
आज नेपाल महाव्याधिको यस्तो गम्भीर र अभिशप्त चेपुवामा उभिएको छ, जहाँ राष्ट्रको भूगोल त जीवित देखिन्छ तर यसको शासकीय, नैतिक र सांस्कृतिक आत्मा भने दिनानुदिन थकित, जीर्ण र मरणशन्न बन्दै गइरहेको छ। बाहिरबाट हेर्दा सिंहदरबार चम्किलो देखिन्छ, सडकमा विलासी गाडीहरूको ताँती छ, र आधुनिकताको नाममा अत्याधुनिक ग्याजेट बोकेका मानिसहरूको भीड छ। तर, यो सतही चमकभित्र एउटा यस्तो भयावह खोक्रोपन र नैतिक खडेरी लुकेको छ, जसले देशलाई भित्रभित्रै ऐँजेरुले झैँ खाइरहेको छ।
राजनीतिक अस्थिरताको घिनलाग्दो नौटंकी, नीतिगत भ्रष्टाचारको संस्थागत उत्सव, युवा शक्तिको लामबद्ध लज्जास्पद पलायन, र सांस्कृतिक पहिचानको कौडीको भाउमा भइरहेको लिलामी आजको तीतो नियति बनेको छ। विडम्बना त के छ भने, यो राष्ट्रिय सङ्कटको घडीमा हाम्रा कथित नीतिनिर्माता र बौद्धिक वर्गहरू अझै पनि आयातित सिद्धान्त, वैदेशिक अनुदानका अश्लील सर्त, र विदेशी मोडेलका व्यवस्थाभित्रै समाधानको ‘मरिचिका’ खोजिरहेका छन्। आफ्नै घरको आगो निभाउन छिमेकीको आँसु पैँचो माग्ने यो दरिद्र मानसिकताले देशलाई झन् झन् पराधीनता र ऋणको गहिरो खाडलमा जाक्दैछ।
वास्तवमा, दशकौँदेखि नेपालमा व्यवस्था वा तन्त्र परिवर्तनका निम्ति भएका विभिन्न राजनीतिक क्रान्ति, जनआन्दोलन, सशस्त्र विद्रोहदेखि हालैका दिनमा सडकमा पोखिएका ‘जेनजी’ आन्दोलन समेत नागरिकमा व्याप्त त्यही चरम निराशा, उपेक्षा र न्यायको तीव्र छटपटीका उपज हुन्। यी आन्दोलनहरूले मुलुकमा व्यवस्था परिवर्तन गरेर नयाँ संविधान र प्रणालीहरू त खडा गरे, तर आम नागरिकको अवस्था परिवर्तन गर्न र उनीहरूको जीवनमा सुखको उज्यालो छर्न भने कत्ति पनि सकेका छैनन्। यो विरोधाभासले प्रमाणित गर्छ कि कुनै पनि राष्ट्रको वास्तविक पुनर्जागरण बाह्य संरचनाको कस्मेटिक फेरबदलबाट कदापि सम्भव छैन। त्यसका लागि त राष्ट्रिय चेतनाको मौलिक रूपान्तरण आवश्यक हुन्छ। यही रैथाने चेतनाको पुनर्जन्मका लागि राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ आजको नेपालका लागि केवल एक ऐतिहासिक स्मृति मात्र होइन, बल्कि मृतप्रायः राष्ट्रियतालाई ब्युँझाउने एकमात्र अचुक सञ्जीवनी बुटी र कडा वैचारिक औषधी हो।
भू–राजनीति र परराष्ट्र नीतिः सन्तुलन र रणनीतिक सजगता
नेपालको भौगोलिक अवस्थिति सधैँ संवेदनशील रहँदै आएको ऐतिहासिक यथार्थ सर्वविदितै छ। दुई ठूला उदयमान महाशक्ति राष्ट्रहरूको बीचमा रहेको नेपालले कस्तो परराष्ट्र नीति अपनाउनुपर्छ भन्ने कुरामा राष्ट्रनिर्माताले अघि सारेको ूदुई ढुङ्गाबीचको तरुलू को रूपक आजको अत्याधुनिक आणविक र आर्थिक प्रतिस्पर्धाको युगमा पनि उत्तिकै सान्दर्भिक, जीवन्त र मार्गदर्शक देखिन्छ।
यो राज्य दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ। चीनको बादशाहसित ठूलो घाहा ९मित्रता० राख्नु, दषिनको समुद्रको बादशाहसित घाहा ता राख्नु तर त्यो महाचतुर छ।
आजको जटिल विश्व–राजनीतिक सन्दर्भमा यस दिव्यवाणीलाई गम्भीरतापूर्वक व्याख्या गर्दा हामीले हाम्रा दुवै छिमेकी राष्ट्रहरूसँग सन्तुलित, समदूरीको, परिपक्व र असंलग्न कूटनीतिक सम्बन्ध राख्नुपर्ने अनिवार्यता देखिन्छ। कुनै एक छिमेकी कार्ड खेलेर अर्को छिमेकीलाई शङ्कास्पद रूपमा चिढ्याउने अदूरदर्शी गल्ती कतैबाट पनि हुनु हुँदैन। नेपाललाई वैदेशिक सैन्य रणनीति वा साम्राज्यवादी भू–राजनीतिक प्रतिशोधको अखडा बन्नबाट जोगाउन हाम्रा कूटनीतिज्ञहरूमा उच्च तहको रणनीतिक चातुर्य आवश्यक भइसकेको छ।
यहाँ दक्षिणतर्फका शासकहरूसँग सन्धिसम्झौता गरी प्रगाढ मित्रता राखे पनि उनीहरूको छिपेको रणनीतिक महत्त्वाकांक्षाप्रति सधैँ सजग र सचेत रहनुपर्छ भन्ने मर्मको गहिरो अर्थ लुकेको छ।
भू–राजनीतिक सन्तुलनमा हुने सानो कूटनीतिक त्रुटि वा असावधानीले पनि राष्ट्रको सार्वभौमिकतालाई नामेट पार्न सक्छ। तसर्थ, वैदेशिक सहयोग वा विकास अनुदानका नाममा भित्रिने रणनीतिक सर्तहरू र दीर्घकालीन सम्झौताहरूलाई देशको राष्ट्रिय सुरक्षाको कठोर तराजुमा राखेर मात्र परिमार्जन र स्वीकार गर्नुपर्छ। राष्ट्रिय सुरक्षा र कूटनीतिमा आउने सानो दरारले पनि सिङ्गो देशको अस्तित्व नै संकटमा पर्न सक्छ भन्ने चेतावनीलाई आत्मसात् गर्दै नेपालले एक अविचलित, स्वतन्त्र र तटस्थ राष्ट्रको रूपमा विश्वमञ्चमा आफ्नो दरिलो उपस्थिति जनाउनु आजको मुख्य आवश्यकता हो।
सामाजिक सद्भाव र राष्ट्रियताः असली हिन्दुस्तानको पहिचान
वर्तमान नेपालको अर्को सबैभन्दा कुरूप, पीडादायी र संवेदनशील पक्ष भनेको जात, भाषा, क्षेत्र, र राजनीतिक आस्थाका नाममा सनातनदेखि मिलेर बसेको नेपाली समाजलाई टुक्रा–टुक्रा पार्ने सस्तो एवं विषाक्त पहिचानवादी राजनीति हो। केवल भोटको घिनलाग्दो खेती गर्नका लागि वर्षौँदेखिको सामाजिक सद्भाव, आपसी सहिष्णुता र साम्प्रदायिक एकतालाई आगो लगाउने संकीर्ण राजनीतिक नेतृत्वले बुझ्नुपर्ने शाश्वत सत्य दिव्य उपदेशमा यसरी लिपिबद्ध भएको छ–
ूयो राज्य भनेको चार जात छत्तीस वर्णको साझा फूलबारी हो, यसलाई सबै मिलेर सम्हाल्नुपर्छ।
विविधताभित्रको सुन्दर एकता नै यो देशको मूल सौन्दर्य र अभेद्य शक्ति दुवै हो भन्ने कुरालाई बिर्सेर आज राज्य सञ्चालकहरू विदेशी एजेन्डाको भारी बोकिरहेका छन्। पृथ्वीनारायण शाहले यो देशलाई कुनै एक निश्चित जात, धर्म वा वर्गको संकुचित पेवा मानेनन्, बरु भूगोलभित्र बस्ने सबै नागरिकको समान हक र अपनत्व भएको एउटा विशाल साझा फूलबारी को संज्ञा दिए। कसैलाई पनि पाखा र कसैलाई काखा नगरी सबैको सांस्कृतिक पहिचानको संरक्षण, सम्बर्द्धन र समतामूलक विकास गर्नु नै आधुनिक कल्याणकारी राज्यको मूल धर्म हो भन्ने मार्गदर्शन यसले प्रदान गर्दछ।
यसका साथै, दिव्य उपदेशले नेपाललाई ूअसली हिन्दुस्तानू को रूपमा गौरवका साथ परिभाषित गरेको पाइन्छ। यहाँ ुहिन्दुस्तानु भन्नुको कुनै संकुचित, साम्प्रदायिक वा राजनीतिक अर्थ होइन, बल्कि यो त वेदव्यासको पावन तपोभूमि, शाक्यमुनि बुद्धको शान्तिभूमि, देवर्षि र राजर्षिहरूको चिन्तनभूमि एवं योग र अध्यात्मको शाश्वत उद्गमस्थल (देवभूमि) को मौलिक पहिचान हो। आधुनिकता र पश्चिमाकरणको अन्धो, विवेकहीन अनुकरण गर्ने नाममा आज हामीले आफ्नै रैथाने मौलिकता, सनातन मूल्यमान्यता र सांस्कृतिक धरोहरको निर्मम श्राद्ध गरिरहेका छौँ।
दिव्य उपदेशको यो आध्यात्मिक मर्मले हामीलाई कडा चेतावनी दिँदै स्मरण गराउँछ कि विकास र समृद्धि भनेको आफ्ना ऐतिहासिक जराहरू काटेर आकाशमा महल बनाउने मूर्खतापूर्ण प्रयास कदापि होइन। बरु यो त आफ्नो मौलिक, सांस्कृतिक र ऐतिहासिक जगलाई अभेद्य र बलियो बनाएर त्यसमाथि मात्र आधुनिक भविष्यको भव्य निर्माण गर्ने सचेत प्रक्रिया हो। त्यसैले, आयातित विकृतिहरूलाई त्याग्दै नेपालको रैथाने आध्यात्मिक र सांस्कृतिक पहिचानको पुनर्जागरण गर्नु नै आजको राष्ट्रियताको वास्तविक रक्षा कवच हो।
अर्थतन्त्र र आत्मनिर्भरताः स्वदेशी पुँजी र स्रोतको संरक्षण
आज हामी जुन चरम आर्थिक परनिर्भरता, गम्भीर तरलता संकट र अर्बौँको व्यापार घाटाको दलदलमा फसिरहेका छौँ, त्यसको अचुक र व्यावहारिक औषधि सदियौँ अघि नै दिव्य उपदेशमा स्पष्ट रूपमा लिपिबद्ध भइसकेको थियो।
हाम्रो वर्तमान आर्थिक नीति विदेशी वस्तुहरूको उपभोगमा टिकेको छ । जसको कडा प्रतिवाद गर्दै राष्ट्रनिर्माताले भनेका थिए– आफ्नो देशको कपडा बुन्नु र लगाउनु, देशको पैसा विदेश जान नदिनु। विदेशी व्यापारीहरूलाई देशभित्र पस्न नदिनु, उनीहरूले देशको आर्थिक जग खोक्रो बनाउँछन्।
आज हामी सियोदेखि धागोसम्म, र सामान्य चामलदेखि महँगा विलासिताका सामानसम्म आयात गरेर अत्यन्त गर्वका साथ परनिर्भरताको आत्मघाती उत्सव मनाइरहेका छौँ। देशको अर्बौँ रुपैयाँ स्वदेशी पुँजी सामान्य उपभोग्य वस्तु आयात गर्दा विदेश पलायन भइरहेको छ। वैदेशिक बहुराष्ट्रिय कम्पनीहरूको अन्धो र विनायोजनाको प्रवेशले हाम्रा रैथाने घरेलु उद्योग, परम्परागत सीप र साना व्यवसायहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। यदि हामीले समयमै यस उपदेशलाई आत्मसात् गर्दै स्वदेशी उत्पादन, साना तथा मझौला कृषि उद्योग र रैथाने शिल्पकलालाई राज्यस्तरबाटै ठोस प्रोत्साहन गरेको भए आज हाम्रा औद्योगिक क्षेत्रहरू मरुभूमि जस्ता बन्द हुने थिएनन् र देश वैदेशिक ऋणको भयानक पासोमा पर्ने थिएन।
हाम्रो प्राकृतिक स्रोतको दोहन र अव्यवस्थित सहरीकरणले कृषि क्षेत्रलाई सङ्कटमा पारेको छ, जसबारे दिव्य उपदेशमा भनिएको छ, खानी भएको ठाउँमा गाउँ भए पनि गाउँ अन्यत्र सारेर खानी उत्खनन गर्नु, खेतीयोग्य जमिनमा घर नबनाई त्यसलाई अन्न उत्पादनमा लगाउनु।
यो दूरदर्शी भू(उपयोग नीतिलाई कुल्चेर आज हामीले हाम्रा अत्यन्तै उर्वर फाँटहरू, काठमाडौँ उपत्यकाका ऐतिहासिक कृषियोग्य जमिनदेखि तराईका अन्नभण्डारहरूलाई प्लटिङ र कङ्क्रिटको कुरुप जङ्गलमा परिणत गरिसकेका छौँ। परिणामस्वरुप, एउटा घोषित कृषिप्रधान देश भएर पनि वार्षिक अर्बौँ रुपैयाँको खाद्यान्न आयात गर्नुपर्ने लज्जास्पद र विडम्बनापूर्ण स्थिति खडा भएको छ। अर्कोतर्फ, हाम्रा बहुमूल्य खनिज, जडीबुटी र खानीहरू सही पहिचान र वैज्ञानिक उत्खननको अभावमा अलपत्र अवस्थामा छन्। रैथाने प्राकृतिक स्रोतको बुद्धिमत्तापूर्ण उपभोग गरेर र युवाहरूलाई देशभित्रै रोजगारी दिएर जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने बलियो आर्थिक संकल्पको खडेरी आज मुलुकको नीतिगत तहमै स्पष्ट देखिन्छ।
सुशासन र न्याय प्रणालीः दण्डहीनताको अन्त्य
आज नेपालको न्यायप्रणाली र समग्र प्रशासनतन्त्र कुन हदसम्म भ्रष्ट, राजनीतिकरणको सिकार र शिथिल बनेको छ भन्ने कुरा आम नागरिकमा जगजाहेर नै छ। साना र निमुखा नागरिकलाई ऐन लाग्ने तर पहुँचवाला र ठूला अपराधीहरूलाई राज्यले नै चयन दिने घिनलाग्दो पक्षपातपूर्ण अवस्था विद्यमान छ।
घुस दिने र लिने दुवै राष्ट्रका शत्रु हुन्, यिनीहरूको त धनजीव जीवै हरण गरे पनि पाप लाग्दैन। राजादेखि रैतीसम्मका लागि कानुन समान हुनुपर्छ।
पृथ्वीनारायण शाहले भ्रष्टाचार र घुसखोरीलाई राज्यको मूल जग नै हल्लाउने सबैभन्दा ठूलो र घातक धमिरा मानेका थिए। जब समाज र यसका सञ्चालकहरूले आफ्नो आधारभूत कर्तव्यलाई तिलाञ्जली दिएर केवल व्यक्तिगत अधिकार र स्वार्थको मात्र नग्न नाच नाच्न थाल्छन्, तब राष्ट्र संकटमा पर्छ। जालझेल, चाप्लुसी, नीतिगत भ्रष्टाचार एवं तस्करीबाट अकुत सम्पत्ति कमाउने राष्ट्रिय अपराधीलाई ‘सफल र आदरणीय’ नागरिक भन्दै समाजले रातो कार्पेट ओछ्याउनु नै हाम्रो नैतिक पतनको पराकाष्ठा हो।
दिव्य उपदेशले यही सामाजिक र राजनीतिक पाखण्डमाथि निर्मम प्रहार गर्दै विधिको शासन अर्थात् कानुनको सर्वोच्चताको बलियो वकालत गर्छ। आजको राज्य संयन्त्र र न्यायपालिकाले यो कडा नीतिलाई कठोरताका साथ लागू गर्ने साहस र इमानदारिता देखाउने हो भने मात्र मुलुकमा सुशासनको ढोका खुल्न सक्छ र नागरिकले न्यायको वास्तविक अनुभूति गर्न पाउँछन्।
राज्य सञ्चालन र सेना– जनता बलिया भए राजा बलिया हुन्छन्
राज्य सञ्चालन र लोककल्याणको सबैभन्दा ठूलो दर्शन शासकको अहंकार वा शक्तिको केन्द्रीकरणमा होइन, बरु जनताको आर्थिक समृद्धि र चौतर्फी हितमा लुकेको हुन्छ भन्ने सत्यलाई दिव्य उपदेशले अकाट्य रूपमा प्रष्ट्याएको छ– प्रजा (जनता) मोटा भया दरबार बलियो रहन्छ, जनता नै राजाको असली शक्ति हुन्।
आजको लोकतान्त्रिक भनिने सङ्घीय व्यवस्थामा जनताका प्रतिनिधि र शासकहरू दिनानुदिन मोटाउने र तिनलाई कर तिर्दातिर्दा आम जनता र उत्पादक वर्ग झन् झन् दुब्लाउँदै जाने जुन विपरित र विद्रुप चक्र चलिरहेको छ, त्यसलाई यस रैथाने उपदेशले ठाडो र नैतिक चुनौती दिन्छ। जनता सुखी, आर्थिक रूपमा सबल, सुरक्षित र न्यायपूर्ण अवस्थामा रहे मात्र राज्यको राष्ट्रिय सुरक्षा र यसको अस्तित्व बलियो रहन्छ। शासकको वास्तविक शक्ति उसको ओगटेको पद, कुर्सी वा सुरक्षा घेरा होइन, बल्कि आम जनताको अगाध विश्वास, खुसी र समृद्धि हो।
यसका साथै, मुलुकको सार्वभौमिकता रक्षाका लागि सेना र राष्ट्रिय सुरक्षा प्रणालीबारे प्रकाश पार्दै उनले भनेका छन्– सेनालाई इमानदार, अनुशासित र स्वदेशी प्रभावमा मात्र राख्नुपर्छ। सिपाहीलाई सधैं तीखार्नु (चुस्त) राख्नु र उनीहरूलाई कसैको प्रलोभनमा पर्न नदिनु।
आज राज्यका सेना, प्रहरी र अन्य सुरक्षा निकायहरूमा समेत दलीय भागबन्डा, राजनीतिक हस्तक्षेप, बाह्य शक्तिको चलखेल र व्यावसायिकतामा ह्रास आएको गम्भीर गुनासोहरू चौतर्फी रूपमा सुनिँदै आएका छन्। सेना र सुरक्षा संयन्त्र राष्ट्रिय अखण्डता र सार्वभौमिकताको अन्तिम पहरेदार भएकाले यसलाई पूर्ण रूपमा अभेद्य, गैर(राजनीतिक, उच्च अनुशासित, व्यावसायिक र केवल स्वदेशी हितप्रति मात्र बफादार राख्नुपर्छ। दिव्य उपदेशको यो मर्म आजको जटिल साइबर र हाइब्रिड सुरक्षा रणनीतिका लागि समेत उत्तिकै अपरिहार्य र महत्वपूर्ण मार्गदर्शन हो।
वर्तमान नेपालले हिँड्नुपर्ने रैथाने मार्ग
राष्ट्रलाई चौतर्फी संकटको भुमरीबाट बचाउने र आर्थिक समृद्धिको शिखरमा पुर्याउने अन्तिम शक्ति कुनै विदेशी महाशक्तिको इसारामा, उधारोमा आयात गरिएका संविधानका जटिल धारामा, वा सत्ताको फोहोरी छिनाझपटीमा हुँदै हुँदैन। त्यो परम शक्ति त केवल प्रत्येक नागरिकको ब्युँझिएको अन्तःकरण, राष्ट्रिय स्वाभिमान र रैथाने विवेकमा मात्र निहित हुन्छ। जब नागरिकको विवेक जाग्छ, तब राष्ट्र जाग्छ। जब नागरिकको चरित्र जाग्छ, तब मात्र संस्कृति र देश बच्छ। जब देशको रैथाने आत्मा जाग्छ, तब मात्र वास्तविक, जीवन्त र आत्मनिर्भर सभ्यताको उदय हुन्छ।
नेपाललाई आज आवश्यक परेको सञ्जीवनी बुटी कुनै हिमालको दुर्गम, पहुँचविहीन कन्दरामा लुकेको भौतिक जडीबुटी होइन, बरु हाम्रै पवित्र माटोको सुगन्ध बोकेको दिव्य उपदेशको कालजयी, व्यावहारिक र रणनीतिक दर्शन हो। वर्तमान नेपाल यो बहुआयामिक संकटबाट पूर्ण रूपमा मुक्त हुनका लागि अब आयातित एजेन्डाहरूलाई तिलाञ्जली दिँदै रैथाने मार्गचित्रमा हिँड्नुको विकल्प देखिँदैन ।
यदि हाम्रो राजनीतिक नेतृत्व, बौद्धिक वर्ग, र आम नागरिक समाजले आफ्नो व्यक्तिगत अहंकार, दलीय पूर्वाग्रह र संकीर्ण स्वार्थ त्यागेर यी दिव्य उपदेशहरूलाई व्यवहारको कसीमा उतार्ने दृढ साहस गर्ने हो भने, नेपाल केवल वर्तमानका संकटहरूबाट मुक्त मात्र हुने छैन, बरु पुनः विश्वसामु आफ्नो मौलिक पहिचान, अक्षुण्ण संप्रभुता र गौरवका साथ सर्वोच्च स्थानमा उभिन पूर्ण रूपमा सक्षम हुनेछ।
अन्ततः, राष्ट्रको वास्तविक मुक्ति राजनीतिक क्रान्तिको नाममा बारम्बार गरिने व्यवस्थाको लुछाचुँडी र कस्मेटिक परिवर्तनबाट कदापि सम्भव छैन, बरु चेतना र अवस्थाको मौलिक एवं रैथाने क्रान्तिबाट मात्र सम्भव छ। र, चेतनाको त्यो क्रान्ति जगाउने एकमात्र मशाल ‘दिव्य उपदेश’ नै आजको अनि भोलिको नेपालका लागि अकाट्य, अपरिहार्य र एकमात्र सञ्जीवनी बुटी हो।


