Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

वार्ता माने– मम, कफी र हिटर

२१ सोमबार , पौष २०७११२ बर्ष अगाडि

वाशुदेव वाग्ले - शीर्ष नेताहरुवीच निरन्तर वार्ता भइरहेको छ। वार्ता भनेको ममसँगै कफी पिउने र हिटर ताप्नेमात्र हो। निष्कर्ष केही निस्कने होइन। यो राज्यसम्पत्तिको उपलव्धिहीन चरम लूट हो। यसै भनिरहेका छन्: डाक्टर बाबुराम भट्टराई। त्यसो भए स्वयं बाबुराम हिटर तापेर मम र कफी पिउन किन जान्छन्? यसको प्रष्ट जवाफ बाबुरामले पनि दिन सकेका छैनन्। स्पष्ट त बोल्छन् तर त्यही दलदलमा भासिदै छन् बाबुराम पनि। बोल्दैमा परिवर्तन हुँदैन। र, १८ महिना १८ दिन यो देशको प्रधानमन्त्री बनेका बाबुरामले के नै गर्न सके र। उनले गरेको सबैभन्दा ठूलो काम भनेको हुलास गोल्छाले नेपालमै बनाएको मुस्ताङ गाडी चढेर गोल्छाको गाडीको रोलमोडल बनेको न हो। अरु अर्थपूर्ण राष्ट्रिय कार्य के गरे बाबुरामले?

पहिलो संविधानसभाका अन्तिम दिनहरुमा जसरी रिसोर्टहरुमा गएर साउना बाथ लिने, ह्विस्की पिउने र मीठो मीठो खाएर धीत मार्ने काम भएको थियो, यसपटक पनि त्यस्तै क्रियाकलापहरु भए। उपलव्धि केही पनि भएन। अहिले प्रधानमन्त्री निवासमा हिटर, मम र कफी र अन्य स्वादिला खाजाको प्रवन्ध भइरहेको छ, हाम्रा शीर्ष नेताहरु स्वाद मानी मानी खाइरहेका छन्। यथार्थमा ती सबै खर्च जनताले तिरेको करको पैसा हो। जनताको रगत पसीना हो। यिनलाई लोकलज्जा छैन, खाईरहेका छन्। संविधान निर्माणको काम हुनसकेको छैन।

राजतन्त्रविरुद्ध सडकमा उत्रिने नागरिक समाज थियो, राजनीतिक दलका होनहार युवाहरु पनि थिए। अधिकारकर्मी र समाजशास्त्रीहरु कता गए गए। आज निरीह जनता संविधान चाहियो भनेर कराइरहेका छन्। दबाब दिने समूह चुपचाप कुन कुनामा छ छ। केही विद्यार्थीले संविधानसभाअगाडि गएर निदाएको र व्यूँझेको एक झल्को के देखाएका थिए, त्यसपछि तिनीहरु आफै निदाए। निरन्तर झकझकाउने, झड्का दिने काम युवाहरुले पनि गर्न सकेनन् र लाजै पचाएर डा.बाबुरामले धोती खोलिदिए– हिटर तापेर, मम र कफीको मजा आइरहेको छ।