Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

संघीयता स्वीकार गर्नु गल्तीभो

०४ सोमबार , पौष २०७३१० बर्ष अगाडि

    एमालेका बरिष्ठ नेता वामदेव गौतमले संघीयता स्वीकार गर्नु एमालेले गल्ती गरेको स्वीकार गरेका छन् । आइतवार वामदेव गौतमले निकै चर्को अभिव्यक्ति दिदै भनेका छन्– राष्ट्र टुक्य्राउने संविधान संशोधन प्रस्ताव मर्नै परे पनि पास हुन दिन्नौं, हाम्रो रगत बग्ला, बगोस्, संविधान संशोधन राष्ट्रघाती कदम हो, राष्ट्रघातको सती जाँदैनौं ।
    संविधान संशोधनको प्रस्ताव नआएसम्म ओली, माधव नेपाल र झलनाथ गुटमा बिभक्त देखिएको एमाले संशोधन प्रस्ताव संसदमा पेश भएपछि एकढिक्का भएर प्रतिवादमा उत्रिएका छन् । झट्ट हेर्दा माओवादी, कांग्रेस र एमालेका केही नेताको चुनाव क्षेत्र बिथोलिने, भोट बैंक भताभुङ्ग हुनेजस्तो देखिए तापनि यथार्थमा यो संविधान संशोधनले हिमाल पहाडको मिलापलाई अंगभङ्ग गर्ने देखिएको छ । जसरी कैलाली घटना घट्नु अघि पहाडीयालाई पहाडतिरै लखेट्न भनियो, पहिलो संविधानसभाको म्याद सकिनु केही दिन अघि प्रचण्डले जनजातिलाई जातीय राज्य माँग्न लगाएर जातिजाति, पहाड तराईवीच मारामार गराए, मधेसबाट पहाडीया लखेटिए, र, बल्ल जनताकै बलमा सौहाद्रता कायम गरियो र कुरुक्षेत्र बन्नबाट राष्ट्रलाई बचाइयो, त्यसैगरी मधेसलाई पहाड र हिमालबाट अलग गर्ने र बिस्तारै मधेस अलग देश बनाउने वा भारतमा मिलाउने षडयन्त्रको रुपरेखाअनुसार ५ नम्बर क्षेत्र फुटाउन खोजेको देखिन्छ ।
    ५ नम्बर क्षेत्रमै पर्छ बुद्धको जन्मथलो लुम्बिनी । कपिलवस्तु पारी भारतीय क्षेत्रमा नक्कली लुम्बिनी बनाउने भारतले पटक पटक बुद्ध भारतमा जन्मेका हुन् भन्ने दावी गरिरहेका छन् । फरिद जकारिया भन्ने भारतीयले सीएनएनबाट बुद्ध भारतका हुन् भन्ने दावी गर्न छाडेका छैनन् । लुम्बिनी मधेस प्रदेशमा पार्ने षडयन्त्रको एउटा कडी यो पनि हो ।
    संघीयताले १२६ जातिको नेपालमा जातीय, क्षेत्रीय बिबाद चुलिदै गएको छ । एकता भाँडिने र राष्ट्र बिखण्डनतिर जाने निश्चित देखिएपछि राष्ट्रिय एकता र जातीय सद्भाव बनाइराख्न संघीयता स्वीकार गर्नु गल्तीभएको ठहर गरेको बुझ्न सकिन्छ । ओलीका विशेष सहयोगी र प्रभावशाली नेता वामदेव गौतम संघीयताका सवालमा नारायणमान बिजुक्छे र चित्रबहादुर केसीसँग उभिन पुगेका छन् ।