
२०४६ देखि २०८२ सालसम्म सत्ता, ससद, शक्तिमा हालीमुहाली गरेका पुरानाहरू बढारिएकै हुन् । तिनीहरू अब उत्पात मच्चाउँछु भनेर लागेका छन् ।
खासगरी कम्युनिष्टहरू एक हुने तरखरमा छन् । जनयुद्धका नायक प्रचण्डले जेनजी एक भएर एकै दिनमा चटक जसरी सत्ता परिवर्तन गर्न सक्छन् भने हामी किन नसक्ने भन्दै रास्वपा र बालेन्द्र सरकारलाई एक भएर बिद्रोह गर्ने र यिनलाई ढाल्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । यो सम्भव छ त ?
बहस चलेको छ । किनारा लागेका कम्युनिष्टहरू मिल्लान्, मिल्न सक्छन् । कांग्रेस दुई चिरा हुने मार्गमा छ । कांग्रेसले बाटो बिराएको छ । वीपीको सिद्धान्तमा अड्ने र नयाँ पुस्ताको बल मिचाइमा कांग्रेस यतिबेला कुहिराको काग जस्तो बनेको छ । न ओल्लो तीर, न पल्लो किनारको अन्यौलबाट कांग्रेस कसरी बौरिन्छ, त्यो चासोको विषय हो ।
जेनजी बिद्रोहपछि उदाएको रास्वपा र बालेन्द्र सरकारलाई कसैले हल्लाउने छ भने त्यो आन्तरिक झगडा, टुटफूटले हो । बाहिर जसरी रास्वपाभित्रको टुटफुट देखाइएको छ, त्यो नहुनपनि सक्छ । किनकि बालेन्द्र अहिलेसम्म भ्रष्टाचारमा गनाएका छैनन् । भ्रष्टाचारविरूद्ध उभिदा पार्टीका केहीलाई फरक पर्नसक्छ । तर रास्वपाले ऐतिहासिक दायित्व, अभिभारा बुझेकाले यो फुटिहाल्ने देखिदैन । रास्वपालाई नटुक्य्राई पुराना वा नयाँले कुनै बिद्रोह गर्ने वा सत्तानै पल्टाइदिने सम्भाबना साह्रै न्यून छ ।
हो, संसद र सडकमा सरकारको तीब्र बिरोध गर्न सकिन्छ । त्यो भइ पनि राखेको छ । कम्युनिष्टले उचालेका श्रम संस्कृति पार्टीले बालेन्द्रको खेदो खनेका छन्, त्यसमा कांग्रेस र एमालेले मलजल गरेको पनि देखिन्छ । तर बालेन्द्र सरकार नबोली नबोली, आफ्ना कुरा अन्य मन्त्रीबाट बोलाएर आफू काम गरिरहेका छन् । भूमिहीन, सुकुम्वासी, मिटरब्याज पीडित, सहकारी पीडित, नागरिकताका मामिला सबै बिस्तारै सल्टिन थालेका छन् । जनताले राहत पाउनै पर्नेछ, सुशासन कायम हुनैछ, भ्रष्टाचारीमाथि कानुनी दण्ड चलाउनै छ । यसमा विषयमा जतिसुकै नौटंकी वा बिरोध गरे पनि प्रम्रको सकृयता रोकिने देखिन्न । यही कारण पुराना दलहरू दण्डित हुनबाट बच्नका लागि हारगुहार गरिरहेका छन् ।
जेनजीको रगतको मूल्यमा चुनाव जितेर सरकार बनाएको रास्वपा र बालेन्द्र साहको काँधमा जेनको इज्जत छ । जेनजीको रगतको अपमान गरेको भनेर प्रतिपक्षी दलहरूले सडक, संसद र सामाजिक सञ्जालमा झ्याली पिटिरहेका छन् । प्रम बालेन साह चुपचाप काम गरिरहेका छन्, रास्वपाका सभापतिले साथ दिइरहेका छन् । रास्वपाले जनतासँग गरेको बाचा र प्रतिवद्धताअनुसार काम गर्न नसक्ने हो कि भन्ने संशयलाई बिरोधको भाष्य बनाइएको छ । जसको उत्तर रास्वपा र बालेन साहले छिटो छरितो रूपमा काम गरेर चिर्नुपर्नेछ ।
पुराना र नयाँ जसको संख्या, शक्ति साह्रै न्यून छ, ती प्रतिपक्षीहरू प्रश्न गरिरहेका छन्– यही हो जेनजीको ज्यान गएपछि आएको शासन ? यही हो, जेनजीको रगत बगेर आएको शासन ? यिनै प्रश्नबाट जनतालाई रास्वपाप्रति बितृष्णा उत्पन्न गराउन खोजिरहेका छन् । आमनागरिक रास्वपा र बालेन साहले जनतासँग गरेको करार बिर्सदैनन् भन्ने विश्वासको धागोमा बाँधिएकै छन् ।
संसद र सडकमा प्रतिपक्षीहरू बिबादै बिबाद झिकिरहेका छन् । पुराना पार्टीहरूले नयाँलाई सिकाउने, सघाउने, सही मार्ग देखाउने काम गरेनन्, गरून् पनि कसरी ? जसले झण्डै ४ दशक शासनसत्ता हाँके, तिनले नीति, नैतिकता, सिद्धान्त सबै स्वार्थको आगोमा चरू होमेझैं होमे । नयाँ पुस्ता शासनमा छ, उसलाई राजनीतिक जालझेलको अनुभव छैन, नियतमा शंका पनि छैन तर बुढापुराना राजनीतिक नेताहरू नयाँलाई खुइल्याउन कम्मर कसेर लागेका छन् । नयाँ पुस्ताको जिम्मेवारी रवि र बालेनले लिएका छन् ।
बालेन्द्र सरकार पनि नाताबादमा लाग्यो भन्ने झ्याइँ झ्याइँ पारिरहेका छन् विपक्षीहरू । विपक्षी भन्छन्– प्रतिसोध साध्ने काममात्र गरेका छन् । यही भाष्यलाई न्यायालय र प्रशासक, पुरानाले भर्ना गरेका संवैधानिक निकायका पदाधिकारी र राष्ट्र चुसेर जुकाझैं ढाडिएकाहरू रास्वपालाई असफल पार्न र प्रम बालेन साहलाई निकम्मा सावित गर्न न्वारानदेखिको बल लगाइरहेका छन् । तर बालेन मर्न तैयार छु, आँटेको सुशासन र भ्रष्टाचारमुक्त शासन प्रशासन गराएरै छाड्छु भनिरहेका छन् ।
पर्याप्त बहुमत छ, यसकारण रास्वपा जब्बर छ । प्रम बालेन साहलाई कुनै विपक्षीले हल्लाउन पनि सक्दैन । यसकारण त, विपक्षीहरू प्रम बालेन साहलाई राष्ट्रघातीको स्याल हुइया चलाइरहेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठग भनेर हल्लाखल्ला गरिरहेका छन् । रास्वपाभित्र अमिलो निचोरेर रास्वपाको एकता फटाउने प्रयत्न भइरहेको छ । मन्त्री फेरिएलान्, रास्वपा टुक्रने कुरा विपक्षीको सपनामात्र हुनसक्छ ।
हो, नयाँ छन्, अनुभवको कमीले कमजोरी बालेन सरकारले गरेको छ । हिम्मत जतिसुकै प्रशंसायोग्य भए पनि बालेन सरकारले दलाई लामाले दिएको शुभकामनालाई महत्व दिनु हुन्थेन । दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिंदा फ्रि तिब्बतवालाहरू सलबलाउन पुगे । जसले चीनको मनमा चिसो पस्यो, नेपालको एकचीन नीति देखावटी हो कि भन्ने शंका पनि उठायो । भारत सरकारले प्रम बालेन साहको विदेश भ्रमण नगर्ने अडानलाई अहंकार सम्झ्यो । सीमाबारेमा बेलायतलाई मध्यस्थता गराउने खोजेकोमा आक्रोसित बन्यो र भारतका गोदी मिडियामार्फत बालेन साह र रास्वपाविरूद्ध वातावरण तैयार गराउने प्रयत्नलाई जोडबल लगाएको देखिन्छ ।
महात्मा गान्धी भन्थे– शासन र सहरको भव्यता गरीबको रगतले किनिएको हुन्छ । हिजोका सत्ताधारी हुन् कि आजका, तिनले भोग गरेका सुखसुविधा, सानसौकत गरीबकै रगतले किनिएको हुन्छ । यिनका नाममा रहेका महल, गाडी, वैंक व्यालेन्स, सम्भ्रान्त जीवनशैली पनि गरीवले तिरेको कर हो । शासक प्रशासकले लगाएको फेसन र मिठ्याएको जिब्रोको स्वाद गरीव निचारेकै झोल हो । शेक्सपियरको एउटा भनाई प्रख्यात छ– पापले साहसी बनाउँदैन । यी जो छन्, उही कुडाकरकट छन्, जो नयाँ केही गर्न सक्दैनन्, यी सबै कायर हुन् । अर्थात् आफूमाथि जनताले गरेको कारवाहीलाई विषयान्तर गराउँदै जेनजी बिद्रोहबाट आएको बालेन सरकार र रास्वपाको जितलाई प्रतिषोधको लेपन लगाउन थालेको छ ।
अनुभव नभएकाले बालेन पुस्तामा गति सुस्त छ । एक्सप्रेस भने पनि लोकल गाडी जस्तो छ । शीतलमा बस्नका लागि सहमतिको रूख त रोप्नैपर्छ तव न भञ्ज्याङ्मा चौतारी हुन्छ । नदीनाला बेचेर, चुरेदेखि समतलमा सिमेन्टका महल ठड्याएर अथवा गाई मारेर डेरीको उत्पादनलाई कृषि विकास भन्नेहरू नैतिकता र नीतिमा समेत चिप्लिएका छन् । जो नीति र सोचमा चिप्लिन्छन्, तिनीहरूको जीवन नै काई लागेको ढुङ्गा र लाई लागेको काउली हो । एउटा दुर्घटना हो, अर्को महारोग । नेपालका सन्दर्भमा दुर्घटना र महारोग दुबै ज्यानको जोखिम हो । नयाँ पुस्ता जोखिम नहुन्, दुर्घटनाबाट देश र जनतालाई बचाउन्, आमनागरिकको आशा र विश्वास यही हो ।
जापानजस्ता मुलुकमा अणुवमले बिनास गराएको स्थितिलाई नयाँ पुस्ताले स्वर्गजस्तो बनाएको होे । अत्याचारले बिनासलीला देखिएको इजरायल अन्ततः हरियाली बन्यो । इजरायलका बैज्ञानिक प्रा. दनियल शक्चमन नेपाल आएर फर्कदा स्वर्गजस्तो नेपाल सम्पन्न मुलुक हो तर नेताहरूमा इमान र नैतिकता रहेनछ भनेर थक्क थक्क मान्दै फर्किएको धेरै भएको छैन । नभन्दै इमान नभएकाहरूलाई जनताले किनारा लगाइदिएका छन् । नयाँ पुस्ताको काँधमा नेपाल निर्माणको जिम्मेवारी सुम्पेका छन् । नयाँहरू हरतरहका षडयन्त्रबाट सावधान भएर एकढिक्का भएर द्रुततर गतिमा निर्माणमा, सुधारमा लागे भने आज जुन प्रकारको असफलताको बाढी देखाइएको छ, अमानवीयताको हिलो छ्यापिएको छ, नयाँ पुस्ताले धेरै नयाँ गर्नसक्छ । हरेक भ्रमको जालोलाई चिर्न सक्छ । यही विश्वासमा बालेन्द्र सरकार अघि बढेको देखिन्छ ।
नयाँ पुस्ताको काँधमा जिम्मेवारी छ भन्ने विषय आजका पुस्तामा घुसेको छ, निर्णय र कार्यान्वयनमा देखिएको ढिलासुस्ती र विपक्षीको धरापलाई चिनेर अघि बढ्न जरूरी छ । भारतका पहिलो प्रधानमन्त्री नेहरू, राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादले पदको दुरूपयोग गरेनन्, सरलता र सहजता छाडेनन्, सधैं बिधिमा चले । गान्धी चर्खामै बाँचे र भारतका बापु बनेर अमर छन् । त्यस्ता हुन्छन् राजनेता । झल्को बालेन साहले दिएका छन्, उनी आफै प्रमाणित हुन जरूरी छ । सबैमा अहिले पनि विश्वास छ, बालेनले केही गर्छन् । बालेन्द्रले केही गर्ने आशा जगाएकै देखिन्छ ।
पढौं इतिहास, प्राचीन मगध साम्राज्य जसरी भययुक्त र हाहाकारमय थियो, हाम्रो देश त्यस्तै भय र हाहाकारयुक्त चित्कार भोगिरहेको छ । जनताका प्रतिनिधिहरू मगधका राजा महानन्दजस्ता बिलासी, अनाचारी, दुराचारी, अत्याचारी, सुरा–सुन्दरी, सम्पत्ति र सत्तामा लिप्त छन् । जनता बाँच्ने आधारको हाहाकार भोगिरहेछन् । जनयुद्ध र जनआन्दोलनपछिको संघीय गणतन्त्रात्मक व्यवस्था अर्थात बसन्त परिवर्तन भनिएको व्यवस्थाले चाणक्य होइन, भुस्याह कुकुरले झैं एकै बेतमा धेरै छाउरा पाएजसरी बग्रेल्ती चण्डालहरू पो जन्मायो । जुन मुलुकमा भ्रमको राजनीति हुन्छ र राजनीति ब्वाँसो र स्यालनीतिमा चल्छ, त्यो देशमा न्याय महँगो हुन्छ, नागरिक जीवन मूल्यहीन हुनेगर्छ । नयाँ पुस्ता विचार गर ।
बुढापुस्ताले राजनीति भनेको वेल्थ, वाइन र सत्ता बनाएकै होे । यो स्थितिलाई परिवर्तन गरेर जनताको जनजिविका र राष्ट्रको अस्तित्व सावित गर्ने जिम्मेवारी जेनजीको रगतमा उभिएको बालेन सरकारको हो । मदन भण्डारीका जबज एमालेले थेग्न सकेन । जनयुद्धको बिरासत छाडेर माओवादी नेकपा बन्यो । वीपीको बिरासत कांग्रेसले सम्हाल्न सकेन । संवाद, सहमति र सहकार्यका साथ बालेन सरकार अग्रसर हुने हो भने रास्वपाले देशको कायाकल्प गर्न सक्छन् । गरेर देखाउन् । जनताको मन बिथोलियो भने अहिलेको जनादेश परिवर्तन हुन बेर लाग्दैन । राजनीति भनेकै यही हो ।
प्रष्ट छ, गरिबी, भोकमरी, शोषण, आर्थिक समानता, यौन शोषण, जातिपाति, रङ्भेदजस्ता बिकृतिको अन्त्यका लागि लडिरहेका पारग्वेका लुगो, बोलिभियाका इभो, ब्राजिलका लुला सिल्भा, भेनेज्वेलाका ह्यूगो चाभेज, अष्ट्रियाका जुलियस ब्राउथल, नर्वेका ब्राट्वे, बेलायतका अलबर्ट कार्थी, स्वीडेनका बर्नट् कार्लसन, फिनलेण्डका पेन्टी, चिलीका लुइस आलाजस्ता नेताको अनुकरण बालेनले गर्नुपर्छ । जनताले राष्ट्रवादी, स्वच्छ शासक खोजेकै हो, दिएकै हो ।
यो अग्नि परीक्षाबाट रास्वपा र बालेन्द्र साह पास हुनैपर्ने बाध्यता छ ।



