Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, मंसिर २०८३15th October 2026, 7:25:53 am

Image

आन्दोलन, फेरि आन्दोलन ?

शाश्वत शर्मा

०२ मंगलबार , मंसिर २०८३एक घण्टा अगाडि

आन्दोलन, फेरि आन्दोलन ?

दशैं, तिहार, छठजस्ता मुख्य चाडपर्व सकियो । अब आन्दोलन पर्वहरु सुरुहुनेवाला छ । कम्युनिष्टहरुको आन्दोलन, कांग्रेसको आन्दोलन अनि राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन । अरु त अरु पेशागत संघसंस्थाहरुको पनि आन्दोलन हुने भनिदैछ । अर्थात् मुलुक आन्दालनमय हुँदोछ । नेपालीहरुका दुःखका दिन फेरि एकपल्ट सुरु हुनेवाला छ । यी बाहेक किसिम किसिकमा ज्योतिषीका डरलाग्दा भविष्यवाणीहरु पनि सार्वजनिक भएका छन् । अग्नि काण्ड, दुर्घटना, भूकम्प, पृथ्वी नै प्रलय हुनेजस्ता । राजनीतिक र मानसिक भय खेपेर नेपालीले बाँच्ने कसरी ?
एकातिर आफ्ना समस्याहरु ज्यूँका त्यूँ छन्, अर्कातिर दैवी र राजनीतिक समस्या थपिदो छन् । कहिले समाधान हुने र शान्तिपूर्वक बाँच्न पाउने ? सधैं अराजकता र अस्थिरता भइरहने हो भने यो मुलुकमा बस्ने को ? होला, वर्तमान संविधान अन्तर्गत बालेन सरकार नयाँ र अन्तिम प्रयोग होला । गतसालको भदौ २३ अघिको विभिन्न खालेका सरकारहरु प्रयोग असफल भएपछि यो बहुमतको  शक्तिशाली सरकार अन्तिम प्रयोग होला । तर यसपछि के त ? सैनिक शासन ? राजसंस्थाको पुनस्र्थापना ? वा वैदेशिक हस्तक्षेप ? गत फागुन २१ को निर्वाचन र त्यसको परिणामपछि मुलुकवासीे अब त केही होला ? अब त स्थिरता आउला ? अब कुशासन र भ्रष्टाचारको अन्त होला ? महँगी हट्ला, रोजगारी पाइएला भन्ने विश्वास आशा र अपेक्षामा नै सिमित छ । करिब ८ महिने यो सरकारलाई फर्केर हेर्दा अलि अलि छनक पनि देखा परेन भन्ने आम गुनासो छ । कमसेकम महँगी र बेरोजगारी अनि पुराना भ्रष्टाचारीको उन्मूलन एउटा आशाको दियो बन्न सक्थ्यो । तर त्यो पनि संकेतमा सिमित छ । चाडपर्वमा महँगी mन चरम अवस्थामा पुग्यो । बेथिति, अराजकता यथावत छन् । सबैतिर असन्तोाष बढ्दो छ । प्रहरी, सैनिक, कर्मचारीहरुमा राजीनामा दिएर पलायत हुने क्रम बढेको छ। सरकारसँग अविश्वास भएर नै होला, विदेश पलायन हुने युवाहरुको लर्को घटेको छैन । सरकार र जनतावीचको अविश्वासको खाडल बढ्दो छ । सबै विपक्षीहरुलाई समेटेर विकास र समृद्धिको मार्गमा डो¥याउन सरकार असफल देखिएको छ । पुराना भ्रष्टहरुबाहेक विभिन्न दलमा रहेका स्वच्छ छविका नेता र कार्यकर्ताहरुलाई समेटेर अगाडि बढ्नपर्ने सरकार त्यस्तो गर्न सकृय देखिएको छैन । भन्नु नै पर्दा कुनै एउटा त्यस्तो क्षेत्र छैन, जो आन्दोलित नभएको होस् । हिजोका दलहरुले जे जे दुष्कर्महरु गरेका थिए, त्यही त्यही कर्म वर्तमान सरकारले अँगालेको आरोप दिनानुदिन लाग्ने क्रम बढ्दो छ । बालेन सरकार हाई हाईको नारा अब बालेन सरकारको आलोचनामा रुपान्तरण हुने क्रम सुरु भएको छ । वर्तमान सरकारसँग जनताले धेरै आशा गरेका थिए । त्यसै हुनाले गतसालको भदौ २३ र २४ को नरसंहार र विध्वंशलाई पनि सहनशील नेपालीले सहेर परिवर्तन र नयाँ पुस्ताको भरोसामा जनादेश दिएका हुन् । परिवर्तन कहाँबाट सुरु भयो ? बालेन सरकारले प्रष्ट देखाउन सकेको छैन । केही भएन भन्ने भाष्य बनेको छ ।
बालेन सरकार र उनको टिमलाई स्वागत गर्ने नेपाली मतदाताहरु अब यिनीहरुबाट पनि हुँदैन कि के हो ? भनेर संशय प्रकट गर्न थालेका छन् । वैदेशिक सम्बन्ध अन्यौलग्रस्त छ । नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति आएपछि प्रम बालेनको मंसिर पहिलो हप्ता हुने भारत भ्रमणमा भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका सबै सीमा समस्या समाधानमा के कस्तो समझदारी विकास गर्ने हो ? भन्ने उत्सुकता बढेको छ । आफूमाथि लागेका प्रतिपक्षीको सबै आक्षेपहरु धुने राम्रो अवसर प्रम बालेनले पाएका छन् । अर्थपूर्ण नहुने हो भने विदेश भ्रमण गर्दिन भन्ने प्रम बालेनको भारत भ्रमणलाई अर्थ खोज्ने रुपमा सबैतिर उत्सुकताको दृष्टिकोणले हेरिएको छ, विश्लेषण भइरहेको छ । कतै वर्तमान सरकार पनि पुरानै दलहरुको सरकारले झैं दिल्ली पुगेर बासमती चामलको बासीभात खाएर मात्र फर्कन्छ कि नेपालका लागि अर्थपूर्ण उपलव्धि पनि हुने हो ? रास्वपाका सभापतिदेखि अर्थमन्त्रीसम्म चारजनाले दिल्ली भ्रमणगरिसकेका छन् । खासगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतसँग सम्बन्धित दिएको भनाइले यिनीहरुलाई देउवा, प्रचण्ड र ओलीभन्दा पनि निकृष्ठ रहेछन् भन्ने तीब्र प्रतिकृया उत्पन्न भयो । सबै विकसित घटनाक्रमलाई विचारगर्दा हुने भनिएका आन्दोलनहरु चरम उत्कर्षमा पुगेर रोकिने कुरा बताउनेहरु पनि धेरै छन् । वर्तमान सरकारको असफलता, असक्षमतामा करेक्शन हुनसकेन भने भदौ २३ को घाउ बल्झिन पनि सक्ने देखिदैछ । राष्ट्रमाथि लूट मच्चाउनेहरुमाथि कारवाही हुनुपर्ने माग पूरा हुनसकेन भने क्षम्य भइसकेको भदौ २३ र २४ को अपराधको पनि छानबिनको माग उग्र हुनसक्नेछ । अहिले भ्रष्टाचारका खबर सेलाएका छन् तर पुराना पजेरो, महाकाली, लाउडा, धमिजा, बालुवाटारको जग्गा, भूटानी शरणार्थी, गिरिबन्धु, बाइडबडी, पशुपति जलहरिदेखि बुढीगण्डकी, आम्नी, एनसेलसम्मका भ्रष्टाचारमा कुनै छानबिन र कारवाहीको दण्डविधान चलेको छैन । देशमा अभिभावक छैनन्, हिजोकाहरु छाडा साँढे पल्टिएका थिए, आजकाहरु परिवर्तनका लागि केही गरिरहेका छैनन् । बरु कलाकार मुरलीधरले माग गरेझैं शक्तिशाली राजतन्त्रको लागि आह्वान गर्नु उचित हुनेछ । प्रम बालेन साहले हिम्मत गर्दा संवैधानिक राजतन्त्र चाहिं पुनस्र्थापना हुनसक्छ ।