
भदौ १० गते आएको भोटेकोशीको बाढी त्रिशुलीमा मिसिएपछि जुन महाविपद् आयो, त्यो महाकाल बनेर आयो जस्तो भयो । गुलजार नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवनमा बिनासको जुन लीला देखियो, त्यो देख्नेहरू अझै कहाल्ली रहेका छन् । राष्ट्रका लागि यो क्षतिबाट उठ्न दशकौं लाग्नेछ ।
खबर पाउनासाथ सरकार हर्कतमा आयो । सेना, नेपाल प्रहरी, सशस्त्र, प्रशासन सबै परिचालन गरेर उद्धार र राहतमा जुटेको छ । सुरक्षा निकाय देवदूत भएर खटियो । जनताले ज्यान भन्न पाएनन्, सम्पत्ति भन्न पाएनन्, आफन्त गुमाए, काल बनेर उर्लिएको बाढीले सपना सबै सोत्राम पारेर लग्यो । भोटेकोशीमा आएको बाढी सुनामीभन्दा कम थिएन ।
बाढी के आयो, विनासको भेल आयो, यो भेलले मान्छे, घर, सहर, पुल, जे जे भेलका बाटोमा परेका थिए, सबैलाई सोत्तर नै पारेर लग्यो । सुरूङभित्र अड्किएकाहरूलाई भारत र चीनका विज्ञहरू बोलाएर उद्धारको प्रयास भइरहेकै छ । हजारौं सुरक्षाकर्मी र अन्य व्यक्तिहरू अझै उद्धारमा सकृय छन् ।
हरियाली फाँट, भीडभाड हुने बजार, जनताका घरवास सबै बाढीसँगै बग्नुपरेको दृश्य यति हृदयविदारह थियो कि त्यो देखेर विश्व रोयो ।
धन्न नेपालले मित्रहरू कमाएको रहेछ, विश्वभरिका मित्रहरूले नेपालको यो विपद्मा साथ र सहयोग दिन हात बढाएका छन् । नेपालीले नेपालीलाई सहयोग गरिरहेका छन्, विदेशीहरूले समेत नेपालको यो विपद्मा मन खोलेका छन् । यो सहयोगलाई बालेन सरकारले बिना पूर्वाग्रह, बिना भेदभाव हरेक पीडितको हातमुखसम्म पु¥याउने छ भन्ने विश्वास सबैको छ ।
प्रकृति बज्रदा मान्छेले ऐया भन्ने समय पनि नपाउँदो रहेछ । यो सिख शासक, प्रशासकले सिके भने प्रकृतिसँग समन्वय बढ्नेछ, यो सिख विश्वका लागि समेत उदाहरण बन्नेछ ।
हुन त ६ वर्ष अघि आएको मेलाम्चीको बाढी, ३ वर्ष अघि आएको थामेको बाढी, डेढवर्ष अघि भोटेकोशीको बाढीको वियोगान्त घटना भोगेकै हौं । त्यतिबेलाको पीडाबाट केही सिकेको भए आज धेरै काम लाग्ने थियो । हामीले सिकेनौं, तैयारी गरेनौं ।
दुईवर्ष अघि अतिवर्षाले राजधानीका खोलानालामा बाढी आएको थियो, राजधानी जलमग्न भएको थियो । ठूलो क्षति बेहोरेकै हो, तर त्यसबाट पनि हामीले केही सिकेनौं । उल्टै सर्वोच्च अदालतले अदालतले खोला छेऊको वस्ति नहटाउनु भन्ने आदेश दियो ।
सिक्न त हामीले २०७२ को भूकम्पबाट धेरै सिक्नुपथ्र्यो, सिकेनौं । ७ वर्षअघि फैलिएको कोरोनाको महामारीबाट पनि धेरै गुमायौं, केही पनि शिक्षा लिएनौं । नेपाल त्यसै पनि तिब्बतीय प्लेटमा उभिएको मुलुक भएकाले भूकम्पको जोखिम अत्यधिक छ । २०७२ को महाभूकम्पपछि निरन्तर पराकम्पन र कम्पन आइनै रहेका छन् । यथार्थ बुझेर पनि राजनीतिक द्वन्द्वमा रमाइरह्यौं, नीतिगत रूपमा केही गरनौं, यस्तो दृष्टिविहीन नेतृत्व कहाँ होला ?
आज हामीले हिमालको खबरदारी पाएका छौं । महाविपद् भोगिरहेका छौं । आँसु बगाएर केही हुनेवाला छैन । जो पीडामा छन्, तिनलाई राहतको खाँचो छ, सहयोग हात बढाउने समय यही हो । जो सवस्व गुमाएर सनन्न भइरहेका छन्, तिनलाई राज्यले के गर्नसक्छ, के गर्नुपर्छ, संवेदनशील भएर गर्नुपर्छ । र, भावी दिनमा हिमालमैत्री भएर, प्रकृतिसँग समन्वय खातिर भूउपयोग नीति, वस्ति व्यवस्थापन नीति, शहरीकरण नीति, जलवायु नीतिमा ध्यान दिन जरूरी छ । अहिले पनि चुक्यौं भने भोलिका दिनमा आजको भन्दा भयानक परिणामका लागि हामी तैयार भएर बसे हुन्छ ।
बिपद् आयो कि सहयोगको हात थाप्यो, आँसु बगाएरमात्र हुन्न । स्वाभिमान र आत्मनिर्भरताका लागि, साँच्चै परिवर्तनका लागि यो संचेतनाको समय हो ।
नेतृत्वले दूरदृष्टि राख्नैपर्छ । राजनीतिक विवादभन्दा माथि उठेर ढलेका मन, संरचना उठाउन एक हुनैपर्छ ।


