Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सफाइ अभियानमा साथ दिनुपर्छ

१८ मंगलबार , कार्तिक २०८३एक घण्टा अगाडि

सफाइ अभियानमा साथ दिनुपर्छ

०४६ सालपछिको नेपाल कस्तो बनाइएछ ? पूर्व प्रधानन्यायाधीशदेखि दुग्ध विकास संस्थानका पूर्वमहाप्रवन्धकसम्म भ्रष्टाचार, अनियमिततामा पक्राउ गर्नुपर्ने । पूर्व प्रधानमन्त्रीहरू ओली, देउवा, प्रचण्डहरूमाथि छानबिन गर्न उदासिनता देखाएरमात्र हो, नत्र यी सबै जाकिन्थे । वर्तमान न्यायाधीशहरूसमेत विचौलियाको परिवन्दमा फसके भेटिए । हरेक दिन नयाँ नयाँ काण्ड र तथ्य बाहिर आउँदैछन् । नयाँ नयाँ पात्रको नियन्त्रणमा राज्यसत्ता रहेको खुलासा हुँदैछ । सुशील भट्ट, दीपक भट्टदेखि इनाम सापकोटा सत्ताको किनबेचमा भेटिएका छन् । यी सापकोटा पनि कस्ता ? यिनको मोबाइल र सम्पर्कहरू बाहिर आएपछि बहालवाला प्रधानन्यायाधीश, प्रहरी महानिरीक्षकसम्म त्राहीमाम । कुनै यस्तो क्षेत्र छैन, जो बिकृत अवस्थामा रहेको नहोस् । होला, वर्तमान सरकारको जन्म आगजनी, खरानीबाट भएको होला, तर गत फागुन २१ को निर्वाचनमा बहुमत दिएर यो सरकारलाई ५ वर्षका लागि जनअनुमोदन भइसकेको छ । यसकारण यो सरकारको काम जनअपेक्षित हुनैपर्छ, यसकारण यो सरकारले २०४६ पछिका फोहर सफाइ गर्ने अभियान नै चलाएको छ । निजामतीदेखि सुरक्षा निकायसम्म जरा गाडेर बसेको कुडा कर्कलाई सफा गर्नु यो सरकारको अभियानलाई चुनावी मत छ, व्यवहारमा पनि जनताले साथ दिनुपर्छ । पुराना दलहरू आफूमाथि कारवाही रोक्न दशैं तिहारपछि विशाल आन्दोलन गर्ने घोषणा गर्दे हिडेका छन् । त्यो आन्दोलनमा जनता जानुहुन्न, भ्रष्टाचारीमाथि कारवाहीमा जनताले साथ दिनुपर्छ ।
प्रम बालेन साह, अर्थमन्त्री वाग्लेका अभिव्यक्तिलाई बिउ बनाएर प्रतिपक्षीहरू यो सरकार ढाल्ने अनेक प्रपञ्च गरिरहेका छन् । सरकारका कमी कमजोरी जनतामा अपाच्य छन् तर सुशासनका पक्षमा सरकारले थालेको कामले यो सरकारप्रति जनआशा बढेको देखिन्छ । राष्ट्रवादका पक्षमा संवेदनशील नेपालीले सरकारमा रहेकाहरूको गम्भीर अपराध गरेको ठानेका छैनन्, कमजोरी सुधार्नुपर्ने पक्षमा रहेका छन् । अव सरकारको दायित्व हो कि कमजोरी सुधार गर, सुशासनको पक्षमा काम गर, तीब्रताका साथ काम गर ।  नेपालको भौगोलिक अखण्डताको संरक्षण गर्नेतिर आमनेपालीलाई विश्वास दिलाउन सक्नुपर्छ ।  दैनिकी काममा चुस्तता आउनुपर्छ, जनताले राहत पाउनुपर्छ । दैनिक पलायत भइरहेका युवाशक्तिलाई रोक्ने र फर्काउने योजना ल्याउनुपर्छ । सरकार हाम्रो छ, सत्ता अझै हाम्रो हातमा छैन भनेर सांसद यज्ञमणि न्यौपानेले भनेजस्तो अब सुख पाइँदैन । निजामती, सुरक्षा निकाय र न्यायालयमा रहेका पुराना दलका भ्रष्ट अवशेषहरूलाई सफा गर्दै अगाडि बढ्नु यो सरकारको प्राथमिकतामा पर्नुपर्छ । राजनीतिक अपराध सफा हुनुपर्छ ।
०४६ पछिका लाउडा, धमिजादेखि अनेक भ्रष्टाचारका घटनाक्रम सार्वजनिक हुनुपर्छ, सत्यतथ्य जनताले थाहा पाउनुपर्छ । देश लुट्नेहरूले कुनै प्रकारको छुट पाउनुहुन्न । हरेक क्षेत्रमा रहेका बिकृति बढार्नैपर्छ । स्वच्छ र निष्पक्ष शासन प्रशासन बनाउने जिम्मेवारी बालेन साहको हो । सबैले बुझे हुन्छ कि अब पुराना भ्रष्ट र अनैतिकहरूको जमान सकियो । राजनीतिक सहमति, संवादका साथ राष्ट्रध्यक्षमा राष्ट्रनिर्माताका पुस्ता स्थापित गरेर अघि बढ्दा देश बच्छ, बाँच्छ ।