
राजतन्त्रको टेको लिने उद्देश्यले पूर्वपञ्चहरूले राप्रपा गठन गरे । तर जन्मदै दुई चिरा बन्यो । लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले राजतन्त्रकै टेको खोजिरहे । पछि कमल थापा आएपछि पनि राजतन्त्र र हिन्दुराष्ट्रको नाममा भोटबैंक तैयार पारियो । पूर्वपञ्चहरू बहुदलमा प्रधानमन्त्री बने, मन्त्री बने । सिद्धान्त र नीति राजतन्त्र र हिन्दुराष्ट्र बोक्नेहरूले ठूला दलको काखमा लुट्पुटिने र सत्तास्वार्थ पूरा गरिरहे । यो क्रम संविधानसभाको निर्वाचनसम्म पनि कायमै रह्यो । जब २०६५ साल जेठ १५ गते अवैधानिक रूपमा गणतन्त्र कार्यान्वयनको प्रस्ताव चुनाव हरूवा कृष्णप्रसाद सिटौलाले सभामा राखे, राजावादीले टेबुल ठटाएर समर्थन गर्ने पूर्वपञ्चहरू नै थिए ।
पछि दुर्गा प्रसाई निस्के, केशर बहादुर बिष्टले पनि राजतन्त्र र हिन्दुराष्ट्रको निकै बखान गरेकै हुन् । नवराज सुवेदीसमेत मैदानमा उत्रिएका थिए । यिनीहरूले पटक पटक आन्दोलन गरे, राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गराएरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । तर सकेनन् । यिनको आन्दोलन सत्तारूढको दमनमा समन भयो । यिनीहरूको आन्दोलन दुई दिने तातो बहसमा सिमित हुनपुग्यो ।
२०४६ को बहुदलपछि र ०६३ को जनआन्दोलनको सफलतापछिको लोकतन्त्र र २०६५ को गणतन्त्र कार्यान्वयनपछिको लोकतान्त्रिक गणतन्त्रको समय, हरेक पल्ट पूर्वपञ्चहरूले राजतन्त्र र हिन्दुराष्ट्र ल्याएरै छाड्ने भनेर राजाको फेर समाइरहे । पूर्वराजाले यिनीहरूलाई पटक पटक दर्शनभेट दिइरहे । कुरा सुनिरहे । तर पूर्वपञ्चहरूले ०४६ सालमा पञ्च हौं भनेर उभिन सकेनन् । २०६३ सालको घोषणपछि आफ्नो परिचय नदिई गणतन्त्र कार्यान्वयनमा साथ दिए भने संविधान घोषणा हुँदा जनताको सुझाव किन संविधानमा सामेल गराएन भनेर पनि बोलेनन् ।
अरू त अरू, २०६३ साल वैशाख ११ गते भारतका प्रतिनिधिका रूपमा आएका बेदान्ताचार्य करण सिंहको साक्षीमा भएको राजनीतिक दलहरू र राजावीचको राजतन्त्र निरन्तर कायम रहने ५ बुँद सहमतिका विषयमा पनि कहिल्यै बोलेनन् । सोधेनन् । तत्कालीन ठूला पार्टीहरूले पूर्वराजालाई धोका दिए, पूर्वपञ्चहरू, जो संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको नीति सिद्धान्त बोकेर हिडेका छन्, तत्कालीन लोकेन्द्रबहादुर चन्द देखि वर्तमान राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनसम्मले मुद्दा उठाउन सकेनन् । यहाँसम्म कि संघीयता मान्दैनौं भन्ने राप्रपाले संघीय र प्रदेश सरकारमा समेत सामेल भएर स्वार्थ पूरा गरिरहे ।
पूर्वराजाको फेर समातेर स्वार्थ पूर्ति गरिरहेका र सिद्धान्तमा सधैं विचलित भइरहेकाले होला, गत फागुन २१ को चुनावमा जनताले राप्रपालाई जुम्लाको १ सिटमा ज्ञानेन्द्र शाहीबाहेक सबैको टिकट कटाइदिए । यसपद्धि राप्रपाभित्र ठूलै झगडाका बीउ रोपियो । मिल्नलाई राजेन्द्र लिंगदेन र कमल थापा मिलेका छन् तर महामन्त्री धवल शमशेरले बिद्रोह गरेर पार्टी फुटाइदिए, जय नेपाल पार्टी गठन गरेका छन् । उनी राजतन्त्र र हिन्दुराष्ट्र हुनैपर्छ भन्ने नेता हुन् तर पार्टी गठन नहुँदै दुर्गा प्रसाईले राणा हुन्जेल राजतन्त्र फर्कदैन भनेर मुण्टो बटारे, धवल शमशेरले पार्टी गठन गरे । पार्टी गठन गर्नासाथ पूर्वराजाको फेर समात्न पुगिहाले ।
गत शनिवार राजाको दर्शन पाएपछि यसलाई धवल शमशेर तत्कालै प्रचार गरेर राजतन्त्र र हिन्दुवादीहरूको ध्यान आफूतिर तान्ने प्रयास गरे । उनले राजतन्त्र र हिन्दुराष्ट्रको विषयमा हस्ताक्षर अभियान र सर्भेक्षण गरिरहेको बताएका छन् । तर आजसम्मका राजतन्त्र र हिन्दुवादीहरू नेताहरूको स्वार्थशिद्धि गर्नका लागि राजतन्त्रको फेर समात्ने र राजतन्त्रलाई राप्रपावादी देखाएर बदनाम गर्ने कार्य अहिले पनि जारी नै राखेका छन् ।
पूर्वराजाले अहिलेसम्म सबै राजनीतिक दलहरूलाई समान व्यवहार गर्दै राष्ट्रको चिन्ता र जनतासँग संवाद गर्दै आएका छन् । राजाको आफै आधिकारिक दाबी गर्ने राप्रपा र जय नेपाल पार्टीको व्यवहारले जनतामा आक्रोश पैदा गराएको छ । यद्यपि पूर्वराजासँग खिचेको फोटो हिमानी ट्रष्टको कार्यक्रमको भएको र यसैलाई धवल शमशेरले भजाएको बहस चलेको छ ।
राप्रपाजनको लागि पूर्वराजा राजनीतिक रोटी सेकाउने भुङ्ग्रो बनेको लामा समय भइसक्यो । पूर्वराजाले संवाद, सहमति र सहकार्यको लागि सबै राजनीतिक शक्तिहरूलाई आह्वान गर्ने गरेको विषय राजतन्त्रवादी हुँ भन्नेहरूको भेजामा घुसेको देखिदैन । राजतन्त्रवादी अचम्मका छन् ।


