Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, मंसिर २०८३23rd November 2026, 12:23:53 am

कागज भन्छ गणतन्त्र, नागरिक भन्छन् राजतन्त्र ?

०९ मंगलबार , मंसिर २०८३५ घण्टा अगाडि

कागज भन्छ गणतन्त्र, नागरिक भन्छन् राजतन्त्र ?

राजतन्त्र भन्दाभन्दै कमल थापाले एक दशक खेर फाले । राजेन्द्र लिङ्देन आए, उर्नी पनि सत्ताकै नशामा लठ्ठिए । नवराज सुवेदी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईहरू जुटे, उनीहरूको भागाभाग भयो । हिन्दुवादी र राजसंस्थावादी ६ दर्जनभन्दा बढी संघसंस्थाले निरन्तर राजतन्त्र र हिन्दुवाद भनिरहेका छन्, तिनीहरूको आवाजमा स्थिरता आएन, आन्दोलनमा निरन्तरता भएन ।
तथापि राजा जता जान्छन्, लोकप्रिय छन् । राजाका वाणीहरू कर्णप्रिय लाग्छन् । तर नौनी स्वार्थीहरूले नै चाटे, नौनी पगालेको बिलौनीजस्तो बासनामा मात्र छ राजतन्त्र ।
राजतन्त्र भन्ने राप्रपाका गत फागुन २१ को चुनावमा जुम्लाबाट ज्ञानेन्द्र शाहीलाई मात्र जनताले पत्याए । राजतन्त्र हिन्दराष्ट्र भन्नेहरू ख्याउटे, दुब्लो र टीवी रोग लागेजस्तो नियतिमा पुगेका छन् । तथापि आगामी अधिवेशनमा राप्रपाको अध्यक्ष हुन्छु, मै राजतन्त्र र हिन्दुराष्ट्र ल्याउँछु भनेर ज्ञानेन्द्र शाही फुइँकी हाँक्दैछन् । अर्का जय नेपाल पार्टी खोल्न पुगेका धवल शमशेर जबरा पनि छन् । जो आफै चुनाव हारे, उनले जय नेपाल पार्टी र राजतन्त्र, हिन्दुराष्ट्रलाई कसरी जिताउलान् ?
राजतन्त्रका तीब्र आलोचकहरू भन्छन्– एआईको जमाना आइसक्यो, कोठे भाषणले कुनै परिवर्तन ल्याउन सक्दैन ।
८ दशकसम्म पुराना कांग्रेस, एमाले यतिबेला जनताको मतदानको भाटा खाएर सडकको चिसो खाँदैछन् । १० वर्ष लामो जनयुद्ध गर्ने माओवादी अध्यक्ष प्रचण्डले माओवाद थन्क्याएर नेकपाको जोहो गर्दैछन् । उनी एमालेसँग कार्यगत एकता गरौं, नयाँपुस्ता र जेनजी सरकारसँग मिलेर लडौं भनेर स्वरै भासिने गरेर चिच्याइरहेका छन् । कांग्रेस दुई खेमा भएर बाँडिएका छन् । मधेशवादी र अन्य ससाना दलहरू सत्ताले बेवास्ता गरेको गुनासो गर्दै मरीचझैं चाउरिन पुगेका छन् ।
नेपालको राजनीतिक वर्णपटमा सत्तामा पुगेको रास्वपालाई पछार्ने कसरी भन्दै आआप्mनै असफल बेग हान्न तल्लीन छन् ।
गत भदौ २३ र २४ मै जेनजी विद्रोहमा संविधान च्यातिएको हो, लोकतन्त्र नाङ्गै भइसकेको हो । तथापि नयाँ संविधान लेखिएन, यही संविधानमा टेकेर अन्तरिम सरकार, चुनाव र चुनावपछिको बालेन सरकार बनेको हो । बालेन सरकार बनेको ८ महिना भयो । बल्ल बौरिएर एमाले, नेकपाले मुख फोरेर भन्न थालेका छन्, गुण्डागर्दी भयो, राष्ट्रपतिले खुट्टा कमाएर संसद बिघटन गरिदिए, चुनावमा धाँधली गरेर रास्वपाले जितेको हो । रास्वपाले कसरी जित्यो, रास्वपालाई जनताले कति विश्वास गरेका छन्, त्यो त आगामी स्थानीय चुनावमा प्रष्टै देखिनेछ । प्रष्ट कुरो के पनि हो भने आजका दिनमा पनि पुराना दलका नेताहरू जनताका सामुन्ने उभिन र सार्वजनिक कार्यक्रम गर्न डराउँछन् । आफ्ना पार्टीका फोर्स र सुरक्षाको घेरामा घेरिएर जाने गरेका छन् । तिनले सत्ता र सत्ताधारी रास्वपालाई गाली गर्नु आकाशतिर फर्केर थुकेजस्तै हो ।
प्रजातन्त्र भनेको गुण र दोषको छ्यानब्यान गर्नसक्ने ल्याकत हो । त्यो कुरा जनताले हैसियत देखाइदिएका दलहरूमा कत्ति पनि देखिदैन । यसकारण तिनले गरेको बिरोध खाईपाइ आएको सत्तारसबाट बन्चित हुनुपरेको छटपटाहटमात्र हो ।
हो, रास्वपाले आफ्ना करार र घोषणापत्रलाई सार्थक बनाउन सकेको छैन । एक प्रतिपक्षीले हरेक पल तेस्र्याएको तगारो, दोस्रो प्राकृतिक प्रकोप, भोटेकोशीको बाढी, सुरकुमवासी, सहकारी,, लघुबित्त, मिटरव्याजी पीडितहरूको समस्या समाधानमा लाग्दालाग्दै बालेन सरकारले तीब्र गतिमा काम गर्न सकेको छैन । यहीकारण नतिजा देखिन ढिला भएको छ । तथापि प्रधानमन्त्रीको इमानमा जनता विश्वस्त छन्, समस्या समाधान हुँदै जानेमा आमनागरिक आश्वस्त छन् ।
प्रतिपक्षीले सरकारलाई सहयोग गरेका छैनन्, जसरी पनि आलोचना गर्ने र गाली बर्साउने काम विपक्षीले गरिरहेका छन् । राजनीतिक धर्मसमेत बिर्सेका कारण प्रम बालेनले संसदलाई ध्यान नदिने, बिरोधको आवाज सुनेर उडाउने, कार्यकारी प्रधानमन्त्री झैं आफ्नो कर्तव्य निर्वाहमा लाग्ने गरेको देखिन्छ । यति हुँदाहुँदै पनि सरकारले संसदलाई बाइपास गर्न मिल्दैन, जिम्मेवार हुनैपर्छ । विपक्षीले भेटवार्ता किन गरिएन भनेर आपत्ति जनाइरहेका छन् । प्रम बालेन ०४६ पछिका सबै छानबिन गरेपछि भ्रष्टलाई दण्ड दिलाएरमात्र वार्ता गर्ने मूडमा छन् भन्ने सबैले अनुभूत गरेका छन् ।
हो, च्यातिएर कायम रहेको नाममात्रको संविधानमा लोकतान्त्रिक गणतन्त्र लेखिएको छ । तर पूर्वराजालाई जनताले क्षेत्र क्षेत्रमा निम्त्याउने क्रम जारी छ । राजा जता जान्छन्, उतै हाम्रो राजा हाम्रो देश भन्ने नारा सुनिन्छ । बहुदलको ४० वर्षपछि र लोकतन्त्रको २० वर्षपछि जो जति शीर्ष नेता थिए, तिनको जयजयकार कहिल्यै सुन्न पाइएन । शीर्ष नेता कसैलाई जनताले विश्वास देखाएनन् । हो, चितवनबाट गोरखा र गोरखाबाट रूकुम पश्चिम पुगेका माओवाद त्यागेर नेकपा बनेका प्रचण्डले चुनाव जितेका हुन् । त्यो चुनाव यथार्थमा जितेको होइन, हारेको हो । जो नेता सुरक्षित ठाउँ खोजेर भोटका लागि रापिलो ठाउँ खोजेर भड्किन्छ, त्यस्तो नेतालाई डाइनामिक नेताबाट निस्तेज भएको मान्नुपर्छ । हुन पनि ३५ वर्षे ठिटो बालेनले ओलीजस्ता नेता हराइदिए, कांग्रेस जिल्लाराम हुनपुग्यो, नेकपाको बिउका रूपमा अध्यक्ष प्रचण्डले कुना कन्दरामा पुगेर चुनाव जित्नुलाई के जित्नु भन्नु ? बरू पूर्वराजा सिंहाशनमा बस्न नपाए पनि जनताको मनमा बसेका छन्, त्यो लोकप्रियता ठूलै जित हो ।
आज पनि हिमाल पहाड तराई कोही छैन पराई, एक राजा एक देश, एक भाषा एक भेष भन्ने छाप जनतामा छ । नेपालको पहिचान पनि यही हो ।  बहुधार्मिक, बहुसांस्कृतिक एवं बहुभाषिक मुलुकका सबैको संरक्षण गर्न बहुदलले सकेन, लोकतन्त्र असफल भयो । आखिर चाहिे त अभिभावक नै रहेछ । घरमा बुढा बा र देशमा राजाको उपस्थितिले मात्र पनि सन्तानलाई आश्वस्त पार्नेरहेछ । यही सन्देश राजनीतिले दिएको छ ।
वर्तमान राजनीतिक परिदृश्यको विश्लेषण गर्दा रास्वपा र बालेन साहको बिकल्प कोही पनि छैन । यसकारण बालेन साहलाई देशको हितमा काम गर्ने सुवर्णय अवसर प्राप्त छ । यो मौकालाई उनले सदुपयोग गर्नसके त्यही नै जेनजी विद्रोहको सार र परिवर्तनको धार साबित हुनेछ । जेनजी बिद्रोह र सत्तँ परिवर्तनलाई विश्वले सह्राहना गरेको छ । नेपालको आवाज राष्ट्रसंघमा गुन्जिन र सुनिन थाल्यो । भारतले सम्मान ग¥यो । नेपालले विश्वसमुदायमा खोजेको समानताको इज्जत पाउनथाल्यो । यो सब देखेर हिजोका विदेशीका सामु दम्पसार पर्नेहरूमा औडाह छुट्नु स्वभाविक हो ।
प्रम बालेन यति शक्तिशाली छन् कि उनले देशमा जस्तोसुकै परिवर्तन ल्याइदिन सक्छन् । संविधान संशोधनमा विपक्षीहरूले निहुँ खोजेका छन्, जब बालेन तात्नेछन्, त्यतिबेला उनीहरूले निहुरीमुण्टी न हुनुपर्नेछ । किनकि बालेन साहसँग जनमत संग्रहमा जानसक्ने जनादेशसमेत प्राप्त छ । जुद्ध शमाशेर पछिको यति ताकतिलो सरकार नेपालमा पहिलोपल्ट देखिएको छ ।
बालेन मधेशको छोरो । उसले नेपाल मेरो देश भनेको छ । मेरो राष्ट्रियतामाथि शंका गर्नु पर्दैन भनेको छ । यो देखेर मधेशकै नेता र पहाडीया भनेर नाक फुलाउनेहरूको राजनीतिक मृत्यु भइसक्यो भन्दा हुन्छ । कम बोल्छन्, जब बोल्छन्, बालेनको बोलीमा बाघ गर्जनको शक्ति देखिन्छ । बालेन सुशासनको जग बसाल्न चाहन्छन् । भ्रष्टलाई जेल कोच्ने उनको अभियान छ । यहीकारण चारदशकदेखि भ्रष्टाचारमा रमाउनेहरू आत्तिन पुगेका छन् । हेर्नु यत्ति छ कि बालेन साहले बिधि र विश्वासको जग बलियो रूपमा स्थापित गर्न सक्छन् कि सक्दैनन् ?
गणतन्त्र भन्नेहरूले गणतन्त्रलाई गाँडतन्त्र बनाइदिए । लोकतन्त्र भन्नेहरूले लोकतन्त्रलाई लुटतन्त्र बनाइदिए । सबै समस्याको जड राजतन्त्र भन्नेहरू आफै समस्याको पहाड बनेकाले राजतन्त्रको गरिमा र महिमाको सम्झना बढेको छ ।
गणतन्त्र भन्ने र मान्नेलाई छुट छ, राजतन्त्रको विचार राख्नेहरू पनि स्वतन्त्र छन् । तर तीतो सत्य के हो भने राजतन्त्र र हिन्दु राष्ट्र भन्नेहरू एक हुनसकेनन्, आफ्नो माग पूरा गराउने निरन्तरता र त्याग बलिदान हुनसकेनन् । यहीकारण गणतन्त्र छाडा हुनपुग्यो, लोकतन्त्र लुटाह बन्यो । निश्चित रूपमा समयले कसैलाई पर्खदैन । समय अर्थात परिवर्तन् । जतिसुकै परिवर्तन भए पनि आखिर सत्य परिवार र देशमा अभिभावक त चाहिन्छ चाहिन्छ । त्यसैले अभिभावकका लागि बालेन सरकारले सोचोस् ।

Dr. Binita