Advertisement Banner
Advertisement Banner

१४ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सांसदहरूको भूमिका र संसदीय व्यवस्थाको विकास

१३ मंगलबार , आश्विन २०८३२१ घण्टा अगाडि

सांसदहरूको भूमिका र संसदीय व्यवस्थाको विकास

हाम्रो देशमा दल र प्रत्येक दलका केही टाउके नेताहरूको निर्देशन, नियन्त्रणमा साधारणतः सबैजसो हाम्रा सांसदहरू संसदमा रबरछाप भएर बस्ने र संसदीय छलफलमा आफ्नो ज्ञान विवेक र अन्तस्करणले सत्य र असत्यको आधारमा सही लाई सही, गलतलाई गलत भन्ने भूमिकामा नरहेका हुन् कि?  भन्ने मलाई लाग्दछ । यसैले हाम्रो मुलुकमा संसदीय व्यवस्था भएपनि वास्तवमा व्यवहारमा सांसदहरूको कुनै भूमिका नभएको संसदीय व्यवस्था चलिरहेको जस्तो  म महसुस गर्छु । 
आफ्नै सरकारले गलत काम गर्दा संसद् सदस्यले के गर्नुपर्छ? सत्तारूढ दलका सांसदले सरकारले जे गरे पनि त्यसको समर्थन गर्नुपर्छ कि सत्य बोल्ने साहस गर्नुपर्छ ? देश विकास र संसदीय व्यवस्थाको दिगो विकासको लागि सोचविचार गर्दा यी प्रश्नहरू मेरो मनमा वेलावखत आइरहन्छ्न् । केवल राजनीतिज्ञहरूको लागि मात्र होइन, संसदीय लोकतन्त्रकै विकासको लागि सबैले विचार गर्नु पर्ने यी प्रश्नहरू हुन् भन्ने मलाई लाग्दछ ।
सांसदहरूको भूमिकाका बारेमा विभिन्न धारणा पाइन्छन् । एकथरीको विचारमा सत्तारूढ दलका सदस्यहरूले आफ्नो सरकारका नीति र योजनाहरूको सधैँ समर्थन गर्नुपर्छ र सरकारका क्रियाकलापमा सधैँ सही थाप्नुपर्छ । उनीहरू यस्तो समर्थनलाई पार्टीप्रतिको निष्ठाको विषय मान्छन् । अर्को थरीको  धारणामा भने फरक देखिन्छ । उनीहरूका अनुसार प्रत्येक सांसदले आफ्नो ज्ञान, विवेक र अन्तरात्माको प्रयोग गरी सही र गलत छुट्याउनुपर्छ—सहीलाई सही र गलतलाई गलत भन्नुपर्छ ।
मेरो विचारमा, परम्परागत संसदीय व्यवस्थाले यसलाई स्वीकार गरेपनि, नगरेपनि स्वस्थ लोकतन्त्रका लागि दोस्रो दृष्टिकोण अत्यावश्यक छ । सांसद जनताद्वारा निर्वाचित हुन्छ, कुनै राजनीतिक दलको नेताले नियुक्त गर्ने मात्र होइन । त्यसैले उसको पहिलो जिम्मेवारी जनता र देशप्रति हुनुपर्छ । दलको सदस्यता महत्त्वपूर्ण छ, तर त्यसका कारण व्यक्तिले आफ्नो स्वतन्त्र निर्णय गर्ने क्षमता त्याग्नुपर्ने होइन ।
दुर्भाग्यवश, नेपालको राजनीतिक इतिहासले फरक कथा बताउँछ । सत्तारूढ दलका सदस्यहरू प्रायः आफ्ना सरकार र पार्टी नेताहरूका आज्ञाकारी अनुयायी बनेर बसेका हुन्छन् । उनीहरूमध्ये अधिकांश मौन रहन्छन् र आफ्नो अन्तरात्मालाई पार्टीको रबर छाप बनाउँछन् । उनीहरूले सरकारी निर्णयलाई केवल त्यो आफ्नो सरकारको निर्णय भएकै कारण समर्थन गरेका हुन्छ्न् ।अर्को तर्फ विपक्षी दलहरूले पनि प्रायः उल्टो बाटो अपनाएका हुन्छन । उनीहरू विपक्षमा भएकै कारण सरकारले गर्ने लगभग हरेक कामको विरोध गर्छन्, मानौँ उनीहरूसँग सत्य र असत्य, सही र गलत छुट्याउने अन्तरात्मा नै छैन ।
मेरो विचारमा यी दुवै अभ्यासले संसदीय लोकतन्त्रलाई कमजोर बनाउँछन् ।
संसद् केवल “हुन्छ” भन्नु नै आफ्नो कर्तव्य ठान्ने मानिसहरू र “हुँदैन” भन्नु नै आफ्नो कर्तव्य ठान्ने मानिसहरूमा विभाजित हुनुहुँदैन । राम्रो संसद्लाई सही कुरामा हुन्छ र गलत कुरामा हुँदैन भन्न सक्ने सदस्यहरू आवश्यक पर्छन् ।
सरकारको राम्रो निर्णयको समर्थन गर्नु विपक्षी दलको कमजोरी होइन । सरकारको गलत निर्णयको आलोचना गर्नु सत्तारूढ दलका सदस्यको गद्दारी होइन । यी दुवै जिम्मेवार संसदीय आचरणका लक्षण हुन् ।
त्यसैले सांसदको वास्तविक परीक्षा र मूल्याङ्कन कसले सरकारको समर्थन गर्छ वा विरोध गर्छ भन्ने होइन, कसले किन कुन आधारमा समर्थन वा विरोध गर्छ भन्ने आधारमा गरिनु पर्ने वेला आएको छ ।
के उसको धारणा सत्य र तथ्यमा आधारित छ? के त्यो जनताको हितमा छ? के त्यसले देशको सेवा गर्छ? वा त्यो पार्टीको निर्देशन, व्यक्तिगत महत्त्वाकांक्षा, राजनीतिक प्रतिशोध अथवा सत्ता र सुविधाको चाहनाबाट प्रेरित छ? आज नेपालको सन्दर्भमा यो भिन्नता निकै महत्त्वपूर्ण छ ।
आजकल हाम्रो मुलुकमा यस सन्दर्भमा केही उत्साहजनक संकेतहरू देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केही सदस्यहरूले आफ्नै सरकार गलत छ भन्ने लाग्दा त्यसको आलोचना गर्ने इच्छा देखाएका छन् । यस्तो स्वतन्त्र निर्णय गर्ने क्षमता प्रशंसनीय छ । अन्तरात्मा र तथ्यले माग गर्दा सांसद आफ्नै सरकारसँग असहमत हुन डराउनुहुँदैन ।
तर केही यसकै सांसदहरूले भने आफूले अपेक्षा गरेको पद, विशेषाधिकार, सुविधा वा लाभ नपाएकै कारण मात्र सरकारको विरोध गरेको जस्तो देखिन्छ । यस्तो विरोध सिद्धान्तमा आधारित हुँदैन । यो व्यक्तिगत स्वार्थबाट प्रेरित विरोध हो । यो देशका लागि खतरनाक छ ।
यही आलोचना विपक्षी दलहरूलाई पनि लागू हुन्छ । उनीहरूको जिम्मेवारी केवल सरकारको विरोध गर्नु मात्र होइन । उनीहरूले सरकारका नीति र क्रियाकलापको ध्यानपूर्वक परीक्षण गर्नुपर्छ र देशलाई फाइदा पु¥याउने तथा देशलाई हानि गर्ने कुराहरू छुट्याउनुपर्छ । सरकारले राम्रो काम गर्छ भने विपक्षी दलले त्यसलाई स्वीकार गर्ने इमानदारी देखाउनुपर्छ । सरकारले गलत काम गर्छ भने विपक्षी दलले तथ्य र तर्कका आधारमा त्यसलाई उजागर गर्नुपर्छ ।दुर्भाग्यवश, यस्तो राजनीतिक परिपक्वता नेपालमा अझै धेरै कमजोर छ । यो संस्कार हाम्रा विपक्ष दल र सांसदहरूमा विल्कुलै देखिन्दैन ।
हामीले बुझ्नुपर्छ कि अन्धो निष्ठाले लोकतन्त्र बलियो हुँदैन । स्वतन्त्र सोच, इमानदार बहस, जवाफदेहिता र सत्यप्रतिको सम्मानले मात्र लोकतन्त्र बलियो बनाउँछ । सरकारले देश र जनताको लागि  राम्रा कामहरू गर्ने जस्तै स्वार्थी सरकारले वा कहिलेकाही ज्ञानको कमीले पनि गल्ती काम पनि गर्न सक्छ । सांसदहरूको जिम्मेवारी गल्ती सच्याउनु र राम्रा कामलाई प्रोत्साहन गर्नु हो—जुनसुकै मूल्यमा आफ्नो पार्टीको रक्षा गर्नु होइन ।
वर्तमान सरकार धेरै परम्परागत स्वार्थकेन्द्रित भागवण्डा दलका सरकारहरूभन्दा फरक परिस्थितिमा बनेको छ । यहाँ भागवण्डा दल भन्नाले राष्ट्र र जनताको सेवा गर्नुभन्दा आफ्ना नेता र समर्थकहरूबीच सरकारी पद, मन्त्री पद, नियुक्ति र अन्य लाभहरू बाँडफाँट गर्नमा केन्द्रित राजनीतिक दलहरू भन्ने अर्थ राख्दछ, जसले नाममा प्रजातन्त्रवाद, समाजवाद, साम्यवाद वा वादी भनिए पनि देशमा आफू र आफन्तवाद मात्र चलाइआएका छन् । यसैले यो सरकार यस किसिमको सरकार जरूर हुनेछैन भन्ने आशामा जनता छन् ।
यदि यो सरकार पनि आफ्नो दल र आफ्नै कार्यकर्ताहरूको मात्र स्वार्थ, व्यक्ति र समुहगत स्वार्थ, राजनीतिक अन्तर्कलह, अन्धो विरोध वा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण असफल भए भने त्यसको परिणाम एउटा राजनीतिक दलले मात्र भोग्नुपर्ने छैन । देश र जनताले लामो समयसम्म ठूलो दुःख भोग्नुपर्नेछ । देश फेरि भागवण्डा दलहरूजस्ता विगतमा शासन गरेका उही स्वार्थी दलहरूको हातमा पुग्ने वास्तविक खतरा छ ।
त्यसैले यो विषय हरेक इमानदार र निष्पक्ष नागरिकका लागि महत्त्वपूर्ण छ ।
राजनीतिज्ञहरूले राष्ट्रिय स्वार्थभन्दा दलगत स्वार्थलाई माथि राखेमा नेपाल अघि बढ्न सक्दैन । सांसदहरू सत्य बोल्न डराएमा नेपाल अघि बढ्न सक्दैन । राजनीतिक विरोध सत्य र असत्य विचार नगरी खाली राजनैतिक स्वार्थको आधारमा स्वतः अस्वीकार गर्ने प्रवृत्तिमा तथा सरकारको समर्थन स्वतः आज्ञापालन गर्ने प्रवृत्तिमा सीमित भयो भने त नेपाल कहिल्यै अघि बढ्न सक्दैन ।
नेपाललाई एउटा नयाँ राजनीतिक संस्कृतिको आवश्यकता छ—जहाँ पार्टीभन्दा सत्य महत्त्वपूर्ण होस्, राजनीतिक सुविधाभन्दा तथ्य महत्त्वपूर्ण होस् र व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय हित महत्त्वपूर्ण होस् ।
मेरो पार्टीले  गलत गरेमा म  गलत  कुराको समर्थन गर्दिन । म विपक्षमा भए पनि सरकारले गर्ने प्रत्येक सही  कामलाई म सहर्ष  स्वीकार गर्नेछु भन्ने सत्य संस्कार हाम्रा सांसदहरूमा हुनुपर्दछ ।त्यो नै लोकतान्त्रिक परिपक्वताको वास्तविक संकेत हुनेछ । 
नेपालको संसदीय व्यवस्थाको भविष्य सरकार कसले बनाउँछ भन्ने कुरामा मात्र निर्भर गर्दैन । सांसदहरू निर्वाचित भइसकेपछि आफ्ना जिम्मेवारीहरू कसरी पूरा गर्छन् भन्ने कुरामा पनि निर्भर गर्छ ।अब नेपालका सांसदहरू र देशका इमानदार नागरिकहरूले यस विषयमा गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।
सांसदको पहिलो निष्ठा पार्टी, नेता वा व्यक्तिगत स्वार्थप्रति हुनुहुँदैन । त्यो सत्य, जनता र राष्ट्रप्रति हुनुपर्छ । यो सत्य ज्ञान सम्बन्धित सवैको हृदयमा रहोस् । म कामना गर्छु ।
लेखक परिचय
नेपाली र अंग्रेजी भाषाका विभिन्न पुस्तकका लेखक तथा धेरै लेखका रचनाकार; त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयका पूर्व प्रमुख र असीको दशकको मध्य उमेरमा रहेका ज्येष्ठ नागरिक  ।
narayanshanti70@gmail.com