Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सबै यहाँ आफ्नो दुनो सोझ्याउने

२७ बुधबार , श्रावण २०८३२ घण्टा अगाडि

सबै यहाँ आफ्नो दुनो सोझ्याउने

विगत सात दशकमा नेपालको राजनीतिक यात्राले अनेक उतारचढाव देख्यो । राजनीतिक नाराहरू फेरिए, नेताहरू फेरिए, दलहरू फुटे र फेरि एक भए । संविधानहरू बने, संशोधित भए र फेरि नयाँ संविधान जारी भए । शासन व्यवस्था राजतन्त्रबाट संवैधानिक राजतन्त्रमा, पञ्चायती व्यवस्थाबाट बहुदलीय लोकतन्त्रमा र अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भयो । तर यति धेरै राजनीतिक परिवर्तनका बीच एउटा तीतो यथार्थ भने आजसम्म लगभग उस्तै छ—राष्ट्रको विकास र जनताको जीवनस्तर  उठाउने भनी गरिएका राजनीतिक प्रतिबद्धता र आश्वासनहरूको तुलनामा सामान्य नागरिकको जीवनमा आएको सुधार अत्यन्त कम रह्यो । नढाँटी भन्ने नै हो भने केही पनि नभएको जस्तोनै देखियो । साधारण जनताको गाँस, वास र कपासको समस्या हुबहुँ उस्तै नै छ ।
नेपाली राजनीतिमा अर्को एउटा रोचक तर चिन्ताजनक प्रवृत्ति पनि देखिन्छ । हरेक राजनीतिक धारले आफूले आदर्श मानेका कुनै न कुनै महान् व्यक्तित्वको नामलाई आफ्नो वैचारिक आधारका रूपमा प्रस्तुत गर्छ । कसैले बी.पी. कोइरालालाई सम्झन्छ, कसैले गणेशमान सिंहलाई । कसैले पुष्पलाल, माक्र्स, लेनिन वा माओको नाम लिन्छ भने कसैले राजाहरूको योगदानलाई अघि सार्छ । तिनका तस्बिरहरूले पार्टी कार्यालयका भित्ताहरू सजिएका हुन्छन् । तिनका भनाइहरू जयन्ती र स्मृति समारोहमा उद्धृत गरिन्छन् । निर्वाचनका बेला तिनका नामहरू बारम्बार लिइन्छन् ।
तर यहीं एउटा सरल तर गम्भीर प्रश्न उठ्छ—के ती महान् व्यक्तित्वहरूको नाम वास्तवमै सम्मानका साथ स्मरण गरिएका हुन् वा केवल राजनीतिक प्रयोजनका लागि प्रयोग गरिएका हुन् ?
दुर्भाग्यवश, धेरैजसो अवस्थामा ती नामहरू नैतिक प्रेरणाका स्रोतभन्दा बढी राजनीतिक स्वार्थको साधन बन्न पुगेका छन् । निर्वाचन जित्न, आफ्ना निर्णयलाई सही सावित गर्न, आलोचकहरूलाई मौन बनाउन, आफ्ना समर्थकलाई सन्तुष्ट पार्न र राजनीतिक प्रभाव जोगाइराख्न अर्थात आफ्नो स्वार्थ मात्र पूर्तिका लागि तिनका नामको प्रयोग भएको नै बढी दोखिन्छ ।  तर उनीहरूले जीवनभर अँगालेका र स्थापित गर्न खोजेका आदर्श, मूल्य र सिद्धान्तहरू भने व्यक्तिगत सत्ता, पद र विशेषाधिकारको होडमा क्रमशः ओझेल पर्दैगएका छन् ।
यही यथार्थले मलाई निकै समयदेखि गम्भीर रूपमा घोचिरहेको थियो । अन्ततः यही अनुभूतिले मेरो मनमा एउटा कविता जन्मायो । मैले त्यसलाई ‘सबै यहाँ आफ्नो दुनो सोझ्याउने’ शीर्षक दिएँ । वर्तमान राजनीतिक संस्कृतिप्रति आफ्नो चिन्ता व्यक्त गर्ने उद्देश्यले लेखिएको उक्त कविता यस लेखसँगै यहाँ प्रस्तुत गरेको छु ।
यस कविताको उद्देश्य कुनै विशेष राजनीतिक दल, विचारधारा वा व्यक्तिमाथि प्रहार गर्नु होइन । यसको निशाना त्यस्तो राजनीतिक संस्कृतितर्फ हो, जहाँ राष्ट्र निर्माणमा योगदान दिएका महान् व्यक्तित्वहरूको नाम राष्ट्रहितका लागि होइन, व्यक्तिगत र दलगत स्वार्थका लागि प्रयोग गरिन्छ । जब इतिहासका प्रेरणादायी व्यक्तित्वहरूलाई नैतिक आदर्शका रूपमा होइन, राजनीतिक हतियारका रूपमा प्रयोग गर्न थालिन्छ, तब उनीहरूको वास्तविक योगदान क्रमशः ओझेलमा पर्न थाल्छ र राजनीति सेवाभन्दा स्वार्थको माध्यम बन्दै जान्छ । हामीकहाँ यहीँ प्रवृत्ति हावी हुँदैगएको म महसूस गर्छु ।
यही ज्ञानबोधले मेरो मनमा एउटा प्रश्न उठेको छ—हामीले इतिहासका महान् व्यक्तित्वहरूलाई वास्तवमै अनुकरण गरेका छौं कि केवल आफ्ना सुविधाअनुसार स्वार्थमात्रको लागि उनीहरूको नाम प्रयोग गरिरहेका छौं ? इमान, विवेक, धर्म  साक्षी राखी अन्तस्करणले सत्य वोल्नेनै हो भने हामीले भन्नै पर्छ– साधारणतः सबैलेनै यी सवै नाम आफ्नो स्वार्थका लागि मात्र प्रयोग गरिइहेकाछन् । देश र जनताको कल्याणको लागि होइन । हाम्रो देशको अवनति र जनताको दुर्गतिनै यसको ज्वलन्त प्रमाण हामीलाई दिन्छ ।
  हामीलाई थाहा छ– सामान्य नागरिकको जीवन भने उस्तै दुःख, पीड़ा र कठिनाइले घेरिएको छ । बेरोजगारी विकराल समस्या बनेको छ । दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पुगेको छैन । शिक्षाको स्तरबारे गम्भीर चिन्ता व्यक्त भइरहेका छन् । पूर्वाधार विकास अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । भ्रष्टाचारले राज्यका संस्थाहरूप्रतिको जनविश्वास कमजोर बनाइरहेको छ । अवसरको खोजीमा हजारौं युवायुवतीहरू हरेक वर्ष विदेशिन बाध्य भइरहेका छन् । वास्तवमा राष्ट्रले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषयहरू यिनै हुन् । तर विडम्बना के छ भने यी वास्तविक समस्याहरू राजनीतिक जोडघटाउ, सत्ता संघर्ष र पदको खेलमा बारम्बार ओझेलमा परिरहेका छन् ।
मलाई लाग्छ– इमान्दारीपूर्वक देश र जनताको कल्याणको सही नीति योजना तर्जुमा गर्नको लागि हाम्रो धर्मशास्त्र, ज्ञानग्रन्थ र हाम्रै देशका ऐतिहासिक  महापुरूष, महारथीहरूको अनुभव र ज्ञान हाम्रो लागि यथेष्ट छ  । माक्र्स वा माओ, लेनिन वा लिङ्कन्को नाममा हात खुट्टा उचाली उचाली एकले अर्कोलाई काटमार गरी हिड्न पर्ने जरूर होइन ।
यसै सन्दर्भमा एउटा गम्भीर प्रश्न मेरो मनमा उठिरहन्छ —दीर्घकालीन राष्ट्रिय नीतिको चर्चा हुँदा पृथ्वीनारायण शाहको दूरदृष्टिलाई किन कमै सम्झिइन्छ ? लोकतान्त्रिक मूल्य र राष्ट्रिय स्वतन्त्रताको संरक्षणको प्रसङ्गमा राजा त्रिभुवनको योगदान किन विरलै स्मरण गरिन्छ ? कसैको राजनीतिक व्यवस्थाप्रति मत फरक हुन सक्छ, तर राष्ट्रिय विकास, पूर्वाधार निर्माण र आत्मनिर्भरताका विषयमा चर्चा गर्दा राजा महेन्द्रको नाम लिन किन धेरैलाई असहज लाग्छ ? राष्ट्रिय सुरक्षाको कुरा गर्दा अमरसिंह थापाको अदम्य साहस किन ओझेलमा पर्छ ? र देशका लागि सर्वोच्च बलिदानको प्रसङ्ग उठ्दा भक्ती थापाको स्मरण किन यति दुर्लभ हुन्छ ?
यी प्रश्नहरूको उद्देश्य कुनै व्यक्तिको अन्धसमर्थन गर्नु होइन । इतिहासका कुनै पनि पात्र त्रुटिरहित हुँदैनन् । उनीहरूका आफ्नै सीमितता र कमजोरीहरू पनि हुन्छन् । त्यसैले इतिहासलाई न त अन्धभक्तिपूर्वक पूजा गर्नुपर्छ, न त पूर्वाग्रहका आधारमा अस्वीकार । परिपक्व राष्ट्रले आफ्ना सबै ऐतिहासिक व्यक्तित्वहरूको निष्पक्ष अध्ययन गर्छ, तिनका सबल र दुर्बल पक्षको इमानदार मूल्याङ्कन गर्छ, र वर्तमानको आवश्यकता अनुसार तिनबाट शिक्षा ग्रहण गर्छ । राजनीतिक परिपक्वता सन्तुलित विवेकमा निहित हुन्छ ।
दुर्भाग्यवश, आजको राजनीतिक संस्कृतिले सिद्धान्तप्रतिको निष्ठाभन्दा दलप्रतिको निष्ठालाई बढी महत्त्व दिएको देखिन्छ । कतिपय राजनीतिज्ञहरूलाई राजनीतिक संस्कार बदल्नुभन्दा दल बदल्नु धेरै सहज लाग्छ । सत्ता समीकरणहरू बारम्बार फेरिन्छन् । गठबन्धन सरकारहरू बन्छन् र केही समयमै भत्किन्छन् । मन्त्रालयहरू राष्ट्रिय उत्तरदायित्वका केन्द्रभन्दा राजनीतिक मोलतोलका विषय बन्न पुग्छन् । सार्वजनिक पदलाई जनसेवाको अवसरभन्दा आफ्ना समर्थक र निकटस्थहरूलाई लाभ पु¥याउने माध्यमका रूपमा हेर्ने प्रवृत्ति झन् बढ्दै गएको छ ।
मेरो कविताले बारम्बार भन्छ—“सबै यहाँ आफ्नो दुनो सोझ्याउने ।” यो केवल एउटा उखान होइन; यसले हाम्रो राजनीतिक संस्कृतिको गहिरो रोगलाई उजागर गर्छ । अङ्ग्रेजी उखान feathering one’s own nest  जस्तै, ‘आफ्नो दुनो सोझ्याउने’ भन्नाले केवल आफ्नो हित हेर्नु मात्र होइन, आफ्नो पद, प्रभाव, अधिकार वा जनताले दिएको विश्वासको दुरूपयोग गरेर व्यक्तिगत लाभ उठाउने प्रवृत्तिलाई पनि जनाउँछ । यही प्रवृत्तिले राजनीतिक संस्थाहरूप्रति जनताको विश्वास कमजोर बनाएको छ । जब सार्वजनिक जीवनमा व्यक्तिगत स्वार्थ राष्ट्रिय हितभन्दा माथि उठ्छ, लोकतन्त्रको आत्मा नै कमजोर हुन थाल्छ ।
राजनीति केवल सत्ता र पद प्राप्त गर्ने प्रतिस्पर्धामा सीमित भयो भने लोकतन्त्र बलियो हुन सक्दैन । लोकतन्त्र त्यतिबेला मात्र फस्टाउँछ, जब सार्वजनिक पदलाई विशेषाधिकार होइन, जनसेवाको पवित्र जिम्मेवारीका रूपमा बुझिन्छ । त्यसैगरी, इमानदारी र नैतिकताबिना समाजवाद सफल हुन सक्दैन; उत्तरदायित्व र जनहितप्रतिको प्रतिबद्धताबिना राजतन्त्रले सम्मान कायम राख्न सक्दैन; र सुशासन तथा पारदर्शिताबिना गणतन्त्रले जनविश्वास आर्जन गर्न सक्दैन । अन्ततः कुनै पनि राजनीतिक व्यवस्था कागजमा लेखिएका सिद्धान्तहरूले मात्र सफल हुँदैन; त्यसलाई सञ्चालन गर्ने मानिसहरूको चरित्र, इमानदारी र व्यवहारले नै त्यसको वास्तविक मूल्य निर्धारण गर्छ ।
आज नेपालको समस्या राजनीतिक दर्शनको अभाव होइन ।
समस्या राजनीतिक इमानदारीको अभाव हो ।
राष्ट्रलाई थप नाराहरूको आवश्यकता छैन ।
राष्ट्रलाई थप इमानदार आचरणको आवश्यकता छ ।
राष्ट्रलाई व्यक्तिपूजाको संस्कृतिको आवश्यकता छैन ।
राष्ट्रलाई बलिया र निष्पक्ष संस्थाहरूको आवश्यकता छ ।
राष्ट्रलाई त्यागका सुन्दर भाषणहरू होइन,
वास्तवमै त्याग गर्न तयार नेतृत्व चाहिएको छ ।
बी.पी. कोइराला, गणेशमान सिंह, पुष्पलाल, पृथ्वीनारायण शाह, त्रिभुवन, महेन्द्र, अमरसिंह थापा, भक्ती थापा तथा अन्य असंख्य महान् व्यक्तित्वहरूको महानता केवल उनीहरूको नाममा मात्र सीमित हुनुहुँदैन । उनीहरूको वास्तविक महानता उनीहरूले देखाएको आदर्श, साहस, अनुशासन, दूरदृष्टि र मुलुक र जनताका लागि गरेका ठूलो उद्देश्यका लागि गरेको समर्पणमा निहित छ ।
कुनै पनि महान् व्यक्तित्वको सम्मान केवल उनको नाम उच्चारण गरेर हुँदैन । वास्तविक सम्मान भनेको उसले प्रतिनिधित्व गरेका मूल्य र आदर्शलाई आफ्नो व्यवहारमा उतार्नु हो ।
नेपालको भविष्य हामीले ती महान् नेताहरूका नाम कति पटक दोहो¥याउँछौं भन्ने कुराले निर्धारण गर्ने होइन । नेपालको भविष्य त हामीले उनीहरूले देखाएका मूल्य, आदर्श र जिम्मेवारीलाई कति इमानदारीपूर्वक आत्मसात् गर्छौं भन्ने कुराले निर्धारण गर्नेछ । यसैले देश र जनताको हितको लागि काम गर्ने हो भने फोहरी राजनीतिको कलह र झगडामा नफसी हामीले हाम्रै देशको माटोमा हाम्रो आफ्नै राजनीति, विकास नीति र योजनानीति र कार्यक्रम उब्जाउन सक्नुपर्छ ।
जब राजनीति व्यक्तिगत लाभ र सम्पत्ति आर्जन गर्ने माध्यम बन्छ, राष्ट्र कमजोर बन्छ । 
जब राजनीति जनसेवा र राष्ट्रिय हितको साधन बन्छ, राष्ट्र उन्नतिको बाटोमा अघि बढ्छ ।
मेरो कविताको मूल सन्देश यही हो । मलाई लाग्छ – हामी सवैलै  सबैभन्दा गम्भीरतापूर्वक मनन गर्नुपर्ने पाठ पनि यही हो ।

narayanshanti70@gmail.com
लेखक परिचयः नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा असंख्य लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग  कार्यालयका पूर्व प्रमुख, तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक ।