Advertisement Banner
Advertisement Banner

०२ मंगलबार, मंसिर २०८३15th October 2026, 7:25:53 am

विद्यमान नैतिक सङ्कट र वर्तमान सरकार

०२ मंगलबार , मंसिर २०८३एक घण्टा अगाडि

विद्यमान नैतिक सङ्कट र वर्तमान सरकार

मानव इतिहासको एउटा कालखण्ड यस्तो थियो, जब राष्ट्रहरू युद्ध, विजय र अरूका भूभागको दोहनमार्फत शक्तिशाली बन्थे । रोमन साम्राज्य, ब्रिटिस साम्राज्य तथा विश्वका विभिन्न भागमा फैलिएको मुस्लिम शासन त्यस युगका उदाहरण हुन् । त्यस समयमा शक्ति भनेको अरूलाई पराजित गर्ने, भूमि कब्जा गर्ने र आर्थिक स्रोतहरू हरण गर्ने क्षमतासँग जोडिन्थ्यो ।
तर समयसँगै संसार बदलिँदै गयो । युद्धले निम्त्याएको विनाश र पीडाबाट पाठ सिक्दै मानव सभ्यताले नयाँ चेतनाको विकास ग¥यो । बल र अधीनताको सट्टा शान्ति, सहकार्य र सहअस्तित्वलाई प्राथमिकता दिन थालियो । यही सन्दर्भमा विकसित तथा सम्पन्न देशहरूले कमजोर र विकासोन्मुख राष्ट्रहरूलाई आर्थिक, शैक्षिक तथा प्राविधिक सहयोग प्रदान गर्ने अवधारणा अघि बढाए, जसको उद्देश्य विश्वशान्ति र जनकल्याण प्रवद्र्धन गर्नु थियो ।यस प्रक्रियाअन्तर्गत भारत, चीन, संयुक्त राज्य अमेरिका, रूस, बेलायत, जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड, डेनमार्क, फिनल्यान्ड, नर्वे लगायतका धेरै देशहरूको सहयोगमा विभिन्न विकास कार्यक्रम सञ्चालन भए । ती सहयोगबाट विभिन्न गरिब मुलुकहरूमा सडक, राजमार्ग, पुल, विद्यालय, अस्पताल तथा अन्य पूर्वाधार निर्माण गरिए । नेपाल पनि यस अन्तर्राष्ट्रिय सहकार्यको लाभार्थी बन्यो । उपत्यका, पहाड र तराईलाई जोड्ने लामो राजमार्गहरू तथा दुर्गम क्षेत्रमा सञ्चालित विकास परियोजनाहरू विश्व समुदायको सद्भाव र विश्वासका प्रमाण हुन् ।
नेपालको वर्तमान भ्रष्ट राजनीतिक अवस्थाले मित्रराष्ट्रहरूलाई मात्र होइन, धर्म, संस्कृति र सामाजिक सेवाका लागि सयौँ रोपनी जग्गाजमिन दान गर्ने गुठी संस्कार र परम्परा भएको यस देशमा दानमार्फत सामाजिक सेवा सञ्चालन गर्न चाहने असल र सहयोगी नियत भएका मानिसहरूलाई समेत धर्मकर्म, स्वास्थ्य, शिक्षा तथा अन्य अत्यावश्यक सामाजिक सेवामा आफ्नो मेहनतको कमाइ दान गर्न हतोत्साहित गरिरहेको छ । देशमा आज त्यो उदार संस्कार गम्भीर सङ्कटमा परेको छ । मुलुकमा चारैतिर व्याप्त भ्रष्टाचार देख्दा आफूले दान गरिसकेका वा दान गर्न चाहने मानिसहरू दान गरिएको धन, सम्पत्ति वा योगदानको दुरूपयोग त हुँदैन? राजनीतिक स्वार्थमा त फस्दैन ? भन्ने चिन्तामा परेका छन् । यस्तो सोचले उदार मन भएका मानिसहरूलाई समेत मौन बनाइरहेको छ । त्यसैले आज त्यो उदार संस्कार सङ्कटमा परेको छ । यो कम दुःखदायी र पीडादायी अवस्था होइन ।
विश्व समुदाय युद्ध र उपनिवेशवादबाट सहकार्य र साझेदारीतर्फ अघि बढिरहेको बेला नेपालको राजनीतिक संस्कृति भने परम्परागत उदारताबाट संस्थागत भ्रष्टाचारतर्फ सर्दै गएको देखिन्छ । विकासका लागि आएको सहयोग व्यक्तिगत सम्पत्तिमा रूपान्तरण गरिन्छ । सार्वजनिक पद सेवा होइन, लाभको साधन बनेको देखिन्छ ।
यहीबीच देशमा एकपछि अर्को उच्चस्तरीय र करोडौँ रूपैयाँका भ्रष्टाचार काण्ड सार्वजनिक भइरहेका छन् । विकास आयोजना, सहकारी संस्था, खरिद प्रक्रिया आदिमा भएका ठगी तथा घोटालाका समाचारले सञ्चारमाध्यम भरिएका छन् । इनाम सापकोटासँग सम्बन्धित बिचौलिया तथा भ्रष्टाचार प्रकरण र देशको सर्वोच्च अदालतसमेत यसको पकड तथा प्रभावमा रहेको भन्ने हल्लाले देशलाई तरङ्गित बनाएको छ । जवाफदेहिताभन्दा दण्डहीनता हावी देखिन्छ ।
यसले मुलुकका इमानदार नागरिकहरूलाई लज्जित र दुःखी बनाएको छ । विदेश भ्रमणमा जादाँ समेत नेपाली पासपोर्ट देख्ने वितिकै भ्रष्टाचारमा जकडिएको मुलुकका मान्छे भन्ने स्थिति बनाएको छ ।अन्तर्राष्ट्रिय सहयोग कुनै उद्देश्यविहीन दया होइन; जनताको जीवनस्तर सुधार्ने काममा इमानदारीपूर्वक प्रयोग हुनेछ भन्ने विश्वासका साथ यस्तो सहयोग प्रदान गरिन्छ । जब त्यो विश्वास तोडिन्छ, त्यसको क्षति केवल आर्थिक मात्रको हुँदैन; राष्ट्रको नैतिक छवि नै ध्वस्त हुन्छ । यसले मुलुकलाई कमजोर बनाउँछ, इमानदार व्यक्तिहरूलाई निरूत्साहित गर्छ र देशप्रेमी युवाहरूको विश्वास चकनाचुर बनाउँछ । देशलेनै विश्व समझ आफ्नो प्रतिष्ठा गुमाउँछ ।
यो केवल प्रशासनिक वा आर्थिक असफलता होइन; यो गहिरो नैतिक पतन हो । यस्तो भ्रष्टाचारले राष्ट्रिय गरिमा कमजोर बनाउँछ, सामाजिक विश्वास नष्ट गर्छ र समाजलाई भित्रैदेखि विषाक्त बनाउँछ । सबैभन्दा दुःखद कुरा, यसले नेपाली समाजलाई जोड्ने स्वैच्छिक दान र परोपकारको परम्परामै चोट पु¥याउँछ ।नेपालसँग विश्वका मित्रहरूको कमी छैन । यहाँ सांस्कृतिक गहिराइ, मानव प्रतिभा र नैतिक विरासत छ । तर अभाव छ—इमानदार नेतृत्वको, जवाफदेही शासनको र मूल्यमा आधारित राजनीतिक संस्कृतिको । कुनै बेला नागरिकलाई जग्गा, धन र श्रमदान गर्न प्रेरित गर्ने मूल्यहरू आज स्वार्थले ओझेलमा परेका छन् ।
हाम्रो देश आर्थिक दृष्टिकोणले मात्र होइन, नैतिक दृष्टिकोणले पनि दयनीय अवस्थामा छ । आज देशमा सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक लगायत अनेकौँ समस्याहरू छन् । यस्तो अवस्थामा देशमा विद्यमान कुशासन र भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई सही बाटोमा डो¥याउँदै विकासको पथमा अघि बढाउने महान् जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा परेको छ । वर्तमान सरकार आफ्नो जिम्मेवारी बहन गर्न इमानदारीपूर्वक लागेको पनि देखिन्छ । जागिरे काममा लागेर पनि देश र जनताकोहित भन्दा नेता र पार्टीकोहितमा काम गरी फायदा उठाउन पल्केका कतिपय छद्मभेषी निजामती, प्रहरी, सेना वा अन्य निकायका राष्ट्र सेवकहरूवाट पनि  सेवा लिइ सम्पूर्ण काम छोटो समयावधिमै सम्पन्न गर्न कति गाह्रो होला भन्ने कुरा सबैले बुझ्नु पनि पर्छ ।
तर यो सरकारको देशमा विद्यमान कुशासनको सट्टा सुशासन, अलोकतान्त्रिक शासनको सट्टा लोकतान्त्रिक शासन, दलतन्त्रको सट्टा प्रजातन्त्र र पार्टीहितको सट्टा जनहित स्थापित गर्ने तथा यस्ता अभ्यासहरू पुनः दोहोरिन नसक्ने दिगो व्यवस्था कायम गर्न आवश्यक संवैधानिक र नीतिगत सुधारतर्फ पटक्कै ध्यान जान नसकेको, जनताका पीरमर्का समाधान गर्न पनि अपेक्षाकृत कदम चाल्न नसकेको, कतिपय गरेको राम्रो काम पनि अनुभव र बुद्धिको कमीको कारण कार्यान्वयनमा प्रभावकारीरूपमा आउन नसकेको, कतिपय कामकुरा नियम कानून वमोजिम गर्ने विधिमा ध्यान जान नसकेकोले आफै आलोचनाको पात्र बन्न परेको र सरकार तथा आफ्नै पार्टीबीच समेत समझदारी र समन्वय हुन नसकेको चर्चाले यो सरकारप्रति जनविश्वास क्रमशः घट्दै गएको हो कि भन्ने देखिन्छ । यो राम्रो संकेत होइन ।
यस स्थितिमा देशको प्रजातान्त्रिक संविधान र व्यवस्थालाई ‘बाँदरको हातमा नरिवल’ भनेझैँ अप्रजातान्त्रिक रूपमा दलतन्त्रमा रूपान्तरण गरेका कारण जनताबाट ३० वर्षपछि बल्ल फालिएका सबै दलहरू मिलेर प्रजातन्त्रको नयाँ पोसाक पहिरिएर यो सरकारविरूद्ध आन्दोलनमा उत्रने हुँकार गरिरहेका छन् । यस्तो अवस्था पक्कै पनि मुलुक र जनताको हितमा देखिँदैन ।अब यो सरकारले आत्मालोचना गर्दै आफ्ना कमी–कमजोरी र त्रुटिहरू कहाँकहाँ भए भन्ने पहिचान गर्नसक्नु पर्छ ।ती कमजोरी सच्याउँदै आफूलाई सुधार गर्ने समय आएको महसुस गर्नसक्नु पर्छ । अन्यथा ठूलै दुर्घटनामा परी मुलुक ठूलै भड्खालोमा पर्ने डर उत्पन्न भएको देखिन्छ ।
narayanshanti70@gmail.com
लेखक परिचयः अङग्रेजी भाषाको पुस्तक NepalM Between Beauty and Struggle (नेपालः सौन्दर्य र संघर्षको बिचमा) लगायत नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा धेरै लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालयका निवृत पदाधिकारी तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक ।