
नेपालको राजनीति र २०१५ अघिको अवस्था
उमेरले मध्य असीमा पुगिसकेकोले मैले हाम्रो मुलुकमा राणाशासनदेखि अहिलेसम्मका थरीथरीका राजनीतिक शासन व्यवस्था देखे र भोगेँ । राणा शासनको बेला म बाल्यकालमै रहेकोले यो व्यवस्था मैले राम्रै देखेको भए पनि यसको सुख वा दुःख मलाई अनुभव भएन । २००७ सालमा राणा शासनको अन्त्यपछि प्रजातन्त्रसँगसँगै बहुदलीय व्यवस्थाको उदय भयो । देशमा थरीथरीका राजनीतिक दलहरू थिए । यी दलहरू एकअर्काको खेदो खन्थे । २०१५ सालमा आमचुनाव नभएसम्म देशमा त्यसबेला रहेका मुख्य मुख्य राजनीतिक दलका नेताहरूमध्ये जोकसैलाई राजाबाट स्वविवेकले प्रधानमन्त्रीको जिम्मेवारी दिने र नियुक्ति गर्ने चलन थियो । प्रधानमन्त्री हुनेले देश र जनताको हितलाई भन्दा आफ्नो दल, आफू र आफन्तको हितलाई मात्र बढी प्राथमिकता दिने संस्कार उबेला पनि देखा परÞ्यो । यसको फाइदा भोग्न नपाएका बाँकी दलहरूले यसको विरूद्ध आवाज उठाए । राजाले सो प्रधानमन्त्रीलाई हटाई अर्को विरोधको चर्को आवाज उठाउने समूह वा दलका अर्को नेतालाई प्रधानमन्त्रीको जिम्मेवारी दिँदै गए । एवं रीतले यो अवधि मुलुकका लागि बिना ठोस काम यसै बित्यो ।
नेपालको राजनीति र २०१५ को बहुदलीय प्रजातन्त्र
यसै बिच बहुदलीय व्यवस्था र संसदीय व्यवस्थाको पूर्ण कार्यान्वयनको माग राखी देशमा आमचुनावका लागि राजनीतिक दलहरूले धर्ना, जुलुस र चर्को आवाज उठाए । फलस्वरूप २०१५ सालमा आमचुनाव भयो । नेपाली कांग्रेस पार्टीले आमचुनावमा पूर्ण बहुमत पाएकोले यस दलका नेता विश्वेश्वर प्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा नेपाली कांग्रेस पार्टीको सरकार बन्यो । देश विकासका केही काम गर्न यो सरकार अग्रसर भए पनि आफ्नो दल, आफू र आफन्तलाई प्राथमिकता दिने नेपाली संस्कार पनि कम देखिएन । नेपाली कांग्रेसका लागि यो पूर्ण प्रजातन्त्र भए पनि अरूका लागि यो दलतन्त्र, नेतातन्त्र मात्र भयो । यसमा डाह गर्ने बाँकी दलहरूले तिललाई पहाड गरी चर्को आवाज उठाई जनता उचाले । दलदलको झगडामा जनता पिसिए । देशको स्थिति बिग्रिँदै गयो । यो व्यवस्थाले देशको कल्याण नहुने निधो गरी राजा महेन्द्रले २०१५को संविधानको धारा प्रयोग गरी यो सरकार विघटन गरी नेपालको संविधान, २०१९ जारी गरेर पञ्चायती प्रजातन्त्र नामको निर्दलीय पञ्चायत व्यवस्था देशमा लागू गरे ।
नेपालको राजनीति र २०१९ को पञ्चायती प्रजातन्त्र
यो व्यवस्था निर्दलीय हुने अर्थात् जनता दलदलमा विभाजित भई झगडा नगर्ने, आफ्नो व्यक्तिगत योग्यता, दक्षता, ज्ञान, खुबी र सामथ्र्यका आधारमा देशसेवा गर्ने व्यवस्था थियो । यो व्यवस्थामा पनि चुनाव हुने, चुनावबाट आउने प्रतिनिधिहरू रहने व्यवस्थापिका पनि हुने, व्यवस्थापिकाबाटै बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको नेतृत्वमा सरकार र मन्त्रीमण्डल हुने विधि र पद्धति वसालियो । तर यो व्यवस्थामा देशको राजा यो व्यवस्थाको संरक्षक अर्थात् नायकको रूपमा फुटबलको रेफ्रीजस्तो रहने र राजनीतिक खेलाडी नियमकानुनविपरीत चलेको देखिएमा रेफ्रीले रातो झण्डा देखाई रोक्ने व्यवस्था पनि गरियो । अर्थात् यो नियन्त्रित प्रजातन्त्र थियो । यो नियन्त्रित प्रजातन्त्र अर्थात् अहिले जस्तो आफूखुसी दलीय सरकारले मनपरी निजामती, न्यायालय, प्रहरी, सेना, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, लोकसेवा, संवैधानिक अङ्ग सर्वत्र सबैलाई दलीय बनाउन सक्ने नभएकोले मुलुकमा व्यावसायिक सरकारी निकायहरूले पूर्ण व्यावसायिक भई कसैको दबाब र प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न पाएका थिए भन्ने कुरा अहिले महसुस हुन थालेको छ । यसैले त्यसबेला सम्पूर्ण शासन प्रणालीका निकायहरू जुन दलको सरकार थियो, त्यसैको मात्र हुन पाएन । प्रजातन्त्रको नाममा मुलुकका सम्पूर्ण निकाय आफ्नो मुठ्ठीमा राखी भान्सा, खाना, थाल, कचौरा, डाडुपन्यु सबै आफ्नै हातमा राख्नुपर्ने दलप्रवृतिकालाई बाहेक त्यसबेलाको नियन्त्रित प्रजातन्त्रले साधारण जनतालाई कुनै असहज महसुस नभएको जस्तो पनि अहिले मलाई लाग्दछ ।साधारणतः सीमित पञ्चहरूले र केही दरबारियाहरूले लुकीछिपी केही अनियमित फाइदा लिए पनि अहिले जस्तो खुलमखुल्ला लुट हुन पाएन । देश धेरै कुरामा विधिको शासन अनुसार विकासमा अघि स¥यो । मुलुकमा विकासका लागि आवश्यक संरचनाहरू बने । झन्डैझन्डै ३० वर्ष यो व्यवस्था चल्यो ।
२०४७ र २०६३ सालको संबिधान, बहुदलीय शासन प्रणाली र गणतन्त्र
यो पञ्चायती व्यवस्थामा जतिसुकै धेरै प्रजातान्त्रिक गुण रहे पनि यो नियन्त्रित प्रजातन्त्रलाई प्रजातन्त्र नठान्ने र अनियन्त्रित बहुदलीय व्यवस्थालाई मात्र प्रजातन्त्र सम्झने र मान्ने प्रतिवन्धित दलहरू यो व्यवस्थाविरूद्ध नियमित संघर्ष गर्दै गए । फलस्वरूप २०४७ सालमा पञ्चायती संविधान पूर्ण रूपमा फालियो । २०४७ सालको बहुदलीय संविधान लागू भयो । देशमा अनियन्त्रित पूर्ण प्रजातन्त्र आयो । तर यो व्यवस्थामा पनि साधारण मात्र अधिकारको भए पनि राजसंस्था अर्थात् राजा पनि समावेश थियो । यो व्यवस्था पनि देशका लागि फलदायी नभएको, देशको समग्र विकास शीघ्र गर्नका निम्ति राजसंस्था नै नहटाई नहुने धारणा राख्ने माओवादीहरूको आन्दोलन र माओवादीहरूको धारणा शिरोधार्य गर्ने सात दलसहितको २०६३ सालको आन्दोलनबाट नेपालको संविधान, २०७२ आएपछि देशमा गणतान्त्रिक अर्थात् राजा, राजसंस्था नभएको बहुदलीय संसदीय व्यवस्था अर्थात गणतन्त्र हाल देशमा चलिरहेको छ । देशमा हाल पूर्ण प्रजातान्त्रिक व्यवस्था छ । आधुनिक प्रजातन्त्रमा हुनुपर्ने सम्पूर्ण गुण र विशेषताहरू हाम्रो संविधानले समेटेका छन् । संसारभरका कुनै पनि लोकतान्त्रिक मुलुकको संविधानभन्दा हाम्रो संविधानमा कुनै पनि कुराको कमी जरूर देखिँदैन । तसर्थ नेपालमा संविधानतः पूर्ण प्रजातान्त्रिक व्यवस्था छ ।समस्त नेपालीले दशकौँदेखि यो व्यवस्था देखी भोगी आएकोले यो कसरी चलिरहेको छ त्यसको अनुभव सबै जनतालाई छ ।
हामी सबैलाई थाहा छ, नाममा जुनसुकै नामको प्रजातन्त्र वा लोकतन्त्र भए पनि सो व्यवस्थामा देश र जनताको कल्याणका लागि हुनुपर्ने मुख्य कामकुराहरू हुन्—देशको विकास, पर्याप्त रोजगारी, खाना, स्वास्थ्य, शिक्षा र आश्रयको सुविधा, मुख्यतः समानता, स्वतन्त्रता तथा न्यायनिसाफको निष्पक्ष व्यवस्था । हामीलाई थाहा छ, प्रजातन्त्रमा शासन प्रशासनका सबै निकाय—निजामती, प्रहरी, सेना, सबै क्षेत्रका राष्ट्रसेवकहरू, लोकसेवा आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, न्यायसेवा आयोग, न्यायालयहरू वा विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरू आदि सबै क्षेत्रका पदाधिकारीहरू नियम कानून अनुसार आफ्नो अधिकार क्षेत्रभित्र कसैको दबाब वा प्रभावबिना पूर्ण स्वतन्त्र रूपमा, बिना डरभर निष्पक्ष रूपमा काम गर्न सक्ने वातावरण मुलुकमा हुनुपर्छ । कार्यान्वयनमा यी कुराहरूविना प्रजातन्त्र संविधानमा मात्र हुन्छ । व्यवहारमा हुँदैन ।
प्रजातान्त्रिक व्यवस्था र अलोकतान्त्रिक शासन
तर नेपालमा नेपालको संविधान, २०४७ लागू भएदेखि देशमा पूर्ण प्रजातान्त्रिक व्यवस्था रहेको भए पनि यो व्यवस्था सरकारमा रहेको दल, यसका नेता र कार्यकर्ताहरूका लागि मात्र हुन गयो । व्यवहारमा मुलुकमा अलोकतान्त्रिक शासन मात्र चलिरहेको र देशमा अव्यवस्था र जताततै भताभुङ्गको अवस्था रहेको सर्वत्र चर्चामा रहेको छ । २०४७ सालदेखि सरकारमा रहेका कुनै पनि दल र त्यसको सरकारले प्रजातान्त्रिक संस्कार, आचार र व्यवहार नदेखाई अलोकतान्त्रिक शासन मात्र जनतासमक्ष प्रदर्शन गरेको भन्ने भनाइ पनि मुलुकमा उत्तिकै व्याप्त छ । उनीहरूका लागि प्रजातन्त्र हात्तीको देखाउने दाँतजस्तो मात्र भएको, तर उनीहरूको मुटु र रगतमा देश र जनताभन्दा आफ्नो दल, आफ्नो समूह, आफू र आफन्तवाद मात्र रहेको कुरा व्यवहारले स्पष्ट गरेको भन्ने जनगुनासो पनि मुलुकमा कम छैन । उनीहरूका लागि प्रजातन्त्र विधिको शासन नभई सरकारमा गएको दल र नेताहरूले बिना कसैको डरभर, बिना कसैको नियन्त्रण जे मन लाग्यो त्यही गर्ने शासन व्यवस्था भएको र यसैका लागि मात्र उनीहरूलाई राजा विनाको देश, नियन्त्रण विनाको देश अर्थात् गणतन्त्र देश चाहिएको रहेछ
भन्ने भनाइ पनि हाल उत्तिकै देखिन्छ ।
हुन पनि यस अवधिमा समानता, स्वतन्त्रता, निष्पक्ष न्याय र शुद्ध पवित्र शासन प्रणाली स्थापनार्थ हुनुपर्ने विधिको शासन प्रणालीका लागि स्थापित र सञ्चालित शासन प्रणालीका सबै स्वतन्त्र निकायहरू अर्थात् निजामती, प्रहरी, सेना, न्यायालय, शैक्षिक संस्थादेखि सम्पूर्ण संवैधानिक अङ्गका निकायहरू जुन दलको सरकार आयो, सो दल र नेताहरूका कठपुतली हुनुपर्ने व्यवस्था गरेको, रहेको कुराले जनताको भनाइ स्पष्ट गर्दछ । यस अवधिमा मुलुकमा देखापरेका र बिना डरभर गरिएका नीतिगत भ्रष्टाचारदेखि अनगिन्ती अरू भ्रष्टाचार काण्डहरू, यस सम्बन्धमा दायर गरिएका धेरै मुद्दाहरू र इनाम सापकोटा प्रकरण बाट हाल चर्चामा रहेका बिचौलिया, विभिन्न सेटिङ्स र न्यायालय सम्म प्रभाव र नियन्त्रण भएका आदि सम्पूर्ण घटनाहरूले अझ झन् यहाँ विद्यमान अलोकतान्त्रिक भ्रष्ट शासनलाई उदाङ्ग पारेका छन् । यसैले हाम्रो मुलुकमा प्रजातन्त्र सरकारमा रहेको दल र यसका नेता र कार्यकर्ताहरूका लागि मात्र भएको, देश र जनताका लागि मुलुकमा कुशासन अर्थात् अलोकतान्त्रिक शासन मात्र रहेको र देशको बहुसङ्ख्यक जनता अधिकारविहीन, सुविधाविहीन भई ठूलो दुःखपीडामा रही काम, माम र रोजगारीका लागि विदेश पलायन हुन परेको कुरा स्पष्ट छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र वर्तमान सरकार
यसैको फलस्वरूप जनताले यसको विकल्प खोज्दै थिए । यसैको परिणाम स्वरूप नेपालमा अचम्मले आश्चर्यरूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको हाल मुलुकमा सरकार छ । देशमा रहेको प्रजातान्त्रिक व्यवस्थालाई व्यवहारमा पनि प्रजातान्त्रिक बनाउन अर्थात् मुलुकमा विद्यमान अलोकतान्त्रिक शासन प्रणाली हटाउन यसको सरकार दिलोज्यानले ठूलो साहसका साथ शीघ्र गतिमा अग्रसर भएको पनि देखिन्छ । तर यो सरकारको मूल्याङ्कन गर्ने बेला जरूर भएको छैन । यसको सफलताको कामना सबै देशप्रेमीले गर्नुपर्ने नै देखिन्छ ।
पञ्चायती व्यवस्था र वर्तमान बहुदलीय व्यवस्थाको अनुभव र तुलना गरेपछि, नेपालको बहुदलीय लोकतन्त्रले वास्तवमा पञ्चायती व्यवस्थाभन्दा राष्ट्रिय हितमा बढी काम गरेको छ कि छैन भन्ने प्रश्न मेरो मनमा झन् गम्भीर रूपमा उठ्न थालेको छ । बहुदलीय व्यवस्थाअन्तर्गत देखिएको स्वार्थकेन्द्रित राजनीतिक नेतृत्व, निरन्तर सत्तासंघर्ष, जताततै भ्रष्टाचार मात्र तर निस्मक्ष शासन र सुशासनको अभाव र मुलकको दुराबस्था हेर्दा, यो प्रश्नमा गम्भीरतापूर्वक विचार गर्न आवश्यक छ भन्ने मलाई लाग्छ । हुनत भ्रष्टाचार र कुशासनको विरोध गर्ने जति प्रतिगामी भनिने हाल मुलुकमा बातावरण छ । तर पनि अन्तस्करणले देखेको सत्य नबोल्नु आफैप्रति बेइमानी गर्नु जस्तो मलाई लाग्दछ ।
लोकतन्त्रलाई एउटा राजनीतिक व्यवस्थाका रूपमा बुझ्नु र व्यवहारमा लोकतान्त्रिक शासन सञ्चालन गर्नु दुई फरक कुरा हुन् । नेपालमा यही भिन्नता विशेष रूपमा विचारणीय छ । लोकतन्त्रलाई व्यवहारमा दलतन्त्रको रूपमा परिणत गर्नसक्नुको कारण के के हुन? यो गर्न नसक्ने बनाउन संविधान, ऐन, कानून, नियम, विनियम आदि कहाँकहाँ के के सुधार गर्नुपर्छ भन्ने विषयमा राम्रो अध्ययन गरी सो कुराको राम्रो व्यवस्था नगरेसम्म हालको लोकतन्त्र जुनदलको सरकार भयो त्यसैको तन्त्रकोरूपमा चलिरहने निश्चित छ ।
जबसम्म सही प्रजातन्त्रको सत्यबोध जनतामा हुँदैन, जबसम्म सरकारमा रहेको दलको आफन्तवाद नै प्रजातन्त्र भन्ने बुझाइ दल र यसका नेता,कार्यकर्तामा रहन्छ, जबसम्म जनता यसको विरोधमा चर्को आवाज उठाउँदैनन्, जबसम्म दातृराष्ट्रहरूले भ्रष्टसरकारलाई पनि टेवा दिइरहन्छन् त्यस समय सम्म देशमा नक्कली प्रजातन्त्र युगयुगान्तरसम्म चलिरहने नै स्थिति हाम्रो मुलुकमा देखिन्छ । यस्तो नहोस्, म कामना गर्दछु । मेरो जीवन अवधिमै मुलुकमा सक्कली प्रजातन्त्र देख्न पाइयोस्, म कामना गर्दछु ।
लेखक परिचयः अङग्रेजी भाषाको पुस्तक NepalM Between Beauty and Struggle ( नेपालः सौन्दर्य र संघर्षको बिचमा ) लगायत नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा धेरै लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालयका निवृत पदाधिकारी तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक । narayanshanti70gmail.com


