
दुर्गा प्रसाईले गत मंसिर ७ गते एउटा आन्दोलन सुरू गरेकाथिए, ठूलै तामझाम देखाइयो, झडप पनि भए । लाग्थ्यो, अब ठूलै परिवर्तन हुनेछ । तर, भोलिपल्टदेखि आन्दोलन मजाक बन्नपुग्यो । प्रहरीले धरपकड गर्दा सुतिरहेका महिलाहरूमाथि ज्यादति गर्दा पनि प्रतिकार गरिएन । सामाजिक सञ्जालमा ठूलै आन्दोलन भयो, खासमा आन्दोलन तुहियो । पसल बन्द, मोटरसाइकल ¥याली, जनताको आवाजलाई आन्दोलनका नारा बनाइयो । पटक पटक यस्ता चर्तिकला भइरहेकै छन्, आन्दोलन भनेको मजाक बन्नपुग्यो । अब दुर्गा प्रसाई, राप्रपाहरूको काम भनेको चर्को बोल्ने, सनसनी फैलाउनेमात्र भएको छ । भन्नुनै पर्दा दुर्गा प्रसाई, राप्रपाजस्ताहरूले राजतन्त्र, हिन्दुवाद सबैलाई धोका दिए । प्रमुख मागहरूप्रतिको बिचलन, अस्पष्ट, कार्ययोजना, अव्यवस्थित कार्यक्रम आदिले गर्दा आमनागरिकको आकर्षण घटेर गयो । राजतन्त्र, हिन्दुवादीहरूले राजा र राष्ट्रवादीहरूलाई हाँसोको विषय बनारहेको देखिन्छ । राजतन्त्र र हिन्दुवादीहरू पानीको फोकासरह रहेछन् भन्ने भाष्य बनिसकेको छ । हो, पुरानो संस्कार भएकाहरू सडकमा आगो नबाली कुरै सुन्दैनन् । आगो बालेर नै लोकतान्त्रिक गणतन्त्रका नाइकेहरूलाई पाहा पछारेझैं पछारेकाहरू सत्तामा आएका छन् । तिनले त राजा र हिन्दुवादीहरू पनि राजनीतिक शक्ति हुन् भनेर बुझ्नुपर्छ । बुझेका होलान्, तर संविधान संशोधनलाई थाँती राखेर बसेकाहरूले कहिले बुझ देखाउने हो ?
रास्वपा सत्तामा आएपछि पुराना ठूला दलहरू बिश्राममा छन् । राजावादी, राष्ट्रवादी, हिन्दुवादीहरू आशामा छन् । कर्म नगरी फल फल्छ र खाउँला भन्नेहरू भोकै हुन्छन् । जसरी ओली, देउवा, प्रचण्डहरू शिर निहुराएर बसेका छन्, राजावादी र हिन्दुवादीहरू पनि घर झगडा गरेर समय बिताइरहेका छन् । यस्ता जुनेली रातमा बिस्कुन सुकाएर बस्नेहरूले कुनै लछारपाटो लगाउँदैनन् । देख्नाका डाल, खानाका कालहरूले राजनीति गर्दैनन् । पहिलेजस्तै मंसिर ७ आउँछ, जान्छ । कुनै तात्वीक परिवर्तन हुनेवाला छैन । बालेन सरकारलाई मजबुत पारेर आफ्ना राजनीतिक एजेण्डाहरू अगाडि सार्न सकेको भए, संविधान संशोधनमा सरकारलार्य सघाउन सकेको खण्डमा धेरै कुरा हुनसक्छ । देशमा अभिभावक नहुँदा राजनीतिक नेताहरू कसरी स्वार्थी र लोभीपापी हुनेरहेछन् । देखियो । तिनलाई ठेगान लगाउन जनता नै जाग्नुपर्ने रहेछ । यो पनि देखियो । जनता के चाहन्छन्, जनतालाई कसरी सचेतन बनाउने र उनीहरूको मागहरू संविधानमै स्थापित गर्न लगाउने भनेर जनता र बालेन साह सरकारलाई होस्टेमा हैंसे गरेको खण्डमा बालेन साह संवाद, सहमति र सहकार्यमा नकारात्मक छैनन् । राजनीतिक सहमति भयो भने विध्वंशपछि निर्माण गर्ने हो र निर्माणका लागि राजनीतिक द्वन्द्व टुङ्ग्याउनै पर्छ । यो विषय भनेकै राजतन्त्र र हिन्दुवाद हो । जबसम्म राजनीतिक विषय हल गरेर राष्ट्रिय एकतावद्ध भएर अघि बढ्न सकिदैन । भूकम्प, कोरोना, बाढीको महाविपद्बाट अस्तव्यस्थ भएको जनजीवनलाई लयमा फर्काउन सकिदैन । यो कुरा बालेन सरकारले बुझेको छ । तर पुराना दलहरू पानी धमिल्याउन र माछा मार्न सकिन्छ भन्ने भ्रममा छन्, सत्ता र शक्तिको अतिवादले सत्ताबाट सडकमा आइपुगे, अझै चेत खुलेको छैन ।
राप्रपा, थरिथरिका हिन्दुवादीहरू, दुर्गाप्रसाई, केशर विष्ट, लीलाराज विष्टजस्ताका कारणले यो कित्ताकाहरूले टाउको उठाउन सक्ने स्थिति छैन । यस्तै अविश्वासका कारणले पनि हुनसक्छ, पूर्वराजाले कुनै सत्ता महत्वकांक्षा देखाएको देखिदैन । बरू पर्व पर्वमा देशको चिन्ता गरेर, विपद्मा परेकालाई सक्दो सहयोग गरेर संविधानको दायरामा नागरिक जीवन यापन गरिरहेको देखिन्छ । लाग्छ, अब पूर्वराजाले आफूलाई खाली चेक भजाएझैं भजाउन दिनेवाला छैनन् । कसैको स्वार्थका लागि प्रयोग हुने बस्तुका रूपबाट पूर्वराजाले आफूलाई अझ माथि उठाएको देखिन्छ ।
भोटेकोशी, त्रिशुलीको बाढीले देशको अर्थतन्त्रको ढाड भाँचिएको छ । सुशासनको जग हाल्न खटिरहेको बालेन सरकार उद्धार, राहत र पुनस्र्थापनामा जुट्नु परेको छ । यो अवस्थाबाट कहिले त्राण पाउने र देशको जीवन सामान्य बनाउने ? सरकारको प्राथमिकता जताबाट जतिसक्दो सहयोग ल्याउने, उद्धारपछि राहत र पुनस्र्थापनामा जुट्ने भएको छ भने पुननिर्माणमा पनि लाग्नुपरेको छ । ठूलै खति र क्षति भएको छ राष्ट्रको । विश्वका जलवायुविज्ञहरू राष्ट्रसंघमा उभिएर नेपालले जलवायु परिवर्तनको कारण बेहोरेको क्षतिमा न्याय गर्नुप¥यो भन्ने माग गर्दैछन् । यसैका लागि नेपालीले प्रम बालेन साहलाई साहस र हौसला दिनुपरेको छ ।


