Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

देउवा वीपी नीतिमा फर्किने

०२ मंगलबार , भाद्र २०८३१२ घण्टा अगाडि

देउवा वीपी नीतिमा फर्किने

प्रजातन्त्र, राजतन्त्र र राष्ट्रवादको त्रिखुट्टीमा कांग्रेसलाई उभ्याएका वीपी कोइरालाले आफूलाई राजतन्त्रले जतिसुकै दुःख दिए पनि जीवनभर त्यही सिद्धान्तमा अडिग रहे । जनमत संग्रहमा पञ्चायतले हार्दा पनि पार्टीभित्र बिद्रोह हुनखोज्दा वीपीले नै रोकेका थिए । निर्वाचन परिणाम स्वीकार गरेका थिए । एकदिन प्रजातन्त्र आउँछ, जनतामा विश्वास गर्नुपर्छ भनेका थिए ।
वीपी नै हुन्, २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्कने, वीपीले नै भनेका थिए– मनमा दुविधा हुँदा देशको माटो हातमा लिनु, माटोले जे भन्छ, त्यही निर्णय गर्नु ।
तर, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्नोस् भनेर सु¥र्याए, अवैध तरिकाले गणतन्त्र कार्यान्वयन गर्न उक्साए । यथार्थमा नेपालको राजतन्त्र किनारा लगाउने काम नेपाली कांग्रेसले ग¥यो । प्रचण्डले नै कांग्रेसलाई धोका दिए । तर कांग्रेस प्रचण्डजस्ता माओवादीलाई लिएर राजनीति गरिरह्यो । जसको परिणाम वर्तमान नेपालको दुरावस्था हो ।
२००७ सालमा राजा त्रिभुवन भारत निर्वासनबाट फर्कदा एयरपोर्टमा मोहनशमशेर पनि साथै आएका थिए । जनताको भीड देखेर राजाले राणाप्रतिको जनाक्रोशलाई समन गर्न हात उठाएर जनतालाई संकेत गरेका थिए, जसका कारण राणा बचे ।
जेनजी आन्दोलनपछि राजनीति हारेका, जनविश्वास हारेका शेरबहादुर देउवा जो आफूलाई वीपीका सच्चा अनुयायी ठान्छन्, उनी वर्तमान कालखण्डमा २००७ सालका मोहनशमशेरको हालतमा छन् ।
शायद त्यसैले ५ महिना उपचारका नाममा सिंगापुरतिर निर्वासनमा रहेका देउवा स्वदेश त फर्किए, आफ्नो गुटको भेला गराएर सम्मेलनको नाम दिंदै समापन कार्यक्रममा देउवा गर्जिए, जनताले सुन्नेगरी गर्जिए, ९४ प्रति ॐकार परिवारले सुन्नेगरी गर्जिए– म हिन्दू हुँ ! म हिन्दू हुँ । बहिनीको बिहे गर्नलाई हिन्दू परम्परा अनुसार व्रतबन्ध गरेर जनै लगाएको हुँ । बाँकी निर्णय जनताको हातमा छ ।
अर्थात् देउवाले हिन्दु हुँ भनेर कुर्लिएपछि एमाले, नेकपा, गणतन्त्रवादी खेमामा भुइँचालो गएको छ । कांग्रेसले धर्मनिरपेक्षता छाडेको अर्थमा उनीहरूले कांग्रेसमाथि प्रश्न गर्न थालेका छन् ।
धेरै पहिले नै अधिकांश महाधिवेशन प्रतिनिधिहरूले तत्कालीन सभापति देउवासमक्ष हिन्दुराष्ट्र हुनुपर्ने माग गरेका थिए । कति कांग्रेसी नेताहरूले त अहिले पनि राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा अभिव्यक्ति दिइरहेका छन् । कांग्रेसी नेताहरूकै चिट पाएपछि बोल्दा बोल्दै सभापति देउवाले म हिन्दू हुँ, हिन्दु हुँ भने चिच्याएका थिए । देउवाको अभिव्यक्ति पछि बालेन सरकारले संशोधन गर्न लागेको संविधानमा सनातन हिन्दू राष्ट्र हुनसक्ने भनेर धर्मनिरपेक्षतावादीहरू झस्किएका हुन् । तर देउवाले हिन्दू राष्ट्र हुनुपर्छ भनेका छैनन् । कांग्रेस इतर सम्मेलनमा देउवाले के भने ?
एउटा साथीले लेख्नुभएको छ– सनातन हिन्दू राज्यबारे केही बोल्दिनु प¥यो, बोल्दिनु प¥यो भनेर । सबै साथीहरूको इच्छा छ । मैले बोल्ने कुरा त धेरै छैन तर म हिन्दू हुँ । म हिन्दू हुँ । मेरो व्रतबन्ध हिन्दू अनुसार भएको हो । मेरो बहिनीको बिहे बिहे गर्नलाई व्रतबन्ध गरेर जनै लगाएको हुँ । त्यसपछि बिहे पनि गुह्वेश्वरीमा गरेको, हिन्दू रीतिरिवाज अनुसार । त्यसकारण म व्यक्तिगत रूपमा पूरा हिन्दु हुँ हेर्नुस् । मलाई कसैले मलाई हिन्दु होइन भन्न सक्दैन । नेपाल के हुने के नहुने भन्ने कुरा त नेपाली जनताको हातमा छ । नेपाली हिन्दुलाई ‘हिन्दू हुन पाउँदैनस्’ भन्न चाहिँ पाइँदैन । म हिन्दु हुँ, हिन्दू हुँ, हिन्दू हुँ !  पशुपतिमा जान्छु म, पशुपतिमा पूजा गर्छु । पर्सी पशुपति जाने मन छ मलाई । त्यसकारण मैले के भनिसकेँ भने म हिन्दू हुँ, हिन्दु हुँ, हिन्दु हुँ ! देउवाले बुद्धप्रति श्रद्धा व्यक्त गर्दै बुद्धिज्मलाई त साइन्टिफिक रिलिजन मानेका बताएका थिए । देउवाले नेपाल अप्ठ्यारो अवस्थामा रहेको बताउँदै अदालतप्रति सम्मान प्रकट गरे ।
विशेष अधिवेशनबाट सभापति बनेका गगन समूहलाई निर्वाचन आयोग र अदालतले समेत मान्यता दिएपछि फागुन २१ को निर्वाचनमा होमिएको कांग्रेसले नराम्रो पराजय भोग्य । यतिबेला कांग्रेस दुई कित्तामा छ, गगन र देउवा । यीमध्ये कुन आधिकारिक, सर्वोच्चमा पुनरावलोकन हुँदैछ । जब पुनरावलोकन फैसला आउला, त्यतिबेला कांग्रेस एक होला । तथापि वीपीको मेलमिलाप र वीपीको प्रजातन्त्र, राष्ट्रवाद र राजतन्त्रको त्रिखुट्टी नीति नै निर्वाचनबाट बेहोस् भइसकेको कांग्रेस बौरिने एकमात्र राजनीतिक सूत्र देखिएको छ ।
सम्भवतः जेनजी आन्दोलनमा पिटिनुपरेको, लामो समय विदेशिनु परेको र अहिले पनि सार्वजनिक रूपमा उभिन नसक्ने स्थितिमा पुगेको विषयले देउवालाई लज्जावोध र हिनतावोध भएको हुनुपर्छ । यसकारण उनी हिन्दुराष्टको पक्षमा उभिन पुगेको ठानिएको छ । हिन्दुराष्ट्र पुनस्र्थापना भयो भने राजतन्त्र स्वतः स्थापित हुनेछ र नेपाली कांग्रेसका पक्षमा जनसमर्थन पुनः फर्कनसक्नेछ । कांग्रेसभित्रका धेरै युवा र पुराना नेताहरूसमेत रास्वपा प्रवेश गरिसकेका छन् । कारण एउटै थियो– नेतृत्वको पुस्तान्तरण र हस्तान्तरण ।
विश्लेषक पुरञ्जन आचार्यले कांग्रेस वीपीको सिद्धान्त, नीति र निष्ठामा फर्कनैपर्छ, तव कांग्रेस पुनर्जिवित हुनेछ । अदालत र कुन सही कांग्रेस भनेर पौंठेजोरी खेल जुन भइरहेको छ, यसले कांग्रेसलाई अझ दयनीय बनाउने पक्का छ । सबैभन्दा राम्रो के हुन्छ भने कांग्रेसीहरू एकैथलोमा बसुन्, आत्मसमीक्षा गरून् र वीपी नीतिमा फर्कुन् । यति भयो भने कांग्रेसप्रतिको जनाधारको जुन कडी खुस्किन पुगेको छ, त्यो जोडिन सक्छ । प्रश्न छ, वीपी नीतिमा फर्कने कि भष्मासूर झैं कांग्रेस सिध्याउने ?