Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

Image

प्रम बालेनको बोली

बैकुण्ठ भण्डारी

२६ मंगलबार , जेठ २०८३११ घण्टा अगाडि

प्रम बालेनको बोली

संसदमा बाहुबली देखिए, त्यसको धूलो गाउँसम्म आइपुग्छ र नेताले हतारमा बोलेको एउटा वाक्यले चौतारोमा दुई जना साथीलाई कट्टर शत्रु बनाइदिन्छ । यसपटक पनि दुई धार देखियो । 
प्रधानमन्त्री बालेनले संसद्मा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिले तरंग ल्यायो । सीमाविद्हरूले टाउको कन्याए, राजनीतिक दलहरूले प्रेस विज्ञप्ति निकाले, सामाजिक सञ्जालमा राष्ट्रवादको ज्वारभाटा आयो । तर सबैभन्दा ठूलो बहस भने हाम्रो गाउँको चिया पसलमा भयो, जहाँ बैरी र मट्यांग्रो बिहानैदेखि भिडिरहेका थिए । ‘बालेनले सत्य बोले,’ मट्यांग्रोले टेबुल ठटायो,  ‘त्यो राष्ट्रघाती कुरा हो,’ बैरीले पनि ओठे जवाफ फर्कायो ।
‘सत्य बोल्ने राष्ट्रघाती भएदेशमा झूट बोल्नेमात्रै राष्ट्रवादी भए त ?’ ‘देशको माया र ममता थाहा पाएपछि पो राष्ट्रियताको कुरा आउँछ,’ बैरीले चिया सुर्काउँदै भन्यो, ‘घरको छानो चुहिएको छ भने छानो टाल्ने कि छिमेकीको घरमा ढुंगा हान्ने ?’ एकथरि हाँसे । ‘तिमीहरू पुराना पार्टीका मान्छे, नयाँ कुरा सुन्नै सक्दैनौं ।’ ‘नयाँ कुरा भनेको जे मन लाग्यो त्यही बोल्ने हो ? प्रधानमन्त्रीको बोली चिया पसलको गफजस्तो हुँदैन ।’ यस्ता बादबिदाद यतिबेला देशैभरि बाक्लै सुनिन्छ ।
गाउँमा बूढा हर्कबहादुरले भने, ‘हामीले त २०४६ पनि देख्यौं, २०६२÷६३ पनि देख्यौं । त्यो बेला पनि संसद्मा कराइन्थ्यो । अहिले पनि कराइन्छ । फरक के छ ?’ कसैले उत्तर दिन सकेन । वास्तवमा राजनीति एउटा पुरानो मोबाइलजस्तै भइसकेको छ । बाहिरको कभर फेरिन्छ, ब्याट्री पुरानो हुन्छ ।
लोकतन्त्रको विहानी मानिएको २०६३ सालतिर संसद्मा कुर्सी हानाहान भयो । कुर्सी हानाहान आज पनि भइरहेकै छ । कुर्सीमात्र नयाँ आयो, फाल्ने शैली आधुनिक भयो । पहिले रिस उठेपछि कुर्सी उठाएर फालिन्थ्यो । अहिले रिस उठेपछि लाइभ भिडियो चलाएर फालिन्छ । लोकतन्त्र डिजिटल भएको छ । बैरीले भन्यो ‘हेर्नुस् दाजुहरू, २० वर्षमा परिवर्तन भएको के छ ?’ मट्यांग्रोले तुरून्तै उत्तर दियो, ‘देश संघीय भयो, गणतन्त्र आयो ।’
बैरी चिच्यायो ‘व्यवस्था फेरियो, अवस्था फेरियो त ?,’  सबै चुप लागे । किनभने यो प्रश्नको उत्तर कुनै पार्टीको घोषणापत्रमा पनि छैन । गाउँको सडक उस्तै छ । खोलाको पुल उस्तै छ । युवाहरूको वैदेशिक रोजगारीमा जाने लर्को उस्तै छ । किसानको दुःख उस्तै छ । मट्यांग्रो फेरि बोल्यो, ‘दुईतिहाइको सरकार छ । चाहे जे पनि गर्न सक्छ ।’
बैरीले भन्यो ‘त्यही समस्या हो । दुईतिहाइ भएपछि केही गर्नुपर्छ भन्ने होइन, जे पनि गर्न पाइन्छ भन्ने भ्रम हुन्छ ।’ ‘तिमी सरकार विरोधी हौ ।’ ‘ म सरकार विरोधी होइन, मूर्खता विरोधी हुँ ।’ पसलभरि हाँसो फैलियो ।
अहिले देशमा एउटा नयाँ रोग फैलिएको छ, ‘पहिले बोल्ने, पछि सोच्ने ।’ अनि अन्त्यमा स्पष्टीकरण आउने । 
विवाद उठ्यो कि स्पष्टीकरण । कुनै मन्त्रीले गलत बोले ? स्पष्टीकरण । छानबिन आयोग । अनुसन्धान ।  जस्तोसुकै रोगको उपचार यही हो । बैरीले भन्यो ‘प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ ।’ मट्यांग्रोले प्रतिवाद ग¥यो, ‘किन दिनुप¥यो ? जरूरी छैन ।’ 
मट्यांग्रो केही बेर चुप लाग्यो  र भन्यो ‘तिमीहरू सबै बालेनसँग डराउँछौं ।’ बैरी फेरि हाँस्यो, ‘हामी कसैसँग डराउँदैनौं । हामीलाई त देशको हालत देखेर डर लाग्छ ।’ नेताहरू नक्सामा रेखा खोजिरहेका छन्, जनता गाँस बास कपास खोजिरहेका छन् । चुनावमा सबै राष्ट्रवादी, चुनाव सकियो, सबै थन्किन्छन् । गाउँका बूढा हर्कबहादुर फेरि बोले, ‘हामीले त धेरै राष्ट्रवादी देख्यौं बाबु । चुनावअघि देश बेच्न दिन्नौं भन्नेहरू चुनावपछि आफ्नै वाचा बेचेर हिँड्छन् ।’ सबै हाँसे । चुनावपछि सरकार बलियो हुन्छ, जनता चुनाव अघि पनि पछि पनि कमजोर नै रहन्छन् । समाजका बिकृति र बिसंगति कहिले फालिने ? विधिको शासन कहिले स्थापित हुने ?