गर्नु हो । बुद्धि भए यही सरकारलाई संवाद, सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने थियो । त्यो राजनीतिक नैतिकता पुराना मात्र होइन, श्रम संस्कृतिजस्तो ७ सिटे पार्टीले समेत देखाउन सकेन । सरकार र रास्वपालाई अमानवीय, अनुशासनहीन, परम्परा तोडेको, अनुहार नदेखाएको भनेर झ्याइँ झ्याइँ बिरोध गर्नु सामान्य घटना भएको छ । बुझ्नुपर्ने कुरा के हो भने पूरा सत्य । पुरा सत्य भनेको रास्वपाको सरकार सय बुँदे सुशासनका सूत्रहरू सफल पार्न चाहन्छ ।
प्रधानमन्त्री बालेन्द्र साह ३५ वर्षका युवा हुन् । उनलाई जनताले विश्वास गरेकाले र जनतासँग रास्वपाले करार र बाचा समेत गरेकाले कम्तिमा सय दिन काम हेर्न प्रतिक्षा गर्नैपर्ने हो । विपक्षीहरूले डेढ महिनामै सरकारको झाँको झार्न थालेका छन् । किन ? प्रजातन्त्रमा विश्वास गर्नेहरूले हनिमून पिरियड पनि कुर्न नसक्ने ? यो त अति भएन र ? न त सरकारले आफूलाई प्रष्ट देखाएको छ, न त विपक्षीले प्रजातान्त्रिक नर्मस् पालना गरेका छन् । कमजोरी दुबैतिर छ । दुबैले संवाद, सहमति र सहकार्यका साथ देशको शान्ति, समृद्धि र जनचाहनाको परिपूर्ति गर्न अग्रसर हुन अब अबेर गर्न हुन्न । जो दागी छन्, दण्डभागी छन्, तिनले कानुनतः पाउने सजाय पाउनैपर्छ । छुट कसैलाई पनि हुनुहुन्न । यदि सरकारलाई अप्ठेरोमा पारेर विपक्षीहरूले आफूलाई चोखो देखाउन पानीमाथिको ओभानो हुने कार्यशैली अपनाएका हुन् भने यो क्षम्य विषय होइन । सरकारले पनि प्रजातन्त्रप्रति प्रतिवद्धता जनाउन, गरिमा र महिमा स्थापित गर्न पछि पर्नु शंकास्पद हुनेछ । शंका पक्ष विपक्षमा कत्ति पनि रहनु हुन्न । जनता हेरिरहेका छन्, जनता न्याय पर्खिरहेका छन् । न्याय दिने र कार्यान्वयन गर्ने, व्यवस्थापन मिलाउने वीच नै शक्ति सन्तुलन हुनसकेन भने संविधान, संविधानको मृत्यु, फेरि संविधानको खाका तैयार हुन लागेका बेलामा बिथोल्ने कार्य भयो भने स्थिर सरकारको अवस्थामा पनि अराजकता बढ्नसक्छ । इतिहासले सबैको मूल्याङ्कन गर्छ गर्छ । सडकमा विपक्षी र सुकुमवासी, अव्यवस्थित बसोबासी र न्याय माग गर्नेहरू एक भएर रास्वपा र सरकारविरूद्ध मूर्दावादको नारा लगाउन थालेका छन् । किन यस्तो भयो ? रवि र बालेनलाई सरकारको भारी सम्हाल्नै नसक्ने स्थितिको देखिदैछ । यसको अन्तर्य भनेको सुकुमवासीका नाममा रहेका हुकुमवासीले लुट्न पाएनन् । सम्भ्रान्त पनि सुकुमवासीका रूपमा उठेका छन् । यो सरकारले यस्तो सुविधा नदिएपछि त्यो बर्ग रिसाउने नै भए ।
विवेकपूर्ण भएर सरकारले फास्ट ट्रयाकमा निर्णय गर्नुपर्छ । अन्यथा भ्रम धुवा जसरी फैलिनेछ । जुन रास्वपाका लागि अप्रिय हुनसक्छ । हो, सय दिनमा गर्छु भनेका बाचापत्र छन्, जनतासँग गरेका करार पनि छन् । सरकारले गति लिनैपर्छ, काम गर्नैपर्छ । तर पार्टी अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साहले लिएको तीब्र गतिमा दुर्घटना हुने खतरा देखिदैछ । लागूपदार्थ खाएर सातघुम्तीको बाटोमा ठूलो सवारी साधन अन्धाधुन्ध कुदाएजस्तो देखिदैछ रास्वपाको सरकार । कतै यो दुर्घटना भयो भने परिवर्तन भड्खालोमा पर्नेछ । रास्वपा र बालेन्द्र पनि उही कानै चिरिएका जोगी सावित हुनेछन् । सावधान, बालेन्द्र नबोल्ने, रवि लामिछाने सरकारमाथि भएको आक्रमणको बचाउ गर्दैमा थकित । रास्वपाका सांसदसमेत असन्तुष्ट देखिदैछन् । यो दबाबले रास्वपा छिन्न भिन्न नहोस् । जनताका लागि झिकिदे गाँड भन्दा थपिदे गाँड नबनोस् ।
प्रधानमन्त्री बालेन्द्र शाहको जुन ढंगको ‘एटिच्युड’ छ, त्यसप्रतिको सडकमा र संसदमा बढ्दो आक्रोशले रास्वपा, प्रम बालेन्द्र र रविजीलाई डिफेन्सिभ बनाउँदै लगेको देखिन्छ । डिफेन्सिभ हुनु भनेको हरिहल्लै चलामाला हो । नतिजा केही आउने देखिदैन । नबोल्ने बालेन्द्र र सहकारी प्रकरणको भारीले थिचिएका रविका लागि सरकारको अप्रत्याशित निर्णयहरूले अप्ठेरो परिस्थिति विकसित हुनथालेको छ । जनताले खोजेका त अप्रत्यासित मूभ नै हो । सुशासन र भ्रष्टाचारमाथिको नियन्त्रण नै हो । विकास र अनुशासन नै हो । तर सरकारको काम गर्ने शैली काँचो काँचो देखिन्छ, जसले गर्दा समाज बिथोलिन थालेको छ । परिवर्तन त ल्याउने, समाजको आँखामा कसिंगर बनेर होइन । विश्लेषकहरू भन्छन्– आगामी दिन रास्वपा, सभापति रवि र प्रम बालेन्द्रका लागि झन झन चुनौतीपूर्ण हुनसक्ने देखिन्छ ।
संसदलाई बाइपास गर्ने र राष्ट्रपतिलाई अपमानित गर्ने प्रधानमन्त्री बालेनको ‘ओभर स्पिड’ निश्चय नै ठेस लागेको अवस्था हो । प्रम बालेन्द्रले किन यसो गरे, परिवर्तन चाहिएको हो तर अनुशासनहीन देखिएर होइन । प्रम बालेन्द्रको तीब्र गतिले परम्परा तोडिएका छन् । प्रमका गति र व्यवहार अनपेक्षित बनेका छन् । प्रमको हस्याङफस्याङ दौडले पुराना दलहरू मात्र होइन, रास्वपाको अवस्था पनि छायाँमा पर्न थालेको छ । प्रम बालेन्द्र भ्रष्ट होइनन्, तर गर्न के चाहन्छन्, देखाउन के चाहन्छन्, स्पष्ट छैन । पुराना परम्परा तोडेर कुन नयाँ परम्परा बसाल्न खोज्दैछन्, प्रष्ट होस् ।
प्रतिपक्षीहरू सभापति र प्रमवीच फाटो आओस्, सरकार केही गर्न नसकोस् भन्ने नै हो । कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताको सम्पत्ति छानबिन सुरू भएको छ, रेडकर्नर नोटिस जारी भएका छन् । त्यसलाई रोक्न र सर्वोच्चमा प्रधानन्यायाधीश हुन नपाएको झोकमा कामु सपना प्रधानमल्ल र पूर्व प्रम शुशीला कार्कीसमेत बालेन्द्र सरकारविरूद्ध मोर्चा खोलेर युद्धको मनस्थिति, व्यवहार देखाइरहेका छन् । आगामी दिन राजनीतिमा मात्र होइन, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाभित्रै अनमेलका ठूला ठूला घटना हुनसक्ने अनुमान गर्न थालिएको छ । प्रम बालेन्द्रको यो रिभोलुसनरी चरित्रप्रति देशभित्र र विदेशीले समेत विशेष चासो राखिरहेका छन् । यो बिर्सनुहुन्न ।
३७ वर्षदेखि चलिआएको बहुदल र लोकतन्त्र खतरामा देखिन्छ । किनकि यसको डेन्टिङ पेन्टिङ होइन, ओभरहल गर्न सरकार लागेको आभाष आइसकेको छ । यसकारण पुराना दलहरूमा डर पसेको छ । उनीहरू संविधान र लोकतन्त्र खतरामा परेको भन्न थालेको छ । सरकारले संविधान बहसपत्र तैयार गर्दैछ । यसको विपरित प्रतिपक्षी दलहरू आफैले संविधान संशोधनका बुँदाहरूमा मतैक्यपत्र तैयार गर्दैछन् । यसको अर्थ देशमा संविधान छैन, प्रधानमन्त्री कार्यकारीको रूपमा प्रस्तुत भएका छन् । राष्ट्रपतिलाई कर्मकाण्डीका रूपमा हेर्छन्, व्यवहार गर्छन् । केही दिनमै अनहोनी राजनीतिक घटनाक्रम हेर्नुपर्ने हो कि ?
एमाले आफैमा चाउरिएको अवस्थामा छ । कांग्रेसभित्र देउवामाथि कारवाहीको नोटिस, सभापति गगन थापा पार्टी एकतावद्ध पार्न नसकेको अवस्था । माओवादी अर्थात नेकपाका अध्यक्ष प्रचण्ड एक्लै चिच्याइरहेका छन्– ठूला जनसमर्थन पाएर पनि भुइँमा न भाँडामा भएको पार्टीको अध्यक्ष म हुँ, रास्वपा सावधान । सानो पार्टी भए पनि हर्क साम्पाङ कर्कस स्वरमा सरकारको आलोचना गरिरहेका छन् । प्रधानमन्त्री नभएको सरकार हो यो ?
विपक्षीहरूले रास्वपा हुन्जेल गर्नसक्ने विरोधका लागि बिरोधमात्र हो । तथापि उनीहरूले संसद अवरूद्ध पारेर सरकारलाई दबाबमा राख्ने हरकत गरिरहेका छन् । प्रम बालेन्द्र छन् कि विपक्षीलाई भिजेको पराल गलाएझैं गलाइरहेका छन् । हरेक पार्टीभित्र बौद्धिक, नैतिक र बैचारिक क्रान्ति चाहिएको छ । हरेक सांसदमा नीति, नैतिकता र निष्ठा आवश्यक छ । प्रम बालेन्द्रको गति थामिएको छैन, सभापति रविको क्रान्तिकारी शैली कमजोर भएको छैन । यो ऐतिहासिक दृश्य हो । रास्वपाका सभापति रवि लामिछानेमाथि लागेको दाग पखाल्नुछ । परिवर्तन ल्याउँछु भन्ने प्रम बालेन्द्रलाई आफ्नो सपथ पूरा गर्नुछ । रास्वपाले परिवर्तन गर्नैपर्छ, ल्याउनैपर्छ । रास्वपाको जित भनेकै परिवर्तनका लागि हो । जनताले खोजेको सुशासन हो, न्याय हो । रास्वपालाई चेत होस्, हस्तिनापुरको राज कि चपरीमुनीको बास ?



