
रतन बहादुर रावल मुगु–-------
देशमा रोजगारीको अभाव, कृषि क्षेत्रमा न्यून उत्पादन र भविष्यको अनिश्चितताका कारण मुगु जिल्लाका गाउँबस्तीहरू दिनानुदिन युवाविहीन बन्दै गएका छन्। परिवारको खुसी र जीविकोपार्जनका लागि युवाहरू बाध्य भएर विदेश पलायन हुँदा गाउँघरमा अहिले साना नानीबाबु र वृद्धवृद्धाहरू मात्र बाँकी छन्। युवाहरूको अनुपस्थितिका कारण सरकारी विकासे काम तथा सामाजिक गतिविधिहरूमा समेत महिलाहरूको नेतृत्व र सहभागिता बढ्न थालेको छ।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ थार्प गाउँका ७० वर्षीय कालीबहादुर रावल गाउँको यो सुनसान अवस्था देखेर भावुक हुनुहुन्छ। विगतलाई सम्झँदै उहाँ भन्नुहुन्छ, ूपहिले हाम्रो पालामा इन्डिया कमाउन जाने चलन थियो। ६–७ महिना वा वर्षदिन बसेर आफ्नै घर फर्किन्थ्यौँ। तर अहिलेका युवाहरू त उतै विदेशमै बस्न थाले। गाउँमा बुढापाखा र साना बालबालिका मात्र छौँ, पुर्ख्यौली घरबारी खाली र बाँझो बन्दै गएका छन्।
सोही वडाकी ५५ वर्षीया बासमती बोहरा पनि गाउँको यो रूपान्तरणबाट उत्तिकै चिन्तित हुनुहुन्छ। पहिले चाडपर्व र मेला–महोत्सवहरूमा युवाहरूको ठूलो चहलपहल हुने गरेको सम्झँदै उहाँले भन्नुभयो, अहिले त चाडपर्व र मनोरञ्जनका क्षेत्रमा पनि युवाहरू देखिन छाडे। गाउँ नै सुनसान जस्तो छ।
यो पीडा थार्प गाउँको मात्र होइन, समग्र मुगु जिल्लाकै भित्री र तीतो यथार्थ हो। विकट उपल्लो मुगुको मुगुम कारमारुङ गाउँपालिकाका कयौँ बस्तीहरू अहिले बुढाबा–आमा मात्र बस्ने थलो बनेका छन्। छोराछोरीहरू सबै बाहिरतिर पलायन भएपछि ती बस्तीहरू शून्य र सुनसान बनेका छन्।
स्थानीयवासीका अनुसार मुगुबाट हरेक दिन युवाहरू बाहिरिने सङ्ख्या बढ्दो छ। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ का मनबहादुर रावल देशमा सोचेजस्तो काम र दक्षता अनुसारको पारिश्रमिक नपाएपछि युवाहरू पलायन हुन बाध्य भएको बताउनुहुन्छ। युवाहरू रित्तिँदै गएपछि उहाँमा अब बुढेसकालको सहारा को होला भन्ने डर पलाउन थालेको छ। उहाँ दुखेसो पोख्दै भन्नुहुन्छ, अहिलेको जस्तो गाउँघर पहिले कहिल्यै थिएन। यस्तै अवस्था रहिरहने हो भने भोलि मर्दाको मलामी र जिउँदाको जन्तीसम्म पनि मान्छे नपाइने अवस्था आउनेछ।


