Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

फोटो खिच्नै हतार

२१ बिहिबार , जेठ २०७२११ बर्ष अगाडि

एनजीओ, आइएनजीओ, विदेशबाट आएका अथवा नेपालकै व्यक्ति, नेता, संस्थालाई राहतभन्दा प्रचारकै हतारो, फोटो खिच्नैपर्ने, प्रचार गर्नैपर्ने। महाविपत्तिमा पनि आत्मप्रचारकै भोक। अति देखियो। सरकारले १४ अतिप्रभावित भने पनि गाउँका गाउँ ध्वस्त भएका छन्। अझै तथ्यांक संकलन हुनसकेको छैन। एकद्वार भने पनि सरकारले कता राहत पठाउँछ, कसले कता राहत लैजान्छ, कति राहत आयो, कहाँ गयो, कसले लुकायो, कसले बेच्यो, व्यवस्थित केही पनि छैन। बंगलादेशले पठाएको ५० हजार  क्वीन्टल चामल नै गृहमन्त्रीको आदेशमा सीडियोले लुकाए। १५ लाख पाल आयो, कहाँ गयो? कर्मचारीतन्त्रमा योग्यता छ तर राजनीतिले भ्रष्टाचार गर्न उक्सायो। इमान्दारिता तुहिएर गएको छ। यद्यपि मानवता भएका संवेदनशीलहरु पनि छन् र तिनले विपदमा परेका जनतालाई सघाइरहेका छन्। तर कर्मचारी बर्ग, तलव भत्ता खाएर खटिएका छन्। स्वयंसेवकहरु समेत पाकेट खर्च लिइरहेका छन्। यो समय न फोटो खिचेर आत्म प्रचार गर्ने समय हो, न पीडितले पाउनुपर्ने राहतमा लामो हात गर्ने। मर्न सबैलाई पर्छ। मर्नै पर्दैनजस्तो गरेर राजनीतिकर्मीदेखि कर्मचारी, कार्यकर्तादेखि पहुँचवालाहरु लुटिरहेका छन् र तिनीहरु नै राहतमा खटिएँ भनेर आत्म प्रचार गरिरहेका छन्।
अर्कोसाल भूकम्पपीडित उद्धार पदक बाँडिने छ। ती पदक यस्तै आत्मप्रचारकहरुले पाउनेछन्। यसमा शंका नगरे पनि हुन्छ।  नब्बे सालको भूकम्प जाँदा जुद्धशमशेरले पनि राहत दिए। राहत दिलाए। राहत बोकाएर प्रतिनिधि गाउँ पठाए। जसले पठाएको राहत जस्ताको तस्तै ल्याए अथवा आफूले खाए र केही बचाएर ल्याए, तिनलाई जुद्धशमशेरले तक्मा दिएका थिए। ०७२ मा पनि त्यस्तै हुनेछ।