Advertisement Banner
Advertisement Banner

३१ बुधबार, असार २०८३13th July 2026, 9:36:25 am

सरकारलाई कर तिर्न सक्दैनौं

३१ बुधबार , बैशाख २०७७६ बर्ष अगाडि

म गर्भमा हुंदैदेखि
मेरा निम्ति सपना देखेका
तिम्रा अांखालाई
साउदीको प्रचण्ड धुपले
धमिल्याउंदै छ बाबा!
तै पनि तिमी घर नफर्क
किनकि तिमिले रेमिट्यान्स
पठाएनौ भने यो देश कसरी बांच्ला?
बुईंगलमा तिम्रो मुटुलाई
रुवाउंदै छोडेर मनलाई
छपनीले अंठ्याउदै डाक्टर बनाउने
कल्पना गर्ने तिम्रो अन्तर्हृदयलाई
साउदीको मुल्लाका बुटले
कुल्चिरहेको छ बाबा!
तै पनि तिमी घर नफर्क
किनकि तिमीले रेमिट्यान्स
पठाएनौ भने यो देश कसरी बांच्ला???
हाम्रो खरको झुपडीमा
सल्लाको खोटोको दियो जलाउंदै
कुंदेका ढुंगाको भित्तामा बिजुली
बत्ति बाल्ने चाहनालाई
गगनचुम्बि घरका भित्तामा रस्सिसंगै
बिना गन्तव्य मच्चिरहेको छ बाबा
तैपनि तिमी घर नफर्क
किनकी तिमिले रेमिट्यान्स
पठाएनौ भने देशले नेता कसरी पाल्ला?
हजुरबाअामालाई दमले
स्यांस्यां पार्दा राम्रो अस्पतालमा
उपचार गराउने वाचा मुठीमा
लिएर गएका बाबा
तिम्रा वाचा कोईलाखानीमा
पिल्सिएका छन् बाबा
तै पनि तिमी घर नफर्क
तिमीले रेमिट्यान्स
पठाएनौ भने नेताको बिदेश भ्रमण कसरी होला??
बाबा तिम्रो सामिप्यता ,माया,स्नेह
चाहिने त हामीलाई हो
तिमी चाहिने त तिम्रा बाअामालाई हो
बाबा देशलाई त तिम्रो रेमिट्यान्स चाहियकोछ
भलै तिम्रो लास बाकसमा अाअोस्
तर तिमी घर नफर्क
किनकि तिमिले रेमिट्यान्स पठाएनौ भने
हामीले सरकारलाई कर तिर्न सक्दैनौं बाबा।।