
म यस देशको एक कर्तव्यनिष्ठ नागरिक हुँ, जसको कुनै पनि राजनीतिक दल, समूह, वर्ग वा तिनका नेता तथा कार्यकर्तासँग न त घनिष्ठ सम्बन्ध छ, न त कुनै वैरभाव नै—चाहे ती राजावादी हुन्, बहुदलीय पक्षधर, समाजवादी वा साम्यवादी । आफ्नै विवेक, ज्ञान, बुझाइ, बुद्धि र अनुभवका आधारमा मैले देशप्रतिको आफ्नो नागरिक दायित्व इमानदारीपूर्वक निर्वाह गर्दै आएको छु र त्यसमा कुनै कसर बाँकी राखेको छैन ।
राष्ट्रको प्रतिष्ठित शिक्षाविद्को हैसियतले राष्ट्रको समस्त विद्वत् वर्गमाझमा सुपरिचित सरदार रूद्रराज पाण्डे र डा. त्रैलोक्यनाथ उप्रेतीजस्ता श्रद्धेय उपकुलपतिहरूमा राम्रो प्रभाव पर्ने गरी मैले त्रिभुवन विश्वविद्यालयमा एक सक्रिय, समर्पित र कर्तव्यनिष्ठ विश्वविद्यालय सेवक भई सेवा गरेँ । तर पनि नेपालमा वि.सं. २०४६ ृसन् १९९०े मा आएको राजनीतिक सुनामीपछि आफूलाई लोकतन्त्रवादी भन्नेहरूकै एउटा अलोकतान्त्रिक षड्यन्त्रको जालमा म पनि परेँ । त्यतिबेला “स्वैच्छिक अवकाश”को नाममा राष्ट्रसेवकहरूलाई जबर्जस्ती अवकाश दिइयो । त्यसैले मैले पनि त्यस समय बाध्य भएर जबर्जस्ती अवकाश स्वीकार गर्नुप¥यो । त्यसपछि मैले आफ्नो अनुभवबाट एउटा कुरा बुझेँ—सेवामा सक्रिय, सिर्जनशील, समर्पित, परिश्रमी, इमानदार, कर्तव्यनिष्ठ र स्वाभिमानीजस्ता गुणहरू भएका, ती गुणहरू आफ्नो हाड र रगतमा नै बोकेका व्यक्तिसमेत स्वतन्त्र विचारक मात्र भएको कारणले हालको व्यवस्थामा कुनै वर्ग, समूह वा राजनीतिक दलको समर्थन नपाई यस देशमा असहाय बन्ने रहेछ । राष्ट्रसेवावाट बन्चित हुनुपर्ने रहेछ ।
कुनै नागरिक आफ्नो देशप्रति अत्यन्त वफादार र देशभक्त व्यक्ति भए पनि देशमा आफूप्रति हुन गएको अन्याय र अत्याचारले गर्दा त्यस्ता व्यक्तिमा पनि देशप्रति नै विरक्ति आउने समय पनि आउने रहेछ भन्ने कुराको तीतो अनुभव पनि त्यस वेला मैले जीवनमा गरेँ । जब कुनै सरकार देशमा जनतालाई न्याय दिनुको सट्टा, अर्थात् निसहायको सहारा बन्नुको सट्टा, आफैँ अत्याचारी भई अघि बढ्छ, त्यसबेला गहिरो देशप्रेम भएको व्यक्तिको समेत आफ्नै देशमा बस्ने इच्छा मर्दो रहेछ । अन्याय र अत्याचारको असह्यताले मान्छेमा रहने कमजोरी र बाध्यताले मान्छे आफ्नै प्यारो देशबाट पनि पलायन हुन सक्छ भन्ने विचार मेरो मनमा आयो । राष्ट्रप्रतिको सच्चा चिन्ताले नै नागरिकलाई अन्यायमाथि प्रश्न उठाउन वा त्यसको विरोध गर्न प्रेरित गर्ने रहेछ भन्ने कुराको ज्ञान पनि मलाई त्यस वेला भयो ।
हामीप्रति असह्य अन्याय र अत्याचार भएको त्यो वेला हामीलाई नेपाल, हाम्रो प्यारो जन्मभूमि हामी बस्नका लागि उपयुक्त ठाउँ रहेनछ कि जस्तो लाग्यो । यसको मुख्य कारण मेरी प्रिय दिवंगत पत्नी शान्ति मिश्र र मैले केवल स्वतन्त्र, स्वाभिमानी र देश र जनताका लागि आफूले सही ठानेका आफ्ना सिद्धान्तमा सम्झौता गर्न नचाहेको कारण मात्रले भोग्नुपरेका अन्यायहरू थिए । यद्यपि विदेश जाने र बस्ने सुअवसर हाम्रो समक्ष रहे पनि ती अत्यन्त पीडादायी अन्यायहरू सहँदै पनि हामीले नेपाल छाडेनौँ ।
आफ्नो जीवनकालमा धेरै राजनीतिक परिवर्तनहरू देखेपछि मैले के बुझेको छु भने राजनीतिक व्यवस्थाको नामले भन्दा सो व्यवस्थाको कार्यान्वयन र कामकाजले मात्र सो व्यवस्था राम्रो चिनिन्छ । राजनीतिक नाम वा लेबलहरू पोसाकजस्ता हुन सक्छन् । तिनीहरू हेर्दा आकर्षक देखिन सक्छन्, तर तिनको भित्र वास्तवमा राम्रो वा नराम्रो के छ भन्ने कुरा थाहा हुँदैन ।
प्रजातन्त्रवाद र साम्यवादको दलमात्रको नामले ठगिएको त्यो अनुभवले राजनीतिलाई र सरकारलाई हेर्ने मेरो दृष्टिकोण नै परिवर्तन गरिदियो । देशमा रहेको कुनै पनि राजनीतिक व्यवस्थाको नाम मात्रको कारणले सो नाममा प्रिय वा अप्रिय बन्नुको सट्टा देशको सचेत, शिक्षित नागरिकले आफ्नो बुद्धि, विवेक प्रयोग गरी सो नामभित्र रहेको सारतत्त्व देश र जनताको हितअनुकूल छ या छैन भन्ने कुरा राम्रो चिन्तन र मनन गर्न सक्नुपर्छ भन्ने विचार पनि मेरो मनमा उत्पत्ति भयो । देशमा रहेको कुनै दलको नाम र सो दलको विचारधारामा मात्र होइन, सो दलको कुनै सरकारलाई उसको इमानदारी, नैतिकता, न्याय, निष्पक्षता, प्रशासन, विकास र जनताको कल्याणप्रतिको कामकाजको आधारमा मूल्याङ्कन गर्नुपर्ने रहेछ भन्ने ज्ञान पनि जाग्यो ।
त्यस बेलादेखि नै मेरो एउटा दृढ धारणा रहिआएको छ ः यदि कुनै दलको नेतृत्वमा बनेको सरकारले राष्ट्र र जनताको हितमा काम गर्नुको सट्टा आफ्ना नेता र समर्थकहरूको स्वार्थका लागि मात्र काम गर्छ भने, त्यस्तो सरकारको सबै असल नागरिकहरूले तत्काल विरोध र निन्दा गर्नुपर्छ । सरकार भन्नाले केवल आफ्ना नागरिकका नागरिक तथा मौलिक अधिकारहरूको उल्लङ्घन नगर्ने मात्र होइन; उसले प्रत्येक निष्ठावान् र देशभक्त नागरिकका लागि संरक्षण, सहयोग र प्रोत्साहनको स्रोतका रूपमा पनि काम गर्नुपर्छ । यही विश्वासलाई आफ्नो सोचको केन्द्रमा राखेर मैले निरन्तर लेख्दै आएको छु—एक दिन मेरो देशमा पनि यस्तो सरकार अवश्य अस्तित्वमा आउनेछ भन्ने आशाका साथ ।
म आफैँ एक असहाय र साधारण लेखक हुँ र मेरा विचार, शब्द र वाक्यहरूले धेरै ठूलो परिवर्तन ल्याउन सक्छन् भन्ने मलाई वास्तवमा विश्वास छैन । तर पनि देशप्रतिको मेरो प्रेमले मेरो मनभित्र केही न केही हलचल गरिरहन्छ । देश र जनताका समस्याहरू निरन्तर मेरो हृदय र मस्तिष्कमा उर्लिरहन्छन् ।
मलाई थाहा छैन, आफ्नै समस्यासमेत समाधान गर्न नसक्ने र अवकाशको उमेर पुग्न अझै चौध वर्ष बाँकी छँदै ४९ वर्षको उमेरमा जबर्जस्ती अवकाश लिन बाध्य पारिएको म जस्तो असहाय साधारण नागरिकले किन अझै पनि देशका समस्याहरू समाधान गर्ने उपायका बारेमा सुझाव र सल्लाह दिने कुरामा आफूलाई निरन्तर संलग्न गराइरहेको छु । आखिर यो त्यही देश हो, जहाँ शक्तिशालीहरूले गर्ने अन्यायका विरूद्ध मानिसहरू विरलै बोल्छन् । कहिलेकाहीँ म आफैँ सोच्ने गर्छु—यो मेरो शक्ति हो, कमजोरी हो कि केवल मेरो पागलपन?
तर म नियमित लेखिरहेको छु ।
मैले अंग्रेजी साप्ताहिक People's Review मा हरेक हप्ता निरन्तर रूपमा एउटा लेख लेख्न थालेको यहीं भाद्र २३ गते ठीक छ वर्ष पुग्यो । यस पत्रिकामा मात्र प्रकाशित मेरा लेखहरू गन्दा कुल संख्या २७५ पुगेको छ । यसको साथै यस गोरखा एक्सप्रेसमा पनि २०८२ । ५ ।२७ देखि म नियमितजस्तै लेखिरहेछु । यस अवधि भित्र यसमा पनि ४० भन्दा बढी लेख प्रकाशित भइसकेको पाउँदा मलाई खुसी लागेको छ । यस सन्दर्भमा मेरा सत्य, तथ्यमा आधारित, देश र जनताका लागि इमानदारीपूर्वक लेखिएका लेखहरूलाई खुसीसाथ ग्रहण गरी आफ्नो अखबारमा स्थान दिनुहुने पिपुल्स रिभ्यूका प्रधान सम्पादक श्री पुष्पराज प्रधान र गोरखा एक्स्प्रेसका प्रधान सम्पादक श्री राजन कार्कीलाई उहाँहरूको विश्वास र सद्भावनाका लागि म हृदयदेखि नै धन्यवादसहित कृतज्ञता ज्ञापन गर्दछु ।
देशमा दलीय सरकार रहे पनि देशमा रहेको सरकार आफ्नो दल, समूह, आफ्ना पिछलग्गु कार्यकर्ताहरूको मात्र नभई समस्त राष्ट्र र जनताका लागि हुनुपर्ने कुरा कसैले कसैलाई बुझाइरहनुपर्ने कुरा जरूर होइन । संविधान र कानुनमा लेखिएका प्रजातन्त्र, न्याय, समानता, स्वतन्त्रता आदि कुराहरू कागजमा मात्र होइन, व्यवहारमा, कार्यान्वयनमा समस्त जनताले सजिलै महसुस गर्ने गरी लागू हुनुपर्छ भन्ने कुरा कसैले कसैलाई भन्नुपर्ने विषय होइन ।
प्रजातन्त्रवादी, समाजवादी, साम्यवादी वा राजतन्त्रवादी जसको सरकार देशमा भए पनि सो सरकारले देश विकास र जनकल्याण गरेको भए त्यसको विरोध गर्नुपर्ने कुनै कारण जरूर हुँदैन । जुनसुकै दल, जुनसुकै नेताको सरकार देशमा रहे पनि सुशासन, सुव्यवस्था, न्याय–निसाफमा तलमाथि नगरे सो सरकारको विरोध गर्नुपर्ने पनि कुनै कारण हुँदैन । पहाडी, मधेसी, जनजाति, दलित, महादलित जोसुकैको नेतृत्वमा सरकार भए पनि सो सरकार सबैको निष्पक्ष सहारा भए त्यसको विरोध गर्नुपर्ने पनि कुनै कारण हुँदैन । सेते, काले, खैरे जोसुकैको सरकार रहे पनि नैतिक काम गर्ने, अनैतिक काम नगर्ने भए त्यसको विरोध गर्नुपर्ने पनि कुनै कारण हुँदैन ।
तर हाम्रो देशमा बहुदलीय व्यवस्था लागू भएदेखि नै प्रजातन्त्रवाद वा साम्यवाद जुनसुकै वादको नाममा शासन गरे पनि शासन गर्नेले आफू र आफन्तवादबाहेक अरू वाद नचलाएको कुरा कुनै पनि सत्यवादी नागरिकले औँल्याउनै पर्छ । तर जनताको सेवा गर्ने सरकारको विरोध कुनै असल नागरिकले गर्न हुँदैन । तर नाममा प्रजातन्त्रवादी होस् या साम्यवादी, देश र जनताको हितविपरीत दलगत स्वार्थमा मात्र लाग्ने सरकारको विरोध कुनै पनि असल नागरिकले गर्नै पर्दछ । अन्यथा अत्याचारीको अत्याचार सहनु नै अत्याचारीलाई प्रोत्साहन हुन जाने कुरा प्रत्येक असल नागरिकले बुझ्नुपर्दछ ।
यसउसले प्रत्येक देशका सचेत नागरिकले अन्तःकरणलाई साक्षी राखी आफ्नो बुद्धि–विवेक प्रयोग गरी आफ्नो देशमा रहेको राजनीतिक वाद र त्यसको सरकारलाई धर्मपरायण, कर्तव्यपरायण, निष्पक्ष, पवित्र, इमानदार, न्यायप्रेमी, देश र जनताको हितका लागि सदा तत्पर रहे–नरहेको आधारमा राम्रो मूल्याङ्कन गर्ने, सोअनुसार असल आचरणमा रहेको देखिए समर्थन र टेवा दिने, अन्यथा जे–जस्तो उपायले विरोध गर्ने नागरिक अधिकार प्रयोग गर्न नियमित गर्नु अति आवश्यक छ । अन्यथा हामी सधैँ एउटा न एउटा वाद र नामले सदा ठगिइरहनेछौँ । सबैले यो बुझ्न जरूरी छ ।
narayanshanti70@gmail.com
लेखक परिचयः नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा धेरै लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयका पूर्व प्रमुख, तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक ।


