
चुनावबाट मधेशवादी पार्टीहरू बढारिए । राप्रपाजस्तो पार्टीले एक सिट जितेको छ । खासगरी नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी) पाहा पछारिएझैं पछारिएका छन् । मधेशवादी, ठूला र पुराना भनिएका पार्टीहरू सत्तामदमा उफ्रदा उफ्रदै तावाबाट आगाको भुङ्ग्रोमा खस्न पुगेका छन् । रास्वपाले जनतासँग गरेको करार र वाताअनुसार काम गर्न पायो भने रास्वपा नै मध्यमार्गी प्रजातान्त्रिक मूलधारको पार्टी सावित हुनपुग्नेछ । जसरी भारतमा कम्युनिष्ट र कांग्रेस आई सिला खोज्नुपर्ने स्थितिमा पुगेका छन्, त्यस्तै राजनीतिक परिदृश्य नेपालमा पनि दोहोरिनेछ ।
रास्वपा नेतृत्वको सरकारले ०४६ सालदेखि ०८२ सालसम्मका पदासीन व्यक्तिहरूको सम्पत्ति छानबिन गर्दैछ । नेपाललाई ग्रेलिष्टबाट बचाउन र ध्वजाबाहक वायुसेवालाई कालोसूचीबाट हटाउन पनि दण्डहीनताको अन्त, सुरक्षाको प्रवन्ध र सम्पत्ति शुद्धीकरण अत्यावश्यक छ । सुशासनबिना त्यो सम्भव छैन, सुशासन सरकारको प्रमुख एजेण्डा हो । सरकारको आक्रामक शैलीबाट तर्सिएका पुराना दलहरू एक त तर्सिएका छन्, अर्कोतिर आन्तरिक कलहमा रूमलिएका छन् ।


