Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

खाडीका श्रमिक नेपालीको पिडा?

११ बिहिबार , भाद्र २०७७६ बर्ष अगाडि

घरछेउको पखेरो  बेचेर
पैसा टिप्न बिदेशिएको खेतालो म!
भारी बोक्दाबोक्दै नाम्लोको
पाता गडेको बाको तालु,
साहुका भारी बोक्दाबोक्दै
गग्रेटो बाटोले लछारेर चिरिएका बा का कुर्कुच्चा,
हो बा को तालु र कुर्कुच्चाको
कथा परिवर्तन गर्न बिदेशिएको छोरो म!
कसौंडीको दुई गाँस जाउलो मलाई
कोखाईकोखाई गर्दै अर्खलियको मकै पान गर्ने आमा
चोलोले मेरो आङ ढाकेर गुन्युको फेराले
पिडौंला र छाती ढाक्न टुप्पो मिलाउदा
उराठिएकी आमा,
उनै आमाको मुखमा सेतो चामलको भात,
चोलो र गुन्युको जोहो गर्न बिदेशिएकोृछोरो म!
साउदी आउने बेला कल्पनाको महल ठड्याउदै
बालाई राजगद्दीमा बसालें
आमाले पोको पारिदिएको सामलमा
आमालाई महारानीको पदवी दियर
आफु राजकुमार बनेको सपना कुचुमुच्च पारें!
 भेडा चराउंदै मेरा सपनामा ढुसी नलाग्न
छरपस्टै मरुस्थलमा फिंजारे
मुल्लाको बुटको गोदाईमा
गैरी खेत सकारेको कल्पनाका आवाज सुनें।
अब त बेला भयो बा आमा म फर्किन्छु
फेरि महामारीको चपेटाले आकाश रोक्यो
मेरा घर जाने सपना
कतै काठको बाकसमा थुनिने त हैन?
भोलि त देशबाट जहाज आउंछ रे
अलपत्र परेका हामीलाई लिन।
आउंछ नि म जस्ता कैयौं नेपालीले
चढाएको रगत र पसिनाको अंश
रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको के त?
जहाज आयो बा जहाज आयो आमा!!!!
तर जहाज त रित्तै फर्क्यो ।
सुखि संसार बसाउन सपना देख्ने
अधिकार नभएको बिदेशिएको गन्तब्यहिन यात्री।।।