
नेपाल दुई महाशक्ति भारत र चीनवीचको जिवन्त साँघु हो नेपाल । रास्वपा र प्रम बालेनले सम्बन्धमा सुधार गर्न नसकेको र राष्ट्रघात गरेको भनेला महिनौंदेखि यो साँघु भूराजनीतिमा ठक्कर खाँदै महाशक्ति निर्भर हुनपुगेको भाष्य परम्परागत पार्टीहरू नेपाली कांग्रेस, एमाले, नेकपाले प्रचार गरिरहेका छन् ।
शीतयुद्धका समयमा नेपालले असंलग्न परराष्ट्रनीति अपनायो, त्यही अनुसारको आफ्नो परिचय बनायो । सन्तुलनको नीतिले नेपाललाई स्वराज कायम गर्न सघायो पनि । महाशक्तिहरू पनि नेपालको सन्तुलनमै थिए । समयक्रममा २०४६ सालमा बहुदल पुनस्र्थापना भयो र नेपाली दलहरू भारतनिकट हुनपुगे । प्रजातन्त्रवादीसँगसँगै कम्युनिष्टहरू पनि जाज्वल्यमान हुँदै गए र चरमपन्थी र नरमपन्थी कम्युनिष्टहरूको शासन बेहोर्दै चीनतिर बढी ढल्कन पुग्यो । बालेन सरकारमाथि पश्चिमा प्रभाव र दबाब रहेको र उतैको शरणमा परेको आरोप विपक्षीहरूले लगाएता पनि यो सरकार कतातिर ढल्केको भनेर कसैले पनि अहिलेसम्म प्रष्ट पार्न सकेका छैनन् ।
विश्वशक्तिवीचको प्रतिस्पर्धा, बिस्तारै विश्वराजनीतिमा प्रतिस्पर्धा बढ्न थाल्यो । जसले गर्दा नेपाललाई आफ्नो सन्तुलन नीतिमा ढलपल हुनबाध्य पारेको देखिन्छ । बिगतको सरकारले युक्रेनको पक्षमा बोलेकोले पनि नेपाल ढूलमूल नीतिमा पुगेको देखिन्छ । तर बालेन सरकार असंलग्नतामै अड्नुपर्ने र अड्ने अहिलेसम्मको बिधि व्यवहारले देखाएको छ । प्रष्ट हुन, केही अरू केही समय कुर्नैपर्ने छ ।
यो शताब्दीमा अमेरिका, चीन, भारत र युरोपियन युनियन तथा रूसजस्ता शक्तिहरूका सामु नेपाल भूमिका र अस्तित्वगत संकटको जालोमा फस्दै गएको देखिन्छ । चीनको बीआरआई, अमेरिकाको एमसीसीजस्ता योजनालाई नेपालले नकार्न सक्ने थिएन, नकारेको पनि छैन । नेपाल न भारत विरूद्ध चीनलाई, न चीन विरूद्ध भारत अथवा अमेरिकालाई आमन्त्रण गर्न सक्छ ? केही विज्ञहरू त, एउटा महाशक्तिसँग आर्थिक सम्बन्ध बिस्तार गर्ने र अरूसँग सुरक्षा र सन्तुलन कायम गर्ने चातुर्यता चाहिने बताइरहेका छन् । नेपाल भने राजनीतिक विवादमै छ ।
ऐतिहासिक रूपमा एउटै पार्टीले बहुमत हासिल गरेको छ । स्थिरता, विकास, शान्ति र सुशासनका लागि ठूलो अवसर हो तर असफल भइसकेका पार्टीहरू जनादेश प्राप्त पार्टीलाई काम गर्न जसरी पनि अल्झाउने मनस्थितिमा देखिनु नेपालको दुर्भाग्य हो । पुरानाले नयाँलाई हातेमालो गरेको भए नेपाल अगाडि बढ्न र प्रजातन्त्र र जनअसन्तुलन सबै संवोधन गर्न सकिने थियो, जुन अभाव भयो ।
केही दक्षिण एसियाका ज्ञाताहरूका अनुसार यो क्षेत्रका राजनीतिक सीमाहरू उपनिवेशवादी विरासत मान्छन् । यद्यपि नेपाल अमेरिकाभन्दा पनि जेठा राष्ट्र हो र कहिले पनि कुनै मुलुकको उपनिवेश भएको थिएन । तर उपनिवेशको दबदबाको इतिहास भएको दक्षिण एसियाका प्रभाव त नेपालमा पर्छ पर्छ । परेको छ । जसको दुर्नियति नेपालले भारत स्वतन्त्र भएदेखि नै भोग्दै आएको दुःख हो ।
भारत र चीनसँग नेपालको राजनीतिक, सांस्कृतिक, सभ्यतागत सम्बन्धको निरन्तरता छ । तथापि भारत स्वतन्त्र भएपछि भारतका मेलिट्री साइन्सका विज्ञहरूले नेपाललाई भारतमा १९५० मै नमिलाएर ठूलो भूल गरेको लेखेका छन् । छिटोभन्दा छिटो त्यो भूल सच्याउनु पर्ने पनि बताएका छन् । सम्भवतः त्यही नीतिअनुसार भारतले नेपालमाथि व्यवहार गर्दै आएको छ । जुन नेपाल भोग्न अभिशप्त रहेको छ ।
समय बदलियो, राजनीतिक र कूटनीतिक धार पनि बदलिदै गएका छन् । सम्बन्ध र राष्ट्र राष्ट्रवीचको आत्मीयताका आधारहरू पनि परिवर्तन भएका छन् । यो समयमा राष्ट्र बचाउन, जिवन्त पार्न कारिगरीता आवश्यक छ । सम्भवतः नेपाली जनताले चुनावमा पुराना पुस्ताका नेतृत्वलाई किनारा लगाएर नयाँ नेतृत्व त्यही आवश्यक कारिगरिताका लागि चयन गरेको हुनसक्छ । नयाँ पुस्ताको नयाँ सोच र नयाँ युगको आवश्यकताअनुसारको नीति परिपूर्ति हुनसक्छ । चुनावमा, राजनीतिमा, नेतृत्वमा परिवर्तन आएको छ, राज्यकलामा पनि परिवर्तन देखिदैछ । पहिलोपल्ट नेपालका प्रधानमन्त्रीले विदेश भ्रमणलाई महत्व दिएनन् । विदेश भ्रमणमा जानुपर्ने अवस्था आयो भने फोटो सेसनका लागि जान्न भन्दै जुन मुलुकमा जाने हो, ती मुलुकसँगको सम्बन्ध, समस्या लगायतका यावत विषयका एजेण्डा तय गरेर मात्र संवादका लागि प्रस्तुत हुने बताए । यो हो, ढाडमा हाड भएको नेता ।
तथापि कतिपय समयमा कमजोर राष्ट्र भएकै कारण झुक्नुपर्ने, नरम हुनुपर्ने स्थितिको सिर्जना पनि हुनेछ । इतिहासदेखिको बिरासतमा आर्थिक महाशक्ति हुन् भारत र चीन । त्यसमाथि विश्वशक्ति संघर्षका कारण अमेरिका नेपाल प्रवेश गरेको छ । रूस र युरोपियन युनियन पनि नेपालमा उपस्थित छ । यी सबै शक्तिहरूसँग सन्तुलन मिलाएर अघि बढ्न र देशहितमा उभिन ठूलै चुनौती रहेको छ । केही विश्लेषकको निष्कर्ष छ– नेपाल महाशक्तिहरूबीचको बफर सटेट होइन, दुई महान सभ्यताहरूलाई एकीकृत गर्ने किन–स्टेट हो । महाशक्तिको प्रवेशले नेपालको गरिमा र महिमा झन बढेको छ, जसलाई बेहोर्न नेपालको क्षमता विकास हुनुपर्नेछ ।
नेपाल सानो छ, तर आँखोजस्तो छ । सभ्यताको मिलनविन्दु, शक्ति प्रतिस्पर्धाको केन्द्रमा छ नेपाल । जति जति भारत र चीनले विकासमा फड्को मार्दैजानेछन्, नेपाल विश्वशक्तिको राडारको लक्ष्यमा रहनेछ । नेपालको राजनीति सवल भयो, कूटनीति कति सवल, कति दुर्वल त्यसको मापन सुरू भइसकेको छ ।
हिजोसम्म कहिले यता ढल्को, कहिले उता मल्को खालको राजनीतिक नेतृत्व थियो । जसका कारण नेपाली नेताहरूलाई एकदोस्रा मुलुकको काखमा खेलेको, उफार्दा उफ्रेकोजस्ता लाञ्छना लगाएको बिगत पनि छ हाम्रो । राजतन्त्रको समयको जस्तो संयम, बुद्धिमत्तापूर्ण, सम्मानित र पत्यारिलो व्यक्तित्व निर्माण नेपालको वर्तमानको खाँचो हो । पत्यारिलो छिमेकी सम्बन्ध, विश्वासिलो मित्रराष्ट्रहरूसँगको मैत्रीभाव बनाएर आफ्नो र क्षेत्रीय शान्ति तथा स्थायित्वमा योगदान पुनः स्थापित गर्न सक्नु भनेको नेपालको स्खलित भइसकेको बिगतको ओजन आर्जन गर्नु हो । २०४६ सालपछि मैनबत्ती पग्लेजसरी पग्लेको नेपालको व्यक्तित्व अहिले आएर अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले खुलेआम फ्रडहरूको देश भनेर आक्षेप लगाएका छन् । हुन पनि नेपाली नेताहरूले भुटानी शरणार्थी बनाएर पनि नेपालीलाई बेचेको घटनाले त्यो आक्षेप सही मान्नुपर्ने छ । नेपाल अपराधशालाजस्तो बनाउने पनि बिगतकै बहुदलीय र गणतन्त्रका नेताहरू नै हुन् । लोकतन्त्रलाई लूटतन्त्र बनाएकाले पनि नेपालको विश्वमा इज्जत घट्दै घट्दै जानुको अर्को कारण हो । न्यजिलेण्डका एक मन्त्री नेपाल भ्रमणमा आएर फर्कदा भनेका थिए, नेपाल स्वर्गको एक टुक्रा हो । नेपालमा सबै छ, इमान छैन । नेताहरूमा नीति र सिद्धान्त छैन । नेपाली नेताहरूले इच्छाशक्ति देखाउने हो भने नेपाल विश्वको केन्द्रविन्दु बन्नसक्छ ।
हो, अब नेपालले आन्तरिक राजनीतिलाई विश्वको नजरमा बिस्तार गरेर घृणा जन्माउने होइन । कूटनीतिलाई सवलतापूर्वक कार्यान्वयन गर्नुपर्छ । कूटनीति जति सवल भयो नेपालको विकास, शान्ति र सुशासन सबैतिरका आयामहरू व्यवस्थित र बिस्तार हुदै जानेछन् । यसतिर बालेन सरकार र रास्वपाले सोच्नुपर्छ ।ु
विश्व जगत तनावमा छ । युद्ध भइरहेका छन् । मानवाधिकार दयनीय स्थितिमा बदलिएका छन् । कुटनीति माइट इज राइट बन्नपुगेका छन् । द्वन्द्व बढ्दा सम्बन्ध, सम्पर्क, सामरिक र कूटनीतिक दायराहरू समेत जटिल मोडमा पुगेका छन् । यो स्थितिमा नेपालजस्ता साना मुलुकको हैसियत र सम्बन्ध खुम्चिनु स्वभाविक हो । नेपाल भारत, नेपाल चीन सम्बन्धमा पनि यसको दुस्प्रभाव परेको छ । यसकारण राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्नु रास्वपा र बालेन सरकारको आवश्यकता हो । बहुमत छ भनेर एकांकी बनेर अघि बढ्नु भनेको अहंकार हुनजानेछ । त्यसकारण दलमुखी होइन, देशमुखी, वर्तमानभन्दा पनि भविष्यमुखी कूटनीति नेपालको लागि जरूरी छ । यसका लागि राष्ट्रिय बहस र विज्ञहरूको सुझाव लिएर आफ्ना नीति कार्यक्रम अघि बढाउँदा बालेन सरकार र रास्वपा सफल हुनेछन् । नेपाल विश्वशक्तिको राडारमा छ भन्ने नभुलुन् ।



