
नेपाली कांग्रेस पुरानो प्रजातान्त्रिक पार्टी हो । अनेकन आँधी हुरी सहेर अगाडि बढेको कांग्रेसको यो दुरावस्था हुनेछ भनेर कसैले सोचेको पनि थिएन । जनताबाट टाढिएको र जनविश्वास गुमाएको कांग्रेस टुटफुट भयो भने यसबाट प्रजातन्त्रलाई हानी पुग्नेछ । कांग्रेसका नयाँ पुस्ताले पुरानो पुस्तालाई गौरव गर्नेछैनन् । त्यसै पनि ठूला ठूला नेताहरू भ्रष्टाचारमा मुछिएका छन्, दण्डित भएका छन्, चुनावबाटै जनताले किनारा लगाइदिएका छन् । गल्ती सच्याएर, सुध्रिएर फेरि फेरि चुनावबाट जनबल प्राप्त गर्नसक्ने प्रयाप्त आधार हुँदाहुँदै नेतृत्वपंक्तिले फेरि फेरि गल्ती गरेर पार्टी टुक्य्राउनु, पार्टीलाई झन कमजोर बनाउनु भनेको नेतृत्वपंक्तिले गल्तीपछि गल्ती दोहो¥याउने हुन् ।
चुनावमा जनताले गगन थापाको नेतृत्वको संस्थापनलाई पनि पत्याएनन् । तथापि पार्टीलाई नयाँ गति दिन्छु, संगठन बलियो बनाउँछु भनेर गगन थापा लागिरहेका छन् । गगन थापालाई पहिलेको अविश्वास देउवासमूले कायमै राखेका छन् । फागुन २१ को चुनाव र पार्टी विशेष अधिवेशनबाट पछारिएका देउवा समूहका नेता पूर्णबहादुर खड्का पक्षले एकढिक्का भएर रास्वपालाई उछिन्नुपर्ने बेलामा संस्थापन गगन थापा र संस्थापन इतर खड्का दुई गूट बनेर जनाधारमा कमजोर कांग्रेसलाई अझ कमजोर पार्न उत्ताउलिएका छन् । जेनजी आन्दोलनमा कुटाइसमेत खाएका तत्कालीन सभापति शेरबहादुर देउवा दम्पत्ति यतिबेला हङकङमा उपचारका नाममा हल्लिरहेका छन् । यता सम्पत्तिा छानबिनदेखि अनेक भ्रष्टाचारमा डामिएका शेरबहादुर देउवा, श्रीमती आरजु देउवा राणा, छोरासमेत कुन बेला पक्राउ पर्ने हो, अनुसन्धान तीब्र रूपमा अघि बढेको छ ।
एकातिर शीर्ष नेताहरू विरूद्ध भ्रष्टाचारका मुद्दा लागेको छ भने अर्कोतिर पार्टीभित्र दुईगुट देखिएको छ । वीपी कोइरालाको स्मृति दिवसकै दिन कांग्रेस दुई चिरा हुने संकेतहरू देखिएका छन् । गुटबाजी र भ्रष्टाचारको पाखरीमा चुर्लुम्मै डुबेको देखिने कांग्रेसको आगामी राजनीतिक यात्रा अझ कठिन मोडमा पुगेको आँकलन गरिदैछ । जुन हालत एमालेको, नेकपाको छ, त्यही हालत कांग्रेसको देखिन्छ । बरू नयाँ उदाएको श्रम संस्कृति पार्टी र एकसिट जितेको राप्रपाको चुरीफुरी निकै छ । यता नेपाल र भारत–चीनबाट समेत रास्वपाका नेताहरूलाई फटाउने, फुटाउने षडयन्त्र भइरहेको छ । भारतका गोदी मिडियाले त बालेन साह सरकारमाथि खुल्ला हमला नै थालेको छ । दलाई लामाको बधाई सन्देश, जन्मदिन मनाउन दिएको अनुमतिले चीनको नीतिमा चिसो परेको छ । यही विषयको गम्भीरतालाई बुझेर परराष्ट्रमन्त्री शिशीर खनालले नेपाल छिमेकी र अन्य सबै मुलुकहरूसँग दुईपक्षीय र बहुपक्षीय सम्बन्ध राख्न चाहन्छ भनेका छन् ।
कांग्रेस संस्थापन सम्हालेका गगन थापा समूहले कांग्रेसलाई एकढिक्का पार्न सकेन । अनेक प्रयत्न भए तर देउवासमूहका नेता पूर्णबहादुर खड्काले गगन थापासमूहलाई टेरपुच्छर लगाएनन् । झुक्न चाहेनन् । सभापति गगन थापा झुक्न र देउवा गुटका अनेक मागहरूलाई सकारात्मक दृष्टिले हेर्दा पनि गगन इतर समूहले चित्त बुझाएन । बिद्रोहको तैयारीमा छन् । संस्थापन र इतरसमूहको मनमुटावले यकिनसाथ भन्न सकिन्छ, नोक्सान नेपाली कांग्रेसको ऐतिहासिक छविमा पर्नेछ । कांग्रेस बिघटनतिर जानु भनेको प्रजातन्त्रको बिडा उठाएको इतिहासमा समेत कलङ्ग लाग्नेछ । वीपीको आत्माले समेत शान्ति पाउने देखिन्न । यस्ताले वीपीको स्मृति दिवस मनाउनुको पनि खासै महत्व रहने छैन ।
भोलि साउन ६ गते संस्थापन इतरका पूर्णबहादुर खड्काहरूले छुट्टै भेला गर्ने र राष्ट्रिय भेलाको आह्वान गर्ने निधो गरेका छन् । कांग्रेसको खड्का समूह (देउवा समूह) ले वीपी स्मृति दिवस छुट्टै कार्यक्रम गरेर मनाउने भएका छ । छिटै राष्ट्रिय भेला आह्वान गर्ने भएको छ । हङकङबाट देउवाले दिएको निर्देशनअनुसार खड्का पक्ष यसरी संस्थापनपक्षलाई पछार्न लागिपरेको बुझिन्छ । यसैवीच साउन २७ गते पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्कने समाचार छ । नेता मीन विश्वकर्माका अनुसार प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गर्ने र सोही कार्यक्रमबाटै राष्ट्रिय भेलाको घोषणा गरिनेछ । विश्वस्त स्रोत भन्छ– यो भेलामा पूर्वसभापति शेरबहादुर देउवा पनि सामेल हुनेछन् । संस्थापन पक्षका गगन थापाले जबरजस्ती गरेकाले सहमतिका प्रयास क्षीण बनेको छ, राष्ट्रिय भेलाबाटै छुट्टै महाधिवेशनको मितिसमेत तय गर्ने तैयारीमा इतर कांग्रेसको मतो मिलेको छ ।
यता विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्ष बनेको गगन थापा समूहले असोजमा १५औं महाधिवेशनको मिति तोकेर कार्यक्रम सुरू गरिसकेको छ । खड्का पक्ष भने आयोजक समिति गठनको अडान लिएर चट्टान बनेको छ । साउन ६ गते डाकिएको राष्ट्रिय भेलालाई सफल पार्न खड्कासमूहले नेता प्रकाशमान सिंहको संयोजकत्वमा भेला समिति गठन गरेको छ । स्मरणीय छ, इतर समूह (देउवा–खड्का)ले काठमाडौं चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर समानान्तर नेपाली कांग्रेस गतिविधि सञ्चालन गरिरहेका छन् । एक कांग्रेसलाई टुक्य्राएर कसरी शक्तिशाली बनिन्छ भनेर खड्का समूहले सोचेको होला, आश्चर्य लाग्छ । विश्लेषकरू भन्छन्– संस्थापनका गगन, विश्वप्रकाशले पनि कसरी लडेको कांग्रेसलाई जिवन्त पारेर उठाउँछौं भन्ठानेका होलान् ? कांग्रेस एक नहुन्जेल, नीतिमा सुधार नहुन्जेल कुनै पनि आश्चर्य हुनेवाला देखिदैन ।


