Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

भारतको विरोध नगर

१३ सोमबार , कार्तिक २०७४९ बर्ष अगाडि

नेपाल भारत संयुक्त प्रवुद्ध समूहका नेपाली सदस्य हुन् राजन भट्टराई । उनले खुलेर भनेका छन्– भारतको विरोध गरेर राष्ट्रियता बलियो हुँदैन ।
भट्टराईले महेन्द्रनगर सीमामा गोविन्द गौतम मारिएको कुरा पाँचौ बैठकसम्म पनि उठाएका छैनन्, न त ६४ स्थानमा भारतले सीमा अतिक्रमण गरेको कुरा नै छलफल गरे । अनि सप्तरीको तिलाठीमा सीमा अतिक्रमण गर्नुहुन्न भन्ने देवनारायण यादवलाई पक्राउ गरेर भारत लगेको, मुद्दा हालिएको विषयमा पनि चुँइक्क बोलेका छैनन् । तर उनी भन्छन्– भारतको विरोध गरेर राष्ट्रियता बलियो हुँदैन । त्यसो भए भारतले जतिसुकै हस्तक्षेप, अतिक्रमण, ज्यादति गरे पनि सहिरहदा सम्बन्ध बलियो हुन्छ त ?
खासगरी १९५० को सन्धि खारेज गर्ने विषयको लागि प्रवुद्ध समूह गठन गरिएको थियो । यसको समयसीमा सकिन लागेको छ, तैपनि बैठकभन्दा केही गर्न सकेको छैन । सन्धि खारेज गर्ने कि नगर्ने ? खारेज गर्ने भए नयाँ सन्धि कस्तो गर्ने ? खुला सीमामा परिचयपत्र लागू गर्ने कि नगर्ने ? अन्य समस्याहरुमा कसरी समाधानका उपायहरु निकाल्ने ? यी विषयमा प्रवुद्ध समूहको बैठक गर्ने र बैठकमा भारतीय पक्षको जबरजस्ती सहेर अर्को बैठकको मिति तय गरेर घर जाने बाहेक नेपाली पक्षले केही पनि गर्न सकेको देखिदैन ।
भन्नका लागि नेपाल र भारतको सम्पूर्ण पक्षलाई अध्ययन गरी र त्यसमा पुरनावलोकन गर्दै त्यसपछि नेपाल भारतको सम्बन्ध कस्तो हुनु पर्छ भन्ने खुट्याउने यो समूह गठन भएको हो । पाँच बैठक भइसके, समस्याको सूची र त्यसमा डाइग्नोसिस हुनै सकेको छैन । भारतको दिनदिनै हस्तक्षेप र ज्यादति बढ्दै गएका छन् । यो स्थितिमा नेपालमाथि भएको ज्यादतिबारे बोल्नु हुन्न, राष्ट्रियताको कुरै गर्नुहुन्न, भारतको विरोध गरे सम्बन्ध बिग्रन्छ भनेर प्रवुद्ध समुदायका सदस्य नै भन्छन् भने यिनी नेपाली पक्षका वकालत गर्न प्रवुद्ध समुदायमा छन् कि भारतको पक्षमा लागेर यसो भनेका हुन् ?
यस्ता व्यक्तिले नेपाली पक्षको कुरा राख्न र दुईदेशवीचको सार्वभौम सम्बन्धका बारेमा कसरी पक्षपोषण गर्न सक्लान् र ? शंका गर्नुपर्ने ठाउँ छ ।