Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

एकता, एकता, कुन किसिमको एकता ?

२७ मंगलबार , आश्विन २०८३२ घण्टा अगाडि

एकता, एकता, कुन किसिमको एकता ?

एकता- मानव समाजको सबैभन्दा महान् आदर्शहरूमध्ये एक हो । व्यक्ति, समुदाय वा राजनीतिक दलहरूबीचमा हुने कुनै पनि एकतामा इमानदारी, न्याय, देश र जन हितप्रतिको प्रतिबद्धता समावेस भयो र इमान्दारीपूर्वक कार्यान्वयन गरियो भने त्यसले जरूर पनि राम्रो फल दिन्छ । यसले राष्ट्रलाई सुदृढ बनाउन, सुशासन कायम गर्न, विकासलाई गति दिन र जनताको कल्याणलाई अघि बढाउन ठूलो टेवा दिन्छ । 
तर एकता आफैँमा सर्वगुण सम्पन्न हुँदैन । । कुनै पनि एकताको नैतिक मूल्य त्यसले पूरा गर्ने उद्देश्यमा पूर्ण रूपमा निर्भर हुन्छ । राष्ट्र र नागरिकको हितका लागि स्थापित एकता प्रशंसनीय हुन्छ । स्वार्थ, भ्रष्टाचार वा जनताको हितलाई बेवास्ता गर्दै सत्ता प्राप्तिको उद्देश्यले स्थापित एकता निन्दनीय हुन्छ ।
हामी प्रायः सुन्छौँ—एकतामा शक्ति हुन्छ । त्यो निश्चय पनि सत्य हो । तर एकता भन्दैमा सबै किसिमको एकता प्रशंसागर्न योग्य र  महान् हुँदैन । डाँकु, अपहरणकारी, हत्यारा, चोर तथा अन्य आपराधिक गिरोहहरू पनि एकजुट हुन्छन् । उनीहरू अपराध गर्न, लुटेको सम्पत्ति बाँड्न, एकअर्काको संरक्षण गर्न र सजायबाट उम्कन आपसमा सहयोग गर्न एकता गर्छन् । यस्तो एकता समाजका लागि वरदान होइन, अभिशाप हुन्छ ।
दुर्भाग्यवश, नेपालमा बहुदलीय लोकतान्त्रिक व्यवस्था पुनःस्थापित भएपछि बनेका धेरै राजनीतिक गठबन्धनहरूले पनि धेरैजसो यस्तै प्रवृत्ति देखाएका छन् ।
 राष्ट्र र जनताको सेवा गर्न एकजुट हुनुको सट्टा राजनीतिक दलहरू बारम्बार चुनाव जित्न, सत्ता कब्जा गर्न, सरकारी पदहरू बाँडफाँट गर्न, आफ्ना समर्थकहरूलाई पुरस्कृत गर्न, भ्रष्टाचार लुकाउन र एकअर्कालाई जवाफदेहिताबाट जोगाउन एकजुट भएका प्रशस्त उदाहरण हामीसित छ । उनीहरूको व्यवहार जिम्मेवार लोकतान्त्रिक राजनीतिक दलहरूबाट अपेक्षित एकताभन्दा आपराधिक गिरोहहरूको एकतासँग बढी मिल्दोजुल्दो देखिएको छ । यसै सन्दर्भमा मैले “राजनीतिक गठबन्धन र मतदातामाथिको विश्वासघात” शीर्षकको एक लेख अंग्रेजी भाषामा लेखेको थिएँ । सो लेख जुन २६ अप्रिल २०२२ को एभयउभि’क च्भखष्भध मा प्रकाशित छ  । सो लेखमा मैले अङ्ग्रेजी भाषामा लेखेको एक दफा यहाँ सान्दर्भिक भएकोले सो को नेपाली अनुवादको चित्र आकृति ( Image ) तल दिएको छु ।
हाम्रो मुलुकमा समय–समयमा राष्ट्रिय आवश्यकताभन्दा राजनीतिक स्वार्थका लागि राजनीतिक गठबन्धनहरू बनाइएका र भत्काइएका छन् । बेरोजगारी, महँगी, कमजोर सार्वजनिक सेवा, भ्रष्टाचार र देशको सुस्त आर्थिक प्रगतिजस्ता समस्याहरू समाधान गर्नको लागि भन्दा धेरै राजनीतिक नेताहरू आफ्नै सत्ता जोगाउन र आफ्ना निकटस्थ तथा वफादारहरूलाई पुरस्कृत गर्न केन्द्रित भएका छन् । सार्वजनिक पदलाई पवित्र सार्वजनिक जिम्मेवारीका रूपमा लिनुको सट्टा प्रायः दलगत लाभ प्राप्त गर्ने साधनका रूपमा प्रयोग गरिएको सम्झना हामीसित छ ।
यस्ता गठबन्धनहरूको सबैभन्दा चिन्ताजनक परिणाममध्ये एउटा जवाफदेहिताको क्षयीकरण हो । एकअर्कालाई भ्रष्टाचारको आरोप लगाउँदै आएका दलहरू अचानक सरकारका साझेदार बनेपछि जनताको विश्वास स्वाभाविक रूपमा घट्छ । गठबन्धन भएपछि कुनै समय गम्भीररूपमा एकले अर्कोलाई लगाइएका आरोपहरू चुपचाप बिर्सिएका घटनाहरू हाम्रो सम्झनामा कति छन् कति । यस्तोबेला राजनीतिक सहकार्य न्याय सुनिश्चित गर्नुको लागि नभई सत्तामा रहेकाहरूलाई कानुनी र नैतिक जिम्मेवारीबाट जोगाउने उद्देश्यले गरिएको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
त्यसैले यस किसिमका एकताबाट धेरै मतदाता क्रमशः निराश हुँदै जानु आश्चर्यको कुरा होइन । पछिल्ला निर्वाचनहरूमा देखिएको जनताको बढ्दो असन्तुष्टिलाई निर्वाचनबाट पन्छाइएका दल र नेताहरूले केवल राजनीतिक पराजयका रूपमा मात्र होइन, एउटा चेतावनीका रूपमा बुझनु पर्छ ।
देशका नागरिकहरू राजनीतिक दलहरूले सिद्धान्तका आधारमा प्रतिस्पर्धा गरून् र त्यस्तो सहकार्यले वास्तवमै राष्ट्रको हित गर्छ भने मात्र आपसमा सहकार्य गरून् भन्ने अपेक्षा गर्छन् ।
आज फेरि हामी राजनैतिक नेताहरूबाट राजनीतिक एकताका चर्का आवाजहरू, आह्वानहरू सुनिरहेका छौँ । समाजवाद, साम्यवाद, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय र राष्ट्रिय विकासका परिचित नाराहरू फेरि जनतासामु प्रस्तुत भइरहेका छन् । नेपालमा यी राजनीतिक  आदर्शहरू कार्यान्वयनका लागि भन्दा सोझासाझा जनता ठग्न माछा मार्ने बल्छीको रूपमा मात्र प्रयोग भइरहेको विगतको अनुभवले देखाउछ । यसरी आत्मकेन्द्रित स्वार्थ  पूरा गर्न मात्र यस्ता नाराहरू प्रयोग गरिँदा तिनले आफ्नो नैतिक शक्ति गुमाउँछ भन्ने कुरा सम्बन्धित सवैले बुझ्नपर्ने देखिन्छ ।
अब जनताले राजनीतिक दलहरूलाई उनीहरूले गरेका वाचाका आधारमा मात्र मूल्याङ्कन गर्दैनन् । उनीहरूले दलहरूलाई उनीहरूले गरेका विगतका कामका आधारमा मूल्याङ्कन गर्छन् । आकर्षक भाषणहरूले वर्षौँदेखिको कमजोर शासन, भ्रष्टाचार, नातावाद, राजनीतिक अस्थिरता र पूरा नगरिएका वाचाहरूलाई मेटाउन सक्दैनन् । नेपाली जनता वास्तविक जनसेवा र राजनीतिक नक्कली नाटकबीचको भिन्नता छुट्याउन दिनप्रतिदिन सक्षम हुँदै गएका छन् ।
नेपाललाई निश्चय नै दलहरूबीच एकता चाहिन्छ । तर नेपाललाई सही किसिमको एकता चाहिन्छ ।
लोकतन्त्रलाई सुदृढ बनाउन, विधिको शासन कायम गर्न, न्याय सुनिश्चित गर्न, आर्थिक विकासलाई अघि बढाउन, भ्रष्टाचार अन्त्य गर्न, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउन, रोजगारीका अवसर सिर्जना गर्न, राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न र दिगो शान्ति स्थापना गर्न नेपाललाई एकता अति आवश्यक छ । यस्तो एकतालाई राजनीतिक विचारधारा जस्तोसुकै भए पनि प्रत्येक नागरिकले हृदयदेखिनै समर्थन गर्छन् भन्ने कुरामा शङ्का छैन । ।
हाम्रो मुलुकमा दलहरूको स्वार्थसिद्धिको लागि आपस आपसमा  मन्त्रालयहरू बाँड्न, राजनीतिक नियुक्तिहरू वितरण गर्न, अनुसन्धानलाई दबाउन, भ्रष्टाचार लुकाउन वा राजनीतिक अभिजात वर्गका विशेषाधिकारहरू जोगाउन मात्र कायम रहने एकता आवश्यक छैन । यस्तो एकताले केही सीमित नेताहरूलाई मात्र फाइदा पु¥याउँछ, तर राष्ट्रलाई दुर्गतिमा पुरÞ्याउँछ ।
हालै यी यथार्थबारे चिन्तन मननको बेला मेरो मनमा एउटा सरल कविता उत्पति भयो । मैले “एकता, एकता, कुन किसिमको एकता?” शीर्षकमा त्यो कविता नेपालीमा रचना गरेँ । कविताले एउटा सरल तर आधारभूत सत्य व्यक्त गर्छ—राष्ट्र, जनता, न्याय, शान्ति र सुशासनको हितमा काम गर्ने एकता मात्र सम्मानयोग्य हुन्छ । स्वार्थ, भ्रष्टाचार, अन्याय र अराजकतालाई बढावा दिन कायम गरिएको एकता न प्रशंसाको योग्य हुन्छ, न त जनसमर्थनको । मैले उक्त कविता तल दिएको छु । यो निर्विवाद सत्यमा सत्यबादी हुनचाहनेहरूको ध्यान पुग्ने आशा गर्छु ।

narayanshanti70gmail.com
लेखक  एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग  कार्यालयका पूर्व प्रमुख, तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक ।